Successfully Copied

स्मृतिमा बुबा

विश्वप्रसिद्ध लेखिका तथा अधिकारकर्मी सिमोन डे बाउवोइरले ‘द वुमन डेस्ट्रोइड’ मा लेखेकी छन्– ‘बुबाहरू आफूले छोरीहरू कहिल्यै पाउँदैनन् किनकि उनीहरू छोरीहरूले पाउनुपर्ने धारणा आविष्कार गर्छन् ।’

विश्वप्रसिद्ध लेखिका तथा अधिकारकर्मी सिमोन डे बाउवोइरले ‘द वुमन डेस्ट्रोइड’ मा लेखेकी छन्– ‘बुबाहरू आफूले छोरीहरू कहिल्यै पाउँदैनन् किनकि उनीहरू छोरीहरूले पाउनुपर्ने धारणा आविष्कार गर्छन् ।’ अर्की लेखिका किरण देसाई लेख्छिन्, ‘जब बुबा परमधाम हुनुभयो, मलाई मौन कागजझैं आफू बत्तिएको आभास हुन थाल्यो । मेरा बुबा दिल्लीस्थित घरको कौसीमा नहुँदा म रित्तो भएकी थिएँ । तब मलाई लाग्न थाल्यो, उहाँबिना म पछाडि पर्दै जानेछु । हामीबीचको दुखाइबिना म बनेकी होइन ।’

क्याथोलिक धर्म अनुसार बुबालाई पुजारीको संज्ञा दिइएको छ । ‘म्यान विथ अ सन’ मा बुबालाई एक पुरुषका रूपमा परिभाषित गरिएको छ जसले एक महिलालाई गर्भधारण गराएको छ र बच्चालाई जन्म दिएको छ । हिन्दूत्वले बुबालाई पितृको स्थान दिएको छ । हिन्दू धर्मशास्त्रमा अनुशासन, उदाहरण, सुरक्षा, मित्रता, आध्यात्मिकता, नारीत्वको सम्मानलगायतका बुबाका नौ वटा जिम्मेवारीको वर्णन गरिएको छ ।

हाम्रो हिन्दू परम्पराले बुबालाई परिवारको खम्बा मानेको छ । सन्तानका लागि मात्र नभएर सम्पूर्ण परिवारका लागि बुबा आधारस्तम्भ हुन् । बुबाप्रतिको आड–भरोसा सन्तानका लागि जीवन बनाउने कसी हो । कुशेऔंसी अर्थात् बुबाको मुख हेर्ने दिनले यसको महत्वलाई अझ चरितार्थ पार्छ । अभिभावकसंगै रहेका सन्तान भाग्यमानी भएको बताउँदै नेपाल चेम्बर अफ कमर्सको महिला चेम्बरकी सचिव तथा व्यवसायी लिमा अधिकारी भन्छिन्, ‘पाको उमेरसम्म जसले अभिभावकको साथ पाउँछ, उसमा छुट्टै प्रकारको शक्ति र ऊर्जा हुन्छ , जसका कारण उसले संसार जित्न सक्छ ।’ मोनास्टिक स्कुल जनकपुरकी प्रिन्सिपल डा.सोनाली साहलाई बुबा अत्यन्तै बलियो तर भावनात्मक रूपले भरिपूर्ण व्यक्तित्व भन्ने लाग्छ ।

लिमा अधिकारी, व्यवसायी

भरतमोहन अधिकारी, राजनीतिज्ञ

‘विराटनगरस्थित गहेली टोलबासीहरू सधै भन्थे, ‘बावु हुनु त भरतमोहनजस्तो ।’ लिमा बाल्यकालका ती दिन सम्झन्छिन्, ‘हरेक शनिबार बुबाले साइकलमा राखेर खेत घुमाउन लानुहुन्थ्यो, प्रेरणादायी कुरा सुनाउनुहुन्थ्यो, त्यो समयमा पनि उहाँले छोरा नै चाहिन्छ भन्नुभएन, हामी तीन वटी छोरीलाई छोरासरह हुर्काउनुभयो ।’ भरतमोहन राजनीतिका साथै वकालत गर्थे । संघर्षका दिन थिए र पनि उनले तीन वटी छोरीका लागि कुनै कुरामा सम्झौता गरेनन् । असल संस्कार, अनुशासन, धैर्य र इख नलिने बानी लिमाले बुबाबाट सिकेकी हुन् । उनी भन्छिन्, ‘उहाँ परोपकारी एवं देशभक्त हुनुहुन्थ्यो । त्यति ठूलो पदमा पुगेर पनि कहिल्यै आफ्ना सन्तान र आफन्तवादलाई च्याप्नुभएन । हामीलाई आफ्नै पौरखमा बाँच्न सिकाउनुभयो । उहाँ सरकारमा हुँदा वृद्धभत्ता, विधवा भत्ता, सामाजिक सुरक्षा भत्ता, गाउँ–गाउँमा सहकारी तथा घर–घरमा रोजगारीलगायतका योजना ल्याउनुभयो । आजसम्म पनि बजेट भनेपछि भरतमोहनको ०५१ को बजेट उदाहरणीय छ । उहाँको सेवाभाव, दूरदर्शिता, कोमल स्वभाव हरपल सम्झनायोग्य छ ।’ ०७५ फागुनमा बुबाको स्वर्गारोहण हुँदा लिमा विक्षिप्त हुन पुगिन् । उनलाई लाग्यो आफ्नो शरीरको कुनै अंगले आफैंलाई छोड्दैछ । ‘बुबा मेरो सबथोक हुनुहुन्थ्यो, उहाँ गएपछिको रिक्तताको म कल्पना गर्न सक्दिन ।’

गला अबरुद्ध पार्दै लिमा भन्छिन्, ‘दिदी र बहिनी भन्दा म उहाँकी प्रिय थिएँ । सानैदेखि म बुबाको पुच्छर, त्यो बानी उहाँ हुँदासम्म कायमै रहिरह्यो । उहाँले पनि बिरामी भएपछि पछिल्लो समय हरेक दिन मलाई खोज्नुहुन्थ्यो । हरेक दिन ठ्याक्कै तीन बजे फोन आउँथ्यो, लिमु तिमी कता छ्यौ, आज आउँदिनौ ?’ भरतमोहनलाई परिवारको भन्दा मुलुकको चिन्ता बढी थियो, उनी जहिले पनि देशले राजनीतिक फड्को मारिसक्यो अब आर्थिक फड्को मार्नुपर्छ भन्ने गर्थे । त्यसैले त उनले तीनै वटी छोरीलाई आर्थिक रूपमा सबल र दह्रो हुने सूत्र सिकाए । सोहीअनुरूप छोरीहरू पनि प्रतिभाशाली निस्किए, जेठी डाक्टर, माहिली व्यवसायी र कान्छी इन्जिनियर । गेरुवस्त्र धारण गरेर यी तीनैजना बुबाको क्रिया बसे । भरतमोहनको नाममा स्थापना भएको ‘भरतमोहन अधिकारी स्मृति फाउन्डेसन’ को सम्पूर्ण जिम्मेवारी लिमाले लिएकी छिन् । छोटो समयमा संस्थामार्फत थुप्रै काम भइसकेका छन् । फाउन्डेशनद्वारा प्रकाशित ‘हाम्रो नजरमा भरतमोहन’ नामक पुस्तकमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेता, उद्योगी एवं व्यवसायीले उनका बारेमा लेखेका छन् । यसको अगुवाइ लिमाले नै गरेकी थिइन् । ‘बुबाको आत्मविश्वासले मलाई सधै बलियो बनायो’ लिमाले भनिन्, ‘उतिबेला पनि बुबामा आफ्नो हैसियतभन्दा ठूलो आत्मबल थियो र त हामी तीनै दिदीबहिनीलाई काठमाडौंका राम्रा विद्यालयमा मात्र होइन विदेशसम्म पुर्‍याएर पढाउनुभयो । हामीले ड्राइभिङ गरेको कारको पछाडि बस्ने उहाँको धोको पूरा गर्‍यौं । सोही गुण ममा ठ्याक्कै सरेको छ ।’ हरेक वर्ष बुबाको मुख हेर्ने दिन भरतमोहन लिमालाई कुरेर बसिराख्थे । दिदी र बहिनी विदेशमा भएकाले यहाँ लिमा हर्ताकर्ता हुने नै भइन् । जब त्यो दिन उनी पुगेर ट्रेभरी खानेकुरा अगाडि सारेर बुबालाई माला लगाइदिन्थिन् तब भरतमोहन अत्यन्तै हर्षित हुन्थे । ‘अब ती दिन सधैका लागि गए ’ लिमाका आँखा टिल्पिलाए, ‘उहाँसँग बिताएका हरेक पल स्मृतिमा मीठो सम्झना बनेर बसेका छन् ।’

समा थापा, सञ्चारकर्मी

फणीन्द्र थापा, कृषि वैज्ञानिक

समा सापेक्ष छिन् । उमेर बढ्दै जाँदा उनलाई लाग्न थाल्यो जीवन यथार्थमा बाँच्ने रहेछ न कि भावनामा । त्यसैले त बुबाको स्वर्गारोहणपछि उनी झनै व्यावहारिक हुन थालिन्, जिम्मेवारी बहन गर्न थालिन् । रामपुर कृषि क्याम्पसका प्रोफेसर तथा कृषि वैज्ञानिक फणीन्द्र थापा उही जमानामा विदेशबाट नवीन प्रकृतिका मल र बोटबिरुवा ल्याएर नेपालमा प्रयोग गर्थे । उनले आफ्नो घर वरिपरि सानोतिनो जंगल नै बनाएका थिए । ‘बुबासँगको हरेक बसाइ र कुराकानी जीवनोपयोगी सिकाइ हुन्थ्यो । बुबा हरेक बिरुबाको वैज्ञानिक नाम सिकाउनुहुन्थ्यो । बकाइनो (मेलिया एजेडे भेक) लगायत हरेक बिरुवासँग यसरी नै साक्षात्कार गराउनुहुन्थ्यो ।’ बुबासँग बिताएका क्षणको स्मरणमा समा भन्छिन्, ‘म ७ वर्षकी हुँदा उहाँले हिँडाएर मनकामना लैजानुभएको थियो । बाटोभरि देखिने बोटबिरुवाका बारेमा सिकाउँदै हिडाउँदा थकाइ समेत बिर्सिएकी थिएँ ।’ जीवनको छोटो तर मूल्यवान समय बुबासँग बिताउन पाएको बताउने समालाई लाग्छ आफ्ना बुबा समयअगाडि नै जन्मिएर समयभन्दा पहिले नै बितेर गए । बुबाको परिभाषा दिँदै समा भन्छिन्, ‘बुबा नगाइदिएको त्यो गीत हो जसको धुनले हामीलाई हर क्षण ऊर्जा दिन्छ, जसको संघर्ष, दुःख, पीडा सदैव छायामा पर्छ । जीवनका कठिन र कहालीलाग्दा क्षणमा म कसकी छोरी हुँ भनेर आफैंलाइ हौसला दिन्छु । हर संघर्षमा उहाँले मेरो हौसला र हिम्मत बनेर आज पनि मलाई ढाडस दिएझैं लाग्छ । माइक्रोफोनले संसारका कुनाकाप्चामा मेरो आवाज पुर्‍याइदिन्छ तर बुबासम्म मेरा आवाज पुर्‍याउने माइक्रोफोन कहाँ भेटिएला ?’

बुबाको हक्की स्वभावदेखि लिएर सिक्ने उत्सुकता तथा दयालु भावना ठ्याक्कै समामा सरेको छ । त्यसैले उनकी आमा भन्छिन्, ‘तिमी त ठ्याक्कै बुबाको फोटोकपी ।’ जे गरे पनि मिहिन ढंगले दत्तचित्त भएर काम गर्ने बानीका कारण आफ्ना बुबालाई समा ‘मिस्टर पर्फेक्सनिस्ट’ को संज्ञा दिन्छिन् । त्यसैको प्रभाव समामा परेको छ । उनी पनि आफ्नो काममा दृढ र कर्तव्यनिष्ठ छिन् । उनी १६ वर्षकी हुँदा फणीन्द्रको मृत्यु भयो । आफू र आफ्नो परिवारको भन्दा पनि ‘फलाना टुहुरा भए’ भन्लान् भन्ने समाजको चिन्ता बढी भयो उनलाई त्यतिबेला । भन्छिन्, ‘हाम्रो समाज पितृसत्ताको आडमा चलेको छ । मेरी आमा त जिउँदै हुनुहुन्थ्यो र पनि सबैले बिचरा फलानाका लालाबाला टुहुरा भए भने । जसलाई म समाजले दिने सहानुभूति र हतोत्साही बनाउने चलन भनेर बुझ्छु । बुबा गएपछि म बिचरा मात्रै बनेर बसिन, आफूलाई अझ बलियो र जिम्मेवार बनाउन बाध्य भएँ ।’ समाले अहिले सञ्चार क्षेत्रमा लामो फड्को मारिसकेकी छन् । आफ्नो क्षेत्रमा सफल छिन् । अहिले उनलाई लाग्छ, बुबा हुनुभएको भए सल्लाह–सुझाव दिनुहुन्थ्यो, आफ्नो काम हेरेर दंग पर्नुहुन्थ्यो । पुराना स्मृतिका पानालाई वर्तमानसँग जोड्दै समा भन्छिन्, ‘हामी दुई, तर, हिँडेको बाटो एउटै थियो । हामी दुबै जना सँगै मिलेर समाजका लागि केही गर्न चाहन्थ्यौं । त्यो यात्रामा एक्लै भएकी छु ।’ समयसँगै आफूमा आएको परिपक्वताले आजकल समालाई ‘आफ्ना लागि त जो पनि बाँच्छ, अरूका लागि केही गर्नु नै जीवनको सार्थकता हो’ भन्ने लाग्न थालेको छ जुन उतिबेला उनका बुबा उनलाई भनिरहन्थे । बुबाको नाममा केही गर्ने धोकोलाई योजनाबद्ध तरिकाले अघि बढाउन चाहने समालाई बुबा छिट्टै गएकोमा दुःख लाग्छ । भन्छिन्, ‘बाँचुन्जेल हामी बुबाको त्याग र समर्पणलाई हलुका रूपमा लिन्छौं, तिनको वजन बितेपछि अझ बढी महसुस हुन्छ ।’

वसुधा नेपाल, बैंकर

मंगलकुमार नेपाल, शिक्षक तथा साहित्यकार

बुबाको १०० औं जन्मदिन, वसुधा नेपाललाई लाग्यो उपहार के दिने ? उनले केही फरक तरिकाले उपहार दिने सोच बनाइन् र लेखिन् बुबाका कथा–व्यथा र भोगाइ । तत्काल प्रकाशित पनि गरिन् । यसपश्चात जब उनी बुबालाई भेट्न अस्पताल पुग्दा बुबाका आँखा रसाए । उनलाई हेरेर उनका बुबाले भने, ‘वसु राम्रो लेखिछस् ।’ वसुधा सानैदेखि कथा–कविता लेखिरहन्थिन् । उनलाई लेख्नका लागि प्रेरणा दिएका हुन् उनका बुबा मंगलकुमार नेपालले । उनका बुबा पेसाले शिक्षक भए पनि उनको साहित्यप्रति एकदमै रुचि र प्रेम थियो ।

‘बुबाको त्यही गुण ममा सर्‍यो’ उनी भन्छिन्, ‘म लेखक हुनुमा बुबाको हात छ ।’

वसुधा रौतहटको गौरमा मंगलकुमारको दसौं सन्तानका रूपमा जन्मिएकी हुन् । कान्छी छोरी भएकीले बुबा–आमाकी प्यारी थिइन् । बुबासँग उनका हरेक कुरा सेयर हुन्थे । बुबा शिक्षक भएकाले स्कुलमा पनि सबैकी प्यारी थिइन्, उनी । विद्यालयमा उनी गजल, कविता एवं निबन्ध प्रतियोगितामा सहभागी भइरहन्थिन् । ‘साहित्यमा बुबालाई पछ्याउँदै हिँडें । त्यसकारण पनि विद्यालयमा म अरुभन्दा केही फरक थिएँ ’ उनी भन्छिन् ।

उनका बुबाको छोरी पनि छोरासरह हुन् भन्ने मान्यता थियो । त्यसकारण शिक्षादीक्षामा कहिल्यै कमी भएन, उनलाई । छोराछोरीको शिक्षादीक्षामा बुबाको हात थियो भने आमाको घरको काममा । घरका छोरीलाई मात्र होइन गाउँघरका छोरीहरूलाई पनि शिक्षा दिनुपर्छ भनेर बुबाले अभियान नै चलाए । वसुधा भन्छिन्, ‘बुबाको यो अभियान सम्झदा भने गर्व महसुस हुन्छ, उहाँको सोचाइ हर महिला शिक्षित हुनुपर्छ भन्ने थियो ।’

शान्त स्वभाव र हँसिलो अनुहारका उनका बुबा उनीसँग कहिल्यै रिसाएनन् । वसुधाले बुबाको गाली एवं पिटाइ कहिल्यै खानु परेन । स्वावलम्बी बुबाका लागि छोराछोरीलाई कहिल्यै केही भार परेन । ‘आर्थिक एवं शारीरिक रूपमा बुबा सक्षम हुनुहुन्थ्यो’ उनी भन्छिन्, ‘आफ्नो कामका लागि अरुको सहयोग लिन नपरोस् भन्ने सोच उहाँ हुनुहुन्थ्यो ।’

वसुधाको करियरमा बुबाको धेरै साथ र सहयोग रह्यो । त्यसमाथि पनि कान्छी छोरी भएकीले धेरै अवसर उनले पाइन् । उनी भन्छिन्, ‘बुबाले अघि बढ्ने कुरामा कहिल्यै रोक्नु भएन ।’ तर, छोराछोरीले बाटो भुल्लान् कि भन्ने चिन्ता उहाँमा थियो ।

बुबा साहित्यकार भएकाले विभिन्न कार्यक्रममा वसुधामार्फत नै उहाँलाई निम्ता आइरहन्थ्यो । ती सबैको व्यवस्थापन वसुधाले नै गर्थिन् । बुबाको सहयोगी हुन पाउँदा रमाइलो मान्थिन् उनी । भन्छिन्, ‘हरेक साहित्यिक कार्यक्रममा उहाँलाई लिएर मै जान्थें ।’ उनका लागि बुबा एक साथीजस्तै थिए । तर साथीजस्ता बुबाको साथ गुमाएको चार वर्ष बितिसकेको छ । मंगलकुमारको मुत्यु शताब्दी पार गरेर भयो । बुबालाई १०० वर्षको देख्न पाउनु आफू भाग्यमानी भएको ठान्छिन् उनी । बुबा गुमाउँदा उनलाई लाग्यो अब मेरो कोही छैन किनभने उनले आमा पनि गुमाइसकेकी थिइन् । उनी भन्छिन्, ‘आमा–बुबा नहुँदा त एकदमै एक्लो महसुस हुने रहेछ ।’ उनी हरपल अहिले बुबा–आमालालाई सम्झिरहेकी हुन्छिन् चाहे दुःखमा होस् वा सुखमा । उनी भन्छिन्, ‘बुबाभन्दा आदर्श पुरुष र आमाभन्दा प्यारो कोही छैन यहाँ, कहाँ बिर्सन सकिन्छ र ?’

छोरी वर्षा सिवाकोटी, नायिका

 कृष्ण सिवाकोटी, बैंकर्स     

‘बुबा भएको भए सायद म यो क्षेत्रमा आउँदिनथें होला ’ नायिका वर्षा सिवाकोटी भन्छिन्, ‘किनभने बुबालाई यो क्षेत्र मन पर्दैनथ्यो ।’ बुबासँग उनले १७ वर्ष मात्र बिताउन पाइन् । उनले वाणिज्य बैंकका अफिसर बुबासँग रमाइलो तरिकाले समय बिताइन् । वर्षाको अनुहार बुबासँग ठ्याक्कै मिल्थ्यो । वर्षाका दाइ अध्ययनको सिलसिलामा भारतमा थिए । वर्षा एक्ली छोरीका रूपमा हुर्किइन् । बुबाको माया र पुलपुल्याइमै वर्षा ठूली भइन् । भन्छिन्– ‘घरमा एक्ली छोरी थिएँ, बुबाले असाध्यै माया गर्नुहुन्थ्यो ।’ हरपल उनको समय बुबासँग बित्थ्यो । कृष्णले उनलाई हर ठाउँ लिएर जान्थे । बुबासँग उनी कहिले अफिस पुग्थिन्, कहिले बजार घुम्न जान्थिन् । वर्षा भन्छिन्– ‘बुबाले मलाई बाहिर जाँदा कहिल्यै छुटाउनुहुन्नथ्यो ।’

बुबासँग जति नजिक थिइन् त्यति नै डर पनि थियो । वर्षा भन्छिन्, ‘बुबा साथीजस्तै हुनुहुन्थ्यो, तर उहाँको कडा स्वभावका कारण डर पनि त्यत्तिकै थियो ।’ घरमा उनी मात्र होइन सबैजना कृष्णदेखि डराउँथे । कृष्णको स्वभावका कारण डराउने उनको परिवार उनलाई लागेको रोगदेखि पनि डराउन थाले । विभिन्न रोग देखा पर्न थाले । यसको प्रत्यक्ष असर विद्यालयमा अध्ययन गरिरहेकी वर्षालाई पर्न गयो । उनी परिवारबाट छुट्टिएर होस्टल बस्न थालिन् । उनी भन्छिन्, ‘बुबा बिरामी हुँदा सँगै हुनुपर्ने समयमा परिवारसँग टाढा हुँदा नरमाइलो लागेको थियो ।’

बुबाको मुत्यु हुँदा वर्षा भर्खर कलेजमा पाइला टेकेकी थिइन् । कलेजमा छात्रवृत्तिमै उनले अध्ययन गरिन् । बुबाको मुत्युपछि परिवारका दिन संघर्षमै बितेका छन् । ‘बुबा बित्दा हाम्रो घरको छाना खसेजस्तै भयो ’ उनी भन्छिन् । बुबा गुमेपछि उनको घरको आम्दानी नै गुम्यो । छोराछोरी पढाउने र हुर्काउने जिम्मा आमाको काँधमा आयो । सीमित आम्दानीमा उनको परिवारका दिनहरू बित्न थाले । बुबाको मृत्युपछि उनले धेरै समस्या झेलेकी छन् । उनी भन्छिन्, ‘बुबा एक अभिभावक हुनुहुन्थ्यो, अभिभावक नहुँदा हरेक ठाउँमा धेरै समस्या झेल्नुपर्ने रहेछ ।’ घरको जिम्मेवारीमा आमालाई सघाउनका लागि आम्दानीको बाटो खोज्दै उनी फिल्मी दुनियाँमा पाइला टेकिन् । भन्छिन्, ‘आम्दानीको बाटो खोज्दै म यो क्षेत्रमा आइपुगेकी हुँ ।’

अहिले वर्षा चलचित्र क्षेत्रमा रमाइरहेकी छन् । बुबाले सिकाएकै शिक्षाका साथ अघि बढिरहेकी छन् । बुबाका धेरै गुण उनमा पनि लागू भएका छन् । उनी कहिल्यै कुनै कुरामा कम्प्रोमाइज गर्दिनन् । यो उनका बुबाले सिकाएको गुण हो । ‘म कहिल्यै कुनै कुरामा कम्प्रोमाइज गर्दिन यो शिक्षा बुबाबाट पाएकी हुँ ।’ चिटिक्क परेर बस्नुपर्ने र हिँड्नुपर्ने बुबाको छाप वर्षामा परेको छ । भन्छिन्, ‘बुबा सधै सफा भएर बस्न रुचाउनुहुन्थ्यो ।’

वर्षाले बुबा गुमाएको १० वर्ष बितिसकेको छ । उनलाई हरेक ठाउँमा बुबाको अभाव भइरहन्छ । केही काम गर्नुअघि र निर्णय लिनुअघि सधैं अन्योलमा हुन्छिन् । उनलाई लाग्छ सायद बुबा भएको भए हरेक कुरामा सहज हुन्थ्यो होला ।

 रक्षा बस्याल, अधिवक्ता

रुक्मांगत बस्याल, समाजसेवी

नेपाल बार एसोसिएसनको उपाध्यक्षमा रक्षा बस्यालले चुनाव जित्दा माहोल बेग्लै थियो । उनको गला माला र खादाले पुरिएको थियो । शुभचिन्तकको बधाई र शुभकामना ग्रहण गरिरहेकी उनलाई केही अपुग भएजस्तो महसुस भयो । उनले झल्याँस्स आफ्ना बुबा रुक्माङ्गत वस्याललाई सम्झिइन् । उनलाई यतिबेला बुबा भएको भए कति खुसी हुनुहुन्थ्यो होला ? भन्ने लाग्यो । तर उनका बुबा सम्झना र कल्पनामा मात्र थिए । खुसीमा उनले बुबा खोज्नु स्वाभाविक नै थियो, किनभने बुबाकै संघर्षले उनी यो स्थानमा पुगेकी थिइन् । उनी भन्छिन्, ‘बुबाले शिक्षादीक्षाको राम्रो प्रबन्ध मिलाउनु भएरै आज म यहाँ छु, त्यसकारण हरखुसीमा म उहाँलाई खोजिरहन्छु ।’

उनका बुबाले छोराछोरी पढाउन कुनै कन्जुस्याईं गरेनन् । समाजसेवामा सक्रिय उनका बुबाको आर्थिकस्थिति कमजोर नै थियो । आम्दानी कम भएकाले छोराछोरीलाई खर्च जुटाउन त्यति सहज थिएन । रक्षा भन्छिन्, ‘छोराछोरीलाई पढाउने र अघि बढाउने कुरामा बुबा जे गर्न पनि तयार हुनुहुन्थ्यो । त्यसैले जग्गाा बेचेर भए पनि छोराछोरीलाई पढाउनुभयो ।’

समाजसेवामा सक्रिय भएकाले बाल्यकालमा धेरै समय बुबासँग बिताउन पाइनन् रक्षाले । उनी भन्छिन्, ‘बुबा धेरै व्यस्त हुनुहुन्थ्यो । त्यसकारण बाल्यकालमा उहासँग धेरै समय बिताउन पाइएन ।’ राणा शासन मात्र होइन गाउँघरमा भएको अन्याय–अत्याचार हटाउन उहाँ सक्रिय रहेको रक्षा बताउँछिन् । ‘राणा शासन अन्त्य गर्न बुबाले हलो जोतेर विरोध गर्नुभएको हामीले सुनेका हौं’, उनी भन्छिन् । रुक्माङ्गतले समाजसेवी एवं किसान हुँदै वकालतसम्म गरे । बुबाको वकालतको छाप रक्षालाई पनि पर्‍यो । ‘बुबाले गरेको वकालत देखेर म प्रभावित भएँ, अहिले यही पेसामा सक्रिय छु ।’

दौरा–सुरुवाल, ढाका–टोपी र इस्टकोट उनको शरीरमा सजिएकै हुन्थ्यो । उनी चिटिक्क परेर हिँड्न रुचाउँथे । रक्षा भन्छिन्, ‘बुबाको शरीरमा दाग लागेको कपडा कहिल्यै देखिएन ।’ गाउँमा आउँदा–जाँदा बुबा सेतो घोडा चढेको उनी सम्झन्छिन । ‘अरु घोडा कहिले चढ्नु भएन, ’ रक्षा भन्छिन्, ‘बुबाको नाम लिनासाथ हामीलाई सबैले चिन्नुहुन्थ्यो, हामी खुसी हुन्थ्यौं ।’ बुबाले आफूलाई गर्ने व्यवहारबाट रक्षा सन्तुष्ट थिइन् । बुबाले आमालाई आफ्नो इच्छाअनुसार चलाउन खोज्दा भने उनको विमति हुन्थ्यो । उनी भन्छिन्, ‘आमा आफ्नो इच्छाले भन्दा पनि बुबाको इच्छामा बढी चल्नुपर्‍यो, यो कुरामा भने सधै मेरो असहमति हुन्थ्यो ।’

बाल्यकालमा बुबासँग समय बिताउन नपाए पनि रक्षाले वृद्ध बुबासँग केही समय बिताउन पाइन् । बुबालाई मन पर्ने धेरै ठाउँ घुमाइन् । तर, सधै समयले साथ दिँदैन भनेझैं उनलाई पनि बुबाको साथ सधै रहेन । रुक्माङ्गतको ९३ वर्षमा निधन भयो । रक्षालाई अझै पनि लाग्छ बुबा यहीँ कतै छन् । उनी भन्छिन्, ‘आर्यघाट पुर्‍याउँदा पनि बुबा अब हुनुहुन्न भन्ने मलाई लागेन, सुत्दा अप्ठ्यारो होला भनेर सिरानी मिलाउन पुगेंछु ।’ उनका बुबाले जीवनमा पैसाभन्दा पनि धेरै सम्बन्ध कमाए । रक्षा भन्छिन्–‘बुबाले मानिस धेरै कमाउनु भयो, त्यो साख जोगाउने जिम्मा हाम्रो काँधमा छ ।’

डा. सोनाली शाह, प्रिन्सिपल

डा. मिथिलेशकुमार शाह

 कठिन परिस्थिति आए पनि कहिल्यै नआत्तिने हँसमुख स्वभावका होमियोपेथी डाक्टर मिथिलेशकुमार शाहको दृढ तथा कर्तव्यनिष्ठ आचरणले छोरी सोनालीलाई अहिलेसम्म आफ्नो क्षेत्रमा अब्बल रहन प्रेरित गरेको छ । मेडिकल डाक्टरका साथै हस्पिटल एडमिनिस्ट्रेसनमा नेपालकै चौथो उनी मोनास्टिक स्कुल जनकपुरको प्रिन्सिपल समेत रहनुमा बुबाको हौसला अग्रणी भएको बताउँछिन् । उनी भन्छिन्, ‘यतिका जिम्मेवारी सम्हाल्न मैले बुबाबाटै सिकेकी हुँ ।’ ३० वर्षीया डा. सोनालीले करिब ३५ सय विद्यार्थी र ३ सय कर्मचारी सम्हालिरहेकी छिन् । अत्यन्तै फरासिला, कसैसँग कहिल्यै वैरभाव नराख्ने र आफ्नो काममा केन्द्रित हुने गुण उनको बुबामा थियो । दसैं–तिहारको बिदामा सोनालीका बुबाले ग्रामीण जीवनसँग साक्षात्कार गराउन आफ्ना छोराछोरीलाई गाउँ नजिकैको मामाघर पुर्‍याउँथे, कहिले पोखरा, लुम्बिनी र भारत लैजान्थे । सोनाली भन्छिन्–‘उहाँलाई बाहिरी वातावरण र अन्तरक्रियाबाट धेरै कुरा सिक्न सकिन्छ भन्ने कुरामा विश्वास थियो । सोनालीलाई एमबीबीएसको दीक्षान्तमा बुबाका अगाडि ह्याट लगाएर उहाँसँगै फोटो खिचाउने रहर भएपनि बुबाको अन्तिम अवस्था भएकाले त्यो रहर पूरा हुन पाएन । बुबाले नै छानेको साडी लगाएर उनी दीक्षान्तमा उपस्थित भइन् । पछिसम्म मिथिलेश भन्ने गर्थे, ‘तिम्रो दीक्षान्तको फोटोमा मेरो फोटो क्रप गरेर टाँस्नु अनि ठूलो बनाएर भित्तामा टाँस्नू । सन् २०१५ मा बुबाको स्वर्गारोहण भयो । ‘बुबा हुँदासम्म डाक्टर हुने बाहेक केही सोचेकी थिइन । बुबाको देहान्तपछि ममा एकैपटक ठूलो जिम्मेवारी थपियो ।’ बुबाले एकैसाथ चौतर्फी भार लिएको र बुबाको मृत्युपछि मात्रै त्यो बोध भएको सम्झदै सोनाली भन्छिन्, ‘उहाँले घरपरिवार, डाक्टरी पेसा, समाजसेवा र स्कुललाई कसरी एकसाथ सन्तुलिन गराएर राख्नुभएको रहेछ उहाँ गएपछि मात्रै थाहा भयो ।’ सोनालीलगायत दाजु र बहिनी मिलेर बुबाआमाको पच्चीसौं एनिभर्सरी ग्रान्ड सेलिब्रेसन गराइदिएका थिए । बुबाका लागि गरिदिएको उक्त कार्यप्रति सोनालीलाई अहिले पनि गर्व लाग्छ । अहिले सोनालीको अगुवाइमा उनको परिवारले ‘डा. मिथिलेश क्यान्सर मेमोरियल फाउन्डेसन’ मार्फत क्यान्सर पीडितहरूको हेरचाह, उपचारमा धेरै काम गरिसकेका छन् ।

 Image