Successfully Copied

स्काउट चौतर्फी विकास

‘बालबच्चालाई आत्मनिर्भर बनाउन आवश्यक छ । विद्यालय वा पाठ्यक्रमसँगै उनीहरूलाई दैनिक जीवनमा आइपर्ने समस्या हल गर्न र बाँच्नका लागि संघर्ष गर्न पनि सिकाउनुपर्छ ।’

‘बालबच्चालाई आत्मनिर्भर बनाउन आवश्यक छ । विद्यालय वा पाठ्यक्रमसँगै उनीहरूलाई दैनिक जीवनमा आइपर्ने समस्या हल गर्न र बाँच्नका लागि संघर्ष गर्न पनि सिकाउनुपर्छ ।’ यी भनाइ हुन्– पारिवारिक परामर्शदाता रमा कार्कीको । हिजोआज बालबालिका परनिर्भर बन्दै गएकामा उनको यो भनाइ उपयोगी हुन सक्छ । बालबालिकाहरू खेलौना मिलाउन, जुत्ता पोलिस गर्न,आफ्नो जुठो भाँडा उठाउनसमेत जाँगर गर्दैनन् । यी सबै कुरा आमाबुबाका लागि छाडिदिने गर्छन् । सानोतिनो समस्यासँग पनि जुध्न सक्दैनन् ।

बालबालिकालाई आत्मनिर्भर कसरी बनाउने ? समस्यासँग जुध्न कसरी सिकाउने ? व्यावहारिक सीप कसरी दिलाउने ? चरित्रवान कसरी बनाउने ? यी र यस्तै प्रश्नहरूको समाधान खोज्नमा अधिकांश अभिभावक रुमलिरहेका हुन्छन् । स्काउटको राष्ट्रिय प्रशिक्षक विमला श्रेष्ठले अब अभिभावकले आफ्ना बालबालिकालाई आफ्नो काम आफैं गर्न, हरेक चुनौती सामना गर्न सिकाउनुपर्ने बताउँछिन् । जुद्दोदय माविकी स्काउट शिक्षकसमेत रहेकी उनी भन्छिन्, ‘विद्यालयको सिकाइ मात्र पर्याप्त छैन । उनीहरूलाई व्यावहारिक जीवन तथा नैतिकताका कुरा पनि सिकाउनुपर्छ ।’ विद्यालयको पढाइसँगै हरेक बालबालिकालाई स्काउटमा प्रशिक्षित गर्नुपर्ने उनको धारणा छ । उनका अनुसार स्काउटले बालबालिकाको फरक क्षमता प्रस्फुटन गराउँछ । विमला भन्छिन्, ‘स्काउटमा उनीहरूले सीमित स्रोत र साधनको प्रयोगबाट कसरी आफ्नो काम सम्पन्न गर्ने, कसरी बाँच्ने भन्ने जीवनोपयोगी कुरा सिक्छन् ।’

अहिलेका बालबालिकाको शारीरिक गतिविधि कम हुन्छ । उनीहरू टेलिभिजन, मोबाइलजस्ता डिभाइसमा घण्टौं अल्मलिरहेका हुन्छन् । फेसबुक, युट्युब, इन्स्ट्राग्राम, टिकटकमा टाँसिएर बस्छन् । बालबालिका घरभित्रै गुम्सेर बस्ने गरेका छन् । त्यसो त बाहिर खेल्ने अनुकूलता नभएकाले पनि तिनीहरू यी विकल्पहरूमा रमाइरहेका हुन सक्छन् । अहिलेका बालबालिका एकल सन्तान तथा एकल परिवारमा हुर्कने भएकाले प्रायः घरभित्रै बस्न मन पराउँछन् । अभिभावकले पनि सुरक्षाको हिसाबले घरभित्रै राख्ने गरेका छन् । यसरी घरमै बस्नुको ‘साइड इफेक्ट’ भनेको बालबालिकाहरू शारीरिक रूपमा कमजोर हुनु हो । व्यावहारिक ज्ञान र सीपबाट वञ्चित हुनु पनि हो । अहिले अधिकांश बालबालिकामा आपसमा घुलमिल हुने, मेलमिलाप गर्ने, प्रतिस्पर्धा गर्ने, समस्यासँग जुध्ने बानीको विकास हुन पाएको छैन ।

मनोविद् करुणा कुँवरले परिवार, आमाबुबा, साथीसंगीबाट एक्लिएर आफैंसँग रमाउनु र खेल्नु राम्रो कुरा नभएको बताउँछिन् । ‘यसले बालबालिकाहरू असामाजिक बन्न पुग्छन्,’ उनी भन्छिन् । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी मनोविद् कुँवरको भनाइप्रति सहमति जनाउँदै भन्छन्, ‘यसरी व्यावहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ । स्काउटमा विद्यालयको कोर्सभन्दा बाहिरको व्यावहारिक कुरामा जोड दिइन्छ ।’ उनले यसबाट उनीहरूलाई चरित्रवान्, सबल, सक्षम, आत्मनिर्भर, सक्रिय, गतिशील र अनुशासित बनाउन सहयोग पुग्ने पनि बताए । स्काउटले भावनात्मक रूपमा बलियो र शारीरिक रूपमा सक्रिय बनाउने भएकाले पनि अहिलेका बालबालिकाका लागि अपरिहार्य भएको उनको भनाइ छ । स्काउटअन्तर्गत सबैसँग समान व्यवहार गर्ने, आपसमा मिल्ने बानीको विकास गराइन्छ । स्काउटमा खेलको माध्यमबाट ‘फाउन्डेसन अफ स्काउट’, ‘ड्युटी अफ गड’, ‘ड्युटी अफ अदर्स’, ‘ड्युटी अफ सेल्फ’ जस्ता कुराहरू सिकाइन्छ ।

‘ड्युटी अफ गड’ मा सबै धर्मप्रति समान आस्था राख्न प्रेरित गरी भेदभावको भावना हटाइन्छ । आध्यात्मिक मूल्य खोज्न प्रोत्साहित गरिन्छ । ‘स्काउट अफ अदर्स’ मा शान्ति, समझदारी तथा सहयोगको भावना विकास गरिन्छ । यो प्रयोगात्मक प्रतिज्ञा र नियम हो । यसअन्तर्गत बालबालिकामा भाइचारा, आपसी मेलमिलाप आदि गुण विकास गराइन्छ । यस्तै, सेवा र सहयोगको भाव पनि उनीहरूमा विकास गराइन्छ । हरेक दिन एउटा न एउटा राम्रो काम गर्नुपर्छ भन्ने कुरा बुझाइन्छ । स्काउट प्रशिक्षक विमला भन्छिन्, ‘स्काउट सिकेका बालबालिकाको व्यवहार र सोच्ने शैली नै फरक हुन्छ ।’ स्काउट सिकेपछि आफूमा बेग्लै आत्मविश्वास उत्पन्न भएको सम्झना नेपाल बताउँछिन् । उनी भन्छिन्, ‘युवतीहरूले त स्काउट सिक्नैपर्छ भन्ने लाग्छ । किनभने अझै पनि हाम्रो समाजमा महिलालाई कमजोर ठान्ने गरिएको छ ।’ स्काउटमा लागेपछि निर्णय क्षमता बढ्ने, हरेक कुरालाई हेर्ने दृष्टिकोण स्पष्ट हुने, नेतृत्व क्षमता विकास हुने उनको अनुभव छ ।

जगातेस्थित विद्या विकास विद्यालयमा २०७० सालमा पढ्दै गर्दा स्काउटमा लागेकी विद्यार्थीमध्ये श्रीषा पौडेल पनि एक हुन् । स्काउटमा लाग्नुअघि उनलाई अरूको सामुन्ने बोल्न डर लाग्थ्यो । अहिले भने धक खोलेर बोल्न सक्छिन् । मनको कुरा स्पष्टसँग राख्न सक्छिन् । ‘यसमा लिडरसिप, कम्युनिकेसन, लाइफ स्किल, युनिटी, सिनियर्सलाई सम्मान गर्ने, कुकिङ विथ आउट फायर, प्राथमिक उपचार सिकाइन्छ,’ उनी भन्छिन्, ‘यी सबै कुरा हरेक व्यक्तिका लागि आवश्यक हुन्छ जस्तो लाग्छ ।’ श्रीषाका बुबा पनि छोरीमा भएको परिवर्तनबाट खुसी छन् । उनी भन्छन्, ‘स्काउटमा लागेपछि मेरी छोरीमा धेरै परिवर्तन आएको छ । उनी अहिले जहाँ पनि बोल्न सक्छिन् । आत्मविश्वास बढेको छ ।’ उनी हरेक अभिभावकले आफ्ना छोराछोरीलाई स्काउट सिकाउनुपर्ने सुझाव दिन्छन् ।

स्काउट सिकेपछि मनैबाट सेवाभाव जागेर आउने अनुभव मनिता श्रेष्ठको छ । उनका अनुसार स्काउट भन्नेबित्तिकै कतिपयले मन्दिरको भीडभाडमा लाइन मिलाउने भनेर मात्र बुझ्छन् तर स्काउट त्यतिमै मात्र सीमित छैन । कोही समस्यामा छन् र असहज स्थिति झेलिरहेका छन् भने उनीहरूलाई सहयोग गर्न तत्पर हुन स्काउटले प्रेरित गर्ने उनको अनुभव छ । स्काउटको मुख्य उद्देश्य भनेको व्यक्तिगत विकास हो । सैद्धान्तिक ज्ञान र व्यावहारिक जीवनबीचको ग्यापलाई सामना गर्न स्काउट जरुरी भएको मनिता बताउँछिन् । स्काउटबारे अनिशा खड्कीको भनाइ अन्यभन्दा फरक छैन । उनी त अझ स्काउटलाई दोस्रो आर्मीको संज्ञा दिन्छिन् । ‘स्काउटलाई दोस्रो आर्मी भनेर चिनिन्छ,’ अनिशा भन्छिन्, ‘शरीर, मनलाई सबल बनाउन स्काउट एक उपयोगी सूत्र हुन सक्छ ।’ उनका अनुसार स्काउटको क्याम्पमा आफैं काम गर्नुपर्छ । ‘हामीले खाना कसरी पकायौं, मिलेर पकायौं कि पकाएनौं, पकाएको खाना कस्तो भयो, खानेले मीठो मानेर खायो कि खाएन, त्यही आधारमा हामीलाई परीक्षण गरिन्छ,’ उनी भन्छिन् ।

हरेक किसिमको जोखिम परास्त गर्न सकिन्छ ।

– सम्झना नेपाल

स्काउटले आत्मविश्वास बढाउँछ ।

– श्रीषा पौडेल

मनैबाट सेवाभाव उत्पन्न हुन्छ ।

– मनिता श्रेष्ठ

शरीर र मनलाई सबल बनाउँछ ।

– अनिशा खड्गी

व्यावहारिक जीवनमा उपयोगी

लोकबहादुर भण्डारी

राष्ट्रिय संयोजक, नेपाल स्काउट

स्काउट किन अनिवार्य छ ?

यो अनौपचारिक शिक्षा हो । यसमा कोर्सभन्दा बाहिरको जीवन उपयोगी कुरा सिकाइन्छ । नैतिकवान, चरित्रवान, स्वावलम्बी, अनुशासित र योग्य नागरिक बन्न सहयोग पुर्‍याउँछ । भैपरी आउने आपत्विपत्का बेला कसरी बच्ने ? समाजमा कसरी घुलमिल हुने ? भन्ने कुरा सिकाइन्छ । सामाजिक सेवाभाव पैदा गर्छ । आत्मविश्वास बढाउँछ ।

कसलाई र कुन उमेरकाले सिक्न आवश्यक हुन्छ ?

बालबालिका र युवाहरूलाई आवश्यक छ । शारीरिक, मानसिक र बौद्धिक विकास गराउने भएकाले सानैदेखि स्काउटमा आबद्ध हुन जरुरी छ । उद्धार कार्यमा जुट्नका लागि युवाहरूलाई स्काउट सिक्न आवश्यक छ । समाजमा सकारात्मक सोचको विकास र सिर्जनात्मक सोचको विकास गर्न स्काउटले सहयोगी भूमिका निभाउँछ । स्काउट ७ वर्षको उमेरदेखि नै गर्न सकिन्छ ।

महिलामाथि हुने दुर्व्यवहारबाट बच्न उनीहरूलाई आत्मरक्षाको विधि पनि सिकाइन्छ ?

यसमा आत्मरक्षा नै भनेर तालिम नदिए पनि शारीरिक क्रियाकलापहरू सिकाइने हुनाले उनीहरू बलियो र सक्षम बन्छन् । युवाहरूमा नकारात्मक विचारहरू हटाएर सकारात्मक सोचको विकास हुने भएकाले उनीहरूमा राम्रो भावना उत्पन्न हुन्छ ।

स्काउट सामुदायिक र सरकारी विद्यालयमा कत्तिको प्रयोगमा छ ?

सातै प्रदेशको प्रत्येक पालिकाको, प्रत्येक विद्यालयमा पुर्‍याउने योजनामा छौं । एक, पाँच र चार गरी तीन वटा प्रदेशमा त सुरु भइसक्यो । ७५३ वटा स्थानीय निकायमा स्काउट सञ्चालन गर्ने नीति सरकारले लिएको छ ।

चुनौतीसँग सामना गर्न सकिन्छ

विमला श्रेष्ठ

राष्ट्रिय प्रशिक्षक

स्काउट मानव जीवनमाथि उठाउने एक शैक्षिक अभियान हो । बालबालिका तथा युवा वर्गलाई कर्तव्यपरायण, चरित्रवान, सुयोग्य नागरिक बनाउनुका साथै उनीहरूको शारीरिक, मानसिक एवं बौद्धिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । बालबालिकाको मनोविज्ञान बुझेर उनीहरू के चाहन्छन्, त्यहीअनुसार आफूलाई ढाल्ने प्लेटफर्म हो । उनीहरूलाई बाहिरी वातावरणसँग घुलमिल हुन सिकाउँछ । मानव जीवनमा थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुन्छ, त्यसलाई चिर्नका लागि नैतिक र अनुशासित हुनु जरुरी हुन्छ । स्काउटले व्यवहारमा सकारात्मक परिवर्तन ल्याएर स्वस्फूर्त बनाउँछ । जात, धर्म, वर्ण, सानो, ठूलो केहीको भेदभाव नगरी अनुशासनको पाठ सिकाउँछ । आफैंले पकाएर खाने, आफूसँग भएको सीमित स्रोत र साधनको प्रयोग कसरी गर्ने भन्ने कुरा थाहा हुन्छ । क्याम्पमा गएका बेला त्यहाँ बेलुका हुने ‘क्याम्प फायर’ मा आफूभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउने मौका पाइन्छ । सम्पूर्ण थकान, दुःख, पीडा बिर्सेर रमाइलो गरिन्छ । जस्तोसुकै परिस्थितिमा पनि सर्भाइभ गर्ने र जस्तोसुकै चुनौतीको सामना गर्न प्रतिबद्ध बनाउँछ ।

कसैलाई बाटो क्रस गराउने होस् वा खुला धाराको पानी बन्द गर्न होस्, हरेक दिन एउटा राम्रो काम गर्नुपर्छ । स्काउटका बच्चा र अन्य बच्चामा आक ाश–पातालको फरक देखेकी छु । विद्यालयमा केही कार्यक्रम हुँदा वा कक्षाकोठामा स–सानो काममा अघि सर्छन्, सहयोगी र मिलनसार हुन्छन् । उनीहरू सेवाको भावनाले सबै प्रकारका क्याम्पमा सहभागी भइरहेका हुन्छन् । कोरोनामा पनि विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छन् । बाढीपीडितहरूका लागि कपडा संकलनदेखि कर्णाली जस्तो दुर्गम क्षेत्रमा कापी, कलम, किताब संकलन गरेर पुर्‍याएका छन् ।

 Image