संस्कार र संस्कृति महिलाले मात्र जोगाउनुपर्ने ?

रामेश्वरी पन्त

भाद्र १५, २०७७ नेपालमा धर्म, स्वर्ग र मोक्षको आश र त्राश देखाउँदै मृत पतिको लाससँगै नारीलाई ज्युँदै चितामा जल्न बाध्य पारिने अत्यन्त क्रूर र अमानवीय परम्पराको अन्त्य भएको भर्खरै सय वर्ष पूरा भएको छ । हिन्दू धर्मसँग जोडिएको यस्तो अमानवीय परम्पराले ‘सतीप्रथा’ को नाममा समाजमा वर्षौंसम्म राज गरिरह्यो । धर्मका ठेकेदार (कथित पण्डितहरू) ले यो क्रूरतालाई निरन्तरता दिन बल लगाइरहे । तर परिवर्तित समयको गति र चेतनायुक्त दबाबका कारण सतीप्रथा अन्त्य भएर गयो । लोग्ने मरेकी नारीलाई ज्युँदै पोल्ने सतीप्रथाको अन्त्य गरिँदा यसको विरोधमा तिनै धर्मका ठेकेदारहरूको आवाज नउठेको पनि होइन तर केही सीप नलागेपछि फेरि पनि नारीहरूलाई नियन्त्रणमा राख्न र उनीहरूमाथि शासन गर्न धर्मकै आड लिएर अनेकौं धर्मकथाको निर्माण गरियो । धर्मकै दुहाई दिएर नारी मनोविज्ञानमा कयौं आश र त्राशको बीजारोपण गरियो र आजसम्म पनि तिनै धर्मकथाले नारीहरूलाई डोर्‍याउन र नियन्त्रित गर्न खोजिरहेका छन् ।

हुन त अहिले चर्को हिन्दू राष्ट्रवादको छाल उर्लिरहेको समयमा धर्ममाथिको टिप्पणीं जोकोहीका लागि पाच्य नहोला । एकातिर बढ्दो ईशाईकरणले वैदिक सनातन परम्परालाई आत्मसात् गर्दै आएको हाम्रो हिन्दू धर्ममाथि अतिक्रमण गरिरहेको देखिन्छ भने अर्कातिर यही हिन्दू धर्मका नाममा थोपरिएका धार्मिक परम्पराले समाजमा रोपेको विभेदको मानसिकताविरुद्ध महिलाहरूको जागरुकता र खबरदारी पनि बढिरहेको छ । समानता, स्वअस्तित्व र आत्मसम्मानको चेतनाले प्रस्फुटित नारी आवाजहरूले धर्मका नाममा लेखिएका र लादिएका विभेदजन्य र अपमानबोधक मान्यताहरूको अन्त्य गर्दै ‘नारी पुरुष बराबरी’ को भावनाले हाम्रो धर्म, हाम्रा परम्परा र चाडपर्व मनाउँदै जाऊँ’ भन्ने सन्देश छरिरहेको पाइन्छ । तर यस्ता आवाजमाथि धर्मप्रतिको अतिक्रमण भन्दै केही उग्र कट्टरपन्थी धर्मभिरूहरूले आक्रमण गर्ने क्रम पनि उत्तिकै देखिएको छ ।

वास्तवमा धर्म निकै संवेदनशील विषय हो र यसको नशा त अफिमको नशाभन्दा पनि कडा हुन्छ । त्यसैले यो नशाबाट व्यक्तिलाई र समाजलाई चेतनाको प्रकाशले प्रकाशित गराउन खोज्नु जोखिमपूर्ण कार्य हो । राजनीतिक परिवर्तनमा जस्तो धर्म र संस्कृतिमाथि धावा बोल्दै सामाजिक परिवर्तन ल्याउनु त्यति सजिलो छैन । समाज परिवर्तन गर्न, नारी पुरुषबीच समान हक र हैसियतको वकालत गर्न राजनीतिक मञ्चबाट भाषण गरेजस्तो सजिलो छैन । धर्मको नशाबाट मुक्ति पाउन र दिलाउन सजिलो छैन । तर पनि धर्म र संस्कृतिका नाममा नारीमाथि शासन गर्न लेखिएका कयौं धर्मकथाहरूमाथि बहस गर्न अबको दिनमा आवश्यक भएको छ, चाहे तीजका, ऋषिपञ्चमीका र स्वस्थानीका कथा नै किन नहोऊन् ? हिन्दू धर्म हाम्रो जीवनमार्ग हो तर धर्मकै आडमा बनाइएका कथानक स्वीकार गर्नैपर्छ भन्ने बाध्यतालाई हाम्रो चेतनास्तरले ठाउँ दिन सक्दैन ।

हालै एकजना गायिकाले तीजको व्रत सम्बन्धमा एउटा गीत बजारमा ल्याइन् । ‘अबको तीज, नो व्रत प्लिज’ बोलको उक्त गीतमा उनले नारीहरूलाई तीजको व्रत नबस्न र लोग्नेको गोडा धोएको जल नखान आग्रह गरेकी छन् । यो गीतले धार्मिक राष्ट्रवादको जग नै हल्लियो । गीतको सर्वत्र विरोध भयो । धर्ममाथि धावा बोलेको भन्दै हिन्दू जागरण अभियान नामक संस्थाका केही युवाहरूले उक्त गीत नगाउन र युट्युब च्यानलबाट हटाउन दबाब मात्र दिएनन्, यदि गीत नहटाए भौतिक कारबाही गर्नेसम्मको धम्की दिए । अरु त अरु स्वयं महिलाहरू नै धेरैजसो यो गीतको विपक्षमा उभिन पुगे । गायिकामथि चारैतिरबाट अश्लील गाली र धम्की पछि अन्ततः गीत हटाइयो ।

हिन्दू नारीहरूले अत्यन्तै आस्था, श्रद्धा, उत्साह र उमङ्गका साथ मनाउँदै आएको तीज पर्व र यसको व्रतका बारेमा विरोध गर्दै यसरी ‘व्रत नै नबस’ भन्नु कतिसम्म जायज हुन्थ्यो, त्यो बहसको विषय त बन्ला नै किनभने कसैको धार्मिक आस्थामाथि प्रहार गर्नुलाई उचित मान्न सकिँदैन । तर जुन किसिमले तीजको व्रतको कथा लेखिएको छ, सुनाइएको छ, घोकाइएको छ त्यो कथामा अब पनि परिमार्जन र परिस्कार नहुने हो भने अबका छोरीहरूले त्यसलाई परिमार्जित गर्दै लैजानेमा दुईमत छैन । किनभने समय, परिस्थिति र छोरीहरूमा आएको चेतना र अस्तित्वबोधले तीजको व्रतलाई त नकार्न नसक्ला किनभने धार्मिक आस्था र महादेव–पार्वतीसँग जोडिएको यो व्रत यथासम्भव तरिकाले सबैले गर्छन् नै । रह्यो, पतिको गोडाको जल खाने कुरा । के अबका छोरीहरूले कथाले भनेजस्तै चौबीस घण्टा पानी पनि नपिई व्रत बसेर भोलिपल्ट बिहान पतिको गोडाको जल खाएर मात्र व्रत तोड्न तयार होलान् ? के अबका छोरीहरूले ‘तीजको व्रतमा पानी पिए पतिको रगत पिए बराबर हुन्छ’ भन्ने कुरा पत्याउलान् ? अथवा अबका पतिहरू धर्म र व्रतको नाममा पत्नीलाई आफ्ना गोडाको जल खुवाउन तयार होलान् ? होलान् अझै पनि कोही यसरी खाने र खुवाउने । उनीहरूलाई सचेत पार्ने अभियानकै रूपमा गाइएको गीतले धर्म संस्कृति नै मासिएको ठान्दै विरोधमा अपशब्द बोल्नु पनि आफैंमा लज्जास्पद छ ।

यसो भनिरहँदा व्रत र उपवासले हाम्रो स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई पनि बिर्सनु हुँदैन । समय–समयमा वा कहिलेकाहीँ व्रत बस्दा शरीर र मन दुवै शुद्ध हुनुका साथै आत्मिक शान्ति पनि मिल्छ । त्यसैले हाम्रा पूर्वज ऋषिमुनिहरूले उपवासको महत्वलाई मानव समाजमा स्थापित गर्न धर्मको आड लिएको कुरालाई नकार्न सकिँदैन । तैपनि व्रत सबैका लागि बाध्यकारी छैन भनेर शास्त्रमै पनि उल्लेख गरिएको पाइन्छ । जस्तो, वृद्ध–वृद्धा, रोगी, अशक्त, गर्भवती, सुत्केरी तथा बच्चालाई स्तनपान गराइरहेकी महिलालाई व्रत नबस्नु भनेर भनिएको छ । आधुनिक चिकित्सा पद्धतिले पनि व्रत र उपवासलाई महत्वपूर्ण मानेको छ तर पानी पनि नपिई व्रत बस्नु हानिकारक र जोखिमयुक्त भएकाले पानी मात्र पिएर व्रत बस्न भनिन्छ । यसै सन्दर्भमा भर्खरै सोफिया थापाको ‘नो व्रत प्लिज’ को जवाफमा एकजना डाक्टरले ‘एस व्रत प्लिज’ शीर्षकमा लेख पनि लेखेको भेटियो । जसमा व्रत बस्नुका फाइदा उल्लेख गरिएको छ ।

अहिले समाजमा हिन्दू धर्मलाई पेवा ठान्ने एउटा यस्तो वर्गको जन्म भएको छ जसले यसभित्रका विसंगतिको चर्चा मात्र पनि गरेको सुन्न चाहँदैन र आक्रमण गरिहाल्छ । अझ नारीहरूले ‘धर्म, संस्कार र परम्पराका नाममा आफूमाथि लादिएका विभेदजन्य भाष्य र व्यवहारको विरुद्धमा आवाज नै उठाए भने त ‘हिन्दू धर्म नै सकियो’ भन्ने ठान्दछन् । के हिन्दू धर्म त्यति कमजोर जगमा अडिएको धर्म हो ? जसलाई एउटा गीतले नै हल्लाइदिन्छ ? यसो हो भने यस भित्रका कमी–कमजोरीहरूलाई सुधार्न र सबै वर्ग र जातलाई समान सम्मानका साथ अगाडि बढाएर हिन्दू धर्मप्रति आस्था बढाउन धर्मगुरुहरूले सहयोग किन नगर्ने ? समाज परिवर्तनशील छ, मानिसको चेतना गतिशील छ । त्यसैले कट्टरतालाई त्यागेर लचकता अपनाउन हिन्दू धर्मका मठाधीशहरू र धर्मगुरुहरू तयार हुने हो भने कसैले पनि हिन्दू धर्मका विरुद्धमा एक शब्द बोल्ने आवश्यकता पर्ने थिएन ।

हाम्रो मौलिक संस्कृति हाम्रा सम्पदा हुन् । यिनको संरक्षण र निरन्तरता हाम्रो कर्तव्य हो । तर समाजमा प्रचलित धर्म, संस्कृति र परम्पराको संरक्षणको जिम्मा सधैँ महिलाले मात्रै लिनुपर्ने किन ? एउटी महिलाले व्रत बस्दिनभन्दा, लोग्नेको खुट्टाको जल खाँदिनभन्दा धर्मको विरोध हुन्छ । मानौं हिन्दू धर्म समाप्तै पारी भन्ने सोचिन्छ तर त्यही महिलाको विरोध गर्ने, आफूलाई कट्टर हिन्दू सम्झने समूहका पुरुषहरूले उनीहरूलाई त्यही हिन्दू धर्मले तोकिदिएका आचारसंहिताहरू पालना गर्नुपर्दैन ? कतिले आफूलाई हिन्दू वा वैदिक सनातन धर्मका नियम पालक सम्झेका छन् ? कतिले धार्मिक आचरण र अनुशासनमा आफूलाई हिँडाएका छन् ? गृहस्थ पुरुषहरूको त कुरै नगरौं, गेरुवावस्त्र र रामनामीभित्र लपेटिएर आफूलाई हिन्दू धर्मको ठूलो रक्षक सम्झनेहरूले पनि एकपटक छातीमा हात राखेर सोचून्–उनीहरूले कत्तिको धार्मिक अनुशासन पालन गरेर बाँचिरहेका छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>