"पद्य र गद्य लेखनका आ–आफ्नै सामर्थ्य" - शारदा शर्मा, साहित्यकार

नारी संवाददाता

भाद्र १४, २०७७

तपाईं साहित्य क्षेत्रमा प्रतिबद्ध भएर लाग्नुभएको देखिन्छ । लेखक बन्ने सपना सानैदेखि देख्नुभएको थियो वा बाल्यकालको सपना अरु नै थियो ? कसरी यो क्षेत्रप्रति आकर्षित हुनुभयो ?

यस्तो प्रश्नको सामना मैले धेरै अन्तर्वार्तामा गरिसकेकी छु । वास्तवमा कुनै पनि बालबालिकाले पछि यस्तो बन्छु भन्ने सपना देख्दैनन् र मैले पनि देखिन । आफ्ना बालबालिकाका निम्ति प्रायः सपना अभिभावकले देख्ने गर्छन् । लेखेर मैले कुनै ठूलो काम गरें भन्ने लाग्दैन । आफ्ना रुचिका, रहरका, सन्तुष्टिका काम गर्दै जाने क्रममा लेखनसँग जोडिन पुगेको हो ।

लेखनमा तपाईंलाई प्रेरणा दिने व्यक्तिहरू, घटना, पुस्तकहरू के–के हुन् ?

लेखन कुनै बाह्य प्रेरणाभन्दा पनि आन्तरिक आवश्यकताले नै प्रेरित हुन्छ जस्तो लाग्छ । मेरो सन्दर्भमा आफूभित्र गुम्सिएका भाव र विचारलाई पोख्ने र हलुंगो हुने आवश्यकताले नै मलाई लेखक बनाएको हो । निरन्तर प्रश्न गरिरहने चेतनाले मान्छेलाई लेखक बनाउने हो । यथास्थितिमा सन्तुष्ट मान्छे अरू नै केही बन्ला तर लेखक बन्दैन । आफूभित्र जन्मिरहेका अनन्त प्रश्न र असन्तुष्टिहरूको उत्तर खोज्ने क्रममै म लेखिरहेकी छु ।

भेट्नु भयो त उत्तर ?

मान्छेले जुन दिन आफूभित्रको अनन्त जिज्ञासाको उत्तर भेट्छ, त्यसपछि लेख्ने आवश्यकता नै रहँदैन ।

बाल्यकालमा पढेका तर नबिर्सने कथा, उपन्यासको सम्झना छ ?

बाल्यकालमा मैले खासै कोर्सबाहिरको किताब पढ्न पाइन । त्यतिबेला नेपाली भाषामा त्यस्ता किताब हुँदैनथे । हामी महाभारत, रामायणलगायत लोककथाहरू सुनेर ठूला भएका हौं ।

पहिलो रचना प्रकाशित हुँदाको अनुभूति कस्तो थियो ? त्यो खुसी कसरी सेलिब्रेट गर्नुभयो ?

हामी पोखरा बस्थ्यौं । बुवाले मेरो नाम राखेर काठमाडौंबाट निस्कने ‘बालक’ पत्रिकामा एउटा कथा लेखेर पठाइदिनुभएको रहेछ । मेरो नामबाट निस्केको पहिलो रचना त्यही थियो । मलाई लेख्न प्रेरणा होस् भनेर बुवाले त्यसो गर्नुभएको होला तर मलाई त्यसले खुसीभन्दा बढी सकस भयो । मैले आफैंले लेखेको रचना २०३९ सालमा छापिएको कविता थियो । बिपी कोइरालाको निधनका बेला लेखेको कविता थियो । उक्त कविता छापिदा चाहिँ अन्तर्मनबाटै रमाइलो लागेको थियो ।

सुरुमा तपाईंले कविता धेरै लेख्नुभयो । कविता संग्रह पनि प्रकाशित गराउनुभयो । पछिल्ला दिनमा भने निबन्ध र उपन्यासमा बढी केन्द्रित हुनुहुन्छ । कविता कम गरेर गद्यतिर जानुको कारण के हो ?

पद्य र गद्य लेखनका आ–आफ्नै सामर्थ्य र सीमा हुन्छन् । कवितामा भाव पक्ष प्रबल हुने हुँदा कथ्य तरल, अस्पष्ट जस्तो पनि हुन्छ । गद्य लेख्नका लागि अलि बढी साहस चाहिन्छ । त्यो साहस जुटाउन मलाई केही समय लाग्यो । अर्को कुरा, कविता लेख्न बढी नै संवेदनशील मन चाहिन्छ । सायद समयले मनका संवेदनशीलतालाई पनि कम गर्दै लग्यो कि ? कविता लेख्ने क्रम केही पातलिएको भए पनि छुटेको चाहिँ होइन । पछिल्लोपटक निस्केको मेरो पुस्तक कविताकै हो ।

हाम्रो समाजमा समग्रमा महिलाको अवस्था त्यति सुखद् छैन । साहित्य क्षेत्रमा पनि पुरुषको तुलनामा महिला कमै छन् । यस्तो अवस्थामा तपाईंले लेखन एवं सार्वजनिक जीवनमा कुनै अप्ठ्यारो अनुभव गर्नुपर्‍यो कि ?

महिलालाई लेखनमा मात्र होइन सबै क्षेत्रमा पुरुषलाई भन्दा बढी अप्ठ्यारो छ । यो मूलतः शक्तिसँग सम्बन्धित कुरा हो । महिलाले पहिला आफूलाई शक्तिशाली बनाउनुपर्छ । शक्तिको आधार मूलतः आर्थिक र शैक्षिक हैसियत हो । शिक्षित र आर्थिक रूपमा आत्मनिर्भर महिलाहरू परनिर्भर महिलाका तुलनामा बढी शक्तिशाली हुन्छन् । यद्यपि सबल बन्नका लागि मानसिक मनोवैज्ञानिक आत्मनिर्भरता उत्तिकै आवश्यक हुन्छ । समग्रमा समाजको पुरुषप्रधान मानसिकता यस मामिलामा त्यति सहयोगी छैन । तर पुरुषप्रधान मानसिकता केवल पुरुषको मात्रै हुन्छ भन्नु अर्को गल्ती हो । लेख्नु भनेको आफ्नो मत सार्वजनिक गर्नु हो । त्यो भनेको प्रतिस्पर्धामा उत्रनु र हस्तक्षेप गर्नु पनि हो । आफूले देखेको सत्यको उद्घाटन गर्दा सधै सजिलो हुँदैन । त्यसमाथि समाजमा महिलाहरूका लागि त्यति सहज वातावरण पनि छैन । स्वतन्त्र बनेर लेख्न खोज्ने अधिक महिलाका निम्ति कुनै न कुनै रूपमा आफ्नै घरबाट समस्या सुरु हुन्छन् । समाज वा समुदाय पनि घरकै अलि बिस्तारित रूप हो । यी सबैको सामना गर्नुपर्ने हुन्छ । चुनौती सामना गर्न नसक्ने मान्छेलाई लेखक बन्न कठिन नै हुन्छ । पुरुषलाई पनि हुन्छ र महिलालाई अलि बढी नै हुन्छ ।

लेखनमा सबैभन्दा अप्ठ्यारो पक्ष के हो ?

सजिलो गरी असजिलो कुरा भन्ने सीप नै सबैभन्दा अप्ठ्यारो कुरा हो, लेखनमा । सुरु–सुरुमा अप्ठ्यारो नबुझिने शब्दहरू हालेर लेख्नुपर्छ जस्तो लागेर त्यसै गर्थें । त्यो गलत रहेछ भन्ने कुरा बिस्तारै बुझ्दै गएँ ।

अझै पनि सार्वजनिक भूमिका, संस्थागत नेतृत्व तथा सम्मान र पुरस्कारमा पुरुषहरूकै बाहुल्य देखिन्छ । यस्तो अवस्थाको अन्त्य कसरी होला ?

व्यक्तिगत रूपमा मलाई यस्ता कुरामा कहिल्यै रुचि भएन । अब त झनै रहेन । तर म यस्तो हुनुहुँदैन भन्ने पक्षमा छु । अघि नै भने, यो समाजको संरचनागत समस्या हो । आफ््नी आमालाई आफ्नो बाबुको अघिल्तिर लाचार निरीह देखेर हुर्केको छोरामा महिलाप्रति सम्मान र बराबरीको भाव कसरी पैदा हुन सक्छ ? हरेक परिवारले आफ्ना बालबालिका हुर्काउँदा सचेत हुने हो भने यो समस्या समाधान गर्न बढी सजिलो हुनेछ ।

लेखनमा तपाईंलाई कस्तो परिस्थिति वा घटनाले बढी प्रेरित गर्छ ?

लेख्नका लागि मान्छेको संवेदना तरङ्गित हुनुपर्छ, भित्रैदेखि छोइनुपर्छ । कविता लेख्न मलाई प्रायः पीडाको भावले बढी प्रेरित गर्छ । गद्य लेखनमा चाहिँ समाजमा रहेका असमानता, विभेद र विसंगतिहरूले बढी घच्घच्याउँछन् ।

कस्ता पुस्तक बढी पढ्नुहुन्छ ? किन ?

सुरु–सुरुमा कथा वा उपन्यास पढ्न रुचि लाग्थ्यो । आफ्नो फक्रदै गरेको कल्पनाशीलतालाई त्यसले मलजल गर्थ्यो । पछिपछि दार्शनिक रचनाहरूले ताने । जीवन र जगत्को रहस्यमयताले आकर्षित गर्‍यो । म को हुँ ? किन हुँ ? जस्ता प्रश्नहरू उठ्थे मनमा । अचेल इतिहास र आत्मवृत्तान्तहरू पढ्न–हेर्न रुचाउँछु । मानिसका जीवनका अनुभवहरू सोझै जान्न–बुझ्न बढी मन लाग्छ । इतिहास विभिन्न काल खण्ड र त्यसमा बाँचेका मानिसकै अनुभवको तस्बिर हो । आत्मवृत्तान्तहरू पढ्दा जीवनलाई नजिकबाट अनभुव गर्न सकिन्छ । एउटै जीवनमा धेरै जीवनका अनुभव गर्नु बढो रोमाञ्चक कुरा हो । आध्यात्मिक विषय सबै मन पर्छन् । कसरी लेखिएको छ, त्यसको शैलीले पनि पढ्ने कुरामा फरक पार्छ ।

तपाईं राजनीति सचेत परिवारको सदस्य हुनुहुन्छ । नरहरि आचार्य पूर्णकालीन राजनीतिज्ञ हुनुहुन्छ । राजनीतिक नेतासँगको सहजीवनका सकारात्मक पक्ष र अप्ठ्यारा अनुभवहरू बताइदिनुहोस् न ।

मानिसलाई राजनीतिमा बढी आकर्षण हुन्छ । शक्ति र प्रभावको कुरो हो यो । सक्रिय र अझ पदमा समेत बसेका राजनीतिज्ञको छेउमा रहँदा, स्रोत, साधनसम्म सजिलो गरी पहुँच पुग्न सक्छ । यसबाट फाइदा उठाउन रुचि राख्ने र सक्नेका निम्ति सजिलो र रमाइलो पनि होला । मिडियाको आँखामा परिन्छ, मानिसले फाइदा उठाउँछन् त्यो पनि फाइदै होला । तर यस्ता कुराले दुःख पनि धेरै दिन्छन् । खासगरी नरहरिजी पदीय जिम्मेवारीमा रहँदा मलाई धेरै अप्ठ्यारो भयो । सजिलो–अप्ठ्यारो भन्ने कुरा आफ्नो संवेदनशीलतामा पनि भर पर्छ । बढी संवेदनशील र उत्तरदायी हुन खोज्दा अप्ठ्यारो बढी हुन्छ । राजनीतिक नेतालाई प्रहार गर्ने सबैभन्दा सजिलो पात्र तिनका पत्नी हुन्छन् । खासगरी नरहरिजीको संसदीय चुनावका बेला र मन्त्री भएका बेला मलाई यो अनुभव राम्रैसँग भयो ।

एउटा कार्यक्रममा नरहरि आचार्यज्यूले ॅशारदाले मलाई त पात्र बढी देख्दिरहिछन्’ भन्नुभएको थियो । तपाईंका निबन्धमा उहाँ धेरै ठाउँमा प्रत्यक्ष आउनुभएको छ । उहाँलाई पात्र बनाएर कथा वा उपन्यास लेख्ने सोच्नुभएको छैन ?

लेखकलाई ‘मान्छे’ पात्रजस्तो लागेन भने त्यो अस्वाभाविक हुन्छ । कुनै लेखन सुरु गरेर तदनुरूपका पात्रहरू खोज्दै गरेको लेखकको निम्ति नजिकको मान्छे पात्र बन्न पुग्नु सामान्य कुरो हो । त्यसमाथि यो समग्र सृष्टिमा मान्छे पात्र नै त हो । मेरो निबन्धमा कथ्यलाई हिँडाउने माध्यमका रूपमा मेरा नजिकका मान्छे पात्रका रूपमा आएका छन् । यात्रा संस्मरणमा, सँगै यात्रामा हिँडेका साथीहरूको नाम आउनु स्वाभाविकै हो । तर कतिपय मान्छेको ध्यान कथ्यमा जाँदैन, ती पात्र मात्र सम्झन्छन् । पात्रहरू समकालीन छन् तिनमाथि आग्रह पनि छ भने अझ बढी सम्झन्छन् । त्यसमा त के गर्न सकिन्छ र ? उपन्यास वा कुनै पनि सिर्जनात्मक लेखन बलपूर्वक लेख्न सकिँदैन । एउटा प्रेरणाले निरन्तर घच्घच्याउनुपर्छ । सिर्जनात्मक लेखनमा सोचेर लेख्ने भन्दा पनि लेखेर सोच्ने काम बढी हुन्छ । उमेरका कारणले पनि हो कि आजकल मलाई आख्यान लेख्न मन लाग्दैन । जीवन आफैं यति विधि विचित्र अनुभव र संयोगहरूले भरिएको छ, कल्पना गरेर किन लेख्नुजस्तो पनि लाग्छ ।

बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता प्रसिद्ध राजनेतासँग पनि तपाईंको नजिकको सम्बन्ध थियो । उहाँहरूलाई कसरी सम्झनुहुन्छ ?

बीपीलाई मैले मृत्युपछि मात्र देखेकी हुँ । मलाई उहाँको गद्य साहित्य राम्रो लाग्छ । विशेषगरी उहाँले निर्माण गरेका नारी पात्रहरू निकै बलिया छन् । मैले आफ्नो एम.ए.को थेसिस उहाँको साहित्यका नारी पात्रहरूका बारेमा लेखेकी हुँ । अन्य नेताहरूसँग मेरो त्यस्तो खासै सम्बन्ध थिएन । जति सीमित सम्बन्ध थियो, नरहरिजीकै कारण थियो । मसँग खासै राजनीतिक महत्वाकांक्षा नभएकाले पनि त्यसो भएको होला । कुनै पनि मान्छेलाई असल, खराब वा सामान्य भनेर सम्झने आधार तिनको कृति र कर्म हो । तिनमा भएको गुण र दोषको अनुपात हो र ती सबैबाट आफूमाथि परेको प्रभाव हो । उहाँहरूलाई पनि म त्यसै आधारमा सम्झन्छु ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>