नवनियुक्त डिन डा. दिव्याः चाहना कार्डियोलोजिस्ट, काम नेफ्रोलोजीस्ट

उपासना घिमिरे

असार ४, २०७७

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की नवनियुक्त डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहको जीवन भोगाई निकै उत्प्रेरक छ । त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख डा. शाहले प्रधानमन्त्री केपी शर्मा वलीको निजी चिकित्सकसमेत रहेकी उनी बुधबार आइओएमको डिनमा नियुक्त भएकी हुन् ।

निजी जीवन र अध्ययन

काठमाडौं थापाथलीस्थित प्रसूति गृहमा जन्मेकी डा. दिव्याको बाल्यकाल बालुवाटारमा रहेको घरमा बित्यो । पेसाले उनका  बुवा अधिवक्ता थिए । उनी सर्वोच्च अदालतको  न्यायाधीश भएर अवकास भए । उनी आमा गृहिणी हुन् । दिव्याकी एक बहिनी पनि चिकित्सक हुन् । दिव्याका दुई छोरा छन् ।

इन्टरनेशनल स्कुलमा नर्सरी पढेकी डा. दिव्याले पशुपति स्कुल हुँदै मोर्डन स्कुलबाट स्कुले शिक्षा पूरा गरिन् । अमृत साइन्स कलेजबाट आइएस्सी, मोतिलाल नेहरु कलेज इलाहावादबाट एमबीबीएस र एमडी पूरा गरिन् ।

यसरी मोडियो बाटो

डा. दिव्या मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) बन्न चाहन्थिन् । फिजिसियन बन्ने पनि मन थियो । नेफ्रोलोजीमा (मिर्गौला रोग विशेषज्ञ)मा खासै रुचि थिएन ।  इण्डियामा एमडी पास गरेर आएपछि शिक्षण अस्पतालमा आमालाई देखाउन जाँदा डा. गोविन्द शर्माले उनलाई यहीं आएर काम गर्न सुझाए । त्यसपछि उनी शिक्षण अस्पतालमा काम गर्न थालिन् ।

त्यतिबेला विभागमा मुटु तथा अन्य रोगका चिकित्सक भए पनि मिर्गौलाका चिकित्सक थिएनन् । तत्कालीन स्थितिमा जापान सरकारले दुईवटा मिर्गौला उपचार गर्ने मेशिन दिएको रहेछ । तर एकजना मात्र विशेषज्ञ चिकित्सक थिए ।

उनलाई पनि त्यसैमा काम गर्न निर्देशन आयो । सुरुसुरुमा इच्छा नलागी नलागी दुई–तीन महिना काम गरिन् । कामका सिलसिलामा उनले मिर्गौला रोगीको पीडा बुझिन् । र क्रमशः उनलाई यो क्षेत्रमा रुचि बढ्यो ।

उनको पेपर पनि अन्तर्राष्ट्रिय कन्फरेन्समा स्वीकार हुन थाल्यो । पछि उनले ‘नेफ्रोलोजिमा साधारण ज्ञान सिकेर मात्र भएन, विशेषज्ञता नै हाँसिल गर्नुप¥यो’ भनेर प्रत्यारोपणसम्बन्धी थप अध्ययन अस्ट्रेलियास्थित मोनास मेडिकल कलेजबाट पूरा गरिन् । त्यहाँ उनले छात्रवृत्तिमा पढिन् । डा. गोपालप्रसाद आचार्य र डा. गोविन्दका कारण उनको पेसाको बाटो मोडियो ।

इण्डियामा एमडी पढ्दा कक्षामा उनी एक्ली केटी थिइन् । त्यो बेला धेरै महिला स्त्रीरोग विशेषज्ञ, बच्चाको डाक्टर र एनेस्थेसिया पढ्थे । ती विषय नरोजेकाले साथीहरुले उनलाई ‘तिमी कहाँ केटा जचाउन आउँदैनन्, पत्याउँदैन’ भन्थे । तर उनले त्यो समस्या भोग्नु परेन ।

अहिले सफल मिर्गौला रोग विशेषज्ञको छवि बनाएकी डा दिव्याले मिर्गौलासम्बन्धी, उपचार र सुरक्षाबारे दिएका केही ज्ञा तथा सुझावः

मिर्गौला बिग्रने कारण

कुनै पनि उमेरका मानिसको मिर्गौला बिग्रन सक्छ । यसका कारण फरक हुन्छन् । बच्चा, युवा र वृद्धामा फरक–फरक तरिकाले मिर्गौलामा असर परेको हुन्छ । वंशाणुगत रोग, मूत्रनलीसम्बन्धी रोग, संक्रमण, डायरिया आदि भएर बच्चामा मिर्गौलासम्बन्धी समस्या देखिन सक्छ ।

युवामा रोगप्रतिरोधी प्रणालीका कारण मिर्गौलासम्बन्धी समस्या हुन सक्छ । पिसाबमा प्रोटिन चुहिने समस्याका कारण पनि मिर्गौला खराब हुन्छ । यसैगरी मुत्रनलीसम्बन्धी रोग, पत्थरी, रिफलक्सका कारण पनि मिर्गौला खराब हुन सक्छ । समयमै पत्ता लागेमा निको हुने रोग हो यो । धेरै लक्षण दिँदैन । त्यसैले मिर्गौला बिगारिसकेपछि मात्र पत्ता लाग्छ ।

मधुमेह, रक्तचाप र वंशाणुगत रोगका कारणले वृद्धामा मिर्गौला खराब हुन सक्छ । मूत्रनलीसम्बन्धी रोगका कारण, प्रोस्टेट, पत्थरी र विभिन्न किसिमका क्यान्सरले मिर्गाैला बिगार्छ ।

यसैगरी नदुख्ने औषधिका कारण पनि मिर्गौला खराब हुने गर्छ ।

–  गर्भावस्थामा पनि जटिलताका कारण मिर्गौला खराब गर्न सक्छ । गर्भावस्थामा इक्लेम्सिया  रोग (सुन्निने, प्रोटिन चुहिने), जेस्टेसनल डाइबेटिजका कारण मिर्गौला खराब हुने संभावना रहन्छ । बच्चा पाउने बेलामा अधिक रक्तश्राव भएर पनि मिर्गौला खराब हुन सक्छ ।

मिर्गौला प्रत्यारोपणसम्बन्धी जानकारी

दिव्याको टिमले नै गत फागुन २१ गतेका दिन प्रधानमन्त्रीको दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण गरेका थिए । १२ वर्षदेखि प्रत्यारोपण गरेकी दिव्यालाई प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नु चुनौतीपूर्ण लागेको थियो ।

– नेपालमा सन् २००८ देखि सफल मिर्गौला प्रत्यारोपण भएर निरन्तरता पाएको छ । प्रत्यारोपण सुरुमा पुरुष र त्यसपछि महिलाको गरिएको थियो । ६ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसक्यो ।

– एकपटक मिर्गौला प्रत्यारोपण गरेपछि बीचमा कुनै किसिमका जटिलता भएन भने जिन्दगीभर नै काम गर्छ । बीचमा जटिलता भएमा केही समय काम गरेर निस्किन सक्छ । फेरि दोस्रो वा तेस्रो मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।

– राम्रो काम गरिरहेको अवस्थामा एउटा मात्र मिर्गौलाले पनि स्वस्थ जीवन बाँच्न सकिन्छ ।  कतिपयको जन्मजात नै एउटा मात्र मिर्गौला पनि हुन्छ । एउटै मिर्गौलाले पनि दुईवटा मिर्गौलाको काम गर्न सक्छ ।

– मिर्गौला प्रत्यारोपण सफल मान्न शल्यक्रिया मात्र उपयुक्त होइन, एक वर्ष बाँचेको, ५ वर्ष १० वर्ष सर्भाइभल, एउटा मिर्गौलाको अर्को मानिसको । आज प्रत्यारोपण गरियो, एक वर्षको अन्तसम्म  मिर्गौलाले कत्तिको काम गरेको छ ? कति बाँचिरहेका छन्, त्यसले महत्व राख्छ । त्यो नै मिर्गौला प्रत्यारोपण सफलताको मापन हो ।

– मिर्गौलाले ९७ प्रतिशत काम गर्नु नै मानिस पनि त्यति प्रतिशत नै सर्भाइभल हुनु हो । शतप्रतिशत सर्भाइभल विश्वका कुनै पनि देशमा छैन । सबभन्दा राम्रो सर्भाइभल भएको देश जापान हो । त्यहाँ ९९ प्रतिशत सर्भाइभल छन् ।

– हाम्रो देशको कानुनका अनुसार मिर्गौलादाता आफन्त, नातेदार नै हुनुपर्छ । दाताको दुवै मिर्गौला ठीक हुनुपर्छ ।

– मिर्गौला प्रत्यारोपण गर्दा पनि आकार पनि फरक पर्छ । बच्चाको मिर्गौला ठूलोलाई दिन मिल्दैन ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था  

– विभिन्न रोगका कारण मिर्गौला स्थायी रुपमा ड्यामेज भइ पहिलेकै अवस्थामा फर्किनै नसक्ने भएमा ।

– मिर्गौला सुकिसकेपछि मिर्गौलाले काम गर्न सक्दैन ।  

– मिर्गौला सुकिसकेपछि १० प्रतिशत भन्दा कम काम गरेपछि जीवनलाई निरन्तरता दिनका लागि डायलासिस (कृत्रिम रुपमा शरीरमा उत्पादन भएका टक्सिनलाई सफा गर्ने) वा प्रत्यारोपण नै गर्नुपर्छ ।

– डायलोसिसको तुलनामा मिर्गौला प्रत्यारोपण गर्दा जीवनको गुणस्तर बढी हुन्छ ।

–  समयमै पत्ता लागेमा धेरैजसो रोग निको पार्न सकिन्छ ।

प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

– नियमित रुपमा औषधि समयमै सेवन गर्नुपर्छ ।

– व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्छ । जाडो गर्मी दुवै महिनामा दिनहुँ नुहाउनुपर्छ । साथै ओरल हाइजिन (दाँतको सफाई)लाई पनि ध्यान दिनुपर्छ । नियमित रुपमा लुगा फेर्नुपर्छ ।

– सफा, ताजा र शुद्ध खानेकुरा खानुपर्छ । पानी पिइराख्नु पर्छ । शरीर डिहाइड्रेड बनाइरहनुपर्छ ।

– पहिलो एक महिना सर्ने रोग लागेका मानिसको नजिक बस्नुहुँदैन ।

– स्विमिङ गर्नु हुँदैन ।

अन्त्यमा,

मेहनत एवं लगनशीलताले मानिस सफल हुन्छ भन्ने विश्वास राख्छिन्– डा. दिव्या । ‘कुनै पनि काममा सफलता हात पार्नका लागि अरुले के भन्छन् भन्दा पनि आफ्नो काममा निरन्तर दृढ भई लागिरहनुपर्छ’, उनी भन्छिन् । पछिसम्म पनि मिर्गौला रोगीका सेवामा निरन्तर लागिरहने उनको लक्ष्य छ । मिर्गौला प्रत्यारोपण गरेका दुर्गम ठाउँका बिरामीलाई औषधि सहजै पाइँदैनन् । यसका लागि पनि काम गर्ने योजना छ, डा. दिव्या । बिरामी निको भएर घर फर्किदाको सन्तुष्टि भावनामा व्यक्त गर्न नसकिने उनको भनाई छ ।

तस्विरहरूः श्रुती श्रेष्ठ

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>