यो कस्तो हिंसा ?

श्रीजना माली प्रधान 

जेष्ठ २५, २०७७ ‘पारिवारिक सुख र सुन्दर भविष्यको  सपना साँचेर ऊ सात समुन्द्रपारिको देशमा गएको थियो । हरेक आइतबार परिवारका सदस्यसित फोनमा कुरा गर्थ्यो । म, छोराहरु र आफ्नैबारेमा धेरै कुरा गर्थे । पीडा सुनाउँथ्यो । बेलाबेलामा पैसा पठाउँथ्यो । जिन्दगी राम्रै चलिरहेको थियो । बीचमा एकपटक नेपाल आयो । त्यतिबेलाका दिन साँच्चै सुन्दर र स्मरणीय थिए । 

एकदिन उसले भन्यो, ‘सरु (नाम परिवर्तन) उनी पनि दुई जिउकी भइन् ?’ मैले सशंकीत हुँदै सोधें, ‘को ?’ उसले भन्यो, ‘प्रिती, अमेरिकामा मसँगै ट्यूसन पढ्ने केटी । हामीबीच कहिले प्रेम पलायो थाहै भएन, अहिले हामी सँगै बस्छौं । ऊ दुई जिउकी छे ।’ 

उसको कुराले म छाँगाबाट खसे जस्तै भएँ । शून्य भएँ । हातगोडा लल्याकलुलुक भए’ उनले आफ्नो कथा भन्दै थिइन्, ‘सानो छोरा यसपालि एसईई दिने तयारीमा थियो, लकडाउने बिचल्ली बनायो । सँगै जीवन झन् कठिन बन्यो, बनिरहेको छ ।’ 

‘ठूलो छोरा कतिमा पढ्दैछ ?’ मैले सोधें । उनले भनिन्, ‘इन्जिनियरिङ्ग दोस्रो वर्ष ।’

‘अहो, छोराहरु त हुर्किसकेछन्, उनीहरुले के भन्छन् यो बारेमा ?’ मेरो जिज्ञासा । ‘केही भन्दैनन्, शान्त छन् ।’ उनको जवाफ ।

कुरा गरिरहँदा ठूलो छोराले कोठमा बसेर तानेको चुरोटको गन्ध मेरो नाकमा ठोकियो । तै पनि म मौन रहें । एकछिनपछि सोधें, ‘म के सहयोग गर्न सक्छु ?’ उनले भनिन्, ‘अहिले केही गर्नु पर्दैन ।’

मैले उनको ठूलो छोरासित कुरा गर्न चाहें । उनले ‘हुन्छ’ भनिन् ।

उनको छोराले भन्यो, ‘म्याम बुवाले आमालाई घर बाहिर काम गर्न दिनु भएन । हामी धैरै राम्रो वातावरणमा हुक्र्यौं बढ्यौं । कहिल्यै केही कुराको कमी भएन । तर जब मलाई र मेरो भाइलाई सबैभन्दा बुवाको खाँचो थियो । तर .....अब..... साथीहरुलाई कसरी मुख देखाउने होला ? अझै मेरो २ वर्ष पढ्न बाँकी छ । आमाको लागि के गर्ने होला ?’ उसले लामो सुस्केरा फेर्यो । मैले सोधें, ‘यहीं पिरले चुरोट पिउन थालेको हो ?’ पीडामिश्रित लज्जायुक्त हाँसो हाँस्दै उसले जवाफ दियो, ‘होइन ।’

‘म एक कानूनकर्मी हुँ । यस्तो स्थितिमा म के सहयोग गर्न सक्छु ? भन ।’

‘हाम्रो पहाडमा पुख्र्यौली सम्पत्ति छ, त्यो पो दावी गर्ने की ? बुवालाई बहुविवाहको मुद्दा पो हाल्ने कि ? हामी अन्योलमा छौं । परिवारमा कुरा गर्दा विदेशमा एक्लो भएर त्यसो गरेको होला भन्छन् । अझ हजुरबा हजुरआमाले त मलाई उल्टै आमालाई सम्झाउनू पो भन्छन् ।’

एकछिन मौन बस्यो । अनि फेरि चिन्ता व्यक्त गर्यो । मुद्दा हालेपछि झन् अफ्ठेरो पो हुने हो कि ! बुवाले पैसा पठाउनु भएन भने मेरो र भाइको पढाइसँगै हाम्रो दैनिकी नै प्रभावित हुनेछ । आमा पनि बुवासित मुद्दा मामिला गर्नु हुन्न भन्ने मान्यता राख्नुहुन्छ ।’

उसको कुराले मलाई गम्भीर बनायो । यस्तो लाग्यो, कहिलेकाहीं कानून पनि फिक्का हुँदोरहेछ । यो कस्तो हिंसा ? ऐया पनि भन्न नपाउने । 

(लेखक अधिवक्ता हुन् ।)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>