किशोरी आमाका कहर

सिर्जना शर्मा

जेष्ठ २३, २०७७ २०७६ साल कात्तिक ७ गते साँझ हामी धनगढीबाट एउटै जहाजमा काठमाडौं आउँदै थियौं । उनलाई सिटबेल्ट बाँध्न असहज भइरहेको थियो । मैले सहयोगको हात बढाएँ । त्यससँगै हामी नजिकियौं । नाम भुलें, थर भने ‘स्वाँर’ थियो उनको । उनको हँसिलो अनुहार हेर्दै ‘घर कहाँ ? कहाँसम्म पुग्ने ?’ जिज्ञासा राखें । अछाम रहेछ घर । काम स्वास्थ्य स्वयंसेविका । अनि निर्धक्कसित गफिन थालें । सोधें, ‘अचेल पनि छापपडी गोठमै बस्छन् त अछामका महिला ?’ 

शालिन व्यक्तित्व अनि नम्र बोली । उनी फिस्स हाँसिन् र भनिन् ‘यस्तै हो मेडम, गाउँघरमा । ‘छुयोछुती’ धेरै बार्छन् । अन्धविश्वास कायमै छ । तर आजकल त छाउगोठमा बस्ने धेरै कम छन् । पहिलो, दोस्रो महिनावारीका बेला छोरीबेटी कोहीकोही बस्छन्, पछि त घर भित्रै बस्छन् ।’  

त्यसपछि मैले गफको विषय बदलें । पुगें, किशोरीआमाको कुरातिर । 

‘अछाममा आजकल छोरीहरुको बिहे प्रायः कति वर्षमा गर्ने चलन छ त बैनी ?’

‘१६, १७ मा भै हाल्छ मेडम हाम्रोतिर त ! अझ कोही कोही त चाँडै पनि गरिहाल्छन् । १४, १५ मै गै हाल्छन् ।’

‘कति छिटो ? पढाउँदैनन् छोरीलाई ?

स्कुल त पठाउँछन् । तर पढ्न भन्दा फेसबुकतिर लाग्छन् केटाकेटी । फेसबुकले बिगारी हाल्छ तिनलाई ।’ यति भन्दै उनी फिस्स हाँसिन् ।

‘फेसबुकले बिगार्ने भन्या के नि ?’  

‘अचेल सबैको हातमा मोबाइल हुन्छ । आफनो नभए पनि साथीकोबाट च्याट गर्छन् । फेसबुकमै लभ गर्छन् । अनि गैहाल्छन् पोइल । एउटा गयो, अर्काे गयो, धेरै केटाकेटीहरुले सिके यस्तो । त्यहीं भएर आमाबुवाहरु चाँडै दि पठाउँछन् छोरीलाई् ।’ 

‘ए.ऽ ऽ....अनि बच्चा चाहिँ कति उमेरमा पाउँछन नि ?’ 

‘पाइहाल्छन् मेडम वर्षदिन, दुईवर्षमै । गाउँमा त विवाह गरेपछि परिवारले पहिला बच्चा खोज्छन् । अलि पछिसम्मै नपाएपछि त गढबढ भै हाल्छ ।’ उनी फेरी हाँसिन् बायाँ हातले मुख थुन्दै ।

‘भनेपछि १५, १६ मा बिहे गर्छन्, १७, १८ मा बच्चा पाउँछन् ?’

‘हो मेडम । यस्तै छ चलन ।’ 

‘अनि कतिवटा बच्चा पाउँछन् त बैनी?’

‘हाम्रो सुदूरपश्चिममा त छोरै खोज्छन् मान्छेले.. । छोरा पाएपछि त दुई÷तीन जनासम्म पाउँछन् । छोरा नपाएपछि त चार, पाँच पाउने पनि छन् ।’  

‘अनि परिवार नियोजनको साधन पाइन्न त्यता ?’ स्वास्थ्यस्वयम्सेविकाहरुले पनि बाँडछन् नि हैन अस्थायी साधनहरु त ?’

‘बाँडछम् मेडम् । ..अलि पाकाहरु, बच्चाबच्ची २,३ वटा भैसकेकाहरुले त माग्छन् साधन, हामी दिन्छम् ।  भर्खरकाहरुले त अस्थायी साधन त्यति प्रयोगमा ल्याउदैनन् । जिउ बिग्रन्छ, अर्को बच्चा हुन्न भन्छन्् । परिवार नियोजनको कुरा खुलेर गर्न लाज पनि मान्छन् ।’ 

‘स्वाँर’ स्वयंसेविकाका कुरा आफ्नो ठाउँमा सही नै हुन् । यथार्थमा सृष्टिलाई निरन्तरता दिने खेलमा प्रकृतिले प्रजनन् उमेर टेकेका केटाकेटीमा विपरीत लिङ्ग बीचमा आकर्षणको अनेक खेल रचेको हुन्छ । यहीं खेलमा उनीहरु सल्बलाउँछन् । यो प्राकृतिक खेल नियन्त्रण गर्न गाह्रै हुन्छ । त्यसैले अभिभावकहरु बिहे गरेर एउटालाई जिम्मा लगाइदिए समस्या टर्छ भन्ने भ्रममा पुग्छन् । पछि यसको नतिजा के हुन्छ ? उनीहरुको सोचमा रहन्न ।  

यो कुराकानी अछामको पिछडिएको गाउँको कथा जस्तो मात्र लाग्न सक्छ । तर भौगोलिक तथा सामाजिक स्थिति समान रहेका सबै देशमा यी मामिला प्रायः समानै रहेका हुन्छन् । विश्वको आँकडा हेर्दा हरेक वर्ष एक करोड ८० लाख शिशु १८ वर्ष भन्दा कम उमेरका किशोरी आमाबाट जन्मन्छन् । तीमध्ये करिब दुई तिहाईको जन्म एशिया तथा सबसाहरन अफ्रिकामा रहेको देखिन्छ ।

हाम्रो समाजका धेरै महिलामा कलिलै उमेरमा गर्भवती भएमा सन्तान जन्माउन सजिलो हुन्छ भन्ने गलत धारणा अझै विद्यमान छ । यस्तो सोच हुनुका कारण  किशोरी अवस्थामा आमा बन्दा हुने खतराका विषयमा उनीहरुमा यथोचित ज्ञान नहुनु हो ।

विकासमा पिछडिएका समुदायका महिलामा ज्ञानको कमी, आयआर्जन गर्ने सीप शिक्षा र अवसर नहुनुका कारण सन्तान जन्माउनुलाई मात्र प्राथमिकताका रुपमा हेरिएको हुन्छ । अतः आफ्नो भूमिका छिटो निर्वाह गर्न महिलालाई परिवार र समाजले नै दबाब दिइरहेको हुन्छ ।  सहर बजारमा भने महिलाहरुमा शिक्षाको विकास, चेतना अभिवृद्धि जीविकोपार्जनको सीप वृद्धि तथा परिवार नियोजनका साधनको प्रचारप्रसार तथा उपलब्धता जस्ता कारणले सन्तान जन्माउने महिलाको उमेरमा वृद्धि भएको देखिन्छ ।

नेपालमा किशोरीको बिहेको उमेर १७, १८ वर्ष रहेको छ । गाउँको मात्र छुट्टै तथ्याङ्क निकाल्ने हो भने यो उमेर अझ कम हुन सक्छ ।  

किशोरी आमाका सम्बन्धमा गतवर्ष एक गैरसरकारी संस्थाले नेपालका १२ वटा सरकारी अस्पतालमा १२ महिना अध्ययन गरेको थियो । अस्पतालमा प्रसूतीका लागि भर्ना भएका कुल ६३ हजार ९९ सय गर्भवतीमा गरिएको सो अध्ययनको नतिजाले नेपालमा करिब ८ प्रतिशत किशोरीहरु १८ वर्ष नपुग्दै आमा बन्ने कुरा देखाएको छ । यी किशोरी आमाहरु औपचारिक शिक्षा नपाएका, विपन्न समुदायका छन् । किशोरी गर्भवतीले स्वास्थ्यसंस्थामा मर्यादित व्यवहार पनि पाउँदिनन् । 

किशोरावस्थामा गर्भ रहँदा प्रसवका बेला लामो व्यथा लाग्ने, पाठेघर च्यातिने, समय नपुगी बच्चा जन्मने, जन्मजात बिकृत हुने जस्ता समस्या पैदा हुन्छन् । किशोरी अवस्थामा महिलाको पेल्भिक बोन सानो हुने तथा शिशुको टाउको ठूलो हुने हुँदा शिशु जन्मदा समस्या आई मृत्यु हुने खतरा रहन्छ । समग्रमा, किशोरी आमाको गर्भावस्था, प्रसव अवस्था तथा सुत्केरी सबै जोखिमपूर्ण हुन्छ ।

थप कोरोना महामारीको यो बेला किशोरी आमाहरुलाई आवश्यक पर्ने विशेष सेवा दिन स्वास्थ्यसंस्थालाई गाह्रो पर्ने स्थिति छ । 

कुमारी किशोरीको गर्भसँग सबै झस्कन्छन् । हाम्रो समाजले त यसलाई कलंक मान्दछ । त्यसैले विवाह गर्नुअघि नै किशोरी गर्भवती भएमा ठूलो जोखिमको स्थितिमा पुग्छन् । यस्तो अवस्था आएमा गर्भवतीले गर्भपतन गराउने चाँजोपाजो मिलाउँछन् । आर्थिक अभावका कारण उनीहरु असुरक्षित गर्भपतन गराउने अवस्थामा पुग्छन् । जसको कारण प्रजनन स्वास्थ्यमा अनेक समस्या आउने मात्र नभई आमाको मृत्युसम्म हुने खतरा हुन्छ । अझ गर्भपतन गराउने उपाय थाहा नभएमा वा सम्भव नभएको अवस्थामा त कति किशोरीले आत्महत्या नै गर्न पुगेका हुन्छन् । कतिका प्रेमी वा आमाबाबुले पनि मारेको उदाहरण छ । 

किशोरावस्थामा हुने गर्भ कम गर्नका लागि परिवार नियोजनका साधनहरुको सही प्रयोग नै उत्तम उपाय हो । तर किशोरावस्थामा महिलाहरुले गर्भनिरोधको साधन प्रयोग कमै ल्याउँछन् भने कतिपय महिलाले चाहेर पनि गर्भनिरोधका साधनहरु प्रयोग गर्न सकिरहेका छैनन् । 

सुत्केरी तथा नवजात शिशुको जीवन जोखिममा पर्नु भनेको समाज नै रोगी भएर बाँच्नु जस्तै हो । यसले स्वास्थ्यको भविष्य नै संकटमा पारेको हुन्छ । त्यसैले सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका लागि सबैतिरबाट पहल हुन जरुरी छ । 

किशोरावस्थाको गर्भमा कमी ल्याउन उनीहरुलाई सानै स्केलमा भए पनि शिक्षा तथा आयआर्जनको अवसर प्रदान गर्न जरुरी छ । त्यस्तै गर्भ निरोधका साधनका विषयमा जानकारी दिनु पर्छ । गर्भनिरोधलाई समाजले लाजको कुरा मानेको हुँदा किशोरीहरु खुलेयाम साधन लिन जान सक्दैनन् । त्यसैले साधन आफूले चाहेको बेला सजिलै तथा गोप्य रुपमा लिन सकिने वातावरण मिलाउनु अतिआवश्यक छ । 

किशोर किशोरी परिवर्तनका संबाहक हुन् । विश्वमा जेजस्ता परिवर्तन भएका छन् त्यसमा युवा वर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ ।  किशोरी आमाहरुका यस्ता कहरका विषयमा सर्वसाधारणलाई जानकारी गराउनु सरकारको मात्र दायित्व नभई समाजमा बस्ने हामी सबैको हो । 

मातृत्व नारीका लागि सुखद अवसर हो । यो अवसरलाई जीवनभरका लागि सुखद राख्न गर्भावस्था प्रसावस्था तथा सुत्केरी अवस्थामा आउने जोखिमबाट बचाउन स्वास्थ्यसंस्थामा किशोरी आमाहरुलाई विशेष सेवाको आवश्यकता हुन्छ । यसका लागि हाल दिँदै आएको सेवामा सुधार ल्याउन जरुरी छ । यसो हुन सकेमा आमा तथा शिशुको मृत्यु हुने खतरा तथा स्वास्थ्यमा पछिसम्म आउन सक्ने समस्या कम हुनसक्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>