‘वातावरण संरक्षणमा महिलाको भूमिका अपरम्पार छ’

  • सन्दर्भ : विश्ववातावरण दिवस

लक्ष्मी भण्डारी

जेष्ठ २३, २०७७

नेपालको करिब ७५ प्रतिशत वनमहिलाको संरक्षणमा छ । महिलासँग प्रत्यक्षरुपमा जोडिएका वनजंगल, पानीपँधेरो, धाराकुवा, खोलानालाको संरक्षण र सम्बद्र्धनमा उनीहरुको लगाव अपरम्पार छ । भान्छामा पानी कम चलाउने वा अनावश्यक समयमा बिजुलीको स्वीच अफ गर्नेमा महिलाका हात नै बढी छन् । विश्व वातावरण दिवसका अवसरमा वातावरण संरक्षणमा महिलाको भूमिका र यसको प्रभावबारे दक्षिण कोरियास्थित वातावरण मन्त्रालयमा कार्यरत वातावरणविद् आस्था बिन्दु मल्लसँग नारीकालागि लक्ष्मी भण्डारीले गरेको कुराकानीः

वातावरणमा महिलाको सहभागिता कस्तो छ ?

विश्वव्यापीरुपमै हेर्ने हो भने भान्छादेखि करेसाबारी र वनजंगलसम्मै महिलाहरु प्रत्यक्षरुपमा सहभागी देखिन्छन् । हाम्रै देशका गाउँ पहाडमा घाँसदाउरा गर्ने, च्याउ, निउरोे टिप्नेमा महिला नै बढी छन् । त्यतिमात्रै होइन, शहरका साना करेसाबारी हुन् या कौसीमा तरकारी फलाउनेमा महिलाकै संख्या बढी छ । यसरी हेर्दा वातावरण पर्यावरण र संरक्षणमा पुरुषकोभन्दा महिलाको संख्या बढी छ ।

वातावरणले महिलामा पार्ने असरलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

पक्कै पनि वातावरण प्रदूषण हुँदा यसको प्रत्यक्ष असर महिलालाई नै बढी पर्छ । किनभने उनीहरु नै वातावरणसँग ज्यादा नजिक हुने गर्दछन् । गाउँघर तिरको भुसेचुल्हो होस् या अँगेनोबाट महिला नै बढी प्रभावित हुने गरेका छन् । त्यतिमात्रै नभएर घाँस दाउराकालागि वनजंगल जाँदा बन्यजन्तुको आक्रमणको सिकार पनि महिला नै हुने गरेका छन् ।

यस्ता समस्या कसरी रोक्न सकिएला ?

वनजंगलमै आश्रित महिला (गोठाला, दाउरा बेचेर जिविकोपार्जन गर्नेहरु, चोया कातेर डोकोडालो बेचीजीवनधान्नेहरु)लाई बैकल्पिक सीप दिई आर्थिक उपार्जन गर्न सिकाउन सकियो भने पक्कै पनि वनजंगल नासिन तथा मासिनबाट रोकिन्छ । उनीहरुको आर्थिक शसक्तीकरण पनि बढ्छ ।

बैकल्पिक सीप भन्नाले ?

अझैसम्म पनि वनमै निर्भर भएर बाँच्ने महिलाको ठूलो संख्या छ । उनीहरुलाई पशुपालन, तरकारी खेती, चर्खा, अचार बनाउने, पोते उन्ने, मेकानिक, सिकर्मी तालिम दिन सकियो भने वन नासिन पाउँदैन । अर्कातिर उनीहरुलाई नै आयमूलक बोटबिरुवा खेती गर्न लगाउन सकिन्छ । यसबाट उनीहरु वन्यजन्तुको जोखिमबाट बच्दछन् भने वनजंगल मासिनबाटबाट पनि जोगिन्छ । 

वातावरण संरक्षणमा महिलाको भूमिका के छ ?

महिलाले चाहे भने वातावरण स्वस्थ्य र स्वच्छ हुन्छ । साधारण रुपमा हेर्दा घरैमा पनि पानी धेरै नखर्चिने, बिजुलीबत्ती खेर नफाल्ने, घरवरिपरि गार्डेनिङ या वृक्षारोपण गर्नेलगायत काममा महिलाकै भूमिका प्रधान हुन्छ । गाउँटोल सरसफाइमा पनि महिला नै कुचो लिएर अगाडि सरेको देखिन्छ । 

अहिले कोरोना महामारीका कारण संसार ठप्प छ । लकडाउनका कारण सबैजना घरभित्रै थन्किएका छन् । यसले वातावरण क्षेत्रलाई कस्तो प्रभाव पारेको छ ?

लकडाउनका कारण सडकमा गाडी नगुडेकाले बाहिरी वातावरण प्रदूषण घटेको छ । बिभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमा ध्यमले पनि यो कुरा अगाडि ल्याइरहेका छन् । हाम्रै नेपालका सहरहरु पनि पेट्रोलियम पदार्थबाट निस्किने धुँवा कम भएका कारण हिजोको तुलनामा स्वस्छ भएको खबर हामी पढिरहेका छौं तर मान्छेहरु घरभित्रै थुप्रिँदा घरभित्रै फोहोर बढ्ने सम्भावना हुन्छ ।

यो स्थितिमा कसरी स्वच्छ वातावरणमा बस्ने ?

घरभित्रबाट निस्किएका फोहोरलाई हामी प्लास्टिक बाहेक सबैबाट कम्पोस्ट मल बनाउन सकिन्छ । जुन करेसाबारीमा काम लाग्छ । त्यसैगरी चाउचाउ, दूध अदिका खोलबाट ढकिया, ट्रे, पेन होल्डर बनाउन सकिन्छ । सीप चाहिन्छ, जे पनि सम्भव छ । यो समयमा फोहोरलाई मोहोर बनाउन सम्भव नभएपनि आफूलाई घरभित्र प्रयोग गर्न मिल्ने आवश्यक सामग्री निर्माण गर्न सकिन्छ । अहिले त युट्युबबाट जे पनि सिक्न सकिन्छ र त्यो फुर्सद हामीलाई प्राप्त भएको छ । यो स्वर्णिम समय हो, हामीले वातावराण संरक्षण गर्न सकिने खालका थुप्रै कुराहरु सिक्ने । यहीं फुर्सदको समयमा करेसाबारी या नभए गमलामा खेतीगर्न सकियो । वरिपरि वृक्षारोपण गर्न सकियो । जसले विश्वव्यापीरुपमा चर्चा भइरहेको ग्लोबल वार्मिङ र क्लाइमेट चेञ्जका मुद्धालाई चुनौती दिन सक्छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>