महिलाको महिनावारी र मनोविज्ञान 

डा. नम्रता पाण्डे

जेष्ठ २१, २०७७ मे २८ लाई मासिक धर्म स्वच्छता दिवसको रूपमा सन् २०१४ देखि मनाउने गरिएको छ ।   महिलाको महिनावारी सम्बन्धमा समाजको धारणा, व्यक्तिको मनोविज्ञान र रुढीवादी सोचलाई निरुत्साहित गर्ने उद्देश्यले जर्मन आधारित गैरसरकारी संस्था वाश युनाइटेड द्वारा यो दिवसको शुरूवात भएको हो । राम्रा कुरालाई जो सुकैले शुरुवात गरोस् त्यसलाई आत्मसात गर्न सक्यौं भने मात्र हामी समृद्धिको मार्गमा अघि बढ्न सक्छौं । महिलाको महिनावारी अपराध भन्दै छुवाछुत र धर्मको नामले जोड्नेहरूलाई जागृत गराउंदै स्वास्थ्य र मानवीय दृष्टिकोणले यो सोचको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने हेतुले यो दिवसको शुरुवात भएको हो । विश्वको जुन कुनाकै किन नहोस् पुरूषप्रधान समाजले महिलामाथि बनाउने धारणा र संस्कार उस्तै नै हुन्छ । त्यसैले विश्वव्यापी रूपमै महिला र छोरीहरूको हित गर्ने लक्ष्य राखेर यो जागरणको अभियान शुरू भएको हो । नेपालमा परम्परादेखि नै प्रत्येक घरमा महिलाको महिनावारीलाई नछुने अर्थात् महिनावारी/रजश्वला/ मासिक धर्म भएकी महिलाले ४ दिन सम्म घरका पुरूषलाई छुनु हुन्न, भान्सामा पसेर खाना बनाउनु हुन्न, देवीदेवताको पूजा गर्नुहुन्न जस्ता चलनहरू चल्दै आएका छन् । स्वास्थ्यको दृष्टिले, आराम चाहिन्छ भन्ने भावले र महिनावारी हुँदा धेरै शारीरिक अभ्यास गर्न मन लाग्दैन भन्ने मनोभावना बुझेर अलग्गै आराम गर्न दिने संस्कार बसेको भए सकारात्मकरूपमा लिन सकिन्थ्यो । तर, यसलाई पाप–धर्म, छुवाछुत अनेक तरिकाले आफ्नै व्याख्यामा सिमित गरी अन्धविश्वासमा बाँच्न विवश पारिएकोले यसको विज्ञान के हो, मनोभावना के हो, संवेदना के हो र वास्तविकता के हो अझैपनि समय समयमा यसमाथि सचेतना जगाईराख्नुपर्ने आवश्यकता छ ।

महिनावारी प्राकृतिक प्रक्रिया 

महिलाहरू महिनावारी अर्थात् रजश्वला हुनु एउटा प्राकृतिक प्रक्रिया हो । महिलाहरूमा मासिक धर्म/रजश्वला/ महिनावारी हुने खुबी छ त्यसैले त सृष्टिको रचना महिलाबाट सम्भव भएको छ । प्रजनन शक्ति, मातृत्व शक्ति महिलालाई नै अस्तित्वले दिएको गुण हो त्यसैले महिलाको मासिक धर्मलाई छुवाछुतको रूपमा लिनु भनेको महिलाको सृष्टिसँगै डराउनु हो । प्रत्येक महिना २८–३० दिनको बिचमा विना चोट, विना हिंसा महिलाको अंगबाट बग्ने रगत भनेको महिलाको खुसी हो । महिनावारी नियमित हुनु स्वस्थ महिलाको परिचय हो । एउटी छोरी, बुहारी महिनावारी हुन सकिनन् भने उनले सन्तान पनि दिन सक्दिनन् । त्यसैले यो प्राकृतिक, वैज्ञानिक प्रक्रियालाई छुवाछुतको संज्ञा दिनुभन्दा यो समयमा आफ्ना छोरी, बुहारीको स्वास्थ्य, मनोदशाको ख्याल राखी आराम गर्ने, खुसी बनाउने र पोषणयुक्त खानपानको व्यवस्था गरी उनलाई सम्मान गर्न सकेमा सृष्टिकै सम्मान हुनेछ ।

मासिक धर्म कि धर्म ?

मासिक धर्म हुँदा छुनु हुँदैन, किन ? किनकी छोयो भने पाप लाग्छ । यहि शिक्षा र मान्यता फैलाएको कारण घर र समाजमा यो धारणा परिवर्तन हुन सकेको छैन । आजसम्म कुनैपनि धर्म, शास्त्रमा महिलाले महिनावारी बार्नुपर्छ, छोईछिटो गर्नुहुन्न भनेर लेखिएको लिखित दस्तावेज भेटिएको छैन । प्रायस: धर्ममा महिला सम्मान र अवसरका कुराहरू नै लेखिएका हुन्छन् । मातृ देवो भव: अर्थात् आमा नै देवता हुन्। जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी: अर्थात् जन्म दिने आमा र जन्मभूमी स्वर्गभन्दा पनि उच्च छन् भनेर महिलालाई उच्च स्थान दिने धर्म र संस्कारले महिनावारी हुने गुणकै आधारमा तल पारिएको भेटिंदैन । पार्वती, सीता, दुर्गा, लक्ष्मी लगायतका देवीहरुको वर्णन गर्ने धर्मशास्त्र, पुराण र किंवदन्तीले पनि उनीहरूको महिनावारीको विषयमा कतै लेखिएको छैन अर्थात् महिनावारी बार्नु र नबार्नु, छोईछिटोको उल्लेख छैन । धर्म के हो ? आफ्नो स्वभावमा जिउनु धर्म हो । आफ्नो स्वभाव के हो ? अहिंसा, प्रेम, कल्याणकारीता, मानवीयता, परोपकार, मानवीय संवेदना हाम्रा/ आफ्ना स्वभाव हुन् । पाप के हो ? आफ्नो स्वभावबाट हटेर काम गर्नु पाप हो । अर्थात् हिंसा, भेदभाव, मानवीय संवेदनाहिन कर्म, छुद्रता पाप हुन् । महिनावारी त महिलाले अस्तित्वबाट मातृत्व अर्थात् प्रजनन शक्ति स्वरूप पाएको गुणधर्म हो । यो कसरी पाप हुन्छ ? आफ्ना सन्तान फैलिएको देख्न चाहने तर आफ्नै छोरी, बुहारी महिनावारी हुँदा अपहेलना, भेदभाव र छुवाछुतमा अडिग रहने घर, समाजले के धर्म मान्दछ ?

महिनावारी र आर्थिक सबलता 

आजको समयसम्म आइपुग्दा ठूला घरानामा र शिक्षित परिवारमा महिलाको महिनावारी र छुवाछुत हटेको जस्तो भान हुन्छ । पुजाआजामा सामेल नभएपनि घर, भान्छा र छोइछिटोमा बन्देज नभएको पाइन्छ । सरसफाई, स्वास्थ्यको ख्याल, पोषणयुक्त खानेकुरा, आराम, सफा कोठा र बाथरूमको व्यवस्था, शान्त वातावरण र महिनावारीहुँदा प्रयोग गर्ने प्याड लगायतका सुविधाहरू प्राप्त गर्न र त्यसको बारेमा ज्ञान हुनपनि शिक्षित र आर्थिक रूपमा सबल हुनैपर्ने देखिन्छ । जुन वर्ग र समुदायमा यसको ज्ञान पनि कम छ अनि साधन र स्रोतको पनि अभाव छ त्यो समुदायका महिला र छोरीहरू सधैं नै पिछडिएका हुन्छन् । पर्याप्त सरसफाई, पानी, बाथरूम, सुत्न बस्नको लागि सफा कोठा जस्ता साधनको प्रयोग र उपलब्धता आदि प्राप्त गर्नबाट उनीहरू बन्चित हुनेहुँदा आर्थिक अवस्था निम्न भएका र पहुँच नभएका वर्गमा यसको चेतना कहिले पुग्ने हो भन्ने चिन्ता र चासो बाँकि नै रहिरहेको छ । कतिपय स्थान र विद्यालयमा उचित शौचालय र पानीको व्यवस्था नहुँदा महिनावारी भएका नानीहरूले स्कुल छोडेर घर बस्न बाध्य भएका कुराहरू सुन्नमा आउँछन । महिनामा ३–४ दिन स्कुल छोड्नुपर्ने बाध्यता हो भने वर्षभरिमा कति दिन स्कुल छुट्ला ? प्याड किन्ने सामथ्र्य नभएका महिलाहरूले पुराना कपडाको प्रयोग गर्ने हुँदा संक्रमणको जोखिममा हुने गर्दछन् । यस्ता वर्गलाई सम्बोधन हुनेगरी, सुबिधा पुग्नेगरी मासिक धर्म स्वच्छता व्यवस्थापन अझै हुन नसक्नु दु:खद पक्ष हो ।

 

कानुन कि चेतना ?

नेपालका कतिपय जिल्लामा कायम रहेको छाउपडीको प्रचलन विरुद्ध कानुन नै तयार भयो । छाउपडी मानवीय संवेदनाहिन र कानुनत: दण्डनीय प्रचलन हो भनेर छाउगोठ भत्काउने कार्यको शुरुवाती भएपनि सबैले यसलाई आत्मसात गर्न सकेनन् । त्यस क्षेत्रका महिलाहरूले नै छाउगोठको नियम पालना नगरे पाप लाग्छ भन्ने धारणा व्यक्त गरे र उनीहरू आफ्नो परम्परागत सोचबाट माथि उक्सिन सकेनन् । यसबाट थाहा हुन्छ कानुन लागु गर्नुभन्दा पनि पहिले चेतना जागृत गर्ने बोधमय शिक्षाको जरूरत छ । के सही अभ्यास हो र, के गलत अभ्यास हो अनि यसको प्रयोग किन गरिरहेका छौं भन्ने कुरा मनोवैज्ञानिक शिक्षाद्वारा महिलाहरूलाई जागृत गराउनु जरूरी छ । एकातिर छाउपडी जस्ता अमानवीय, असामाजिक र अवैज्ञानिक परम्परा निर्मुल पार्नुपर्छ भन्ने महिलाहरुको आवाज छ भने अर्कोतिर यो परम्परा हाम्रो धर्म र रिति हो छोड्नुहुन्न भन्ने मान्यताले गांजीरहेको छ । छाउपडी गैरकानुनी भएको जानकारी भएपनि नेपालको पश्चिमी भेग अर्थात् कर्णाली क्षेत्रमा धेरै महिलाहरूले छाउपडीको अभ्यास छोडेका छैनन् । छाउपडीलाई अपराधीकरण गर्ने नेपाल सरकारको निर्णयले पनि यिनीहरूलाई खासै फरक परेको छैन । यसको अर्थ हाम्रो शिक्षाको अभाव, जनचेतनाको अभाव र यस्ता मान्यतालाई निरुत्साहित पार्ने उत्प्रेरणात्मक कार्यहरू र अभ्यासको कमीले गर्दा व्यक्तिको मनोविज्ञान बुझेर सही शिक्षा प्रदान गर्न नसकिएको अवस्था जगजाहेर छ । यस्ता सचेतना जागृत काममा संचार माध्यमलगायत स्थानीय निकाय, गैरसरकारी संस्था, सरकार सबै पक्षले महत्वकासाथ हेरिदियो भने छिट्टैनै सुधार आउने अड्कल गर्न सकिन्छ । अझ विशेष गरी छुवाछूत र छाउपडी अन्त्यका लागि सचेतना बढाउन समुदायका नेताहरु र धार्मिक अगुवाहरूले धर्ममा छुवाछुत छैन भनी संदेश फैलाउन सके सम्बन्धित पक्षले सहजै विश्वास गर्न सक्ने बुझिन्छ । जसले धर्मकर्म, पूजापाठ अनि पापधर्मको विश्वास गर्दछ उसलाई बुझाउन सक्ने भनेको धार्मिक गुरूहरू र समुदायका अगुवाहरू नै हुन् । धर्म र मान्यता आस्थाको रूपमा आफ्नो ठाउँमा ठिक छ तर त्यसले मानवीय स्वास्थ्य र संवेदनामा चोट पुर्‍याउनु हुन्न भन्ने कुरा यि अगुवाहरूबाट जान सकेमा परिवर्तनको शुरूवात सजिलै हुन्छ । त्यसैले समाजमा गरिने धार्मिक समारोह, सप्ताह, पुराण र पूजापाठ अनि प्रवचनमा जनचेतनाका सन्देशहरू समेट्न सके परम्परागत असामाजिक मान्यताको पछि लाग्नेहरूलाई परिवर्तन गर्न सकिन्थ्यो कि ?

( लेखक, ध्यान, योग प्रशिक्षक एवं स्वतन्त्र सामाजिक परामर्शदाता हुन्) 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>