यायावर जिन्दगी

भावना पराजुली

वैशाख २७, २०७७ लक्ष्यहीन गोरेटोमा रुमल्लिरहेको गन्तव्यहीन यात्रीझै मलाई उड्न मन लागेको थियो ।

लगभग ११ः०० बजे अड्डाबाट चार दिनको बिदा स्वीकृत गराउने बित्तिकै ट्राभल एजेन्सीको टिकट काट्ने भाइलाई फोन गरेर भने– ‘मेरो नाममा मिलेसम्म नेपालगञ्जको नपाए भैरहवाको टिकट छिटो गरेर पठाइदेऊ, आजै जसरी नि जानु छ ।’

सदा जस्तै भाइको विश्वासमा म आन्तरिक विमानस्थलतिर लागेँ , एक्लै भिर्ने झोला बोकेर । 

एकछिनमा नेपालगञ्जको टिकट मोबाइलको म्यासेज बक्समा आयो ।

एकोहोरो कामको पागलपनबाट मलाई सन्तुलितरूपमा बाहिर निस्केर सार्वजनिक हुन मन थियो ।

सुर्खेतमा वार्षिकोत्सव कार्यक्रमको निम्तो मानेर विपश्यना केन्द्रमा गएर सूक्ष्मता देखि विराट ब्रम्हाण्डको रहस्य खोतल्ने चेतनामा लीन भई बस्ने मनको निर्णय थियो । बिन्दुदेखि सिन्धुसम्मको यात्राका क्रममा थियो जीवन ।

हतारमा बोडिङ्ग पास लिएर म भित्र छिरेँ । खचाखच सामान जस्तै कुर्सी माथि ओछ्याइएका यात्रुहरू देखिए । धेरै उडान मौसमका कारणले कुनै ढिलो त कुनै रद्द भईरहेका थिए । नभन्दै हाम्रो पनि उडान ढिलो हुन्छ भन्ने आवाज सुनियो । 

म खाली समयमा पुस्तकको अङ्गप्रत्यङ्ग केलाउन थालेँ । 

त्यस्तैमा एक जना महिलाले मेरो पढाइको ध्यान भङ्ग गर्दै भनिन्— ‘एकपटक मेरो नानी समाति दिनुन है, म शौचालय जान्छु’ म छक्क परेँ ‘यत्रा धेरै मान्छे हुँदाहुँदै मलाई नै किन यिनले रोजिन् होला’ सोचिरहेँ नानी समात्दै । 

उनी बडो कठिन गरेर बल्लबल्ल शौचालयसम्म पुगेको हेरिरहे, मलाई निर्जीव किताब भन्दा त्यो मेरो सानु नानी समात्दा स्वतःस्फूर्तरूपमा मातृत्व भाव उम्लेर आयो ।

ती नानीकी आमाले सोधिन्— ‘तपाई काहाँ जान्या हुन्’ मैले ‘नेपालगञ्ज’ भनँे । उनको अनुहारमा एकाएक कान्ति छायो । 

उनले फेरि भनिन्— ‘त्यहाँसम्म मेरो नानी हजुरको है, म दुई महिनाकी अपरेशन गरेकी सुत्केरी हिड्न गाह्रो छ, माइती दाङ जान लागेको हजुरको सहयोग मागे है मैले ।’ उनले एकै श्वासमा आफ्ना कुरा सकिन् । मैले स्वीकार्य भावले टाउको हल्लाए ।

उनले मलाई सोधिन्– ‘हजुरको काम कि घर हो नेपालगञ्जमा !’ 

‘घुमफिर हो’ झुसिल्कीराबाट भर्खरै पुतली बनेको उन्मुक्त भावमा मैले भने“ ।

उनको पश्चिमा लवजको बोलाइ मेरो श्रवणका लागि प्रिय थिए । म त मेरो सानु साथीको न्यानोपनमा आफूलाई भुलाइरहेको थिए ।

‘कृपया नेपालगञ्ज जाने यात्रु महानुभावहरूमा ढोका नं. १ तिर प्रस्थान गर्नका लागि अनुरोध गर्दछौं र बस नं.२ मा चढ्नु होला’ भन्ने सूचनाले हाम्रो वार्तालाप रोकियो । 

मैले उनका र मेरा दुवै  झोला बोके र ती महिलालाई पनि हिड्न सहयोग गर्न थाले । हामी बसमा चढ्यौं । ती महिलालाई बहुत गाह्रो भयो त्यसमा उक्लन । मिल्ने भए म बोकिदिन्थे भन्ने भाव आयो मनमा ।

त्यसपछिम पुस्तक च्यापेर मेरा प्रिय बादलसँग लुकामारी खेल्न थालँे । अनन्य मित्र बादलका स–साना घरमा लुकामारी खेल्दै उसकै विशाल ह्रदयभित्रै हराउँदै आकाशमा उड्नुको मज्जा नै स्वर्गीय लाग्छ मलाई ।

यस्तैमा विमान चालकको कोठा भित्रबाट मधुर नारी आवाज सुनियो—‘हामी केहीबेरमा नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दैछौं, यहाँको मौसम पच्चीस डिग्री सेल्सियस छ, जहाज पूरा नरोकिएसम्म आफ्नो सिटबेल्ट बाँधिरहनुहोला, स्वास्थ्य सम्बन्धी उपकरण बाहेक विद्युतीय उपकरण प्रयोग नगर्नुहोला, हामीसँगको साथका लागि धन्यवाद, फेरि पनि सेवा गर्ने मौका दिनुहोला, शुभ दिन ।’

‘अहो कति चाँडो एक घण्टा बितिसकेछ’ म छक्क परेँ ।लगभग एक घण्टाको उडानपछि हामी सकुशल गन्तव्यमा पुग्यौं । 

फेरि भेट्ने वाचाका साथ बादलसँग बिदाईका हात हल्लाउँदै म हवाईजहाजको सानो ढोकाबाट बाहिर निस्किएँ  ।

गाडी चालकले फोनमा भने– ‘म्याडम म हजुरलाई बाहिर निस्कने ढोकामा कुरिरहेको छु ।’

तर मेरा आँखाले मेरो सानु साथी खोजिरहेको थियो । सीटका प्राविधिक कारणले म उनीबाट अलग भएकी थिएँ ।

उनकी सुत्केरी आमा मुख रातो पारेर बडो कठीनले हिडिरहेको देखेंँ । मैले रोकेर सोधँे—‘के भयो ।’ 

उनी रुलाँ झै गरेर भनिन्— ‘हेर्नुन मैले सामान लिने टिकट कहाँ छोडेछु , नानीका कपडा भएको झोला दिएनन्, के गर्ने होला ।’

समस्या बताएपछि उनको नाम र सम्पर्क नं. लेखेर प्रहरीले सामान दिए । उनी खुसी भइन् । 

मैले भने—‘मलाई लिनको लागि बाहिर गाडी आएको रहेछ, यहाँहरूलाई कतै छोडिदिम्’ उनले खुशी हुँदै भनिन् —‘कोहलपुर बसपार्कमा छोडिदिनु त्यहाँ मेरो भाइले हामीलाई लिन बसेको छ ।’

‘कोहलपुर बसपार्क यही हो’ हाम्रो चालक दाजुले भनेपछि धन्यवाद दिदैं उनीहरू मेरी फूल जस्ती साथी सहित गाडीबाट झरे, म हेरिरहे । 

चालक दाजुले लोकदोहोरीको रफ्तारमा गाडी चलाउँदैं भने– ‘म्याडम हजुर आरामले बस्नुहोला केही भए भन्नु है ।’ 

मैले गाडीमा बसेर मेरा सहगोत्रीय दाजुलाई साँझ बस्ने व्यवस्था मिलाउन फोन मिलाउन थालँे । 

चालकले भने— ‘म्याडम हजुरले बस्ने खाने पिर नगर्नुन, हजुरका लागि हाम्रो कार्यालयको कम्पाउण्ड भित्रै  क्वाटर ठिक गरी सकेको छ , अन्त नजानुहोला ।’

म फकीरका लागि यो दैव उपहार थियो सायद जे दिन्छौ भगवान् तिम्रो खुसी भनेर भिक्षु झैँ हात थापिरहे ।

बाटामा ट्रयाक्टर, हाइस दुर्घटना भएको देखे । त्यहाँ आफूलाई राखेर हेरे । ‘म पनि यसरी नै मरेभने मेरा मृत्युमा रुने को होलान् ?’ सोचे, प्रश्न निरुत्तर रह्यो ।

म स्वच्छन्द चरा जस्तै उडिरहेकी थिए । नयाँ बाटो, नदेखेको ठाउँमा ती चालक दाजुले ठाउँसहित त्यहाँको विशेषता व्याख्या गर्दै लगेकाथिए । हामी रत्न मार्ग, हर्रे, भेरी नदी, बर्दिया राष्ट्रिय निकुञ्ज, छिन्चु, कपासे हुँदै साँझमा सुर्खेत पुग्यौं । 

लगभग तीन घण्टाको यात्रा पछि हामी स्वर्गीय राजा वीरेन्द्रको मन पर्ने स्थान वीरेन्द्रनगर पुग्यौं ।

म जस्तै अर्को एक जना बंगलादेशी अतिथि पनि अघिल्लो दिन नै आएका थिए त्यहाँ । हाम्रा लागि दुई अतिथि गृह तयार भएको रहेछ ।

दायाँबायाँ दलबल सहितको सुरक्षागार्ड भएको कम्पाउण्ड भित्र लगभग एउटा घर जतिकै तीन कोठा भएको क्वाटर थियो, मेरा लागि ।

त्यहाँ रहेका सुरक्षाकर्मीको चौबिसै घण्टाको कडा निरीक्षण देखेर लाग्यो, वास्तवमा हामी मानव मानवसँग धेरै डराउँदा रहेछौँ ।

बाहिर मेरा लागि सबैजना होटलमा खाना खान जानका लागि कुरिरहनु भएको छ भन्ने सूचना आयो । त्यसै अनुरुप म बाहिर निस्कँे ।  

बंगाली साथी खाना खानु अघि नुहाउने बानी भएकाले होटलवालाले व्यवस्था गर्न केही समय लगाए । म भने भोकले हन्तु भईसकेको थिएँ । उसलाई बेला न कुबेला नुहाउनु पर्ने भन्ने संझेर रिस पनि उठ्यो ।

मैले वेटरलाई बोलाएर भने—‘मलाई एउटा मिक्स भेज सुप ल्याइदिनु है ।’ नौलो ठाउँ भएपनि भोकले गर्दा मेरो लाज भाग्यो । त्यो सुपले मेरा लागि अमृतको काम गर्यो । 

साथी नुहाएर आएपछि हामीले नेपाली थकाली खाना खायौं । शुभरात्री भन्दै हामी आ–आफ्नो क्वाटररूपी गुँडतिर लाग्यौं । थाकेकाले होला म भुसुक्कै निदाएछु । 

एकैचोटि भोलिपल्ट बिहान उठे । ब्रम्हमुर्हत समयको चिसो चिसो वातावरणमा उठेर नित्यकर्म तिर लागँे । केहीबेर योग गरेँ । 

बिस्तारै कोठामा आएको बाल सूर्यको मधुर किरणको उर्जा ताप्दै ध्यान गरेँ, नौलो अनुभूति भयो । ध्यानमा लीन हँुदा मेरो आत्मा परमात्माको समीप पुगेको अनुभव हुन्थ्यो । सायद तपस्वीहरूले तप गरेको उर्जारूपी स्थान थियो त्यो ।

त्यसदिन भव्य कार्यक्रम थियो । सबै कामको चापमा कुदिरहेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रमुख हुनुहुन्थ्यो । उहाँ लगायत मुख्य मन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरू, माननीयहरू, प्रदेशका मुख्य सचिव, अन्य सचिवहरूलगायत सम्पूर्ण विशिष्ठ व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो । सप्ताहव्यापी प्रतियोगितात्मक कार्यक्रमपछि त्यसदिन अन्तिम औपचारिक कार्यक्रम थियो । 

त्यहाँ आसन ग्रहणका लागि हामी दुई अतिथिको नाम पनि उद्घोष हुँदा म छक्क परेँ । पहिले थाहा भएको भए हटाउनु भन्थँे किनकी मलाई ठुलो मान्छे हुनु थिएन, बाहिरी राजनीतिसँग चिनिनु थिएन, मलाई त आफन्तले राम्रोसँग चिन्नु नै ठुलो कुरा थियो । बस् मानवता भएको मानव मात्र हुन चाहन्थेँ जीवनभर ।

कार्यक्रम छोटो र सटीक थियो । पछि सामूहिक फोटो सेसन हुँदा हामीलाई पनि सहभागी गराइयो । त्यस अवसरमा आयोजकका तर्फबाट मायाको चिनो र अन्य उपहारहरू पनि पायौं हामीले । 

त्यही कार्यक्रममा मेरा दुई बहिनीहरूसँग परिचय भयो । उनीहरू लोकसेवा जाँचको तयारीमा आफन्तसँग त्यहीँ क्वाटरमा बसेका रहेछन् । 

कार्यक्रम सकेर म कोठामा आएपछि भाइ बोलाउन आइपुग्यो र भन्यो– ‘म्याम हजुरलाई माथि गोटीकाँडा देखाउने अनि हजुरले जान खोजेको ठाउँ विपश्यना केन्द्र पनि लगिदिने अरे आउनु ।’ मैले सोचेको भन्दा छिटो मेरा इच्छाहरू पुगिरहेको देखेर भगवान्लाई मनमनै धन्यवाद दिएँ । 

म बाहिर निस्केँ मेरा सामानसहित झोला बोकेर । हामी कपासे हुँदै कटकुवा पुग्यौं, जहाँ सुर्खेत विपश्यना केन्द्र थियो । त्यहाँ पुगेर बुΣदा शिविर शुरु भइसकेकाले बीचमा बस्न नमिल्ने भएकाले निराश भएर फर्किएँ । 

त्यसपछि हामी सुर्खेतको छेडा हुँदै सबैभन्दा अग्लो र चिसो ठाउँ गोटीकाँडा पुग्यौं । त्यहाँबाट सुर्खेत छर्लङ्ग देखिन्थ्यो । 

बाटोमा आउँदा आयोजकले भने– ‘म्याम हजुरलाई क्वाटरमा केही अफ्ठयारो छ र किन ध्यान केन्द्र बस्न जोड गर्नुभो ! क्वाटरमै बसेर पनि हजुर ध्यान गर्न सक्नुहुन्छ नि, हैन र ।’ 

म उहाँहरू प्रति कृतज्ञ हुँदै भने– ‘जीवन आध्यात्मिक बनाउन खोज्दैँ गरेको म एक विद्यार्थी हुँ त्यसैले त्यहाँ केही नयाँ सिक्ने लोभले बस्न खोजेकी हुँ । हजुरहरूले मप्रति देखाउनु भएको सद्भावको ऋणी भएकी छु , धन्यवाद ।’

त्यसदिन पनि हामी बाहिर खाना खाएर क्वाटरमा आयौं । फेरि झोला थन्कियो ।

बिहान कलिलो सूर्यको किरणको आभालाई आफ्नो शरीरभित्र पूर्ण लेपन गराउँदै म ध्यान गर्न थालेँ । म पूर्णरूपमा आफू मात्र थिए बिलकुल । हतास विनाको मन शून्य थियो । तत्वज्ञानको मार्गमा म बामे सर्दै थिएँ ।

म आफू भित्रै हराएको थिए । आफैँ ज्योती बनेको प्रतीत भइरहेको थियो । आफूभित्र र बाहिरका अन्धकार हटाउन सक्ने शक्ति प्रदान गरुन् भन्दै म नतमस्तक भई भगवान् प्रति दण्डवत् गर्दै बस्थे ।

सायद यो ठाउँ परापूर्वकालमा ठुला योगीको साधनास्थल थियो होला । मलाई दैवी उर्जा प्रदान भएझै आभाष भइरहेको थियो । साँच्चिनै नेपाल पुण्य भूमि हो । 

ध्यान गर्ने ठाउँ भन्दा मनको शून्यता महत्वपूर्ण हुने रहेछ । 

एउटा बहिनी आएर भनिन्– ‘म्याम हजुर तयार हुनु अरे आज अतिथिहरूलाई सुर्खेत अनि सल्यानको कुपिण्डे ताल घुमाउन लग्ने रे ।’

हामी पहिले प्रख्यात देउती बज्यैको मन्दिर पुग्यौं । मागेको भाकल पूरा हुने जनविश्वास रहेको यस मन्दिरमा ढोग्दा अलौकिक शान्तिको महसुस भयो ।

त्यसपछि हामी बुलबुले ताल पुग्यौं । तालको पूर्वतिर महिला र पुरुषका लागि ५÷५ वटा धारा पनि राखिएको देखियो । तालको पुननिर्माण भइरहेको थियो । लगभग साँचो प्रेम अन्त्य झै भएको यो संसारमा त्यहाँका विरूवाका पातमा प्रेमिल जोडीहरूले आफ्नो प्रेमलाई अमर बनाउन नाम कोरेको पनि देखियो ।

हिन्दु र बौद्घमार्गीको आस्थाको धरोहर काक्रेंबिहार हरिया जङ्गलको बीचमा थियो । सन् १३२५ मा सिञ्जाका राजा अशोक चल्लले बनाएको उक्त मन्दिर शिखर शैलीको अनुपम नमूना थियो । 

त्यसपछि हामी छिन्चु, रामघाट, मेहलकुना, जहरे, बोटेचौर, रैकर हँुदै बालुवा संग्रहीमा खाना खाएर

ढोरपीपल, गाईकुवा, कोटभिर हुँदै हामी सल्यानको कुपिण्डे नगरपालिका पुग्यौं ।

त्यहाँ मिनी रारा भनेर प्रख्यात कुपिण्डे तालका बारेमा विभिन्न खालका किवंदन्ती पनि सुन्न पाइयो माझी दाइको मुखबाट । 

त्यहाँ एक खालको चराले तालमा पात खस्ने बित्तिकै पानी मुनि गएर पनि टिप्ने गरेकाले तालको पानीको कञ्चनताले मन लोभ्याउने थियो । 

हामीले बाहिर होटलमा खाना खादाँ ती बंगलादेशीको दुतावासबाट फोन आयो, ‘भोली जसरी पनि काठमाडौं आइपुग्नु , कोरोना नामक भाइरस चीन देखि संसारभर फैलिन सक्ने आशंका छ सकेसम्म छिटो आफ्नो देश फर्किऊ’ भन्ने खबरले उनले हामीलाई समेत चनाखो रहन आग्रह गरे । 

आयोजक संस्थाका पदाधिकारी उनको फर्किने टिकटको जोहो गर्न तिर लागे । त्यसपछि हामी आ–आफ्नो निवासस्थान तिर लाग्यौ । 

भोलिपल्ट बिहान उनलाई पु¥याउन सुर्खेत विमानस्थल गयौं । उनले हामीलाई उनका संस्थामा आउन  निमन्त्रणा दिए । बिदाईका हात हल्लाउँदै ऊ विमान भित्र अलप भयो ।

बाटामा आउँदा पदाधिकारीले मलाई भन्नुभयो– ‘म्याम आज हाम्रो बैठक छ त्यसैले हामी कहीँपनि जान पाउदैनौं, त्यत्ति टाढा काठमाडौंदेखि आउनुभाको फेरि आउने कहिले हो, हाम्रा वरपरका गाउँ लगायत दैलेख दुल्लुको ज्वाला पनि हेर्नुहोला आएको बेलामा, हाम्रा ती बहिनीहरूलाई साथी लिएर हजुर जानुहोला है ।’

ती बहिनीहरूका लोकसेवाको जाँचको तयारीको कक्षा भएकाले जान सकेनन् । चालक दाइले भने–‘म्याडम माननीयहरूलाई लिएर धेरै पटक गएको छु दुल्लु, यदि हजुरको मन छ भने हजुरलाई लिएर जानु भन्नु भा’छ के गरौं हजुर ।’

मैले भने–‘हुन्छ दाइ मलाई पनि मेरो पुख्र्यौली ठाउँ हेर्नु छ । ’उतिखेरै मेरा सहगोत्रीय दाजुलाई फोन गरेर हाम्रो थलोको बारेमा जानकारी लिएर बताए अनुरुप जाने योजना बनाएँ । 

हामी सुर्खेतबाट कपासे, कटकुवा, छेडा, लादे, रातानाङला, गुराँसे, घोडावास, तालपोखरी, चिसापानी, सियाकोेट पुग्यौं । सियाकोेटबाट जुम्ला, कालीकोट र माथिल्लो डुङ्गेश्वर जाने बाटो छुट्टियो । 

हामी माथिल्लो डुङ्गेश्वर हुँदै चुप्रा पुग्यौं । त्यहाँ पराजुली खोला आएपछि गाडी रोक्न इशारा गरेँ । ओर्लिएर आफ्नो पुर्खाको भूमिको टीका लगाएँ, खोलाको जल अञ्जुलीमा लिएर ज्ञात ÷अज्ञात पुर्खा प्रति जलार्पण गरे ।

ह्रदयभरि फोटो खिचे, मन तृप्त भयो शायद, अर्जुनले श्रीकृष्णलाई भेट्दा पनि यही आनन्दको महसुस गरेका थिए होलान् । 

चुप्रा हुँदै दुल्लु नगरपालिकाको श्रीस्थान मन्दिर तिर लाग्यौं । त्यहाँ ज्वालाजीको मन्दिर, गादी घर, कालसैनी मन्दिर, शिवजी, खोला, जंगल, लगायतका स्थानहरू हेरे । 

त्यसपछि हामी नाभिस्थानमा रहेको ज्वाला हेर्न गयौं । ज्वालाहरू हेरेपछि आफू भित्र रहेको शक्तिको दीप पनि अझ प्रगाढ बलेको महसुस गरेँ मैले ।

मैले समयाभावले गर्दा अझै कोटिला, धुलेश्वर, पादुका लगायत अन्य महत्वपूर्ण ठाउँहरू हेर्न पाइनँ ।

त्यसपछि खोलाको बाटो हुँदै हामी दैलेख बजार पुग्यौं । डेकेन्द्र चोक पनि देख्यौं ।  त्यहाँ नयाँ र पुराना दुई दैलेख बजार थिए । 

हामी नास्ता खाने मेसो मिलाउँदै थियौं, भनेजस्तो खाने ठाउँ भेटेनौं । फलफूल देखेर गाडी रोक्न भनँे । 

केही फलफूल र अरू सामान किन्नु भन्दा पहिला मैले ती हँसिली साहुनीलाई भनेँ– ‘हामी धेरै टाढाबाट आएका मिलाएर दिनु है, गेडागुडीका दाल देखेर मेरो पुख्र्यौली थलोको कोसेली काठमाडौं लान भनेर मात्र किनेको नत्र त उहीँ पनि पाइन्छ ।’

उनले मेरो परिचय मागिन् । मैले भने– ‘मेरा पुर्खालाई सिञ्जाका राजा अशोक चल्लले राजपुरोहित बनाएर यहाँका दुई डाँडा पराजुल र औल पराजुल स्थान बिर्तामा दिएका अरे, उनीहरू नै मेरा पुर्खा हुन् ।’

उनलाई पनि यो कुरा थाहा रहेछ र भनिन् – ‘हो, अहिले तपाईका आफन्त चुप्रातिर बसाइ सर्नु भाको छ, एकजना त यहाँको विद्यालयको हेडमास्टर हुनुहुन्छ’ । उनले मलाई आफ्नै चेली जस्तै गरेर जतनले स्याउ, सुन्तलासँगै दालहरू गाडीमा राखिदिइन् । दुई दाना स्याउ पखालेर दिइन् खानलाई । चालक दाजु र मैले खायौं । ‘धन्यवाद’ भन्दै आफ्नो बाटो लाग्यौं । 

चुप्रामा आइपुगेपछि हामीले साना तर राम्रा केरा भेट्यौ । केराको भाउ कति भनेर सोध्दा महिलाले दर्जनको ६० भनिन् । मैले दुई दर्जनको १०० रुपियाँ दिए र ‘बाँकी २० रुपियाँको मुस्कान सहितको नमस्कार’ भने । उनी र हाम्रो चालक दाइ जोडले हाँसे ।

मेरी आमाकी उमेरकी महिलाको चाउरीको रेखा धेरै दिनपछि मेट्न पाउँदा म भोको पेटमा पनि अघाए झै भएँ । आमाको सुन्दरता अनुहार होइन ममतामा हुने रहेछ मैले त्यही महसुस गरेँ ।

दधीचि ऋषि र योगी नरहरिनाथको तपोभूमि दैलेख र यहाँको बाटो भएर पाण्डवहरू स्वर्ग प्रस्थान गरेको भन्ने किवदन्ती पाइन्छ । 

कण कणमा आध्यात्मिकता बोकेको दैलेख ऐतिहासिक खस राज्यको धार्मिक भूभाग, नेपाली भाषाको उत्पत्तिस्थान, ज्ञान र ध्यानको ज्वाला बोकी सुन्दर सम्पदाको काखमा अदम्य साहसका साथ ध्यानमग्न रहेको देख्दा मन प्रफुल्ल भयो । 

विदेशका ती गगनचुम्बी भवन हेरेर अघाउनुभन्दा आफ्नो देश माटोको सुगन्धको आस्वादले नै गर्वको महसुस हुन्थ्यो ।

प्रकृतिसँग अझ तादाम्त्य हुन पाउँदा म हर्षविभोर भएँ ।बालकले आफ्नी बिछोडिएकी आमा भेटेझै भएको थियो मलाई ।

‘हाम्रो दैलेख राम्रो दैलेख’ अन्र्तमनमा यही नारा बजिरह्यो । मेरो दैलेख मोहले मलाई आल्लादित बनाएको थियो । 

भोलिपल्ट प्रदेश सभा भवनको संसद्को बैठक हेर्ने पास आयो । त्यहाँ माननीय र हामी जस्ता सर्वसाधारण नागरिकमा गरिएको भेदभावले मेरो मन चसक्क छोयो । 

म त्यो पक्षपाती स्थानमा धेरैबेर बस्न सकिनँ, निस्कँे बाहिर । खाजा खाएर आफ्नै विश्रामस्थल पुगेँ । मलाई त्यो उडन्ते भाषणभन्दा आफ्नै शान्तिकामी एकाग्रता प्यारो थियो । फेरि लागे भगवत् प्राप्तिको मार्गमा ।

अन्तिम दिन बिहान खाना खाएर म त्यस साधनास्थलबाट बिदा भएँ । म त्यहाँ बसुञ्जेल सबैको सहयोग पाएँ । विशेषतः ती चालक दाजु र सानो कर्मचारी भाइले मुस्कान सहित कुनै दिन निराश नभई मेरा सेवा गरेका  थिए । उनीहरूले मलाई गरेको सहयोगको भारा नलागोस् भनेर हौसला स्वरूप केही रकम दिएँ ।

ती दुई बहिनीहरूको साथले यात्रा अझै सुन्दर भयो । उनीहरूलाई परीक्षा सकेपछि काठमाडौं आउने निम्तो दिदैं म बिदा भएँ । उनीहरू मलाई विमानस्थलसम्म पु¥याउन आए । चार दिनसँगै बस्दा हामी वर्षौका साथी जस्ता भएका थियौं । छुट्टिदाँ एकप्रकारको नमीठो लाग्यो । आखिरमा स्थायी त क्यै छैन यो क्षणभङ्गुर संसारमा भनी मन बुझाएँ ।

दुईजना पदाधिकारी पनि मसँगै उडानमा काठमाडौंसम्म सुर्खेत विमानस्थल भएर जाने भएकाले मेरा लागि पनि टिकट त्यही अनुरुप भएको रहेछ । मेरो नेपालगञ्ज गएर आफन्त भेट्ने र रुपेडिया बजार घुम्ने योजना विफल भयो । जे भयो राम्रैका लागि  दैवी योजना (कस्मिक प्लान) भएको होला भन्ने सोचेर म उहाँहरूसँगै आएँ ।

फेरि हवाइजहाज चढे । माथि आकाशमा पुगेपछि प्रिय बादलसँग मेरो भेट भयो । म उसका इशारामा उसले सिर्जना गरेका कोमल घरमा पस्न थाले एकएक गर्दै धेरै घरभित्र । उसले म फकिरका लागि धेरै घरहरू पोे बनाएको रहेछ ।

हवाईजहाज चालकको ध्वनिसँगै फेरि बादल र म रोकियौं । ‘म तिमीलाई चाँडै भेट्नेछु ’ भन्दै बिदाईका हात हल्लाउँदै बादल अलप भयो । फेरि अर्को बिदाईको पीडा बोक्दै कल्पनाको संसारबाट उही हतारको जिन्दगीमा अवतरित भएँ म । 

लक्ष्यहीन गोरेटोमा गन्तव्यहीन यात्री भएर उडेको सपनाको यात्रा मेरो क्यानभासले खिचेको तस्वीरभन्दा पृथक् र स्मरणीय भयो । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>