कोरोना भन्दा पनि खतरनाक भाइरस 

रामेश्वरी पन्त

वैशाख २४, २०७७ बन्दाबन्दीको ३५ औं दिनको साँझको खाना खाएर भान्साको काम सकेपछि हातमा मोबाईल लिएर नयाँ खबर खोज्ने क्रममा मोबाईलको स्क्रिनमा औंला घिसार्न थालेकी मात्र थिएँ, एउटा अनलाइनमा राखिएको एक शीर्षकमा नजर पुग्यो –‘लकडाउनमा लुडो खेल हारेको रिसमा पतिले भाँचे पत्नीको ढाड ।’ शीर्षक नै यति पिडादायि थियो कि दिमाग नै सन्न भयो । समाचारको लिङ्क खालेर हेरेँ– भारतको गुजरातको बडोदरा भन्ने ठाउँमा लकडाउनको समय बिताउने क्रममा पति पत्नी मिलेर अनलाईन लुडो खेल्दा लगातार तीन पटकसम्म पत्नीले जितिछ र पतिले हारेछ । पत्नीसँग हार्नुपरेपछि पतिको पुरुषत्वमा नराम्रोसँग ठेस लाग्न पुग्यो र पत्नीसँग झगडा गर्न थाल्यो । झगडा चर्कँदै गएपछि कुटपिटमै उत्रिएको पतिले पत्नीको ढाडै भाँचिदिएछ । ओहो, कत्रो अहंकार ! पत्नीसँग हार्नै नहुने ? 

कोभिड १९ को महामारीसँगै अहिले लगभग पूरै विश्व लकडाउन (बन्दाबन्दी)को अवस्थामा छ । यो अवस्था भनेको प्रायः सबै मानिसहरू सपरिवार घरभित्रै बसिरहेको अवस्था हो । यो अवस्थामा घर परिवारभित्र आपसी प्रेम, सद्भाव र सम्मानको गहनता हुनुपर्नेमा आज विश्वभरि नै घरेलु हिंसाका घटना बढिरहेका तथ्यांकहरू बाहिर आउनु दुःखद हो । यहाँनिर घरेलु हिंसा भन्ने बित्तिकै महिलामाथि हुने हिंसालाई बुझ्न कठिन पर्दैन । आज विश्वमा अनेक चमत्कार भएका छन् । कैयौं देसमा आर्थिक तथा भौतिक विकासले चरम उत्कर्ष लिएको छ । परिवर्तनका अनेक आयाम देखिए तर तिनै देसका मानिसको पनि महिलाप्रतिको मानसिकताले भने परिवर्तनको संघार नाघ्न सकेको पाईँदैन । यही कारण आज पनि बेलायत, अमेरिका, जापान, चीन जस्ता अति विकसित देशमा पनि महिलामाथि हुने हिंसाको चाङ देख्न सकिन्छ । 

कुनैबेला लाग्थ्यो नेपाल, भारत, पाकिस्तान, बंगलादेश जस्ता मुलुकमा महिलामाथि हुने हिंसाका दर्दनाक घटना हेर्दैगर्दा युरोप, अमेरिका जस्ता विकसित देशका महिलाले हिंसा खेप्नु पर्दैनहोला । तर महिलाहिंसाका विश्वव्यापि घटनाहरू पढ्दै र सुन्दैगर्दा मेरो सोचाई गलत सावित भयो । आखिर महिला जहाँका पनि ‘महिला’ नै हुँदारहेछन् र पुरुष जहाँका पनि ‘पुरुष’ नै हुँदारहेछन् । जहाँका भए पनि राजनैतिक, आर्थिक, सामाजिक र पारिवारिक संप्रभुताको शिखरमा पुरुष नै बिराजित हुनुपर्ने, नत्र महिलाले हिंसाका शृङ्खलाबाट गुज्रिरहनुपर्ने । 

हालै विविसीको एक समाचार अनुसार बन्दाबन्दीको दुईतीन हप्तामै वेलायतमा महिलामाथि हुने घरेलु हिंसाका घटनामा दोब्बर उजुरी परेको र महिलाको हत्याको घटना पनि सोही दरमा बढेको जनाएको छ । त्यस्तै बेलायतको एक पत्रिकाले ‘बु्रटल रियालिटी’ शीर्षकमा घरेलु हिंसाको कारण घाइते भएका महिलाका तस्वीरहरू सहित लेखेको छ– बेलायतमा लकडाउनको पहिलो तीन हप्तामा घरेलु हिंसाबाट १४ महिला र २ बालबालिकाको हत्या भएको छ । समाचारमा यतिबेला बेलायत तथा अमेरिकाका महिलाले हिम्मतसाथ आफ्ना रक्ताम्मे भएका घाइते अनुहारका तस्वीरलाई सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । लकडाउनको यस अवधिमा बेलायतमा ४९ प्रतिशत र अमेरिकामा ४० प्रतिशतले घरेलु हिंसा बढेको जनाएको छ ।

बेलायतमा बस्ने मेरो एकजना साथीले भनेकी थिइन् कुनै दिन, ‘नेपालको के कुरा गछ्र्यौ, बेलायतजस्तो देशमा पनि महिलाले यति अनुशासनमा बस्नु पर्दछकि त्यहाँका महिलाको अवस्था पुरुषको तुलनामा घरभित्र निकै दयनीय लाग्छ ।’ अमेरिका बस्ने साथीलाई सोध्छु, उनको कुरा पनि उस्तै छ । उनी भन्छिन् ‘स्वतन्त्रता भएर मात्र के गर्नु यहाँका महिलाहरूले खेप्ने यौनहिंसाका घटना पनि कम छैनन् ।’ अहिले लकडाउनको समयमा अमेरिकामा महिलाहरूमाथि तिनका पूर्व पति, प्रेमी तथा पतिबाट आक्रमण हुने गरेको र हत्या समेत भएका घटना सार्वजनिक  भएका छन् ।  

बेलायत, अमेरिका जस्ता देशका महिलाले आफू हिंसामा परेका रक्ताम्मे एवम् घाइते अनुहारलाई सार्वजनिक गर्नुलाई ‘हिम्मत’ ठानिन्छ भने नेपाल जस्ता देशका महिलाले हिंसा सहेर बसे भन्नु कुन ठूलो कुरा भयो र ? नेपालको कुरा गर्दा हालै एक अनलाइनले प्रकाशित गरेको समाचार अनुसार ओरेकमा दर्ता भएका महिला हिंसाका घटनाको संख्या हेर्दा बन्दाबन्दीको समय सपरिवार घरभित्रै रहेको अवस्थामा पनि किन महिलाले यसरी हिंसा सहन विवश छन् ? भन्ने कुराले निकै गम्भीरता सिर्जना गरेको छ । लकडाउनको एक महिना अवधिमा ओरेकमा मात्र १२८ जना महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्यांक छ । जसमध्ये ७२ वटा घरेलु हिंसा, १४ वटा सामाजिक हिंसा, १८ वटा बलात्कार, २ वटा हत्या वा आत्महत्या जो अनुसन्धानकै क्रममा रहेका, ५ वटा यौन दुब्र्यवहार, १० वटा आत्महत्या र २ वटा हत्या प्रयास रहेका छन् । आत्महत्याकै कुरा गर्दा यस अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना सुदुर पश्चिममा भएको कुरा समाचारमा आएको छ । 

लकडाउनको समयमा महिलामाथि भएका हिंसाका घटनामा (ओरेकका अनुसार) हिंसा गर्नेमा ५४ जना श्रीमान्, २९ जना परिवारका सदस्य, हिंसाका २७ घटनामा छिमेकी, ६ वटामा प्रेमी, १ मा साथी, १ मा घरमालिक, १० घटनामा पिडकको पहिचान नभएको । त्यस्तै बलात्कारका घटनामा १३ वटामा छिमेकी, १ मा बुबा, १ मा परिवारका सदस्य, १ मा प्रेमी र २ घटनामा पिडकको पहिचान नखुलेको भनिएको छ । यसैगरि नेपाल प्रहरीको तथ्यांकमा पनि लकडाउनको अवधिमा दैनिक ३ भन्दा धेरै बलात्कारका घटना भएको र बलात्कृत हुनेमा बालिका धेरै र बलात्कारी धेरैजसो आफन्त र छिमेकी रहेको भनिएको छ । 

परिवार नै महिला र बालबालिकाका निम्ति सबैभन्दा सुरक्षित स्थान हुनुपर्नेमा त्यही परिवारबाट अहिलेको अवस्थामा अझ बढी असुरक्षित हुनु अत्यन्त दुःखद र गम्भीर पक्ष हो । घर नै असुरक्षित भएपछि सुरक्षा खोज्न महिला तथा बालबालिका कहाँ जाने ? कसलाई गुहार्ने ? फेरि यो बन्दाबन्दीको बेला यस्ता हिंसालाई संबोधन गर्ने संयन्त्रहरू पनि प्रायः निष्क्रिय रहेको अवस्था छ । यी माथि उल्लेखित घटना त बाहिर आएका र उजुरी परेका मात्र हुन् । भित्रभित्रै गुम्सिएका यस्ता घटना त कति होलान् कति ! हर समय पति तथा परिवारको साथमा रहने एउटी महिलाले आफूमाथि भएका हिंसालाई सरकारले उपलब्ध गराएको हटलाईन फोन मार्फत जानकारी गराउन कत्तिको सम्भव होला ? झन घरभित्रको घटना बाहिर ल्याएको भन्दै उमाथि अरु हिंसा नहोला ? 

जागिर होस् या अन्य व्यवसायको सिलसिलामा प्रायः घर बाहिर फुक्काफाल रहने पुरुषहरू यतिबेला घरभित्रै थन्किएका छन् । उनीहरूलाई हर समय नै श्रीमतीको उपस्थिति र उसको बोलि व्यवहार उच्चाटलाग्दो हुनसक्छ । अर्कोतिर चौबीसै घण्टा घरमै थन्किएका पति र बालबच्चाहरूको टहल पु¥याउँदै उनीहरूका हरेक आवश्यकता पूरा गर्नुपर्ने अवस्थाबाट गुज्रिँदैगर्दा महिलाहरूमा शारीरिक र मानसिक तनाव नहोला भन्न सकँदैन तर पनि उनीहरूको यो अवस्थाको महशुस कुनै पुरुषले गर्न सकेको पाइँदैन, चाहे उनीहरू जुनसुकै रुपका किन नहुन् । बरु उल्टै महिलामाथि विभिन्न बहानामा हिंसा गरिरहेका हुन्छन् । अपवादको रुपमा केही प्रतिशत पुरुष विवेकी र सहयोगी भएको पनि देखिन्छ तर नगन्य रुपमा । 

महिलामाथि सबैभन्दा बढी हिंसा श्रीमान्बाटै हुने कुरा माथि उल्लेखित तथ्यांकले नै देखाएको छ । परिवारमा पति नै सर्वेसर्वा र ‘मालिक’ हुने परंपरागत मानसिकता एकातिर छ भने अर्कोतिर जुनसुकै रुप र संबन्धको पुरुष किन नहोस् ऊ महिलाभन्दा ‘ठूलो’ र ‘सम्मानित’ भएकै हुनुपर्छ, उसले जित्नैपर्छ नत्र उसको वंशाणुगत ‘ईगो’मा चोट पुग्न जान्छ र ऊ महिलामाथि आक्रमक रुपमा प्रस्तुत हुन्छ । हालै भारतको गुजरातमा भएको माथि उल्लेखित घटना यसैको निरन्तरता हो । उसलाई आफ्नो ‘भालेपन’को सधैँ घमण्ड हुन्छ । घर, परिवार, समाज, राजनीति जहीँतहीँ महिलामाथि  पुरुषको शासन देखिन्छ । उनीहरूलाई उछिनेर अगाडि जानखोज्नु महिलाकालागि ठूलो चुनौती र जोखिमको यात्रा हुन्छ । आर्थिक, सामाजिक, राजनीतिक सहयात्राको कुरा त परै छोडौं, घरभित्रै ओछ्यानमा महिला सबैभन्दा बढी हिंसामा परेकी हुन्छे । लोग्नेको इच्छा अनुसार प्रस्तुत हुन नसक्दा उसका हात पत्नीको गला दबाउन पुग्छन् । भोलिको सूर्योदय देख्न पाउँछे या पाउँदिन ठेगान हुँदैन । एउटा प्रेमी आफूले माया गरेकी मायालुले उसको चाहना पूरा गर्न इन्कार गरिभने उसको गला थिचेर मारिदिन्छ । पुरुष अहंकारभित्र कुण्ठित भएर रहेको घृणित यौनप्यासले न छोरी भन्छ न दूधे बालिका । त्यसैले त सबैभन्दाबढी विश्वास गरेका आफन्त र छिमेकीबाटै महिला र बालिकाहरू असुरक्षित हुनपुग्छन् । 

कोरोना भाइरसदेखि डराएर घरभित्रै थुनिएको अवस्थामा बाहिर आएका यस्ता हिंसाका घटनाहरूका कारणले गर्दा नै होला प्रशिद्ध भारतीय नारीवादी लेखिका कमला भासिनले पितृसत्तालाई ‘कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस’ भनेकी छन् । हो, कुनै दिन कोरोना भाइरसको खोप तयार होला, औषधी पत्ता लाग्ला तर युगौंदेखि मानव समाज र सभ्यातामा जरा गाँडेर बसिरहेको यो ‘पितृसत्ताको भाइरस’को औषधी वा कुनै खोप पत्तालाग्ने छाँट देखिँदैन किनकी यो यस्तो वंशाणुगत भाइरस हो जुन अधिकांश पुरुषहरूको ‘जीन’मै समाहित भएर आएको हुन्छ चाहे ती पुरुष हाम्रो जस्तो पूर्वीय सभ्यता र संस्कृतिमा पालित, पोषित र दीक्षित हुँदै आएका हुन् चाहे पाश्चात्य एवम् आधुनिक भनिएको सभ्याता, संस्कृति र परंपरामा पालित, पोषित र दीक्षित हुँदै आएका हुन् ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>