Successfully Copied

लकडाउनमा घरपालुवाको हेरचाह 

धेरैको घरमा घरपालुवा जनावर पालिएको हुन्छ । लकडाउनको बेलामा आफ्नो घरपालुवालाई कसरी स्वस्थ राख्ने र केही समस्या परेमा कसरी जोगाउने होला भन्ने डर हुन सक्छ । त्यसैले यस्तो अवस्थामा घरपालुवालाई जोगाउनका लागि केही जानकारी भने हुनु पर्छ ।

विश्व कोरोना महामारीबाट आक्रान्त भएको बेला हाम्रो मुलुक पनि कोरोना संक्रमणसँग जुधिरहेको छ । जनमानसमा यो महामारीको धेरै ठूलो त्रास छ । आफ्नो सुरक्षाका लागि सबैजना यति बेला आफ्नो घरमै बन्द भएका छन् । अत्यावश्यक बाहेक अन्य बाहिर आवत जावत पूर्णरुपले बन्द छ । कोरोनासँग लड्नका लागि यो नै बलियो अस्त्र हो ।                                                      

धेरैको घरमा घरपालुवा जनावर पालिएको हुन्छ । लकडाउनको बेलामा आफ्नो घरपालुवालाई कसरी स्वस्थ राख्ने र केही समस्या परेमा कसरी जोगाउने होला भन्ने डर हुन सक्छ । त्यसैले यस्तो अवस्थामा घरपालुवालाई जोगाउनका लागि केही जानकारी भने हुनु पर्छ । कतिपय समाचारमा घरपालुुवाबाट पनि कोरोना भाइरस मानिसमा सर्ने कुरा आएको छ । यसमा सत्यता छैन । अहिलेसम्म घरपालुवाको माध्यमबाट मानिसमा कोरोना सर्ने कुरा पुष्टि भएको छैन । 

अहिलेको अवस्थामा घरपालुवालाई कुनै स्वास्थ्य समस्या जस्तो रुघाखोकी, ज्वरो, झाडापखाला, बान्ता आएमा पशुचिकित्सकको सल्लाह विना मानिसले प्रयोग गर्ने औषधी दिनु हुँदैन । घरपालुवालाई सामान्य रुघाखोकी ज्वरो आउँदा धेरैले मानिसले प्रयोग गर्ने सिटामोल, ब्रुफिेन, फ्लेक्सन जस्ता औषधी आफैंले दिने गरेको पाइएको छ । जुन घरपालुवाका लागि घातक हुन सक्छ । कतिपय मानिसले प्रयोग गर्ने कफ सिरपले घरपालुवालाई नोक्सानी पुर्‍याउँछ । त्यसैले पशु चिकित्सकको सल्लाह विना कुनै किसिमका औषधी दिनु हुँदैन ।                                                      

अहिलेको विशेष परिस्थितिमा घरपालुवालाई सन्तुलित भोजन तथा घरमा नै शारीरिक अभ्यास गराउनु उचित हुन्छ । अहिले सबै बन्द भएको हुनाले घरपालुवाका लागि तयारी खाना पाउने अवस्था छैन । यस्तो अवस्थामा घरमै सन्तुलित भोजन व्यवस्थापन गर्नु पर्दछ । घरपालुवाका लागि घरमा खाना पकाउँदा चामल, दाल, मस्यौरा, मासु, हरियो तरकारी, सागलाई एकै ठाउँमा राखेर एक चिम्टी नुन र बेसार हाली पकाउनुपर्छ । त्यसरी पकाएको खाना दिनमा दुई पटक दिन सकिन्छ । 

यस्तो अवस्थामा घरपालुवामा सामान्य समस्या परेमा आफ्नो सम्पर्कमा रहेका पशु चिकित्सकसँग फोनबाटै सल्लाह र जानकारी लिन सकिन्छ । केही  असामान्य अवस्थामा भने घरपालुवालाई नजिकको भेटेरिनरी अस्पताल तथा क्लिनिकमा सम्पर्क गरि जचाउन लैजान सकिन्छ । यस्तो अवस्थामा बाटोमा सुरक्षाकर्मीले पनि सहयोग गरेका छन् । क्लिनिक जाँदा आफ्नो पनि विशेष ध्यान राख्नु पर्छ ।          

घरपालुवालाई वार्षिकरुपमा दिइने खोप तथा जूकाको औषधीका लागि केही दिन ढिला हुँदा पनि खासै फरक पर्दैन । अहिलेको विषम परिवेशमा आफू पनि घरभित्रै परिवार तथा घरपालुवासँग रमाइलो गरेर बस्नुपर्छ । घरभित्रै बसेर कोरोना भाइरससँगको लडाईंमा देशलाई मद्दत गर्नु पर्छ ।                  

 Image