Successfully Copied

इन्डक्सनको लोकप्रियता र सावधानी

मुटुमा पेसमेकर प्रयोग गरिरहेकाहरूले यो उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । त्यस्ता व्यक्तिमा इन्डक्सन चुल्होले उत्पन्न गर्ने चुम्बकीय शक्तिले नकारात्मक प्रभाव पार्ने भएकाले विशेषज्ञहरूको सल्लाह अनुरूप मात्र यसको उपयोग गर्नुपर्छ ।

२०७२ सालमा गएको महाभुकम्प र त्यसपछिको नाकाबन्दीका कारण ग्याासको अभावमा नेपाली भान्छा घरमा इन्डक्सन चुल्होको प्रयोग बढेको देखिन्छ । यस पटक महामारीको रुपमा देखापरेको कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनमा पर्दा पनि धेरैको भान्छामा इन्डक्सन चुल्होको प्रयोग बढेको देखिन्छ । उच्च तथा मध्यमवर्गीय परिवारमाझ इन्डक्सन चुल्हो विशेष लोकप्रिय हुदैं गएको छ । यसरी इन्डक्सन चुल्हो किन्दा र प्रयोग गर्दा के कस्तो सावधानी अपनाउनु पर्छ यस सम्बन्धि आइटी इन्जिनियर सुनी जोशीसंग गरिएको कुराकानी :

इन्डक्सन चुल्हो किन्दा के कुरामा ध्यान दिनु पर्छ ?

बजारमा धेरै किसिमका र ब्राण्डका इन्डक्सन चुल्हो आइरहेका छन् । तर सकेसम्म केही महंगो भएपनि ब्राण्डेड इन्डक्सन चुल्हो नै छान्नु पर्छ । ब्रान्डेड उपकरण खरिद गर्दा उपभोक्ताले वारेन्टी सुविधा पाउँछन् । नयाँ प्रविधि प्रयोग गर्दा सेवा–सुविधामा पनि ध्यान दिनुपर्ने हुन्छ । यो सुविधा ननब्रान्डेड उपकरणको खरिद गर्दा नपाइनसक्छ । त्यसैले खरिद गर्दा पहिला सस्तो परे पनि पछि धेरै किसिमका समस्या आउन सक्छ त्यसैले सकेसम्म भरपर्दो बिक्रेता मार्फत ब्रान्डेड चुल्हो नै खरिद गर्नु उपयुक्त हुन्छ ।

इन्डक्सन चुल्हो चलाउँदा कतिसम्मको कम वाटको प्रयोग गर्दा उपयुक्त हुन्छ ?

खाना पकाउने कार्यमा मानिसहरू अनावश्यक रूपमा बढी वाट प्रयोग गर्छन् । यसले खाना छिटो पाके पनि उपकरणमा खराबी आउने सम्भावना पनि वढी हुन्छ । खाना पकाउन ८ सयदेखि १ हजार ३ सय वाट सम्मको प्रयोग गर्नु पर्याप्त हुन्छ । इन्डक्सन चुल्हो प्रयोग गर्दा सुरुको अवस्थामा सकेसम्म ६ सय वाटबाट शुरु गर्नु उपयुक्त हुन्छ । पकाउने क्रममा यसलाई आवश्यकता अनुसार बढाउन–घटाउन सकिन्छ । अधिकांश प्रयोगकर्ताले प्रारम्भिक अवस्थामै कम समयमा खाना पकाउन धेरै वाट प्रयोग गर्छन्, जसले उपकरणमा चाँडै खराबी आउन सक्छ ।

इन्डक्सन चुल्होमा भाँडा बसाल्दा र निकाल्दा केही सावधानी अपनाउनु पर्छ कि ?

चुल्होको माथिल्लो पट्टि कुकटपमा मोटो कालो ग्लास प्रयोग गरिएको हुन्छ । बलियो नै हुने भए पनि चुल्होमा भाँडा बसाल्दा विशेष सावधानी अपनाएर कम दबाब पर्ने गरी राख्नुपर्छ । सावधानी नअपनाउँदा यो चर्कने वा फुट्ने सम्भावना हुन्छ । चुल्होको प्रयोग सकेसम्म काठको टेबुल आदिमा राखेर गर्नु उपयुक्त हुन्छ । इन्डक्सन चुल्होमा खाना पकाउने काम सकिएलगत्तै मेन स्विच अफ गर्नु हुँदैन । चुल्होमा यसलाई चिसो बनाउन पंखा पनि हुन्छ । काम सकिएपछि पनि चुल्हो चिसो बनाउन केही समय पंखा चलिरहन्छ । मेन स्विच अफ गर्दा यसले आफ्नो काम गर्न पाउँदैन । फलस्वरूप उपकरणमा हानि पुगिरहेको हुन्छ । त्यसैले खाना पकाउने काम सकिएपछि इन्डक्सन चुल्हो अफ गरे पनि मेन स्विच भने अन नै राख्नुपर्छ ।

यसलाइ कसरी सफाइ गर्ने ?

खाना पकाउन उच्च तापक्रम प्रयोग गरेपछि केही समय यसलाई सेलाउन दिनुपर्छ । उच्च तापक्रममा प्रयोग गर्नेबित्तिकै चिसो रुमाल आदिले पुछेर सफा गर्दा उपकरणमा खराबी आउने सम्भावना हुन्छ ।

इन्डक्सन चुल्हो चलाउदा केकस्तो सावधानी अपनाउनु पर्छ ?

मुटुमा पेसमेकर प्रयोग गरिरहेकाहरूले यो उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ । त्यस्ता व्यक्तिमा इन्डक्सन चुल्होले उत्पन्न गर्ने चुम्बकीय शक्तिले नकारात्मक प्रभाव पार्ने भएकाले विशेषज्ञहरूको सल्लाह अनुरूप मात्र यसको उपयोग गर्नुपर्छ ।

 

 Image