Successfully Copied

एक कचौरा पानी एक कचौरा खाना अभियान 

हामीले हाम्रो वरिपरी जथाभावी छोडिएका पशुहरूको हेरचाह गर्न सक्छौं, लकडाउनको क्रममा मात्र नभएर यसपछि पनि पशु कल्याणका सबै काम गरौं भनेर । अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज श्रेष्ठले एकैसाथ ट्विट गरेर यस्तो सन्देश दिए ।

हामीले हाम्रो वरिपरी जथाभावी छोडिएका पशुहरूको हेरचाह गर्न सक्छौं, लकडाउनको क्रममा मात्र नभएर यसपछि पनि पशु कल्याणका सबै काम गरौं भनेर । अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज श्रेष्ठले एकैसाथ ट्विट गरेर यस्तो सन्देश दिए । उनीहरुले भनेका छन्, विशेष रूपमा यो लकडाउनको क्रममा हामी सबैजना यस अभियानमा सामेल हौं, जहां हामीले गर्नुपर्ने भनेको हरेक दिन घरबाहिरका जनावर तथा पशुपंक्षीका लागि आफ्नो घरको गेट बाहिर थोरै पानी र खानेकुरा राखिदिउँ । 

लकडाउनका कारण जनावर तथा पशुपंक्षीका लागी आहारको समस्या दिनानुदिन बढिरहको छ । मानिसहरु घरभित्रै बस्नुपरेकाले मान्छेमा आश्रित जनावर र पशुपंक्षी भोकभोकै पर्ने अवस्था आइरहेको छ । बजार, पसल, होटल रेस्टुरेन्ट, मन्दिर बन्द भएका कारण कुकुर, छाडा चौपाय, परेवा, बाँदर साथै अन्य पशुपंक्षी भोकै हुने अवस्था आएपछि आफुहरुसंगको सहकार्यमा कलाकार जोडीले उदार भाव देखाएको एनिमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह बताउंछिन् ।

प्रमदा भन्छिन्, अहिले हामीकहाँ जतिपनि कानुनहरु छन् देवानी आचारसंहिता अनुसार जनावारलाइ दुख दिनु हुदैन भन्ने उल्लेख छ तर कार्यान्वयन फितलो छ । पशु कल्याण ऐन नै भनेर सक्दो छिटो ल्याउन पर्यो भनेर सरकालाई घचघच्याइरहेको अवस्था छ । विभत्स तरिकाले हत्या गर्ने, बाटो बाटोमा खसी कुखुरा काट्ने, एकले अर्कालाई देखाएर काट्ने जस्ता काम बन्द हुनुपर्छ, यस्तो मासु स्वस्थकर पनि हुदैन । बाटोमै रगताम्य पार्नु भएन् । हरेक कुरा व्यवस्थित गर्नुछ । अर्को कुरा काठमाडौं भ्यालीभित्र सामुदायिक कुकुरहरु २६ देखी ३० हजार रहेको अनुमान छ । यिनको संरक्षण र कल्याण कसले गर्ने ?

‘विश्व सामुदायिक पशु दिवस अवसर पारेर प्रियंका कार्की र आयुष्मान देशराजको आयांका फाउन्डेसनले एक लाख सहयोग जुटाएको समेत शाहले बताइन् । आवारा जनावर र सडकमा रहेका पशुहरुको उचित व्यवस्थापन र खानपानको लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले यो दिवस मनाइरहँदा कलाकार जोडीले सहयोग प्रदान गरेका थिए । आयंका जोडीले एनिमल नेपाल, क्याप सेन्टर, स्नेहा केयरलाई एक लाख हस्तान्तरण गरेका थिए ।

अधिवक्ता शोभा कार्कीका अनुसार पशुप्रति हुने निर्दयी ब्यवहारमा रोकथाम गरी पशुको उचित ब्यवस्थापन, विकास र गुणस्तर कायम गर्दै पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को मर्म र भावना अनुरुप पशु कल्याण सुनिश्चिता गर्न वाञ्छनीय भएकोले पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २२ क ले दिएको अधिकार प्रयोग गरी पशुपन्छी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका २०७३ जारी गरेको छ । तर आम सर्वसाधारण नागरिक भने यो निर्देशिका बारेमा बेखबर नै देखिन्छन । त्यसैले सचेतीकरणको अत्यन्तै खाँचो छ । कार्की भन्छिन्, पशु कल्याणका सन्दर्भमा भएका कानूनी प्रावधानहरुको चर्चा गर्दै सर्वोच्च अदालतबाट ऐन नियम बनाउन निर्देशन आउँदा समेत सरकारले त्यती चासो दिएन । सर्वोच्च अदालतबाट ऐन नियम बनाउन निर्देशन आउदा समेत सरकारले चासो नदिएको गुनासो र पशुकल्याण सम्बन्धी ऐन बनाउन माग गर्दै आफुले दायर गरेका रिटमा सर्वोच्च अदालतले २०७५ साल माघ १० गते परमादेश जारी गरेको छ । जसमा गाई गोरुको संरक्षण गर्न २०७६ बैशाख ८ मा आदेश दिएपनि त्यसको कार्यान्वयन भएको छैन । 

सृजनाज केयर की संञ्चालक सृजना ठकुरीका अनुसार अब हामीले भुस्याह कुकुर भन्न पाउदैनौं, हामीले सामुदायिक कुकुर भन्नुपर्छ किन की त्यो कुकुरको पनि निश्चित एउटा क्षेत्र हुन्छ, त्यो बाहिर कतै जादैन, यही भएर त्यो समुदायमै रहने भएकोले हामीले यसलाई सामुदायिक कुकुर भन्छौं । 

मान्छेहरुले कुकुरको उपयोग सौन्र्दय, शोखको रुपमा लिएको पाइन्छ । त्यसैले पनि अलिकति राम्रो जातको कुकुर ल्याउ भन्ने हुन्छ । तर हाम्रो ठेट नेपाली कुकुरहरुलाई विदेशतिर धेरै महत्व दिईएको देखिन्छ, सुनिन्छ । 

पशु अधिकारकर्मी राधा गुरुङले पशु कल्याण सम्बन्धमा बनेका ऐन तथा नियमहरुको कार्यान्वयन हुन नसकेको बताउंछिन् । नेपालमा पशु कल्याणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था नेपाल पशु कल्याण संघ तथा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले पशु ढुवानी सम्बन्धी मापदण्ड २०६४ सालमै जारी गरिएको भएपनि हाल सम्म पनि त्यसको प्रभावकरी कार्यान्वयन हुन नसक्नु लाज्जाको विषय भएको बताउंछिन् । उनले भनिन, ‘पशु ढुवानी सम्बन्धी मापदण्ड बनेको १२ बर्ष वितिसक्दा पनि पशुहरुलाई जथाभावी कोचेर, नाकमा डोरी लगाएर, पुच्छर बांधेर र ट्रकमा कोचेर ल्याउने कार्य नरोकिनुले नेपालमा पुश कल्याण र पशु अधिकारको यथार्थता प्रष्ट हुन्छ । पहिले व्यक्ति आफु नै सच्चिनुपर्छ अनि मात्रै पशु अधिकार तथा पशु कल्याण भनेको के हो भन्ने बुझ्न सकिन्छ ।’

उता नेपाल सरकारले पशु कल्याण र यिनको अधिकार सुनिश्चितताका लागी गम्भीर कदम चालेको भन्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पूर्व सचिव कृष्णचन्द्र पौडेल भन्छन्– ‘पशुको पनि मानिसको जस्तै आत्म हुन्छ, पीडा हुन्छ । तर, व्यक्त मात्रै गर्न नसकेका हुन् । त्यसैले यी कुरा नबुझेसम्म पशु अधिकार र पशु कल्याणबारे बुझ्न सकिंदैन । हामीकहां पशु कल्याण सम्बन्धी शिक्षा र जनचेतनको पनि अभाव रहेको छ ।’

‘कसैले कुकुरलाई कुटेर मा¥यो भने कहां उजुरी गर्ने कसलाई उजुरी गर्ने र के कारवाही हुन्छ भन्ने जानकारी नै छैन । यस्तो अवस्थामा कसरी पशुको कल्याण गर्न सकिन्छ ।’ शाह भन्छिन्, पशु कल्याणको व्यवस्था नहुंदा लज्जाबोध अनुभव हुन्छ । 

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका निमित्त सचिव डा. विमलकुमार निर्मलले पशु कल्याण ऐन आउन ढिलाई हुँदा पशुु कल्याणको क्षेत्रका सोचे अनुरुपको काम गर्न नसकिएको बताउंछन् । फ्रान्समा एक कार्यक्रममा भाग लिंदाको अनुभव सुनाउंदै उनले भने– ‘म केही समय अघि फ्रान्समा पशुपंक्षी सम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन गएको थिए, त्यहां नेपालका सडकमा कुकुरहरु जथाभावी छाडिएको भिडियो देखाइयो म नेपालको प्रतिनिधित्व गरेर गएको मान्छे त्यो भिडियो देखेर मलाई लज्जा बोध भयो र आफु बसेको स्थानबाट उठेर पछाडी गएर बसे ।’ त्यस्तै डा. निर्मलले नेपालका पशु फर्ममा पशुपालन मात्रै भएको छ कि ? ति पशुहरुको अधिकार तथा कल्याणको बारेमा पनि काम गरिएको छ । त्यसको अनुगमन गर्न मातहतका निकायलाई निर्देशन दिएको बताउछन् । 

केन्द्रिय रेफरल भेटनरी अस्पतालका प्रमुख डा. बलराम थापाले दैनिक ५ देखि ६ वटा कुकुर तथा उति नै संख्यामा गाई र गोरु घाइते भएर भेटनरी अस्पतालमा आउने गरेको बताउदै व्यक्तिगत सवारी साधनको ठक्करका कारण बढी मात्रामा पशु घाइते हुने गरेको बताउंछन् ।  उनी भन्छन्, व्यक्तिको मानसिकतामा परिवर्तन नभएसम्म पशुको अधिकारका लागि जतीनै पहल गरे पनि न्युनिकरण गर्न नसकिने र पशुलाई ढुवानी गर्दा ट्रकमा नभई त्यसको विकल्प खोजिनुपर्छ ।

प्रमदा शाह ( संस्थापक, एनिमल नेपाल )

हाम्रो देशमा पशु अधिकारको कुरा गर्ने बेला भइसकेको छैन किनकी हामी पशुपंक्षी सम्बन्धी त्यो चेत सम्म पुगिसकेका छैनौं । अहिले हामीले गरिरहेको पशुपंक्षी कल्याणका काम र कुरा हुन् । अधिकार अहिले टाढाको कुरा हो । यो बिषम परिस्थितीमा सर्वत्र ध्यान मानिस तर्फ मात्रै छ । अरुले दिएर खाने ति पशुपंक्षी पनि मानव भन्दा कम होइनन् । ति पनि प्राणी हुन् । हामी मान्छेको जस्तै श्वास छ तिनमा पनि र बाँच्न पाउनु तिनको अधिकार हो । तसर्थ यो लकडाउनका बेला हामीले ‘एक कचौरा पानी, एक कचौरा खाना’ अभियान शुरु गरेका हौं । यस अन्तर्गत हरेक घरधनीले  आफ्नो गेटबाहिर एक कचौरा पानी एक कचौरा खाना राखिदिउन जसले गर्दा ति पशुपंक्षी जसले खान नपाएर ज्यान नजाओस भन्ने हो । 

प्रियांक कार्की ( अभिनेत्री ) 

लकडाउनले मान्छेको जनजीवन मात्र प्रभावित नभई पशुपन्छी र जनावर पनि प्रभावमा परेको प्रियंकाले बताएकी छिन् । उनले आइतवारको दिन पारेर जनावर र पशुपन्छीका लागि पनि अभियान चलाउनु पर्छ भन्ने सोचले यसमा जोडिएको बताइन् । सडक तथा अन्य ठाउँमा बेवारिसे बनेका जनावर र पशुपन्छीहरुलाई खानेकुरा र पानी दिउं । दैनिक रुपमा जनावर र पशुपन्छीको लागि एक घर एक कचौरा खाना र एक कचौरा पानी वितरण गर्नु हुन अनुरोध छ । एक कचौरा खाना र पानी दिने तरिका बारे मैले सामाजिक सञ्जाल मार्फत प्रस्तुत गरेकी छु । यसका लागी दैनीक रुपमा खेर गईरहेको खाना र पानीलाई पनि प्रयोग गर्न सकिन्छ । यो समयमा अझ विशेषगरी जनावर र पशुपन्छी बढी भोको रहन्छन् ।

भीम प्रसाद ढकाल,  एसएसपी नेपाल प्रहरी

प्रहरी प्रशासनले पशुपक्षीको अबैध निकासी नियन्त्रण गर्न तथा पशु अधिकारको रक्षा गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहेका छौं, यसमा स्थानिय, सरोकारबाला र सरकारले पनि सहयोगी भुमिका खेलिदिनुपर्छ । जनचेतना जगाउन तथा आफुले आफैलाई परिर्वतन गर्न सके मात्रै पशुको कल्याण गर्न सकिन्छ । यस्ता गल्ती गर्नेलाई कानुनी दायरामा लिएका छौं । ओभरलोड, ओभर गति गरेर पशुपंक्षीलाई ठक्कर दिएको या मोरेको पाइएमा यातायात व्यवस्था ऐन अनुसार कारबाही गर्ने गरेका छौं । 

र यो पनि

पशु कल्याणका लागि सार्थक अभियान भन्ने नाराका साथ परिवर्तन नेपालले ललितपुर र धादिङ्गमा भएका ईंटा उद्योगमा आवाज विहिनहरुको आवाज नाटक प्रर्दशन गरेको थियो । फागुण ८ गतेबाट प्रारम्भ गरिएको नाटकले इट्टा उद्योगमा ढुवानीको लागि प्रयोग हुने अश्व प्रजातिका गधा, खच्चर र घोडाको स्वास्थ्य, वसोवास, खानपिन, आराम र उपचारको आवश्यकतालाई प्राथमिकता दिनु पर्छ भन्ने सन्देश दिन खोजेको थियो । नाटकको लेखन तथा निर्देशन मोहन निरौलाले गरेका हुन् भने निर्देशन सुरज अधिकारीले । सुरज अधिकारी, मुना कार्की, सनम निरौला, राजेन्द्र रावल, साजन श्रेष्ठ र सविन कार्कीले उक्त नाटकमा अभिनय गरेका थिए । 

 Image