पाठेघरको ऐजेरू

डा.बालकृष्ण साह

चैत्र १४, २०७६

त्रिचालीस वर्षको उमेरमा गर्भवती महिलाको जस्तो ठूलो पेट लिएर ओपिडीमा परीक्षणका लागि विराटनगर अमरटोलकी सुशीला (नाम परिवर्तन) आउँदा उनी गर्भवती होलिन् भनेर मैले अन्तिम महिनावारी कहिले भएको थियो भनेर सोधें तर उनी गर्भवती थिइनन् । उनी महिनावारीमा बढी रगत बगेर पेट ठूलो भएपछि अस्पताल आएकी थिइन् । उनको परीक्षण गर्दा पाठेघरमा फाइबराइड रहेछ र त्यो पनि धेरै ठूलो । उनको फाइबराइडसहितको पाठेघरको तौल ३ किलो ५ सय ग्राम थियो । सुशीलाजस्ता धेरै महिलामा यस्तो समस्या पाइन्छ । यद्यपि सामान्यतया यति ठूलो चाहिँ धेरैको हँुदैन । फाइबराइड भन्नेबित्तिकै डराउनु पर्दैन । यो पाठेघरमा हुने एक किसिमको ट्युमर हो, क्यान्सर होइन । यो मुख्यतया मांसपेशी तथा फाइबरले बनेका कारणले यसलाई फाइबराइड भनिएको हो । सामान्य भाषामा यसलाई ऐजेरू भनिन्छ ।

महिलाहरूमा हुने समस्याहरूमध्ये यो पनि एउटा प्रमुख हो ।सन् २०१६ को तथ्याङ्कअनुसार विश्वका २१ दशमलव ४ प्रतिशत महिलामा फाइबराइडको समस्या छ । सामान्यतया उमेर बढ्दै गएपछि फाइबराइड हुने सम्भावना पनि बढ्दै जान्छ र ४० वर्ष पार गरेका ४० प्रतिशतसम्म महिलाको पाठेघरमा फाइबराइड भएको तथ्याङ्कले देखाएको छ । अधिकांश फाइबराइड स–साना भएका कारण महिलाहरूमा कुनै लक्षण वा असर देखिँदैन । यस्ता महिलाहरूमा अरू नै समस्याका कारण अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गर्दा फाइबराइड देखिएको पाइन्छ । 

लक्षण 

फाइबराइड ठूलो वा सानो जे भए पनि यसले ल्याउने प्रमुख समस्या महिनावारीको गडबडी हो । महिनावारीमा बढी रक्तस्राव हुने, लामो समय रक्तस्राव हुने, थोरै–थोरै दिनको अन्तरालमा रक्तस्राव हुने, महिनावारीमा असह्य पीडा हुने आदि समस्या हुन सक्छन् । फाइबराइड ठूलो भए पेट ठूलो हुने तथा आन्द्रा, पिसाबनली आदिलाई थिचेर थप समस्या हुन सक्छ । यस्तो अवस्थामा तल्लो पेट दुख्ने, कम्मर दुख्ने एवं पिसाबको संक्रमण हुन सक्छ । फाइबराइड नै हो भन्ने निश्चित गर्न अल्ट्रासाउन्ड (भिडियो एक्सरे) वा अन्य इमाजिङ (सिटी स्क्यान वा एमआरआई) गराउनुपर्ने हुन्छ ।

फाइबराइड भएपछि क्यान्सर हुन्छ ?

फाइबराइडले क्यान्सर पनि हुनसक्छ भन्ने डर अधिकांश महिलामा हुन्छ । यही डरका कारण अधिकांश महिला आत्तिन्छन् भने शल्यक्रिया गरेर भए पनि पाठेघर फाल्न हतार गर्छन् । यद्यपि फाइबराइड एकदम सुस्त गतिमा बढ्ने ट्युमर हो । यो बढेर सुन्तलाको आकारमा आउन पनि ३ वर्ष लाग्छ । यसबाट क्यान्सर हुने सम्भावना शून्य दशमलव दुई प्रतिशत मात्र हुन्छ । कसैकसैमा फाइबराइडको वृद्धि तीव्र गतिमा हुनसक्छ । यस्तो अवस्थामा क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

उपचार

पाठेघरमा ऐजेरू भन्नेबित्तिकै हामी शल्यक्रिया भन्ने सोच्छौ । यद्यपि फाइबराइडमा शल्यक्रिया गर्नैपर्छ भन्ने छैन । कुनै समस्या नभएको फाइबराइडमा  उपचार चाहिँदैन तर महिनावारीमा बढी रक्तस्राव भए तुरुन्त उपचार गर्नुपर्छ । फाइबराइडको दीर्घकालीन उपचार भनेकै शल्यक्रिया हो । शल्यक्रिया गरेर ऐजेरू वा फाइबराइड मात्र निकाल्ने प्रक्रियालाई मायोमेक्टोमी भनिन्छ । कम उमेर तथा पाठेघर जोगाउनुपर्ने अवस्थामा मायोमेक्टोमी रोज्न सकिन्छ तर मायोमेक्टोमी गर्दा शल्यक्रियामा समस्या वा जटिलता आए पाठेघर नै निकाल्नुपर्ने हुनसक्छ । उमेर पुगेका अर्थात् सामान्यतया ४५ वर्ष पार गरिसकेको अवस्थामा फाइबराइडलगायत पाठेघर नै निकाल्न सकिन्छ । यस्तो शल्यक्रियालाई हेस्टेरेक्टोमी भनिन्छ । 

शल्यक्रियाबाहेक फाइबराइडमा अन्य औषधोपचार छैन भन्न मिल्दैन । फाइबराइडमा उपचार गर्नुपर्ने कारण अत्यधिक वा लामो समयसम्म हुने रक्तस्राव नै हो । रक्तस्राव धेरै हुने र तुरुन्तै शल्यक्रिया गर्न नसकिने अवस्थामा रक्तस्राव रोक्ने तथा शरीरमा रगतको मात्रा बढाउने औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा तत्काल रक्तस्राव रोकिने औषधि थोरै समयका लागि प्रयोग गरिन्छ । कम उमेरमा ऐजेरू पलाए हेस्टेरेक्टोमी पनि गरिहाल्नु हुँदैन । पाठेघर तथा अण्डाशयले इस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोन उत्पादन गर्ने र हिस्टेरेक्टोमी गरेपछि यस्तो हार्मोनको कमी भएर स्वास्थ्यमा समस्या आउने भएकाले कम उमेरमा हिस्टेरेक्टोमी गराउनु घातक साबित हुनसक्छ । त्यस्तो अवस्था वा अन्य अवस्था जसमा लामो समयसम्म शल्यक्रिया नगर्ने वा गर्न नसकिने भए लामो समयसम्म हार्मोनल उपचार गराउन सकिन्छ, यद्यपि फाइबराइड औषधिले मात्र पूर्णरूपमा निको हुँदैन ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>