होमक्वारेन्टाइनः बालबालिकालाई सिकाउने समय

राधिका अधिकारी

चैत्र १२, २०७६

गायिका सिन्धु मल्लका ६ कक्षामा अध्ययनरत छोरा सक्षमसिंह थापाले अघिल्ला वर्षहरुमा अन्तिम परीक्षा सकिएपछि आमालाई घुम्न जान मन लागेको ठाउँको सूची बुझाउँथे । तर, कोरानाभाइरसका कारण निर्धारित समय भन्दा पहिल्यै परीक्षा सकिए पनि सक्षमले आमालाई कतै घुम्न जाने ठाउँको सूची दिएनन् । किनकि, सक्षमलाई पनि थाहा थियो कि कोरोनाभाइरस आतंकका कारण घुम्न जानका लागि अनुकुल वातावरण छैन ।

सिन्धुले यसपालिको विदामा छोरालाई फरक ढंगले पाठ सिकाइरहेकी छिन् । छोरालाई घुमाउन टाढा लैजानु त के, बाहिर निस्कनै दिएकी छैनन् । पटक–पटक साबुन पानीले हात धुन सिकाइरहेकी छिन् । बेलाबेलामा मनतातो पानी र सुपजन्य खानेकुरा खुवाइरहेकी छिन् । ‘बाबुलाई दिक्क नलागोस् भनेर टेलिभिजनमा रमाइला कार्यक्रमहरु देखाइरहेकी छु’, उनी भन्छिन्, ‘बाबु सँगसँगै खेलिरहेको छु, आफन्तसँग टेलिफोनमा कुरा गराइदिन्छु, उसलाई दिक्क लाग्न दिएको छैन ।’

अहिले सक्षम आफ्ना साथीलाई पनि सुरक्षित रहन र घरमै रमाइलो गर्ने तरिका सिकाउँछन् । सिन्धु भन्छिन्– ‘छोरा त हामीभन्दा बढी ट्यालेन्टेड रहेछन् । उनलाई खेलकुदमा बढी चासो छ । इन्टरनेसनल फुटबल प्लेयरहरु को–कोलाई कोरोनाले इफेक्ट गरेको छ भनेर इन्टरनेटमा खोजी गर्छन् । म उनलाई सहयोग गर्छु ।’

कोरोनाभाइरसका कारण विश्वभर असर परेको छ । बालबालबालिकामा पनि मनोवैज्ञानिक असर परिरहेको छ । हेटौंडाका कवि सुवास खनालले पनि यो महसुस गरेका छन् । उनका दुई छोराहरू शुभम् र सुबोध क्रमशःचार कक्षा र एलकेजीमा पढ्छन् । कोरोनाकै कारण विद्यालयबन्द भएपछि छोराहरुमा त्रास बढेको सुवासले बताए । सुवास भन्छन्– ‘अहिले उनीहरुमा कोरोनाबारे कसैले केही सुनाउँदा चनाखो भएर सुन्ने र प्रतिक्रिया दिने गर्दछन् । विद्यालयबन्द रहेकाकारण उनीहरूलाई घरमै सुरक्षित राख्नु बाबुआमाको कर्तव्य हो र हामीले उनीहरूलाई सकेसम्म घरभित्रै राख्नप्रयत्न गरेका छौँ ।’

सुरक्षाका नाममा बच्चाहरुलाई एक्लै घरभित्र छोड्न पनि नहुने सुवासको तर्क छ । उनी भन्छन् –‘उनीहरूसँग गफ गर्ने,मिलेर खेलिदिने, उनीहरूका कुरा सुन्ने गर्नु पर्छ । इन्डोर गेम क्यारिमबोर्ड खेलाउने, बाल पुस्तक मुना, बालउदयलगायत पढ्न दिने र परीक्षा पनि बाँकी रहेकाले परीक्षाको तयारीकालागि समय छुट्याएर पाठ्यपुस्तकका सामग्री अभ्यास गराउने र आफ्नै निगरानीमा राखेर खेलहरू खेलाउने गरेका छौं ।’

आमा भावनाले उनीहरूलाई बिहान उठेदिखि बेलुकीसम्मको लागि कार्यतालिका तयारी गरी देख्ने ठाउँमा टाँसिदिउकी छिन् । जसकाकारण उनीहरू नै अब यो गर्ने बेलाभयो भनी तयारी हुने गरेको सुवास बताउँछन् । खानाको हिसाबले पनि दाललगायत झोलिलो कुरामा जोड दिइएको उनले बताए । उनले भनेका छन् –‘उनीहरूलाई कोरोना (कोभिड–१९) को सङ्क्रमण भइहाले पनि वृद्ध र रोगी मानिसहरूलाई मात्र बढी गाह्रो हुन्छ भन्ने जानकारी दिएर मनोवैज्ञानिक रुपमा सकारात्मक बनाउने प्रयत्न पनि गरिएको छ ।’ यतिहुँदाहुँदै पनि स्कुल कहिले पो खुल्ने हो ? जाँच पनि बाँकी छ भन्ने जस्ता कुराले उनीहरूलाई चिन्तित बनाएको सुवासको अनुभव छ । 

रोल्पाका गीतकार दीप दर्पणका छोराछोरी मानसी र मानस लालीगुराससँग खेल्न चाहन्छन् । उनीहरुलाई घरभित्रै सम्झाएर राख्न मुस्किल छ आमा सिर्जनासिंह ठकुरीलाई । केही समय आमाको मायामा लुट्पुटिए पनि दिनभर घरभित्रै राख्न भने गाह्रो भएको दीप दर्पण बताउँछन् । 

हुन त रोल्पामा त्यति भिडभाड छैन्, तर पनि छोराछोरीलाई बाहिर छोडिदिन भने मनले नमान्ने सिर्जना सुनाउँछिन् । उनी भन्छिन्–‘हावामा उडि हिँड्ने भाईरसको के भर हुन्छ र ?’ छोरी मानसी भने अलि ठूली छिन् । उनी आमासँगै भान्छामा पसेर किचनको काम सिक्छिन् । सानातिना भाडा माझ्न सिक्छिन्, आमा छोरीलाई घरायसी काम सिकाउँन पाउँदा खुशी देखिन्छिन्, दीप सुनाउँछन् । छोरीमा भन्दा छोरामा कोरोनाको मनोवैज्ञानिक असर अलि बढी परेको महसुस गरेका दीप भन्छन् –‘उसले प्रत्येक ५ मिनेटमा सेनिटाईजर मागिरहेको हुन्छ ।’ यो समय सचेत अभिभावकले बालबालिका प्रति थप जिम्मेवार भएर सोच्नु जरुरी रहेको दीपको बुझाई छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×