प्यास पानीको :  महिला बढी मारमा

- लक्ष्मी भण्डारी, प्रकृति दाहाल

चैत्र १०, २०७६  

ठमेलकी मेरिना प्रधान दिनभर कलेजमा पढाउँछिन् । साँझ घर फर्कंदा बाटोमा तरकारीलगायत घरमा आवश्यक सामग्री किन्छिन् । घर पुगेर फ्रेस हुन नपाउँदै काममा व्यस्त हुन्छिन् । छोरीको स्याहारसँगै खाना बनाउँछिन्, खुवाउँछिन् । श्रीमान् अबेला घर आउँछन् । खाना आएपछि सरसफाई गर्नैपर्‍यो । सुत्दा रात छिप्पिसक्छ । कहिलेकाहीं लखतरान ज्यानलाई विश्राम दिन नपाउँदै उठ्नुपर्छ । कारण: मेरिनाको टोलका धारामा राति मात्रै पानी आउँछ । पानी भरिसकेर राम्रोसित निदाउन नपाउँदै उठ्ने बेला भइसक्छ । फेरि उहीं घरधन्दा र कलेज । 

धारामा नियमित पानी नआउँदा उनको दैनिकी नै प्रभावित हुन्छ । कलेजमा पढाइरहदा पनि पानीकै चिन्ताले सताउँछ । ‘पानीकै कारण निकै तनाव व्यहोर्नुपरेको छ’ मेरिना भन्छिन्, ‘पानी आउने हो कि नआउने हो भन्ने चिन्ताले जतिबेलै सताउँछ, आउँदा पनि कतिबेला आउने हो टुंगो हुँदैन ।’ मेरिनाका श्रीमान् पनि जागिरे नै हुन् । तर पानी भर्ने जिम्मेवारी मेरिनाकै काँधमा छ । उनी भन्छिन्, ‘हामी दुबैजना दिनभर काम गर्छौ तर पानी भर्नेलगायत घरको काम चाहिं एक्लैले गर्नुपर्छ ।’ महिला भएकै कारण दोहोरो जिम्मेवारी बहन गर्नुपरेको उनको अनुभव छ ।

कतिपटक त धारामा पानी नआएपछि किनेकै पानीले भाँडा माझ्ने, कपडा धुने गर्नुपरेको उनले बताइन् । 

चण्डोलकी रिंकुको स्थिति पनि उस्तै छ । कोठा भाडामा लिएर बस्दै आएकी रिंकुले पानीको अभावमा व्यहोुर्नुपरेको सास्ती कम छैन । गाउँबाट सुख पाउन सहर आएकी रिंकुलाई काठमाडौंको पानी अभावले निकै सताएको छ । धारामा पानी कुर्दाकुर्दै रात नै बितेको अनुभव छ उनीसँग । पानीकै कारण टोलमा धेरैपटक झmगडासमेत भएको छ । ‘सुख पाउन सहर आएको तर यहाँ त पानीकै लागि लडाईं लड्नुपर्दो रहेछ’ रिंकु भन्छिन्, ‘पानी आभावको सास्तीले त अहिले नै गाउँ फकौं जस्तो लाग्छ तर कामधन्दा यतै छ, के गर्नु ?’

मेरिना र रिंकु त प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौंका अधिकांशले भोगिरहेको साझा पीडा हो यो । गृहिणी महिलासँगै दिनभर पेसा/व्यवसाय गर्ने महिलाले झन् धेरै सास्ती खेप्नुपरेको छ । कोठा भाडामा लिएर बस्नेहरूका समस्या अझ धेरै छ । निद्रा बिगारेर बल्लतल्ल थापेको पानी पजि घरबेटी अड्कली–अड्कली बाँड्छन् । कति पिउने, कतिले पकाउने अनि कतिले नुहाइधुवाइ गर्ने ? गाउँका नदी–खोलामा फालाफाल पानी चलाइएका उनीहरु  भन्ने गर्छन्–‘यो काठमाडौंमा त पानी खान नपाएर मरिन्छ कि क्या हो ?’

मेलम्चीको पानी काठमाडौं ल्याउलान् र धीत मर्ने गरी उपभोग गरौंला भनेर काठमाडौंबासी तड्पन थालेको वर्षौ भइसक्यो । तर, अहिले पनि मेलम्चीको पानी कहिले काठमाडौं आउने हो ? टुंगो छैन । सरकारले आगामी असारसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याएर बाँड्ने भनेको छ । तर, काठमाडौंबासी सरकारको कुरा पत्याउनेवाला छैनन् । 

काठमाडौंमा पानी वितरणको इतिहास र स्थिति

१८९०–९३ सालताका तत्कालीन प्रधानमन्त्री वीर शमशेरले काठमाडौं उपत्यकामा खानेपानी वितरण प्रणालीको सुरुवात गरेका हुन् । त्यसपछि विभिन्न नाम र पद्धति हुँदै २०२७–२८ सालतिर ‘पानी गोश्वारा’ का नामबाट पानी वितरण हुन थाल्यो । जुन २०३७ सालसम्म कायम रह्यो । २०४२ सालसम्म खानेपानी तथा ढल निकास समितिको नामबाट उपत्यकामा पानी वितरण गरियो । त्यसपछि यसको नाम खानेपानी तथा ढल निकास संस्थान भयो । २०४६ साल फागुन १५ गतेदेखि नेपाल खानेपानी संस्थानका नामबाट पानी वितरण हुन थाल्यो । 

२०६२ सालमा अध्यादेशमार्फत् काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड गठन गरी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको प्रक्रिया अघि बढ्यो । नयाँ ऐन बनेपछि अर्थात् २०६४ साल फगुन १ गतेदेखि उपत्यकामा पानी वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले गरिरहेको छ । उपत्यका बाहिरको जिम्मा बोर्डले लिएको छ ।

मेलम्चीको पानी आउँदा पनि अभाव पूर्ति हुँदैन

उपत्यकामा दैनिक ४० करोड लिटर पानीको माग छ । तर अहिले दैनिक ३५ करोड लिटर पानी मात्रै पूर्ति भइरहेको छ । मागको मात्रा वर्सेनि पाँच प्रतिशतको दरले बढिरहेको छ । यो स्थितिमा मेलम्चीबाट १७ करोड लिटर पानी ल्याइए पनि काठमाडौंको माग पूर्ति हुन कठिन छ । 

केयुकेएलले अहिले दैनिक वर्षातमा १५ र हिउँदमा करिब १० करोड लिटर पानी वितरण गर्दै आएको छ । त्यस्तै ट्यांकर, बोटल र बोरिङ व्यवसायीले दैनिक ८ करोड लिटरको हाराहारीमा खानेपानी आपूर्ति गर्दै आएका छन् । ‘मेलम्चीको पानी काठमाडौं ल्याउने बेलासम्म उपत्यकामा पानीको माग दैनिक ४५ करोड पुग्ने सम्भावना छ’ काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले भने ।

२०६८ सालको जनगणनानुसार काठमाडौं उपत्यकाको जनसंख्या ३० लाख छ । अहिले बढेर करिब ५० लाख पुगेको अनुमान गरिएको छ । उक्त तथ्यांकमा कोठा भाडामा बस्नेहरू परेका छैनन् । यसकारण काठमाडौंमा पानी उद्योग गर्नेको यकिन तथ्यांक नै आउन नसकेको वातावरणविद् गोविन्द साहको भनाइ छ । साहका अनुसार प्रत्येक व्यक्तिलाई दिनको औसत १ सय ५० लिटर पानी चाहिन्छ । यसअनुसार काठमाडौं उपत्यकाको माग पूरा गर्न दैनिक ५२ करोड ५० लाख लिटर पानी आवश्यक छ । ‘बदलिँदो जीवनशैलीका कारण व्यक्तिगत तथा अन्य प्रयोजनमा झन् धेरै पानी खर्च भइरहेको छ’, उनले भने–‘वातावरणीय प्रदूषणका कारण पनि पानी खपत बढ्दो छ ।’

उपत्यका आसपासका पानीका मुहान सुक्न थालेपछि खानेपानी लिमिटेडलाई नियमित पानी वितरण गर्न समस्या भइरहेको प्रवक्ताले बताए । खानेपानी लिमिटेडले दैनिक पाँच करोड लिटर पानी मात्रै भण्डारण गर्ने क्षमता राख्छ ।

उपत्यकामा बोरिङबाट जमिनमुनिको पानी तान्ने क्रम बढेपछि राजधानी आसापासका पानीका मुहान सुक्न थालेको पनि केयुकेएलको ठम्म्याइ छ ।  

बोर्डसँग लिमिटेडले दैनिक दुई घण्टा पानी वितरण गर्ने सम्झौता गरेको छ । जसअनुसार आलोपालोमा पानी छाड्नुपर्ने वाध्यता भएको प्रवक्ता राईको भनाइ छ । उनी भन्छन्– ‘आलोपालो छाड्दा कतै राति र कतै बिहान छाड्नुपर्ने हुन्छ । जसकारण उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।’

खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजीव विक्रम राणाका अनुसार सरकारले गम्भीर रूपमा लिएकैले मेलम्ची परियोजना परिकल्पना गरिएको थियो । विविधीकारणले ढीला 

भए पनि आगामी असारसम्म काठमाडौंमा मेलम्चीको पानी आइपुग्छ ।

बढ्दो मागसँगै पानी आपूर्ति कम भएपछि पानी व्यवसायीले गुणस्तरहीन पानी संकलन र वितरण गर्ने गरेको आरोप लाग्दै आएको छ । निजी क्षेत्रका पानी व्यवसायीका लागि स्पष्ट कानुन र मापदण्ड नहुँदा समस्या झन् बढेको सरोकारवालाको तर्क छ । 

ट्यांकर तथा पानी व्यवसायीले पनि मागबमोजिमको पानी पूर्ति गर्न सकेका छैनन् । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालका अनुसार खानेपानीको माग अत्यधिक बढेपछि समयमा पानी डेलिभरी गर्न सकिएको छैन । ‘अहिले अर्डर गरेको पाँच दिनमा मात्रै खानेपानी पुर्‍याउन सकिने स्थिति छ’ उनले भने, ‘सुख्खायाममा त झन् गाह्रो हुने निश्चित छ ।’

भूकम्पपछि पानीका मुहान सुके

२०७२ सालको भूकम्पअघिसम्म दहचोकमा पानीका तीनवटा मुहान थिए । भूकम्पसँगै पानीका तीनवटै मुहान सुके । पानीको मुहान सुकेपछि घर नै सर्नुपरेको बताउँछन्, स्थानीय टीकाराम शर्मा । शर्मा मात्रै होइनन्, पानीको हाहाकार भएपछि करिब दुई सय परिवार बसाइ सरे । स्थानीय राजेन्द्र केसीका अनुसार भूकम्पपछि ऐतिहासिक इन्द्रदहमा पनि पानी सुकेको छ । 

दहचोकमा मात्रै होइन, भूकम्पपछि काठमाडौंका अधिकांश पानीका मुहान सुके । जसकारण पानीको माग झन् बढेको बताउँछन्, ट्यांकर व्यवसायी संघका अध्यक्ष दाहाल ।

दैनिक डेढ करोडको कारोबार

काठमाडौंमा निजी क्षेत्रले मात्रै दैनिक करिब १ करोड ४० लाख रुपैंयाँ बराबरको पानी बिक्री गर्छन् । निजी ट्यांकरमार्फत् ८१ लाख  जारमार्फत् ३५ लाख बोतलको २४ लाख रुपैंयाँको पानी बिक्री हुन्छ । तथ्यांकअनुसार करिब ७ सय ट्यांकरबाट दैनिक ४ हजार स्थानमा पानी वितरण हुन्छ । काठमाडौंमा जोरपाटी, बालाजु, स्वयम्भू, मातातीर्थ, चोभार, सातदोबाटो र भक्तपुरको झौखेलसहित सात स्थानबाट व्यवसायीले पानी संकलन गर्छन् । त्यस्तै ललितपुरको गोदावरी, चाल्नाखेल, मातातीर्थ, गोंगबु, जोरपाटी, भक्तपुरको झौखेल र सुन्दरीजलमा जार तथा मिनरल वाटरका लागि पानी संकलन हुन्छ । यसरी संकलन तथा वितरण हुने पानीको गुणस्तरमाथि बारम्बार प्रश्न उठिरहेको छ ।

अव्यवस्थित सहरीकरण,  औद्योगीकरण र व्यक्तिगत लापरबाहीका कारण पनि काठमाडौंमा पानीको अभाव बढेको हो । थप पानीका स्रोतको पहिचान गरी संग्रह गरेर व्यवस्थित तरिकाले वितरण गर्ने हो भने धेरै समस्या हल हुन्छ । फोहोर प्रशोधनलगायत विधिबाट कृत्रिम पानीको मुहान पनि निर्माण सकिन्छ ।

डा.चेतबहादुर परियार- जल तथा वातावरणविज्ञ 

काठमाडौंमा दैनिक ४० करोड लिटर भन्दा बढी पानीको माग छ भने हाल वर्षामा १५ र हिउँदमा १० करोड लिटर मात्रै पूर्ति गर्न सकिएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानी वितरणको आधिकारिक जिम्मा केयुकेएल लाई लिजमा दिएको छ । यसतर्फ सरकारको पनि गम्भीर ध्यानाकर्षण छ । आगामी असारभित्र २७ अरब खर्चिइ सकेको मेलम्ची आउनैपर्छ, भर्खरै श्वेतपत्र जारी भइसकेकाले अब आउँछ नै । अब मेलम्ची आएपछि यो समस्या अवश्य हट्छ । त्यसपछिका लागि समेत थप पानीका लागी सिस्नेरी, कुलेखानी, टोस्ने, महादेव खोला, बाग्मती धापको नाङमती 

ड्यामलाई विकल्पका रूपमा राखिएको छ । 

डा.ई.सञ्जीव विक्रम राणा / कार्यकारी निर्देशक, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड

खासगरी महिलाले खानेपानी अभावको मार बढी झेलिरहेका छन् । अहिलेका महिला पहिलेका जस्तै गृहिणीमा मात्रै सीमित छैनन् । दिनभरि काम गरेर पानी भर्न राति उठ्नुपर्ने बाध्यता छ । पानीकै कारण परिवार र छिमेकमा विवाद बढ्दो छ । यसर्थ हामीले सकेसम्म दिउँसो मात्रै पानी छाड्ने तयारी गरिरहेका छौं । र, मेलम्चीको पानी आएपछि सजिलो हुने अपेक्षा छ ।

रामचन्द्र ढकाल /वित्तीय–प्रमुख, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड

काठमाडौंमा दैनिक पानी वितरण

केयुकेएल (काठमाडौं उपत्यका खानेपानी लिमिटेड)

वर्षातमा १५ करोड लिटर हिउँदमा १० करोड लिटर ।

ट्यांकर व्यवसायी संघ

७ करोड लिटर ।

बोतल–जार

२ करोड लिटर ।

ढुंगेधारा र इनार

३ करोड लिटर ।

व्यक्तिगत इनार

३ करोड लिटर ।

अन्य स्रोत तथा उपभोक्ता समिति

४ करोड लिटर ।

जम्मा : ३५ करोड लिटर ।

स्रोत  :  काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>