५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन । परासीको बन्जरिया गाउँमा जन्मिएकी इन्दिराको घरमा शिक्षालाई असाध्यै महत्व दिने र अनुशासनलाई केन्द्रमा राख्ने वातावरण थियो । बाल्यकालीन स्मृतिका पाना पल्टाउँदै उनले भनिन्, ‘म सानैदेखि गीत गाउँथें । विद्यालयमा हुने विभिन्न प्रतिस्पर्धामा भाग लिन्थें । लोकगीतमा खासै रुचि थिएन र पनि क्षेत्रीय लोकगीत प्रतिस्पर्धामा द्वितीय भएकी थिएँ । त्यसपछि नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘को भन्दा को कम’ नामक बाल कार्यक्रममा गायनमा प्रथम भएँ । त्यसैका लागि म काठमाडौं आएकी थिएँ । लगत्तै म परासी फर्किएर एसएलसी सकेपछि मात्रै ‘नेपाली तारा’ का लागि पुनः काठमाडौं आएँ ।’ इन्दिराले पिपल्स क्याम्पसबाट ब्याचलर र गोल्डेन गेट कलेजमा मास्टर्स पढिन् ।
इन्दिराले जिंगल गाउने, रिमिक्स गर्ने, फोनको रिंगटोनका लागि स्वर दिने, आरजे–भिजे गर्ने, विभिन्न कार्यक्रममा उद्घोषण गर्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय कर्पोरेट शोहरूमा होस्ट गर्नेलगायतका काम गरिन् । यसले उनको क्षमता निखारिँदै गयो । ‘तर, जे गरे पनि स्टेज परफर्मेन्स मलाई औधी मन पर्छ’उनले भनिन् । स्टेजमा उनको प्रस्तुति पृथक् शैलीको हुन्छ । एकताका गायनसँगै नृत्यमा पनि पोख्त उनलाई नेपाली ‘म्युजिकल फेटरनिटी’ मा नेपाली ‘साकिरा’ को नामसमेत दिइएको थियो । गत वर्ष व्यवसायी तथा फेसन डिजाइनर शरद केडियासँग वैवाहिक जीवनमा बाँधिएकी उनी अब अझै सशक्त भएर संगीतमा लाग्ने बताउँछिन् ।
इन्दिरा अनुभव
अहिले केमा व्यस्त हुनुहुन्छ ?
‘साइराम पिक्चर्स’ सँग नयाँ एल्बमको ‘कन्ट्रयाक्ट साइन’ भयो । धेरै गीत रेकर्ड भइसके, केही बाँकी नै छन् । अहिले त्यसैमा काम भइरहेको छ । अन्य कामहरू पनि छन्, व्यस्तता घटेको छैन ।
वैवाहिक जीवन कस्तो चल्दैछ ?
एकदमै रमाइलो र खुसीसाथ अगाडि बढिरहेको छ । अझ बलियो र सशक्त भएर आफ्नो क्षेत्रमा काम गर्ने साथ र हौसला मिलेको छ ।
भिन्न संस्कार, परिवेश र चालचलनमा भिज्न कत्तिको सजिलो/अप्ठ्यारो भयो ?
उहाँहरूको परिवार एकदम सिस्टममा चल्छ । पुरुषहरू व्यवसायमा र महिलाहरू सबै कुरामा अब्बल छन् । परिवार नै गीत–संगीतलाई माया र सम्मान गर्ने स्वभावको छ । त्यो परिवारभित्रका नारी सशक्त, हरेक कुराको ज्ञान भएका र व्यवस्थापन कलामा निपुण भएकाले मैले धेरै कुरा सिकिरहेकी छु । परिवारभित्र रिस, द्वेष र ईर्ष्याको भावना पटक्कै छैन । पुरुषहरूमा नारीलाई खुसी राख्यो भने परिवारमा खुसी र सम्पन्नता छाउँछ भन्ने बुझाइ छ । त्यसैले मलाई कुनै अप्ठ्यारो छैन । अझ बढी माया, साथ, सहयोग र प्रेरणा मिलिरहेको छ ।
संगीतको पछिल्लो ‘ट्रेन्ड’ लाई कसरी विश्लेषण गर्नुहुन्छ ?
समयसँगै हरेक कुरा परिवर्तन भएजस्तै संगीतमा पनि फेरबदल आइरहन्छ, यो प्राकृतिक प्रकृया हो । पहिले सिडी, क्यासेट हुन्थ्यो क्रमशः पेन ड्राइभ हुँदै हामी अहिले प्रविधियुक्त समयमा आइसकेका छौं । अहिले संगीतमा लाग्ने हरेकलाई प्रविधिले सजिलो बनाइदिएको छ । यो क्षेत्र नाम, दाम र प्रतिष्ठा कमाउने राम्रो प्लेटफर्म बनेको छ । कुरा यत्ति हो आफ्नो कला, क्षमता र गायकीलाई आफैंले पनि अपडेट गर्दै लानुपर्छ ।
एउटी महिलाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न के आवश्यकता पर्छ ?
सर्वप्रथम महिला भित्रैदेखि खुसी हुनुपर्छ । हाम्रा हजुरआमा–आमाहरूले आफूलाई अरुको खुसीका लागि त्याग गरे । त्यसरी आफ्नो मन मार्दा पछि गएर पश्चाताप महसुस हुन्छ जस्तो लाग्छ । साना कुरामै किन नहोस् त्यसरी आफूलाई बलिदान दिँदा त्यसको असर र प्रभाव पूरा जीवन र अन्य कुरामा पनि पर्छ । अबका नारीले आफूलाई ‘भ्यालु’ दिने, आफूलाई माया गर्ने, आफ्नो महत्व बुझ्ने र पहिचान बनाउने कुरामा केन्द्रित हुनुपर्छ । खुसी भइयो भने सफल भइन्छ जस्तो लाग्छ ।
जीवन के रहेछ ?
जीवन भनेकै आफ्नो उद्देश्य पत्ता लगाउनु हो भन्ने लाग्छ । जसले सामाजिक, आर्थिक, पारिवारिक रूपमा खुसी र सशक्त बनाओस् । आफूजस्ता दुई–चार जनालाई सहयोग गर्न सकियोस् ।
नयाँ योजना केही छ कि ?
नयाँ गीतहरूको योजनामा छु । केही यात्रा र इभेन्ट गर्ने पनि मेरो तालिकामा छ ।
पाठकलाई के सन्देश छ ?
पछिल्लो समय नारीको परिभाषा परिवर्तित भई उनीहरुको आफ्नै आवाज र अस्तित्व छ । प्रायः महिला कामकाजी र सक्षम छन् । आफ्नो क्षमतामा विश्वास गरेर खुसी भई समाज र राष्ट्रको पाटो फेर्न सक्ने आँट राख्नुहोस् ।
पहिरन : मनीष राई तथा केडिए
स्टायलिस्ट : विनीता तामाङ, सञ्जु श्रेष्ठ र सीमा श्रेष्ठ
ज्वेलरी : ए. एन.एक्स
हेयर तथा मेकअप : रुस्का बैद्य श्रेष्ठ, आइसीटी स्कुल अफ ब्युटी नक्साल
लोकेसन : वञ्जला मस्कभा, नक्साल
तस्बिर : महेश प्रधान