मोक्टेल
विधि : सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने ।

सन् १९९० को दशकमा तालिवान अतिवादीले अफगानिस्तान कब्जा गरेपछि फाजिया कोओफीको डाक्टर बन्ने सपना चकनाचूर भयो । यही समूहले महिलालाई सार्वजनिक जीवनबाट वञ्चित गर्यो, फाजियाका श्रीमान्लाई कैद गर्यो । जब फाजिया राजनीतिमा प्रवेश गरिन्, उनी स्वयंको ज्यान लिन खोज्यो । तै पनि उनले तालिवानसँगको शान्तिवार्तामा डगमगाइनन् । सौहाद्र्रपूर्ण रूपमा उपस्थित भइन् । फाजियाले बीबीसीसँग भनेकी छिन्–‘त्यतिबेला म अलिकति पनि डगमगाइनँ, मेरा लागि दृढ हुनु महत्वपूर्ण थियो । म अफगानिस्तानका सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्दै थिएँ ।’
केही तालिवानले जब कडा नजरले हेरे
कोओफी पान–अफगानी प्रतिनिधिमण्डलकी एक हिस्सा थिइन् । उनले कट्टरपन्थी इस्लामवादी पूर्व शासकहरूसँग धेरै चरणमा वार्ता गर्नुका साथै अमेरिकाद्वारा आयोजित शान्तिवार्तामा समेत भाग लिएकी थिइन् । गत वर्ष उनी र अर्की एक महिला मानव अधिकार अभियानकर्ता लैला जाफरी सय जनाभन्दा बढी पुरुषले भरिएको मस्कोको एक होटलको कोठामा थिए । कोठाको एक छेउमा तालिवान लडाकु र प्रतिनिधिहरू थिए भने अर्कातर्फ ती दुई महिलाले अफगानका पुरुष राजनीतिज्ञ र कार्यकर्ताको बीचमा
आफ्नो सीट तानेर बसे । सोही बेला फाजियाले भनिन्–‘अब अफगानिस्तान विभिन्न दृष्टिकोणले प्रतिनिधित्व भएको मुलुकमा दरिइसकेको छ, देश एक विचारधाराको अधीनमा छैन ।’
उनको वक्तव्यपछि तालिवान प्रतिनिधिमण्डलका केही सदस्यले उनलाई कडा नजरले हेरे । केहीले उनको उक्त कुरा नोट समेत गरिसकेका थिए । लामो वार्ता प्रक्रियाका क्रममा तालिवानले ‘कठपुतली सरकार’ लाई मान्यता नदिने भन्दै अफगान सरकारसँग प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेको थियो । पछि अमेरिका र रसियाले निरन्तर दबाब दिएपछि सम्झौता सम्पन्न भएको थियो । त्यसपछि पनि उक्त समूहले एक अनौपचारिक अफगानिस्तान प्रतिनिधिमण्डलसँग कुरा गर्न राजी भएको थियो । कोओफी तीन चरणका वार्तामा टोलीको सदस्यका रूपमा थिइन् । यिनको जीवन तालिवानले नाटकीय रूपमा परिवर्तन गरिदिएको थियो । त्यसपछि उनले महिलाको अधिकारका बारेमा सीधै कुरा गर्न थालिन् । उनले बढी भन्दा बढी महिलालाई शान्ति प्रक्रियामा समावेश गरिनुपर्छ भन्ने आवाज उठाएकी थिइन् ।
‘हाम्रो पक्षमा महिला प्रतिनिधिहरू भएकाले मैले तालिवान समूहलाई यो सुझाव दिएँ कि उनीहरूले पनि महिलालाई टेबलमा ल्याउनुपर्छ । तिनीहरू तुरुन्तै हाँसे ।’ फाजिया भन्छिन्–‘जुन समूह, पार्टी, खेमाका भए पनि आखिर महिला त महिला नै हुन् । अबको युगमा उनीहरू सशक्त र अधिकार सम्पन्न हुनु जरुरी छ ।’ सन् १९९६ को शासनका क्रममा तालिवानले महिलालाई शिक्षा र रोजगारीमा प्रतिबन्ध लगायो । इस्लामी कानुनको कडा संस्करण लागू गरायो, जसभित्र ढुंगाले हानेर कोर्रा लगाउने अमानवीय काम हुन्थे । आफ्नो सम्पूर्ण जीवन अफगानिस्तानमा बिताइसकेकी फाजिया कोफीले त्यस्तो सजाय भोगेका मानिसलाई नजिकबाट नियालिरहेकी थिइन् ।
वार्ताका क्रममा तालिवानीको बोल्ने पालो आयो । वार्ताकारले आफ्नो यौन समानताको मागमाथि विश्लेषण गर्दै बोले–‘महिला प्रधानमन्त्री बन्न सक्छन् तर राष्ट्रपति बन्न सक्दैनन्, महिला न्यायाधीश हुन सक्दैनन् ।’ आफू यो कुरासँग असहमत भए पनि कुनै तर्क नगरेको कोओफी बताउँछिन् । यसले उनको कूटनीतिक क्षमतलाई प्रस्ट्याउँछ । वार्ताको ढाँचाले दुईतर्फी छलफललाई अनुमति नदिने हुनाले पनि उनले त्यहाँ कुनै तर्क–वितर्क गर्नुको तुक देखिनन् र चुप लागेर बसिन् । आजको आधिकारिक तालिवान लाइन भनेको महिला काम गर्न र शिक्षित हुन सक्छन्, तर केवल इस्लामी कानुन र अफगानी संस्कृतिको सीमाभित्र रहेर मात्र ।
मैले कहिल्यै बुर्का किनेकी छैन
फाजिया कोओफीले सेप्टेम्बर १, १९९६ मा पहिलोपटक एक तालिवान योद्धा देखेकी थिइन् । तालिवानले सहर कब्जा गर्दा उनी काबुलमा मेडिकल साइन्स पढ्दै थिइन् । उनले तिनीहरूलाई पाँचौं तलाबाट देखेकी थिइन् । सडकमा झगडा भइरहेको थियो । जहाँ स्वचालित राइफल देखिन्थे । क्रमश: उनी अध्ययनरत मेडिकल कलेजले पनि आतंककारीको आदेश अनुशरण गर्न थाल्यो । अनि उनको बाल्यकालदेखिको डाक्टर बन्ने सपना चकनाचुर भयो । अनेक अप्ठेराका बाबजुद पनि उनी काबुलमै बसिन् र स्कुलबाट बाहिरिएका केटीहरूलाई अंग्रेजी पढाउन थालिन् । ‘यो एक धेरै नैराश्यपूर्ण अवधि थियो । यदि कसैले तपाईंलाई कमजोर पार्छ र तपार्इंका लागि अवसरहरू रोक्न चाहन्छ भने त्यो भन्दा पीडादायी अर्को के हुनसक्छ ।’ त्यो संक्रमणकाल सम्झदै फाजिया भन्छिन्–‘तालिवानले महिलालाई सार्वजनिक रूपमा शरीरमा बुर्का लगाउने आदेश जारी गर्यो । तर मैले कहिल्यै बुर्का किनेकी छैन ।’
तालिवानका तथाकथित लडाकुहरू सडकमा गस्ती गर्थे । उनीहरूले बुर्का नलगाएका महिलाहरूलाई कुटपिट गर्थे । अन्तत अमेरिकामा भएको सेप्टेम्बर ११ को हमलापछि तालिवानलाई हटाइयो । त्यसपछि धेरै मानिसहरूले राहत महसुस गरे । भन्न थाले–‘हामी सडकमा हिँड्न सक्छौं र तालिवानले कुटेको डर नमानी किनमेल गर्न सक्छौं ।’
नाफाको जिन्दगी
तालिवानको पतनपछि, कोओफीले संयुक्त राष्ट्र संघका लागि काम गरिन् । पूर्व बालसैनिकको पुन:स्थापना गरिन् । जेलमा रहेका पतिको क्षयरोगका कारण मृत्युपछि उनी एक्लैले दुई छोरी हुर्काइन् । तर यसका बाबजुद सन् २००५ मा संसदीय चुनावको घोषणा भएपछि उनले चुनावी मैदानमा प्रवेश गर्ने निर्णय गरिन् । उनी भन्छिन्–‘मेरा लागि महत्वपूर्ण चुनौती भनेको छुट्टै पहिचान बनाउनु थियो ।’ सांसदका रूपमा आफ्नो दुई कार्यकालमा पहिले उनी संसद्को प्रवक्ता बनिन् । उक्त समयमा उनलाई मार्ने प्रयास भएको थियो तर उम्किइन् । सन् २०१० मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाएर फर्कने क्रममा उनीमाथि गोली बर्साइएको थियो । कोओफी र उनका दुई छोरीलाई सुरक्षा अधिकारीहरूले बचाएर पहाडको सुरुल भूमि पुर्याए, जहाँबाट उनीहरूलाई हेलिकप्टरद्वारा काबुल पठाइएको थियो ।
हरेक मानिस शान्ति चाहन्छन्
तालिवान र अमेरिका शान्ति सम्झौतातर्फ अगाडि बढिरहेको दस वर्ष बितिसक्यो । लडाकुलाई पुन: समूह बनाउन र युद्ध गर्न केही वर्ष लागेको थियो । (सन् २००१ पछि उनीहरूले बढी क्षेत्र नियन्त्रण गरे । यस युद्धबाट ठूलो मानव क्षति भएको छ ।) हजारौं नागरिक मारिए, घाइते भए । अफगानिस्तान विश्वको गरिब देशमध्ये एक हुनुको एउटा कारण यही हो । ‘करिब २८ लाख अफगानी विदेशमा शरणार्थीका रूपमा दर्ता भएका छन् भने २० लाख बढी आफ्नै देशभित्र विस्थापित छन् । करिब २० लाख विधवा छन् ।’ यस्तो उराठलाग्दो अवस्थाबाट वाक्क भएका हरेक मानिसले शान्ति चाहेको बताउँदै फाजिया भन्छिन्–‘सबैजना शान्ति चाहन्छन् । हामी युद्धको समयमा जन्मिएका थियौं र युद्धमा हुर्कियौं । न त मेरो पुस्ता र न मेरा बालबालिकाहरूलाई थाहा छ शान्तिको अर्थ के हो ?’ तर कुनै पनि हालतमा शान्ति सम्झौता होइन । शान्ति भनेको सम्मान, न्याय र स्वतन्त्रताका साथ बाँच्ने क्षमता भएको उनको बुझाइ छ । लोकतन्त्रको विकल्प नरहेको बताउँदै उनले अब तालिवान सहमत र परिवर्तन भएको हेर्ने इच्छा जाहेर गरेकी छिन् । तालिवान प्रवक्ता सुहेल शाहिनले एक वक्तव्य दिएका थिए–‘शान्ति विरोधाभासमा रहेका महिलाले वार्ता पछाडि लैजान महिलाको अधिकार प्रयोग गर्दैछन् ।’ तर फाजिया कोओफी भन्छिन्–‘महिलाले धेरै गुमाएकी छ, हामी अरू कति हराउन सक्छांै ?’ फाजियाका दुवै छोरी काबुल विश्वविद्यालयमा भर्ना भइसकेका छन् । मिडिया र इन्टरनेटको पहुँचका साथ आफूलाई सशक्त पार्ने अभ्यासमा उनीहरूले आफूलाई बानी परिसकेका छन् । ‘कुनै पनि शक्तिले मेरी छोरी र सोही उमेरका अन्य केटीलाई घरमा बन्दी बनाउन सक्दैन । फाजियाले भनिन् ।
-स्रोत : बीबीसी वल्र्ड सर्भिस