Successfully Copied

घरपालुवा जनावरबाट कोरोना सर्दैन

घरपालुवा जनावरमध्ये कुकुरमा कोरोना भाइरसको संक्रमण हुनसक्छ । तर, त्यो नोभेल कोराना भाइरस भन्दा फरक हो । उक्त भाइरस कुकुरबाट कुकुरमा मात्रै सर्छ, मानिसमा संक्रमण हुँदैन । कुकुरमा कोरोनाको संक्रमण आन्द्रामा हुन्छ ।

विश्वभर कोरोना भाइरस संक्रमणको आतंक बढ्दो छ । अहिलेसम्म मानिसमा देखिएको उक्त भाइरस घरपालुवा जनावरबाट सर्छ हुन्छ कि हुँदैन भन्ने चासोसँगै चिन्ता हुन थालेको छ । यसबारे एड्भान्सड पेट हस्पिटलका डाक्टर शरदसिंह यादवले घरपालुवा जनावरबाट कोरोना भाइरसको जोखिम हुने/नहुने र जनावरलाई गर्नुपर्ने व्यवहारबारे दिएको सुझाव :

घरपालुवा जनावर र कोरोनाको सम्बन्ध

घरपालुवा जनावरमध्ये कुकुरमा कोरोना भाइरसको संक्रमण हुनसक्छ । तर, त्यो नोभेल कोराना भाइरस भन्दा फरक हो । उक्त भाइरस कुकुरबाट कुकुरमा मात्रै सर्छ, मानिसमा संक्रमण हुँदैन । कुकुरमा कोरोनाको संक्रमण आन्द्रामा हुन्छ । कोरोना संक्रमित कुकुरले रगत मिसिएको दिसा गर्छ । त्यस्तै खाना नखाने, बान्ता गर्ने जस्ता लक्षण देखिन्छन् । उपचार गर्दा संक्रमण भएका ५० प्रतिशत कुकुर निको भएको तथ्यांक छ । १५ वर्षअघिदेखि कुकुरका छाउराछाउरीलाई जन्मेको ४५ दिनभित्र कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । उक्त खोप महिना दिनको अन्तरालमा ३ पटक लगाइन्छ । त्यसपछि प्रत्येक वर्षमा लगाउने गरिएको छ । कोरोनाविरुद्धको खोप लगाइएको कुकुरमा अहिलेसम्म संक्रमण भएको पाइएको छैन । कुकुरबाट मात्रै होइन, कुनै पनि घरपालुवा जनावरबाट मानिसमा कोरोना नसर्ने भएकाले डराउन पर्दैन ।

पशुमाथिको अत्याचार 

कतिपय देशमा नोभेल कोरोना भाइरसको डरले पशुपन्छीमाथि अत्याचार बढेको समाचार आएको छ । घरपालुवा जनावरबाट कोरोना भाइरस नसर्ने भएकाले जनवारमाथि अत्याचार अपराध हो ।

अरू संक्रमण हुनसक्छ

घरपालुवा जनावरबाट नोभेल कोरोना भाइरस संक्रमण नभए पनि अरूखाले संक्रमण हुनसक्छ । यसर्थ जनावर पाल्नेले समयमै सम्पूर्ण खोप लगाएर सुरक्षित हुनुपर्छ । पालेका जनावरलाई कुनै रोग लागे तत्काल चिकित्सकको निगरानीमा उपचार गराउनुपर्छ । त्यस्तै, जनावरसँगको हिमचिमपछि साबुनपानीले राम्ररी हात धुनुपर्छ । घरपालुवा जनावरलाई भान्छाकोठा तथा आफू सुत्ने कोठमा लैजानु हुँदैन ।

 Image