धूमधाम विवाह कि जीवन ?

सविता विमली

फाल्गुन १८, २०७६

 

सामुन्नेको घरमा विवाह छ । चुपचाप–चुपचाप विवाहको तयारी भइरहेछ । मानिसको आवतजावत बाक्लिँदैछ । मधुरो संगीत बज्छ । विवाहको केही दिनअघि फर्निचर भित्रिन्छन् । कार्पेट, पर्दा सबै फेरिन्छन् । विवाहको उत्सव चर्को हुँदै गएको समयमा सामान्य लागिरहेको यो विवाहले चाहिँ शैली फेर्ला कि भन्ने थियो । तर अहँ † यी बेहुलीले पनि ओढ्ने–ओछ्याउनेसहित फर्केर आउनुपर्‍यो । 

विवाह भएको एक महिना छ दिनपछि ऊसँग मेरो भेट भयो । जीवनको यो नयाँ इनिङस्मा ऊ खुसीले, प्रेमले रंगिएकी होली भन्ने अनुमानविपरीत तेज हराएको अनुहार लिएर अगाडि आई । आत्मविश्वासले भरिएकी उसको तेजोबध गर्ने अरू केही थिएन, विवाह नै थियो । 

मधुरात्रीको सम्मिलन उसका लागि पनि उत्तिकै कौतूहल तथा रोमाञ्चकपूर्ण कल्पनाले भरिएको थियो । यो साथलाई उत्तिकै सुरुचिपूर्ण र प्रियकर बनाउन उसलाई मन नभएको होइन । तर विवाहको दिनभरको थकानले ऊ गलेकी थिई । उसको यो मधुर इच्छालाई थकित शरीरले जितेपछि उसले श्रीमान्सँग अनुरोध गरी । श्रीमान् यसका निम्ति सहयोगी बनिदिएन । उल्टो हिंस्रक बनिदियो । ऊ लछारपछारमा परी । सम्बन्धमा प्रेमको बिर्को खुल्नै नपाई झन् कसियो । 

सम्बन्धमा शरीरसम्म पुग्न प्रेममा कति डुब्नुपर्छ ? प्रेमले कति यात्रा तय गरेपछि शरीर भेटाउँछ ? सिउँदोमा सिन्दूर भरेकै आधारमा कसैको शरीरमाथि आफ्नो हक स्थापित भएको दाबी के–कति कारणले पुग्छ ? शरीरसम्म पुग्न यस्तो दाबी गर्नेहरूले पहिला मनसम्म पुग्न के–कति कसरत गरेका हुन्छन् ? म उसलाई देखेर भरङ्ग भएकी छु । विवाहको चार दिनसम्ममा त उसको कोठाभित्रका कुरा छिमेकसम्म पुगिसक्छन् । यता ऊ भने निद्रामा समेत तर्सिन थालिसकेकी हुन्छे । ऊ मलाई विवाहका तस्बिर देखाउँछे । म उसका आँखामा चियाउँछु । चस्माभित्रका शुष्क आँखा उदास छन् । म ती उदास आँखामा हेरिरहन सक्दिनँ र आफ्ना नजर अन्तै लगाउँछु । 



जब स्वस्थ श्रीमती एक्कासि थला पर्छे, आधा शताब्दी उमेर पुगेको श्रीमान्को जीवनको मूल खाँबो नै हल्लिन थाल्दो रहेछ । ऊ श्रीमतीविनाको आफूलाई हेर्छ, नितान्त एक्लो र निरीह पाउँछ । अर्को विवाहको सम्भावनामाथि पनि गौर गर्छ । यो उमेरमा विवाहले उत्साह थप्दो रहेनछ । यतिखेर विवाह गरिएकी श्रीमतीसँग कस्ता कुरा गर्नु ? कुन सम्झनाका कुरा गर्नु ? यो उमेर त बनेका सम्झनाहरूलाई फर्किएर हेर्ने उमेर रहेछ । दु:ख, सुख, माया, घृणा, अनबन, खटपट, लगाव, घुर्की, कमजोरी सबैलाई फर्किएर हेर्न र प्रायश्चित्त गर्न पनि यी सम्झना काफी बन्ने रहेछन् । यहाँसम्म आइपुग्दा श्रीमतीमाथिको निर्भरता यसरी बढेको रहेछ कि ऊ झसङ्गै हुन्छ । श्रीमतीलाई केही भइहाल्यो भने सम्पत्ति छोराछोरीलाई बराबरी बाँडिदिएर तीर्थाटनमा जाने निर्णय गर्छ । 



अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयमा विद्यावारिधि गरिरहेको केटालाई व्यवस्थापनमा स्नातक सकेकी छोरी धुमधामसँग अन्माएर पठाएका बुवाले जब केही समयपछि एकान्त कुनै डाँडामा एक मुठी औषधि निलेर नीलै भएकी छोरी भेटाउँछ, उसको मुटुमा कति काँडा बिझ्दो हो ? बाबुआमाले रोजेको सुयोग्य भनिएको जीवनसाथीले जब विवाह लगत्तै विवाहमै आएका साथीहरूको नाममा शंका गर्न थाल्छ, आरोप लगाउन थाल्छ, उसका हरेक रात श्रीमान्लाई आफ्नो सफाइ पेस गर्दै बितिजान्छ । विवाहमा तँलाई फर्केर त्यसले किन हेर्‍यो ? बाट सुरु भएका प्रश्नहरूका चाङले ऊ यस्सरी थिचिन्छे कि उसका आँखामा निद्रा आउन मान्दैन । त्यसैले उसलाई सधैंभरिका लागि निदाउन मन लाग्छ र ऊ पुग्छे एक मुठी स्लिपिङ 

ट्याब्लेटसहित सुनसान एकान्तमा । 



एउटी युवती सम्झिरहेछु । यस बीचमा केही वर्ष बितेछन् । मैले भेट्दा ऊ श्रीमान्को घर छोडेर साथीकहाँ बसिरहेकी थिई । पाटनका खानदानी नेवार परिवारकी छोरी, उसको धुमधामसँग विवाह भएको थियो । विवाहपछिको उसको समय सुखद् रहेन । लाखौं खर्च गरेर विवाह गरिदिन सक्ने परिवारले उसको वैवाहिक सम्बन्धमा आएको असमझदारीमा चासो राखेन न उसको परिवारमा फिर्तीलाई नै स्वीकार गर्‍यो । श्रीमानको घरमा ऊ अडिनै सकिन । ऊ बेरोजगार थिई । जहाँ आश्रित थिई, उक्त साथीको पनि आर्थिक अवस्था सुदृढ थिएन । त्यसैले विवाहमा पाएका उपहार बेच्दै उसको गुजारा चलिरहेको थियो ।

 

विवाह संस्कार हो । यो संस्कारका यावत् विधिलाई चुनौती दिएर स्टेज विवाह, जनवादी विवाह गर्ने प्रगतिशील मनुवाहरूका घरमा मेहन्दी, हल्दी, संगीत, स्वयम्वर आदिका अलग–अलग उत्सव हुन थालेका छन् । बुर्जुवा सोच, व्यवहारका विरुद्ध क्रान्ति छेड्नेहरूका घरमा आज ढसमस्स बुर्जुवा व्यवहार विराजमान छ र यो संस्कृतिको अनुशरणका नाममा नभएर संस्कृतिको विकृत अनुहारका साथ उपस्थित छ । 

आज विवाह कर्मकाण्डीय मात्र रहेन । व्यक्तिको हैसियत नाप्ने मापदण्ड बनिसक्यो । कुरा छिन्ने, फूलमाला, पत्र लगाउने, मेहन्दी, हल्दी, संगीत, स्वयम्वर, गोडा धुने, सिन्दूर–पोते, कन्यादान, बिदाइ, सम्धी ढोगभेट, विवाह अगाडि–पछाडिका भोज, विविध लोकेसनमा फोटोसेसनलगायतका सबै गतिविधि आजको विवाहका अङ्ग हुन् । यी छुट्नु हुँदैन । अझ लुगाको डिजाइन वा रंगमा वा गहनामै पनि ‘थिम’ सुरु भएको छ । सबैमा एकरूपता । सबैको एउटै । यसरी एउटा सामान्य नेपालीले समाजमा स्थापित हुँदै गएको विवाह आँट्न र धान्न नसक्ने हुँदै गएको छ । 

यत्तिको उदार भएर गरिएको विवाहमा भएको खर्च धान्ने स्रोत के हो ? लाखौं लगानी गरेर गरिने विवाहले दिन्छ के ? त्यो खर्च सन्तानका लागि सुरक्षित गरिदिँदा भोलि उनीहरूको भविष्य सुरक्षित हुन्छ भन्ने चेतना अभिभावकमा कहिले आउँछ ? यस्ता विवाहले विवाहको मर्म चाहिँ धानिरहेका छन् कि छैनन् ? धुमधामसँग विवाह गरिएका जोडीको जीवन कति धुमधाम छ ? धुमधाम विवाह हुनुपर्ने हो कि जिन्दगी ? 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


×