Successfully Copied

कसरी गर्ने गर्भावस्थाको हेरचाह ? 

पहिलो तीन महिनामा भ्रूणको विकास हुन्छ भने मानवले भ्रूणको आकार लिन थाल्छ । यतिबेला चिकित्सकसँग नसोधी कुनै पनि औषधि खानु हुँदैन ।

आमा बन्नु प्रत्येक महिलाका लागि खुसीको कुरा हो । पेटमा बच्चा चल्दा होस् वा उसले गर्ने अन्य क्रियाकलापलाई रमाइलो पल सम्झदै महिलाहरू आनन्द मानिरहेका हुन्छन् । एउटा नयाँ जीवन गर्भमा जब सास फेर्न थाल्छ त्यसको अनुभव बेग्लै किसिमको हुन्छ । यो अनुभूति निकै कोमल तथा अवर्णनीय हुन्छ । यो नौ महिनामा आफ्नो हेरचाह राम्ररी होशियारीपूर्वक गर्नुपर्छ । गर्भधारण गरेपछि महिलाको शरीरमा धेरै परिवर्तन आउँछ । यस्तो परिवर्तन कतिपय गर्भवती महिलाले अनुभव गर्न सक्छन् भने कतिपयमा नहुन पनि सक्छ । सबै गर्भवती महिलामा एकै किसिमको परिवर्तन नभइ अलग–अलग किसिमको हुनसक्छ । गर्भावस्थाको नौ महिनाको गणना अन्तिम पिरियड्सको पहिलो दिनबाटै गनिन्छ । यी नौ महिनालाई तीन ट्राइमिस्टरमा विभाजित गरिन्छ । 

पहिलो त्रैमासिक 

पहिलो तीन महिनामा भ्रूणको विकास हुन्छ भने मानवले भ्रूणको आकार लिन थाल्छ । यतिबेला चिकित्सकसँग नसोधी कुनै पनि औषधि खानु हुँदैन । स्त्री रोग विशेषज्ञसँग सम्पर्क गर्नुपर्छ । किनभने यस्तो स्थितिमा औषधि हानिकारक साबित हुनसक्छ भने गर्भस्थ शिशुमा संरचनात्मक विकार पैदा गर्न सक्छ । चिकित्सकको सल्लाहमा फोलिक एसिडबाहेक अन्य कुनै औषधि खानु हुँदैन । 

सम्भावित परिवर्तन 

    यतिबेला शरीर चिलाउने, छटपटी, थकान तथा बान्ता हुने जस्ता समस्या सामान्य हुन्छन् । यो समस्या तीन महिना पूरा भएपछि आफंै ठीक हुन्छ । 

    रक्तचाप कम तथा नाडीको धड्कन (पल्स रेट) बढ्छ । 

    स्तनको आकार बढ्ने तथा पानी बग्ने हुनसक्छ । स्तन छुँदा पीडा हुनसक्छ । 

    पहिलो तीन महिना कसैको तौल बढ्न तथा कसैको घट्न सक्छ । 

    मर्निङ सिकनेस गर्भधारणको तेस्रो हप्तामा सुरु हुन्छ । यो पूरा तीन महिनासम्म रहन्छ । एस्ट्रोजन तथा प्रोजेस्टेरोनको बढ्दो स्तरले गर्दा पेट बिस्तारै–बिस्तारै खाली हुन्छ । खाना ढिलो पच्ने कारणले गर्दा वान्ता हुने समस्या उत्पन्न हुनसक्छ । यस्तो समस्या बिहान बढी हुन्छ । 

    पटक–पटक पिसाब गर्न मन लाग्छ । यसबाट छुटकारा पाउन तरल पदार्थ बढी सेवन गर्नुपर्छ । यतिबेला चिया वा कफी भने कम पिउनुपर्छ । 

    गर्भावस्थामा प्रोजेस्टेरोन हार्मोनको स्तर बढ्छ । यसले गर्दा बढी निद्रा लाग्छ । यतिबेला ब्लड सुगरको कम स्तर साथै कम रक्तचापका कारण थकान हुन सक्छ । यसका लागि आरामको आवश्यकता पर्छ । त्यसैले पर्याप्त मात्रामा आइरन तथा प्रोटिन भएका खानेकुरा खानुपर्छ । 

सावधानी 

    खाली पेट बस्नुहुँदैन । समय–समयमा खानेकुरा खाइरहनुपर्छ । फलफूल, नरिवल पानी तथा ग्लुकोज पानी खाइरहनुपर्छ । धेरै पिरो तथा चिल्लो खानेकुरा खानुहुँदैन । 

    नियमित रूपमा स्वास्थ्य जाँच गराउनुपर्छ । प्रत्येक १५ दिनमा चिकित्सकबाट चेकअप गराउनुपर्छ । 

    गर्भावस्थामा हिल भएको जुत्ता लगाउनुहुँदैन । भीडभाडमा जानुहुँदैन । कामकाजी भए हिँडडुल गर्दा खाल्डाखुल्डी भएको ठाउँ वा सिंढी चढ्दा–ओर्लदा सावधानी अपनाउनुपर्छ । 

    धेरै खाना एकैपटक खानुहुँदैन । फलफूल प्रशस्त मात्रामा खान सकिन्छ । डबल डाइट नखाई सन्तुलित खाना खानुपर्छ । 

रुटिन चेकअप

    एन्टिनेटल स्क्रिनिङ टेस्ट (ब्लड ग्रुप तथा आरएच, हेमोग्लोबिन, ब्लड सुगर, स्क्रिनिङ फर इन्फेक्सन, एचआइभी, सिफिलिस, रुबेला, हेपाटाइटिस सी, हेमोग्लोबिन) 

    थाइराइड । 

    युएसजीबाट डेलिभरीको मिति पत्ता लाग्छ । त्यसबाट गर्भमा एउटा वा त्यसभन्दा बढी शिशु भएको कुरा पनि पत्ता लाग्छ । 

    सात तथा बाह्र हप्तामा अल्ट्रासाउन्ड गराउनुपर्छ । बाह्रौं हप्ता डबल मार्कर ब्लड टेस्ट गराउनुपर्छ । 

दोस्रो त्रैमासिक 

दोस्रो त्रैमासिकलाई ‘सेफ पिरियड’ पनि भनिन्छ । किनभने यतिबेला गर्भवती महिलाले पहिलो त्रैमासिकको तुलनामा अलि सहज महसुस गर्छन् । यो समयमा मुड पनि राम्रो रहन्छ भने बान्ता हुने, मर्निङ सिकनेस तथा अन्य समस्या हुँदैन । पेटको आकार बढ्दा पीठ्युँ तथा थाईमा भने पीडा महसुस हुन सक्छ । यो समयमा आइरन तथा क्याल्सियम सेवन गर्नुपर्छ । 

परिवर्तन 

प्रिग्नेन्सीको दोस्रो त्रैमासिकमा शरीरको अन्य भाग जस्तै स्तनको आकार पनि बढ्छ । स्तनमा दूध बनाउने ग्रन्थिको विकास हुन थाल्छ । 

पाठेघरको मांसपेशी खुम्चिएजस्तो लाग्न सक्छ । 

हार्मोनल परिवर्तनका कारण नाकबाट रगत बग्न सक्छ भने शरीरमा रक्तसंचार बढ्न थाल्छ । जसका कारण नाकबाट रगत बग्न सक्छ । त्यस्तो भए रगत रोक्न टाउको सीधा राख्नुपर्छ । पछिल्तिर झुकाउनुहुँदैन । चिसो पानीले नाक सफा गर्नुपर्छ । 

दोस्रो त्रैमासिकमा बढी भोक लाग्छ । त्यसैले सन्तुलित तथा पौष्टिक खानेकुरा खानुपर्छ । यतिबेला वजन पनि बढ्न सक्छ । 

    पर्याप्त दूध तथा प्रोटिनयुक्त डाइट खानुपर्छ । एउटा ठूलो कचौरा दाल खानुपर्छ । यसले शरीर सुन्निदैन भने एनिमियाँ पनि हुन पाउँदैन । प्रोटिनले शिशुको विकासमा समेत सहयोग पुर्‍याउँछ । 

सावधानी 

    फाइबरको कमी हुन दिनुहुँदैन । यसले कब्जियतको समस्या हुन दिँदैन । 

    यतिबेला अतिरिक्त क्याल्सियम तथा आइरनको आवश्यकता पर्छ । किनभने यो समयमा गर्भस्थ शिशुको हड्डी तथा दाँतको विकास हुन्छ । 

    झुकेर कुनै कुरा उठाउनुहँुदैन । उठ्दा–बस्दा आफ्नो पोस्चरमा ध्यान पुर्‍याउनुपर्छ । पिठ्युँलाई सपोर्ट दिन पछाडि कुसन राख्नुपर्छ । 

    शरीरमा पानीको कमी हुन दिनुहुँदैन । 

    बाहिर घुम्न जानुपरे सुरक्षित यात्रा गर्नुपर्छ । 

रुटिन चेकअप 

    रक्तचाप तथा प्रोटिनको स्तरसम्बन्धी जानकारी हासिल गर्न पिसाब जाँच गराउनुपर्छ । 

    यो ट्राइमिस्टरमा टिटानस टक्साइडको दुई इन्जेक्सन १/१ महिनाको अन्तरालमा लगाउनुपर्छ । 

    शिशुको शारीरिक विकास जाँच्न एनोमली स्क्यान (अल्ट्रासाउन्ड) गराउनुपर्छ ।

    ब्लड सुगर टेस्ट–ग्लुकोज २४ हप्तामा गराउनुपर्छ । 

    दाँत तथा फिजियोथेरापी जाँच गराउनुपर्छ । 

तेस्रो तीन महिना 

प्रिग्नेन्सीको तेस्रो तीन महिनामा पेटमा स्ट्रेच माक्र्स पर्न थाल्छ । यतिबेला पेट वरिपरिको छालामा मोस्चराइजर लगाउनुपर्छ । गर्भस्थ शिशुलाई आवश्यक क्यालोरीको मात्रा बढ्ने भएकाले प्रत्येक तीन घन्टाको फरकमा पौस्टिक खाने कुरा खाइरहनुपर्छ । यो अवधिमा सबैजस्तो महिना महिलाको वजन १–२ किलो बढ्नुपर्छ । 

परिवर्तन 

    गर्भावस्थाको तेस्रो ट्राइमेस्टरमा भ्रूण लगभग विकसित भैसक्छ । यसले गर्दा धेरै समय आराम गर्नु आवश्यक हुन्छ । आराम गर्दा तनाव कम हुनुका साथै निराशा र चिन्ता पनि हुँदैन । सकारात्मक सोच राख्नुपर्छ । 

    यतिबेला प्रतिदिन ३ सयदेखि ५ सय अतिरिक्त क्यालोरीको आवश्यकता पर्छ । त्यसैले डेरी उत्पादन, बदाम, अन्न तथा दाल आदि खानुपर्छ । 

    यो अवधिमा भ्रूणको विकास तीव्र रूपमा हुन्छ । त्यसैले गर्भवती महिलाले बढीभन्दा बढी पोषकतत्व खानुपर्छ । जसमा फलफूलको जुस एवं माछा उत्तम साबित हुन्छ । 

सावधानी 

    तेस्रो ट्राइमिस्टरमा शिशुको मुभमेन्टमा ध्यान पुर्‍याउनुपर्छ । कुनै किसिमको असजिलोपन भए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । शिशुले कम किक हानेको, कम चलेको भए पनि चिकित्सकलाई भनिहाल्नुपर्छ किनभने शिशुको मुभमेन्ट कम हुनु कुनै समस्याको संकेत हुनसक्छ । 

    कुनै किसिमको असामान्य संकेत तथा लक्षण भए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । योनिबाट अधिक डिस्चार्ज, गन्हाउने पानी, खोकी, चिसो लाग्ने, पिसाब गर्ने बेलामा पीडा, टाउको दुख्ने जस्तो समस्या भए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।

 Image