Successfully Copied

दाम्पत्यमा सामाजिक सञ्जालको असर

दाम्पत्य सम्बन्धलाई दिगो, विश्वसनीय, मधुर, कसिलो र रसिलो बनाउन आपसी संवाद र सम्बन्धको खाँचो हुन्छ । तर सामाजिक सञ्जालले उनीहरूबीचको संवादको वातावरण नै बिथोलिदिएको छ । घर–व्यवहार चलाउन, घरको आर्थिक स्थितिदेखि बालबच्चाको पढाइ, आर्थिक लेनदेका लागि दम्पतीबीच अन्तरसंवाद भैरहनुपर्छ ।

‘आजन्म नछुट्ने’ वाचा गर्दै बाँधिएको दाम्पत्य सम्बन्ध किन धमाधम टुट्दैछ ? यसमा एउटा मात्र कारण छैन । दम्पतीबीचको तालमेल नमिल्नुमा विवाहेत्तर सम्बन्धदेखि वैदेशिक रोजगारसम्म कारक बन्दै आएको छ । यसमा थपिएको छ, सामाजिक सञ्जाल पनि । दम्पतीको सम्बन्धलाई धराप बनाउन सामाजिक सञ्जाल उत्तिकै निहुँ बन्ने गरेको पछिल्लो घटनाक्रमले देखाएको छ । 

सामाजिक सञ्जालले अहिले दम्पतीबीचको भावनात्मक सम्बन्ध संकटमा परेको बताउँछन्–मनोपरामर्शदाता मधुविलास खनाल । उनी भन्छन्–‘नचिनेका मानिससँग मित्रता गाँस्दा, उसका हरेक क्रियाकलाप मन पराउँदा, लाइक र कमेन्ट गर्दा, च्याट गर्दा दम्पतीबीच शंका, उपशंका एवं अविश्वास बढाउँछ । सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयताको ख्याल नगर्नाले कतिपय दम्पती सम्बन्धविच्छेदसम्म पुग्छन् ।’

सम्बन्धविच्छेदको घटनालाई केलाउने हो भने सामाजिक सञ्जाल ‘बाँदरलाई भर्‍याङ’ भएको छ । सामाजिक सञ्जालको निहुँमा बढ्दो उजुरीले पनि यसलाई थप पुष्टि गर्छ । महानगरीय अपराध महाशाखा काठमाडौंमा फेसबुकलगायत सामाजिक सञ्जालको विषयलाई लिएर उजुरीको थुप्रो लाग्ने गरेको महाशाखा प्रमुख एसएसपी सुशील सिंह राठौरको भनाइ छ । 

यता अदालतमा पनि सम्बन्धविच्छेदका घटना उत्तिकै मात्रामा दर्ता हुने गरेका छन् । काठमाडौं जिल्ला अदालतमा मात्र दिनहुँ औसत २५ वटासम्म सम्बन्धविच्छेदका घटना दर्ता हुने गरेको कानुन व्यवसायी कमल सापकोटा बताउँछन् । उनी भन्छन्–‘यसरी सम्बन्धविच्छेद बढ्नुमा सामाजिक सञ्जाल पनि मुख्य कारण हो ।’

दम्पतीको शयन कक्षासम्म फेसबुक 

अहिले धेरै दम्पती कामकाजी छन् । कोही काम गर्छन्, कोही जागिर खान्छन् भने कोही व्यापार गर्छन् । त्यसैले अन्तरंग पल साट्ने समय छोटिँदै गएको छ । त्यसमाथि उनीहरूसँग थोरै समय बच्छ, जुन साँझ काम सकेर घर फर्किएपछिको समय, खाना खान बस्दाको समय, राति शयनकक्षमा बिताउने समय । यद्यपि यो समय पनि सोसल मिडियाले खोसिदिएको छ ।

मोबाइल शयनकक्षसम्म पुगेको छ । श्रीमान्–श्रीमती दुवैको हातमा मोबाइल हुन्छ । उनीहरू या त फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, युट्युबमा अलमलिइरहेका हुन्छन् । कतिसम्म भने शयनकक्षमा समेत उनीहरू फेसबुक र ट्वीटरको दुनियाँमा रमाइरहेका हुन्छन् । दाम्पत्य सम्बन्धलाई दिगो, विश्वसनीय, मधुर, कसिलो र रसिलो बनाउन आपसी संवाद र सम्बन्धको खाँचो हुन्छ । तर सामाजिक सञ्जालले उनीहरूबीचको संवादको वातावरण नै बिथोलिदिएको छ । घर–व्यवहार चलाउन, घरको आर्थिक स्थितिदेखि बालबच्चाको पढाइ, आर्थिक लेनदेका लागि दम्पतीबीच अन्तरसंवाद भैरहनुपर्छ । अहिले उनीहरूबीच अन्तरसंवाद हुँदैन । श्रीमान्–श्रीमतीबीच मोबाइलले दूरी बढाएको छ । यसको नकारात्मक प्रभाव श्रीमान्–श्रीमतीको सम्बन्धमा परेको छ ।

 

भ्रम र अविश्वासको निहुँ 

सामाजिक सञ्जालको अर्को भयानक पक्ष के पनि छ भने उनीहरूमा कलहको बीउ रोपिएको छ । अविश्वास र आशंकालाई ठाउँ दिएको छ । चाहे त्यो उनीहरूले राख्ने स्टाटस, फोटो आदिको कारण होस् वा उनीहरूसँग जोडिने साथी र उनीहरूसँग गरिने च्याटले पनि उनीहरूबीच झगडाको बीउ बन्ने गरेको छ । त्यति मात्र होइन पासवर्डको कुरा लिएर समेत श्रीमान्–श्रीमतीबीच झगडा हुने गरेको पाइन्छ । 

सम्बन्धविच्छेद पनि बढ्दै

रामचन्द्र भण्डारी, कानुन व्यवसायी

पहिलेको तुलनामा अहिले सम्बन्धविच्छेदका घटना बढिरहेका छन् । खुल्ला समाजको प्रभावले सम्बन्धविच्छेदका घटना बढ्दैछन् । सम्बन्धविच्छेद गर्न कानुन र समाजले खुल्ला गराएको छ । अहिले महिलाहरू शिक्षित भएका छन् । आफ्नो पीडा लुकाएर बस्न हुँदैन, हाम्रो पनि अधिकार छ, स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्छ भन्ने उनीहरूले बुझिसकेका छन् । आर्थिक रूपमा सबल र सक्षम भएका छन् । पुरुषलाई पनि महिला आवश्यक हुन्छ भन्ने कुरा उनीहरूले बुझे अर्को अहिले समाजमा सामाजिक सञ्जालको प्रभावले पनि सम्बन्धविच्छेदका घटना बढ्दैछन् । 

सोसल मिडिया प्रयोग गर्दा त्यहाँ कुनै छेकबार छैन, मापदण्ड पनि छैन । युट्युबले पनि भाइरल बनाउन र धेरै भ्युवर्स बढाउन विभिन्न किसिमका सामग्री पोस्ट गर्छन् । त्यसको प्रभावले गर्दा उमेर नपुगी विवाह हुने, घरबार बिग्रिएको, श्रीमान्–श्रीमतीबीच आशंका उत्पन्न हुनेको संख्या बढेको छ । 

वैदेशिक रोजगार पनि कारक तत्व हो । वैदेशिक रोजगारमा जानेहरूबीच सामाजिक सञ्जालले प्रभाव पारेको छ । त्यसले उनीहरूबीच झगडा बनाएको छ । म अरुको दबाबमा किन बस्ने भन्ने सोचले सम्बन्धविच्छेद हुन्छ । डिपेन्डेड भिसामा जानेहरूमा विवाह दर्ता गराउने र उद्देश्य पूरा भएपछि सम्बन्धविच्छेद गराउँछन् । भष्ट्राचार गर्ने, सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि पनि परिवारका सदस्यले सम्पत्ति जोगाउन सम्बन्धविच्छेदको नाटक गर्छन् । यो एकाध घटना हो । यो समाजमा विकराल रूपमा त्यति देखिँदैन । उनीहरू भलै सम्बन्धविच्छेद गरेका हुन्छन् तर समाज, परिवारमा मिलेर बसेका हुन्छन् । कानुनको नजरमा मात्र सम्बन्धविच्छेद गरेका हुन्छन् । 

भावनात्मक सम्बन्ध संकटमा 

मधुविलास खनाल मनोपरामर्शदाता

सामाजिक सञ्जालले दाम्पत्य जीवनमा कस्तो असर गरेको छ ?

प्रत्यक्ष देखिने खालको छ । सामाजिक सञ्जालको सदुपयोगभन्दा पनि बढी दुरुपयोग भएजस्तो लाग्छ । यसलाई नकार्न सकिँदैन । यसले दम्पतीबीच माया–ममताको अभाव भएको महसुस गराएको छ । भावनात्मक सम्बन्ध संकटमा पारेको छ । त्यसका साथै मानसिक स्वास्थ्यमा समेत असर गरेको छ । गलत बानीको विकास हुने लत लगाएको छ जसले मानसिक रोगी बनाउँछ । लहडमा मनको कुरा पोस्ट गर्दा त्यसको परिणाम दाम्पत्य जीवनमा नराम्रो आउन सक्छ । सम्बन्ध बिगार्न सक्छ ।

सामाजिक सञ्जालको प्रयोगमा दम्पतीले के–कस्ता गल्ती गर्छन् ? जसले उनीहरूबीच आशंका र अविश्वास उत्पन्न गरिदिन्छ । 

सामाजिक सञ्जालमा विभिन्न खालका तस्बिर, स्टाटस अपलोड गर्ने, अरूले अपलोड गरेका सामग्रीमा लाइक तथा कमेन्ट गर्ने, फ्रेन्ड रिक्वेस्ट पठाउँदा वा एसेप्ट गर्दा ख्याल नगर्नाले दम्पतीमा मनमुटाव हुन्छ । नचिनेका मानिससँग मित्रता गाँस्दा, उसका हरेक क्रियाकलाप मन पराउँदा, लाइक र कमेन्ट गर्दा, च्याट गर्दा दम्पतीबीच शंका, उपशंका एवं अविश्वास बढाउँछ । सामाजिक सञ्जालको प्रयोग गर्दा गोपनीयताको ख्याल नगर्नाले कतिपय दम्पती सम्बन्धविच्छेदसम्म पुग्छन् ।

यसको सामाधान के हो त ?

जसको पायो त्यसको, नचिनेका, नजानेका मानिसहरूसँग मित्रता नगाँस्ने, स्टाटस लेख्दा विचार गरेर लेख्ने, कतिपय कुरा मनपर्‍यो भन्दैमा पोस्ट गरिनहाल्ने, लहडमा नलाग्ने । मैले गरेको कार्यले हाम्रो वैवाहिक जीवनमा कस्तो असर पार्ला ? परिणाम कस्तो आउला भन्ने कुरा सोच्नुपर्छ । त्यसका साथै हरेक नागरिक आफैं सचेत हुनुपर्छ । मिडिया, सरकारी तथा गैरसरकारी संस्थाहरूबाट पनि सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने, कसरी चलाउने भनेर जनचेतना जगाउनुपर्छ । जनचेतनामूलक कार्यक्रम चलाउनुपर्छ । विद्यालयमा बालबालिकालाई यसको फाइदा तथा बेफाइदाका बारेमा सिकाउनुपर्छ । परिवार आफै पनि सचेत रहुनपर्छ ।

 

 Image