‘रेड मुन’ मेरो आफ्नो अनुभूति हो 

सुजाता मुखिया

माघ २४, २०७६

प्रशस्ति अर्याल, उमेरले १७ वर्षकी भइन् । यही उमेरमा उनले पुस्तक लेखेकी छन्, ‘रेड मुन’ । पुस्तक र उनको उमेरबीच खास तालमेल छ । किनभने पुस्तकमा उनले किशोरवयकै अनुभूति समेटेका छिन् । 

पुस्तकमा कविता र लेख संग्रहित छन् । प्रशस्ति भन्छिन्, ‘खासमा पुस्तकका लागि लेखेको होइन । तर, लेख्दै जाँदा पुस्तककै लागि पुग्ने लेख–रचना तयार भएछन् ।’ उनी मनमा लागेका केही न केही लेख्थिन् । तर, लेखेर गुपचुप राख्ने गर्थिन् । अहिले पुस्तकको रूप दिइसकेपछि भने उनको अनुभूतिहरू सबैका लागि खुला भएको छ । 

अंग्रेजी भाषामा लेखिएको यो पुस्तक कविता–संग्रह हो । लाजिम्पाटस्थित केन्द्रीय विद्यालयको विज्ञान संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत छिन् । यो उनको पहिलो कृति हो । सानैदेखि लेखनमा रुचि राख्ने प्रशस्ति एकैसाथ दुई उपन्यास पनि लेख्दै छिन् । 

यति सानै उमेरमा पुस्तक लेख्ने जाँगर कसरी चल्यो ?

सानैदेखि मलाई लेखनमा रुचि थियो । पुस्तक नै लेख्छु भनेर लेख्न थालेको होइन । म आफ्नो अनुभूति डायरीमा लेख्थें । केही बिर्सनु छ भने म त्यो कुरा लेख्थें । लेख्दै जाँदा धेरै भएछ, त्यसपछि पुस्तक नै निकाल्न मिल्छ जस्तो लाग्यो । घरमा पापाले पढ्न पुस्तकहरू ल्याउनुहुन्थ्यो । उहाँहरूले पढेको देखेर ममा पनि पुस्तक पढ्ने बानी बस्यो । पुस्तक पढेपछि म समीक्षा गर्थें, जसले ममा लेख्ने बानी बस्यो । 

लेखनका लागि अरूले प्रेरित गरेको हो कि आफैं लेख्न थालेको हो ?

खासमा म आफ्नो लागि लेख्थें । कथा, कविता जे मन लाग्छ डायरीमा लेख्थें । मैले लेखेको कुरा म मेरो अभिभावकलाई देखाउँदिनथें । त्यसैले मैले के लेख्दै छु भन्ने कुरा घरमा थाहा थिएन । पछि लेख्दालेख्दै धेरै भएछ । पुस्तक नै निकाल्न मिल्छ जस्तो लागेर पापा ममीलाई भने त्यसपछि खुसी हुँदै उहाँहरूले प्रोत्साहन गर्नुभयो । धेरै सपोर्ट गर्नुभयो । 

कहिलेदेखि लेख्न थालेको ?

सानैदेखि लेख्न थालेको हो । विद्यालय पढ्दादेखि नै डायरी लेख्थें । 

कस्तो विषयमा लेख्न मन लाग्छ ?

फिक्सन । रहस्यमयी किसिमको पुस्तक लेख्न मन लाग्छ । साथै मैले लेखेको कुरा पढेर सकारात्मक सन्देश पनि मिलोस् भन्ने लाग्छ । 

अहिलेको पुस्तक ‘रेड मुन’का अर्थ के हो ?

म प्राय: राति लेख्छु । मेरो कोठाबाट जून देखिन्छ । लेख्दा म झ्यालबाट जून हेर्थें । राति म जून रातो रंगको जस्तो देख्थें । त्यसैले पुस्तकको नाम ‘रेड मुन’ राखें । निकै युनिक लाग्यो । 

यसमा के–कस्ता सामग्री पढ्न पाइन्छ ?

यो पुस्तक विशेष गरी किशोरावस्थालाई लक्षित गरी लेखिएको पुस्तक हो । किशोरावस्थामा हुने एक्लोपन, शारीरिक परिवर्तन र भावनालाई मैले उतार्ने कोसिस गरेको छु । 

आफ्नो टिनएजलाई कसरी अनुभूत गर्नुहुन्छ ?

एकदमै कन्फुजिङ । के गर्ने ? कसरी गर्ने ? म को हो भन्ने समेत थाहा नहुने । सही र गलत छुट्याउन गाह्रो हुन्छ । कुनै कुराको डिसिजन लिन नसकिने ।

कस्तो लाग्छ ? 

एकदमै लस्ट फिल हुन्छ । जेनेरेसन ग्यापका कारणले अभिभावकले मैले भनेको कुरा नबुझेजस्तो लाग्ने उहाँहरूलाई मैले ! अभिभावकहरूसँग केही कुरा नै नमिल्ने । हरेक कुरा सेयर गर्न पनि नसकिने । 

यो अवस्थामा मनमा के कुरा खेल्छ ?

सबै खालको कुरा खेल्छ । करियरका बारेमा बढी सोचिन्छ । हरेक कुरालाई फरक तरिकाले मूल्याङ्कन गरिन्छ । भविष्यमा के गर्ने कसरी गर्ने भन्ने सोच आउँछ । 

यो पुस्तक लेख्नुअघि टिनएजरका बारेमा केही अध्ययन गर्नुभयो ?

यो मेरो आफ्नो अनुभूति हो । मलाई जे लाग्छ त्यही लेखें । म जस्तो फिल गर्छु त्यही लेखेको छु । सायद सबै टिनएजरहरूले मैले जस्तै अनुभूत गर्नुहुन्छ होला । 

टिनएजर्स के कुरामा दु:खी छन् ? 

कसैले सानो कुरा भने पनि दिमागमा बसिरहन्छ । सानो कुरालाई पनि ठूलो इस्यू बनाइन्छ । पछि त्यही आदत बन्न थाल्छ । अभिभावकले कुरा नबुझेजस्तो, सपोर्ट नगरेको जस्तो लाग्छ । उहाँहरूको निर्णयमा हिँड्न परेजस्तो लाग्छ । 

टिनएजर्सको समस्यालाई अभिभावकले बुझेजस्तो लाग्छ कि लाग्दैन ?

धेरैमा जेनेरेसन ग्यापले गर्दा यस्तो समस्या टिनएजर्सहरूले भोग्नुपरेको हुन्छ । अभिभावकले कुरा नबुझेजस्तो लाग्छ । म पनि पहिला अभिभावकलाई केही सेयर गर्दिनथें तर पछि बिस्तारै बुझ्दै गएँ । कुरा सेयर गर्न थालें । त्यसपछि उहाँहरूले हरेक कुरामा सपोर्ट गर्नुभयो । 

टिनएजमा हुने शारीरिक र मानसिक परिवर्तनलाई कसरी लिने गरिएको होला ?

यो बेला एकदमै कन्फ्युज्ड फिल हुन्छ । भित्रभित्रै उथुलपुथल भइरहेको हुन्छ । यस्तोमा आफूलाई के भइरहेको छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । अभिभावकलाई सेयर गर्नुपर्छ । आत्मजागरूकता जरुरी हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>