Successfully Copied

फैलँदो बजार 

पर्यटकीय स्थानहरू ठमेल वसन्तपुर एरियामा मात्र पाइने हस्तकलाका सामान अहिले कुपन्डोलमा समेत उपलब्ध हुन थालेका छन् ।

पर्यटकीय स्थानहरू ठमेल वसन्तपुर एरियामा मात्र पाइने हस्तकलाका सामान अहिले कुपन्डोलमा समेत उपलब्ध हुन थालेका छन् ।

 

राजधानीका सीमित बजार न्यूरोड, असन, दरबारमार्ग र ठमेल अहिले क्रमश: बिस्तार हुँदै गएका छन् । राजधानीका चोकहरू व्यापारिक केन्द्र बन्दै गएका छन् । सपिङ मलदेखि फुटपाथसम्म ग्राहकहरूको चाप बढ्दै गएको छ । यसले मानिसहरूलाई आवश्यक सामान किन्न सहज र सरल बनाइदिएको छ । हरेक क्षेत्रमा अहिले भाटभटेनी लोकप्रिय र किनमेलको मुख्य केन्द्र बनेको छ । अहिले बजारीकरण भएका एरियामा चाबहिल, बौद्ध, कुमारीपाटी, लाजिम्पाट, बानेश्वर, कुपन्डोल आदि प्रमुख छन् । त्यस्तै मलहरूमा सिभिल मल, सिटीसी मल, सिटी सेन्टर, लबिम मल, काठमाडौं मल, शेर्पा मलहरू छन् ।

चाबहिल–बौद्ध

पछिल्लो समय व्यापक रूपमा बजार बिस्तार भएको क्षेत्र हो चाबहिल–बौद्ध । काठमाडौंको मुख्य केन्द्र मानिने यो क्षेत्रमा मानिसहरूको बसाइको चाप बढेसँगै बजार एरिया पनि बढ्दै गएको छ । बाहिरबाट काठमाडौं आएर बस्ने मानिसहरूको संख्या बढ्दै गएपछि बजार एरिया पनि फैलदै गएको स्थानीय बासिन्दा हरिमान श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार यो क्षेत्रमा अहिले हरेक प्रकारका सामान पाइन्छन् । श्रेष्ठ भन्छन्–‘पसलदेखि लिएर फुटपाथमा सामान किन्ने मानिसहरूको चाप बढिरहेको छ ।’ राजधानीमा बसोबासका लागि आएका मानिसहरूले आफ्नो जीविकोपार्जनका लागि पसल थाप्ने क्रम पनि बढ्दै गएको श्रेष्ठ बताउँछन् । यो क्षेत्रमा अलिकति खाली एरिया त देख्नै हुन्न जस्तो हुन्छ, मानिसहरूले व्यापार थालिहाल्छन् । यो क्षेत्रमा रातोपुल, गौशाला, जोरपाटीदेखिका ग्राहक आउने व्यापारीहरू बताउँछन् । चाबहिल क्षेत्रमा किराना पसल, कपडा पसल, गहना पसलदेखि रेस्टुराँसम्म बिस्तार भएको देख्न सकिन्छ । 

बौद्ध पर्यटकीय क्षेत्र भएकैले पनि चाबहिल बौद्ध क्षेत्रमा बजार बढ्दै गएको बौद्धस्थित थाङ्का व्यापारी पेमा शेर्पाले बताइन् । शेर्पाले यही एरियामा दस वर्षदेखि थाङ्काको व्यापार गर्दै आएकी छिन् । स्तूपाको छेउछाउ भने पर्यटकलाई लक्षित गर्दै नेपाली उत्पादनहरू राखिएका छन् । 

बानेश्वर–मैतिदेवी

बानेश्वर निवासी ५० वर्षीया हरिकला श्रेष्ठ करिब दुई दशकअघि आफूलाई आवश्यक पर्ने सामग्री किन्न न्यूरोड पुग्थिन् । लत्ता–कपडादेखि लिएर खाद्यान्नका सामानसमेत उनी न्यूरोडबाटै किनेर ल्याउँथिन् । उनको एरियामा फाट्टफुट्ट पसल त थिए तर उनले खोजेजस्ता सामानका लागि भने ठूलो बजार नै पुग्नुपथ्र्याे । अहिले समय निकै परिवर्तन भएको र आफ्नो घर–आँगनमै बजार बिस्तार भएको देखेर अचम्मित श्रेष्ठ भन्छिन्–‘अहिले यो एरियामा जस्तो सामान चाहियो त्यस्तै सामान पाइन्छ ।’ 

अहिले नयाँबानेश्वरदेखि पुरानो बानेश्वर हुँदै मैतिदेवीसम्म बजार बिस्तार हुँदै गएको बानेश्वरस्थित जिन्स तथा फेन्सी पसलका प्रमुख रामेश्वर खनाल बताउँछन् । खनालका अनुसार यो एरियामा कपडा, जुत्ता, गहना आदि हरेक सामान उपलब्ध हुन्छन् । उनी भन्छन्–‘नयाँबानेश्वरबाट पुरानो बानेश्वरसम्म पुग्दा हरेक सामान खरिद गर्न सकिन्छ ।’ यो एरियामा अनामनगर, बुद्धनगर, शंखमूलदेखि शान्तिनगर क्षेत्रका ग्राहक बढी आउने गरेको उनी बताउँछन् । बानेश्वरमा पसलको संख्या दिनप्रतिदिन बढ्दै गएको देख्न सकिन्छ । दिउँसो मात्र होइन साँझ परेपछि फुटपाथमा पनि त्यत्तिकै भीड लाग्छ । मानिसहरूले आफ्नो क्षमता र आवश्यकताअनुसार सामान खरिद गर्छन् । साँझपख किनमेल गरिरहेकी बुद्धनगरकी सरिता ज्ञवालीले आफू सामान किन्न बानेश्वर आउने गरेको बताइन् । मलाई यो अन्य एरियाको तुलनामा सस्तो लाग्छ । ज्ञवालीले भनिन्–सामान आफ्नै एरियामा पाइन थालेपछि सहज हुनुका साथै समयको बचतसमेत हुन थालेको छ । 

कुपन्डोल 

ललितपुरको कुपन्डोल बजार बुटिक बजारका रूपमा विकास हुँदै गएको छ । बुटिक एरिया भनेर चिनिए पनि अहिले कुपन्डोलमा हस्तकलाका सामानहरू पनि प्रशस्तै पाइन्छन् । पर्यटकीय स्थानहरू ठमेलका वसन्तपुर एरियामा मात्र पाइने हस्तकलाका सामान अहिले कुपन्डोलमा समेत उपलब्ध हुन थालेका छन् । स्थानीय महिलाहरूले उत्पादन गरेका सामग्रीहरूका साथै नेपाली मौलिकपन झल्काउने सामग्रीहरू कुपन्डोलमा प्रशस्त मात्रामा पाइन्छन् । बुटिकका कारण यो एरियामा हरेक क्षेत्रका मानिसहरूको आकर्षण बढ्दै गएको छ । स्वयम्भूकी सुनीता गैरे हरेक चाडपर्व आउँदा कुपन्डोल पुग्छिन् । 

लाजिम्पाट 

लाजिम्पाट भिआइपी एरियाका रूपमा चिनिन्छ । रेस्टुराँ एरियाका रूपमा समेत परिचित लाजिम्पाटमा हरेक प्रकारका सामानहरू उपलब्ध हुन्छन् । यो बुटिकदेखि लिएर किराना सामानसम्मको बजार भएको छ । पर्यटकीय क्षेत्रका रूपमा उदाइरहेको यो क्षेत्रमा रेस्टुराँ नै बढी छन् । यो क्षेत्रमा विदेशीहरू आउने भएकाले पनि मानिसहरू रेस्टुराँप्रति आकर्षित हुँदै गएको लाजिम्पाटस्थित वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्रकुमार केसी बताउँछन् । यहाँ पर्यटकहरूलाई आकर्षण गर्ने पस्मिनाका सामानहरू पनि पाइन्छन् । उनको अनुभवमा पर्यटकहरूले विशेषगरी पेन्टिङमा उतारेका नेपालीका सम्पदाहरू मन पराउँछन् । लाजिम्पाटको अर्को आकर्षक वस्तु बुद्धको स्केच पनि हो ।

 

 Image