प्रदूषित वायुको असर,  गृहिणीदेखि गर्भवतीसम्म

सुजाता मुखिया

पुस २१, २०७६

प्रदूषित वायुको असर गृहिणीदेखि गर्भवतीसम्मले झेलिरहेका छन् । धेरैजसो समय भान्सामा गुजार्ने गृहिणीहरू घरभित्र नै शुद्ध वायुको सम्पर्कमा हुँदैनन् भने घरबाहिर पनि प्रदूषित वातावरणमा बस्नुपर्ने हुन्छ । 

 

केही समयअघि बलिउड अभिनेत्री जुही चावला काठमाडौं भ्रमणमा आएका बेला पशुपतिनाथ परिसरमा माक्स लगाएर खिचिएको एउटा तस्बिरसँगै लेखिएको क्याप्सनले नेपाली समाजमा आक्रोस पैदा गरेको थियो । जुही चावलाले उक्त तस्बिरसँगै लेखेकी थिइन्–‘काठमाडौंमा सास फेर्न नसकिने रहेछ । धूलो र पेट्रोलको गन्धले उकुसमुकुस बनाउँछ ।’

बलिउड अभिनेत्रीले काठमाडौंको बदनाम गरेको भन्दै सामाजिक सञ्जालमा उनीमाथि आक्रोस पोखियो । यद्यपि उनले जुन नियतले उक्त क्याप्सन र तस्बिर राखे पनि त्यो यथार्थ थियो । 

हालसालै सार्वजनिक गरिएको ‘आइक्यु एयर भिजुअल’ शीर्षकको अन्तर्राष्ट्रिय प्रतिवेदनले काठमाडौंलाई विश्वकै प्रदूषित सहरको सातांै नम्बरमा सूचीकृत गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तीन वर्षअघि गरेको एक अध्ययनअनुसार नेपालमा वायुप्रदूषणबाट बर्सेनि ९ हजार बढीको ज्यान जाने गरेको छ । नेपालमा वायुप्रदूषणबाट मात्रै प्रतिवर्ष ३५ हजार मानिस मर्छन् । यो स्वास्थ्यका लागि दोस्रो जोखिम गराउने कारक हो ।

‘डब्ल्यूएचओका अनुसार पार्टिकुलेट म्याटर (पीएम) २.५ को धूलाका कणहरू ४० माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुनु हानिकारक हुन्छ’ वातावरण स्वास्थ्य विज्ञ यादवप्रसाद जोशीले नारीसँग भने–‘डब्ल्यूएचओको मापदण्डअनुसार काठमाडौंमा १० माइक्रोग्राम प्रतिघनमिटरको अवस्थालाई सामान्य मानिन्छ । तर काठमाडौंको रत्नपार्कको हावामा पीएम २.५ को धूलोका कण ६७ माइक्रोग्राम प्रतिघनमिटरसम्म मापन भएको छ ।’ पीएम २.५ का धूलोका कण सजिलै स्वासप्रश्वासको माध्यमबाट फोक्सो र मुटु हुँदै मस्तिष्कसम्म पुग्ने उनको भनाइ छ ।

विज्ञहरूले भनिरहेका छन्–काठमाडौंको वायुमा त्यस्तो हानिकारक तत्व मिसिएको छ, जो फोक्सोदेखि मुटु हुँदै मस्तिष्कसम्म पुग्छ । धूवाँ र धूलोको अति सूक्ष्म कण मिसिएको यो दूषित वायुमा सास फेर्दा दम र खोकीले मात्र सताउने होइन, ह्दय रोग र क्यान्सरको जोखिमसमेत बढाइदिएको भन्दै सतर्क गराएका छन् । 

प्रदूषित वायुबाट अधिकांश महिला प्रभावित छन् । यसको असर गृहिणीदेखि गर्भवतीसम्मले झेलिरहेका छन् । धेरैजसो समय भान्सामा गुजार्ने गृहिणीहरू घरभित्र नै शुद्ध वायुको सम्पर्कमा हुँदैनन् भने घरबाहिर पनि प्रदूषित वातावरणमा बस्नुपर्ने हुन्छ । 

दूषित वायुमा उकुसमुकुस 

मानव स्वास्थ्यका लागि ताजा एवं पोषिलो खानेकुरा र पानी जति आवश्यक हुन्छ उति नै शुद्ध एवं स्वच्छ वायु आवश्यक पर्छ । वातावरण स्वास्थ्यविज्ञ यादवप्रसाद जोशी भन्छन्–‘२१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र १ प्रतिशत अन्य ग्यास भएको हावालाई स्वच्छ हावा मानिन्छ ।’

तर काठमाडौंलगायत सहरी क्षेत्रको वायुमा यस्तो शुद्धता पाइँदैन । खासगरी भौतिक निर्माण, कलकारखाना, सवारी साधन आदिबाट निस्कने धूलो र धूवाँले वायुमण्डललाई दूषित बनाइदिएको छ । 

त्यसो त भान्सामा समय गुजार्ने गृहिणीहरू यसै पनि स्वच्छ वायुबाट वञ्चित छन् । खानेकुरा पकाउँदा निस्कने ग्यासको सोझो असर उनीहरूलाई परिरहेको हुन्छ । तेल खारिँदा निस्कने धूवाँले महिलालाई असर गरिरहेको हुन्छ । भान्सामा वायु प्रदूषणलाई बढावा दिने तत्व हुन्छ । ग्रामीण भेगमा दाउरा बालेर खानेकुरा पकाइन्छ । दाउरा बाल्दा निस्कने धूवाँले पनि उनीहरूको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । 

अर्कातिर प्रदूषित वायुले तुलनात्मक रूपमा महिलाको स्वास्थ्यमा बढी क्षति पुर्‍याउँछ । गर्भको शिशु तुहाउनेदेखि बाँझोपनसम्म, महिनावारी गडबडीदेखि डिप्रेसनसम्मको समस्या ल्याउनमा दूषित वायु कारण बन्ने गरेको छ । 

प्रदूषणले कसरी स्वास्थ्यमा हानी गर्छ ? 

वायुप्रदूषणको प्रभाव हाम्रो शरीरको प्रत्येक अंग र तिनीहरूको कार्यप्रणालीमा पर्छ । श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुसम्बन्धी समस्या, आँखाको समस्या, छालाको रोग, न्युरोसाइकियाट्रिक जटिलता, क्यान्सरजस्ता भयानक रोगको कारक तत्व प्रदूषण भएको पुष्टि भैसकेको छ । प्रदूषित क्षेत्रमा बसोबास गर्ने मानिसलाई क्यान्सरको खतरा हुन्छ । रोग प्रतिरोधी प्रणाली, इन्डोक्राइन र प्रजनन प्रणालीलाई समेत असर गर्छ । 

वायुप्रदूषण हरेक वर्ष विश्वमा हुने लाखौं मानिसको मृत्युसँग प्रत्यक्ष जोडिएको छ । दम, फोक्सोको क्यान्सर, भेन्ट्रिकुलर हाइपरट्राफी, अल्जाइमर र पार्किन्सन रोग, मनोवैज्ञानिक जटिलता, अटिज्म, रेटिनोपेथी, भ्रूणको वृद्धि आदि समस्या वायु प्रदूषणले गर्दा हुन्छ । 

गर्भ तुहिने वा मृत शिशुको जन्म

वायुप्रदूषणले गर्भस्थ शिशुलाई समेत जोखिममा पार्ने बताइन्छ । त्यसैले गर्भवती महिलाले विशेष सावधानी अपनाउनुपर्छ । बीबीसीको एक रिपोर्टमा वायुप्रदूषणले गर्भस्थ शिशुलाई समेत असर गरिरहेको र वायुप्रदूषणले प्रजनन स्वास्थ्यमा असर गर्ने भएकाले गर्भपतन हुन सक्ने खतरा उत्तिकै भएको बताएको छ । वायुप्रदूषण २.५ पिएम, १० पिएम, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, ओजोन र सल्फर डाइअक्साइडको मात्रा धेरै हुन्छ, जसले गर्भपात हुन सक्ने खतरा बढ्छ ।

प्रदूषित वातावरणमा बसोबास गर्ने महिलाहरूले मृतशिशु जन्माउने सम्भावना पनि उत्तिकै रहन्छ । त्यति मात्र नभएर शिशु कम तौलको जन्मने, समयअघि नै जन्मने, शिशुमा जन्मजात विकृतिहरू हुन सक्ने खतरा पनि अधिक हुन्छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार सन् २०१६ मा पाँच वर्षभन्दा कम उमेरका १ लाख बढी शिशुको वायुप्रदूषणकै कारण मृत्यु भएको थियो । प्रदूषणकै कारण समयमा प्रसूति नहुने, जन्मदेखि नै शारीरिक वा मानसिक दोष, कम तौल र मृत्युसम्म हुने गरेको छ । 

मधुमेह र हार्मोन असन्तुलन

सवारीसाधनबाट निस्कने धूवाँ, नाइट्रोजन डाइअक्साइड, चुरोटबाट निस्केको धूवाँ, पीएम २.५ आदि इन्सुलिन रेसिस्टेन्स र टाइप–२ मधुमेहको प्रमुख कारण हो । इन्सुलिन रेसिस्टेन्सको कारण पोलिस्टिक ओभेरियन सिन्ड्रोम (पीसीओएस) र मेटाबोलिक सिन्ड्रोम हुने खतरा बढ्छ । इन्सुलिन हार्मोनको असन्तुलनको प्रभाव सेक्स हार्मोन एस्ट्रोजन, प्रोजेस्ट्रोन र टेस्टोस्टेरोनको स्तरमा पर्न सक्छ । प्रदूषणले थाइराइड गन्थ्रिबाट निस्कने हार्मोनहरूलाई समेत प्रभावित गर्छ । जसको कारण महिलाहरूको प्रजनन क्षमता प्रभावित हुन्छ र बाँझोपनको खतरा बढ्छ । 

डिप्रेसन

वायुप्रदूषणले डिप्रेसनको समस्या समेत देखिन्छ । प्रदूषणले मानसिक रोग निम्त्याउन सक्छ । प्रदूषणकै कारण धेरै रिस उठ्ने समस्या पनि हुन्छ । शिशुहरू विद्यालय जान नमान्ने, रिसाउने, झर्को मान्ने, झगडा गर्ने तथा जिद्दी गर्ने हुन्छन् । 

अब के गर्ने त ? 

    वायु शुद्ध गर्न रुख रोप्ने, फूल रोप्ने, बगैंचा बनाउने, पीपल, तुलसीजस्ता वनस्पति रोप्ने ।

    घर वरिपरि खाली ठाउँमा बोटबिरुवा रोप्नुपर्छ । 

    कोठामा इन्डोर प्लान्टहरू रोप्नुपर्छ । इन्डोर प्लान्टहरूले प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्छन् ।

    वायुप्रदूषणको प्रभावबाट जोगिन नागरिक आफै सचेत हुनुपर्छ । 

वायुको शुद्धता कसरी मापन गरिन्छ ? 

मानव स्वास्थ्यलाई प्रभाव पार्ने हावामा पाइने धूलोको कणलाई पार्टिकुलेटम्याटर (पीएम) भनिन्छ । पीएमलाई माइक्रोन इकाइमा नापिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले उक्त पीएलाई १ भन्दा सानो, २.५ र १० गरी तीन भागमा विभाजन गरेको छ । वातावरणमा पीएम २.५ र पीएम १० को २४ घन्टाको अधिकतम औसत मात्रा क्रमश: २५ र ५० माइक्रोग्रामप्रति घनमिटर हुनुपर्छ । त्यसभन्दा बढी हुनु मानव स्वास्थ्यका लागि खतरनाक हुन्छ ।

काठमाडौंको रत्नपार्कको हावामा पीएम २.५ को धूलोका कण ६० माइक्रोग्राम प्रतिघनमिटर नाघेको छ । यो क्रम अझ बढ्ने क्रममा छ । अघिल्लो साल पीएम २.५, १४५.४७ माइक्रोग्राम प्रतिघनमिटरसम्म रेकर्ड भएको थियो । यो डब्ल्यूएचओले तोकेको मापदण्डभन्दा ६ गुणा बढी हो । पीएम १० पनि हानिकारक धूलोको कण हो । यसको आकार पीएम २.५ भन्दा चार गुणा ठूलो हुन्छ । पीएम २.५ फोक्सोसम्म पुगेर मुटुलाई असर गर्छ भने पीएम १० ले नाक, कान र घाँटीलाई असर गर्छ । यसको आकार ठूलो भएकाले भित्र पस्दैन । 

वायुप्रदूषणको कारण 

विश्व स्वास्थ्य संगठनका अनुसार ६ वटा प्रमुख वायुप्रदूषण गराउने कण प्रदूषण, भू–स्तर ओजन, कार्बन मोनोअक्साइड, सल्फर अक्साइड, नाइट्रोजन अक्साइड र सिसा हुन् । वायुप्रदूषणको स्रोत धेरै छ । नेपालमा भने सवारीसाधन, भौतिक निर्माण र औद्योगिक क्षेत्र प्रमुख कारक तत्व हुन् । खुल्ला ठाउँमा जलाउने फोहोरको कारण पनि वायु प्रदूषित हुन्छ । नदी किनारमा फालिने फोहोर, सार्वजनिक ठाउँमा अलपत्र र अव्यवस्थित तरिकाले राखिएको सामानहरूले पनि वायु प्रदूषण बढाइरहेको छ । 

७२ सालको भुकम्प पछि प्रभावित जिल्लाहरूमा पून: निर्माणको काम भइरहेको हुनाले पनि वायु प्रदूषणले तिव्रता पाएको वातावरण मन्त्रालयको वरिष्ठ वैज्ञानिक अधिकृत मधु घिमिरे वताउँछिन । काठमाडौंको सडकमा वातावरण विभागले ०७३/०७४ मा गरेको अध्ययनले वायुप्रदूषण गराउने मुख्य कारण सडकलगायतका भौतिक पूर्वाधार देखाएको थियो । 

वायुप्रदूषणका बारेमा तथ्य

    विश्व स्वास्थ्य संगठनले सन् २०१६ मा गरेको एक अध्ययनअनुसार नेपालमा हरेक वर्ष ९ हजार ९ सय ४३ जनाले वायुप्रदूषणका कारण ज्यान गुमाउने गरेका छन् ।

    नेपालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वार्षिक २ खर्ब ८० अर्ब रुपैंयाँको क्षति प्रदूषणकै कारण हुने गरेको विश्व बैंकलगायतको प्रतिवेदनमा उल्लेख छ ।

    विश्वमा हरेक वर्ष ६० लाख मानिसको मृत्यु वायुप्रदूषणकै कारण हुने गरेको छ । 

    उत्तरी छिमेकी चीनमा बर्सेनि १४ लाखको ज्यान वायुप्रदूषणकै कारण जाने गरेको छ । दक्षिणी छिमेकी भारतमा वायुप्रदूषणले ७ लाखको मृत्यु हुने तथ्यांक छ । 

    पछिल्लो ग्लोबल इन्भाइरोमेन्ट परफर्मेन्स इन्डेक्स (इपीआई) अनुसार नेपालको वायु संसारको सबैभन्दा प्रदूषित रहेको जनाएको छ । २४ वटा इन्डिकेटर तथा वातावरणीय स्वास्थ्यका आधारमा गरिएको तालिकामा नेपाल १८० आंै स्थान अर्थात् सबैभन्दा तल रहेको छ । 

    घरबाहिर हुने वायुप्रदूषणबाट मात्रै वार्षिक ४० लाखभन्दा धेरैको मृत्यु हुने गरेको छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>