थुप्रै सन्तानकी आमा–मीना

सरोज बस्नेत

पुस ३, २०७६

मीना बरालका ४६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् । 

२०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मीनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्रो काममा साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो । मीनाले उर्लाबारी–७ मा बालगृह संचालन गरेको १८ वर्ष पूरा भयो । २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी मीनाको वैवाहिक जीवन सफल भएन ।

 उनले नयाँ घरमा लामो समय संघर्ष गरिन् । श्रीमान्ले अर्की श्रीमती ल्याएपछि उनी त्यो घर छाडेर समाजसेवामा लाग्ने निर्णयमा पुगिन् । आफूले सानैमा भोगेको जस्तो पीडा अनाथ बालबालिकाहरूले भोग्नु नपरोस् भनेर उनले मोरङको उर्लाबारीमा २०५७ सालमा असहाय, वृद्ध एवं अनाथ आश्रम खोलेकी हुन् । उनको यो अभियानमा अन्य महिलाहरूले पनि साथ दिए । मीनाकै योजनामा संचालनमा ल्याइएको नमूना बालगृह प्रदेश नम्बर १ कै उत्कृष्ट बालगृहका रूपमा परिचित छ । मीनाले गृहमै बसेर ४६ जना बालबालिकाको संरक्षण गरेकी छिन् । मीनालाई ती बालबालिकाले ‘ममी’ भनेर सम्बोधन गर्छन् । मीना काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन् । बराल भन्छिन्–‘सुरुमा विरोध गर्नेहरू पनि अहिले मलाई सहयोग गरिरहेका छन् ।’ 

वैवाहिक जीवन असफल भएपछि थुप्रै सन्तानकी आमा बन्ने चाहना राखेकी मीना अहिले उदाहरणीय महिलामा गनिएकी छिन् । सुरुमा उर्लाबारी–६ स्थित राधिका माविले आश्रमका लागि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो भने स्थानीय समाजसेवी सर्वलाल धिमालले पनि २ कट्ठा जग्गा प्रदान गरेका थिए । त्यसैगरी पूर्वमेजर हर्कबहादुर राई, हेमराज न्यौपाने, कालिमाया श्रेष्ठ, शोभित निरौला, अनन्त बराल, खड्गकुमारी ढुंगाना आदिले १४ कट्ठा जग्गा दिए । हाल यो बालगृहमा १ बिघा क्षेत्रफलमा फैलिएको छ । बालगृहमा ९ कोठाको दुई तले भवन, ४ कोठाको पक्की दुई तले भवन, २ कोठाको व्यवस्थित भान्सा घर, जस्ताको छानो भएको पक्की गाईगोठ छ भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा भारतीय दूतावासले एम्बुलेन्स प्रदान गरेको थियो । उक्त एम्बुलेन्स हाल पनि संचालनमा छ । 

२०५८ सालमा आश्रम संचालक समितिले श्रीमद्भागवत पुराणको आयोजना गरी एक कोठाको भौतिक संरचना निर्माण गर्‍यो । त्यसपछि सहयोगी ९ परिवारले एक–एक वटा कोठा बनाइदिए । त्यसैगरी उर्लाबारी–४ का खगेन्द्र राई र श्याम राईको सक्रियतामा ८ जनाको संयुक्त लगानीमा दुई कोठे भवन निर्माण गरिएको थियो । २०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मीनाले ७ जना असहाय बालबालिका तथा दुई जना वृद्धवृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण गर्न थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका एवं वृद्धवृद्धाहरूलाई राख्न थालियो । 

त्यसपछि असहाय बालबालिका एवं वृद्धवृद्धा थपिन थाले । हाल मेचीदेखि महाकालीसम्मका २२ जिल्लाका ४६ जना बालबालिका बालगृहमा छन् । मीनाले थालेको यो अभियानमा स्थानीय महिला नेतृहरू भागीरथा अधिकारी, सीतादेवी निरौला, अतिहीरा राई, हीरादेवी राई, चन्द्रकला गौतम, सुशीला थापा, कविता थापा, देवका खनाल, मीनादेवी कार्की, लक्ष्मीदेवी सुब्बा तथा रामप्यारी तामाङले सुरुवाती चरणमा साथ दिएका थिए । महिलाहरूले मात्र सुरुवात गरेको आश्रमबाट वृद्धवृद्धाहरूको उचित व्यवस्थापनसँगै नमूना बालगृहको अवधारणामा कार्य संचालन गरियो । महिलाहरूको अगुवाइमा थालिएको यो सामाजिक अभियानमा २०६५ सालदेखि पुरुषहरू पनि सहभागी हुँदै आएका छन् । यो बालगृहको संचालक समितिमा महिलाको ६० प्रतिशत तथा पुरुषको ४० प्रतिशत प्रतिनिधित्व छ ।

बालगृहको अध्यक्षमा स्वयं मीना छिन् भने उपाध्यक्षमा भागीरथा अधिकारी छिन् । यही गृहकी एक बालिकाको नामबाट यो आश्रमको नाम नमूना बालगृह राखिएको हो । बालगृह संचालन गर्न वार्षिक १८ लाख रुपैयाँ खर्च हुन्छ । खानपान, स्वास्थ्योपचार, शिक्षा, शैक्षिक सामग्री, लत्ताकपडा आदिमा मासिक १ लाख ५० हजारभन्दा बढी खर्च हुन्छ । यहाँको खर्च सहयोगी, दाता तथा ऋणकै भरमा चलिरहेको छ । संस्थापक अध्यक्ष मीनाले गृहलाई आफ्नो सम्पत्ति बिक्री गरेर प्राप्त भएको ७० लाख रुपैंयाँ प्रदान गरेकी छिन् । अध्यक्ष मीनाले प्रदान गरेको र गृहको अक्षयकोषमा रहेको रकमले ऊर्लाबारी–७ को वैशाबारीमा १ बिघा ५ कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमूना कृषि फार्म दर्ता गरी संचालन गर्ने प्रक्रिया अघि बढाइएको छ । बालगृहमा रहेका दुई जना बालिका कक्षा ११ मा कृषि विषय लिएर अध्ययन गरिरहेका छन् ।

 त्यसैगरी ५ जनाले उच्च शिक्षा लिइरहेका छन् भने ८ जना स्थानीय निजी विद्यालयमा अध्ययनरत छन् । उर्लाबारी–८ को लक्ष्मी माविमा १२ जना अध्ययनरत छन् भने २ कक्षासम्मका १९ जना बालबालिका सोही गृहमा रहेको नमूना सदनमा पढ्छन् । उनीहरूमध्ये कतिपयको शुल्क विद्यालयले छुट दिएको छ भने कतिपयको बालगृहले नै व्यहोर्ने गरेको छ । बालगृहभित्र चल्ने गरी दर्ता भएको नमूना शिक्षा सदन पनि पाँच वर्षदेखि संचालनमा छ । बालगृहमा रहेको नमूना बाल केन्द्रमा एक जना सहयोगी शिक्षिकालाई मासिक ३ हजारबाहेक राज्यबाट कुनै सहयोग प्राप्त नभएको गृहकी सह–सचिव सुशीला थापा बताउँछिन् । स्थानीय गरिब, विपन्न एवं गृहका १९ जना गरी ३६ जना बालबालिका नमूना शिक्षा सदनमा दुई कक्षासम्म अध्ययन गर्ने उनले जानकारी दिइन् । बालगृहको उक्त विद्यालयमा आवश्यकताअनुसार शिक्षकको व्यवस्था नहुँदा पठनपाठनमा समस्या छ । देश–विदेशमा रहेका सहयोगीहरूका भरमा चलेको बालगृहमा सरकारी सहयोग पुग्न सकेको छैन ।

बालगृह संचालक समितिले स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारसम्म बालगृहका बारेमा जानकारीसहित सहयोगका लागि पटक–पटक अनुरोध गर्दै आएको छ । प्रतिनिधिसभाकी उप–सभामुख शिवमाया तुम्बाहाम्फे, मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद घनश्याम खतिवडा, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) आदिले बालगृहको निरीक्षण गरी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे पनि हालसम्म कुनै सहयोग प्राप्त भएको छैन । १६ वर्षदेखि २१ वर्षसम्मका वयस्कसमेत बालगृहमा रहेका कारण महिला र पुरुषका लागि छुट्टाछुट्टै भवन आवश्यक भएको बालगृहका सदस्य प्रह्लाद थापाले बताए । 

आठ जनाले पाए नागरिकता

नमूना बालगृहमा आश्रित ८ जनाले अहिलेसम्म नागरिकता लिइसकेका छन् । उनीहरूको नागरिकता बालगृहले नै बनाइदिएको हो । यहाँ बस्ने बालबालिकाको जन्म दर्ता उर्लाबारी नगरपालिकाले गर्छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बालगृहले नागरिकता बनाइदिने गरेको अध्यक्ष मीनाले बताइन् । नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत बालगृहले नै गर्छ । बालगृहमा आश्रित ७ जनाले हाल अध्ययनसँगै रोजगारीसमेत पाएका छन् । त्यसैगरी रिता विक गृहबाटै विवाह गरी गृहस्थी जीवन बिताइरहेकी छिन् भने राम राउत बालगृहकै एम्बुलेन्स चलाउँछन् । राउतको बालगृहबाटै विवाह गराइदिने मीनाको योजना छ । 

 १ रुपैंयाँबाट १ करोड

नमूना बालगृहको दिगो आर्थिक स्रोत नहुँदा दाताकै भर पर्नुपर्ने अवस्था छ । त्यसलाई परिपूर्ति गर्न अहिले ‘१ रुपैंयाँबाट १ करोड’ भन्ने अभियान चलाइएको छ । ८ हजार ५ सय दाताबाट दैनिक १ रुपैंयाँको दरले पाँच वर्षसम्म सहयोग संकलन गर्दा डेढ करोड रुपैयाँ  जम्मा हुन्छ । त्यति रकम अक्षय कोषमा जम्मा गर्न सके संस्था संचालन गर्न त्यति समस्या हुँदैन । 

यी हुन्, बालगृहका सारथी

नमूना बालगृहकी अध्यक्ष मीनापछि बालबालिकाको संरक्षणमा खटिने अर्की महिला हुन्–सुशीला थापा । बालबालिकाले थापालाई ‘सुशीला ममी’ भनेर सम्बोधन गर्छन् । सुशीलाका श्रीमान् विमल थापा पनि बालगृहमै समर्पित छन् । थापा भन्छन्–‘यहाँका बालबालिकाहरू भविष्यमा असल नागरिक बनेर राष्ट्रको सेवा गरून् भन्ने हाम्रो चाहना छ ।’ सुशीला र विमलसँगै बालगृहका बालबालिकाहरूको संरक्षणमा तेजबहादुर घिमिरे (जीवन), प्रह्लाद थापा, खगेन्द्र गुरागार्इं, खगेन्द्र भण्डारी, माया शेर्पा, कला दाहाल आदि पनि समर्पित छन् । 

मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद कुलप्रसाद साम्बा (लिम्बू) भन्छन्–नमूना बालगृह प्रदेश नम्बर १ कै सम्पत्ति हो । बालगृहको संरक्षण, प्रगति एवं उन्नतिका लागि प्रदेश सरकारसँग कुरा गरिरहेको छु । सामान्यतया १–२ जना छोराछोरीको आधारभूत आवश्यकता पूरा गर्न कठिन हुने वर्तमान अवस्थामा मेचीदेखि महाकालीसम्मका ४६ जना अनाथ बालबालिकाको संरक्षण गरी पालनपोषण गर्नु चानचुने कुरा होइन । बालगृहका बालबालिकाको भविष्य निर्माण गर्न सबैको साथ र सहयोग आवश्यक छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>