महिलालाई विन्टर डिप्रेसन

  • डिप्रेसन

सुजाता मुखिया

मंसिर २६, २०७६ विभिन्न अध्ययनबाट देखिएको छ, जाडोमा हामी एक हिसाबले उदास बन्न पुग्छौं । यतिबेला चिन्ता तथा तनाव वृद्धि हुन्छ । त्यसैले यतिबेला हामीलाई थाहै नपाई डिप्रेसनले गाँज्छ । यसलाई ‘सिजनल इन्फेक्टिभ डिसअर्ड’ भनिन्छ । यसको असर जाडोमा मात्र हुन्छ । यस्तो डिप्रेसनबाट धेरैजसो महिलाहरू नै पीडित हुन्छन् । सिजनल डिप्रेसन हुने ५ जनामध्ये ४ जना महिला हुन्छन् । 

मनोपरामर्शदाता गंगा पाठक भन्छिन्–‘जाडो महिनामा हुने डिप्रेसनले ती महिलाहरू बढी पीडित हुन्छन्, जो छिट्टै निराश हुन्छन्, विकल्प खोज्दैनन्, आफ्नो पीडा दबाएर राख्छन्, मनमा कुरा गुम्साएर राख्छन्, नकारात्मक कुरा सोच्छन् ।’ जुनसुकै कुरालाई गम्भीरतापूर्वक लिने तथा लापरबाही गर्ने महिलाको तुलनामा सचेत महिलालाई सिजनल डिप्रेसन हुने आशंका बढी हुने पाठक बताउँछिन् ।

मनोविश्लेषक वासु आचार्य पनि विन्टर डिप्रेसन महिलालाई हुने सम्भावना बढी भएको दावी गर्छन् । महिलामा हार्मोन परिवर्तन हुने तथा उनीहरू पुरुषको तुलनामा बढी संवेदनशील हुने भएकाले महिलाहरू उच्च जोखिममा परेका हुन् । यतिबेला पहिलेदेखि नै डिप्रेसनमा रहेका महिलाहरूप्रति विशेष ध्यान दिनुपर्ने आचार्य बताउँछन् । 

किन महिलालाई नै हुन्छ ?

जाडो मौसममा दिन छोटा तथा रात लामा हुन्छन् । जाडोमा सूर्यको किरण हाम्रो शरीरमा पर्याप्त मात्रामा पर्दैन । जाडोले मस्तिष्कको कार्यसम्पादनमा समेत प्रभाव पार्छ । यस्तो अवस्थामा हाम्रो मस्तिष्कमा भएको ‘सेरोटोनिन’ नामक न्युरो ट्रान्समिटर प्रभावित हुन्छ । सेरोटोनिन घामको प्रकाश शरीरमा प्रवेश गर्दा मात्र उत्पन्न हुन्छ । मस्तिष्कमा प्रवाह हुने टोपामाइन, मेलाटोनिन, मेरिटोनिनजस्ता हार्मोन घटबढ, गडबड वा असन्तुलित हुन्छ, जसले सिजनल डिप्रेसन निम्त्याउँछ । 

सामान्यतया जाडोमा सहने शक्ति पनि घट्छ । पुरुषको तुलनामा महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छन् भने घरको काम, बालबच्चाको स्याहार–सुसार तथा भान्साको काम बढी हुन्छ । दिन छोटा भएकाले उनीहरूलाई समयमै घरधन्दा  सक्नुपर्ने चटारो हुन्छ । कामको चापले महिलाहरूमा तागत पनि कम हुन्छ भने शारीरिक शक्तिमा ह्रास आउँछ । यस्तो अवस्थामा महिलाहरूले आफ्नो कामलाई बाध्यात्मक रूपमा लिन्छन् अनि त्यसकै प्रेसरबाट डिप्रेसन हुन्छ ।

जाडो मौसममा अल्छी लाग्ने, काममा जाँगर नलाग्ने, शरीर कमजोर हुने र थाक्ने, निराश हुने, बढी खाना खान मन लाग्ने, बढी निद्रा लाग्ने जस्ता अनुभव सबैले गर्छन् । यी समस्या जाडो मौसमका सामान्य समस्या हुन् तर यसलाई डिप्रेसन भन्न मिल्दैन । यद्यपि लगातार लामो समयसम्म यही समस्याबाट गुज्रिरहे डिप्रेसन हुनसक्छ । 

मौसमले मानसिक स्वास्थ्यमा कस्तो असर गर्छ ?

तथ्यांकले इलाममा आत्महत्या गर्नेहरूको संख्या बढी देखाउँछ । ‘इलामका मानिसले बढी आत्महत्या गर्नुको कारण विन्टर डिप्रेसन हुनसक्ने मनोविश्लेषक वासु आचार्य बताउँछन् । ‘इलाममा धेरै चिसो हुने, मौसम नखुल्ने र घाम नलाग्ने भएकाले त्यहाँका मानिसमा भिटामिन–‘डी’ को कमी हुन्छ । यही भिटामिनको कमीका कारण डिप्रेसन हुनसक्छ । अर्को कुरा मौसम नखुल्ने अर्थात् सधैं हुस्सु लागिरहने क्रममा मानिसहरूमा उदासी छाउने, दिक्क लाग्ने, शरीरमा फुर्ती नहुने भएकाले त्यसले डिप्रेसनको रूप लिनसक्ने आचार्यको तर्क छ । ‘जाडोमा मात्र होइन गर्मीमा पनि तराईमा सिजनल डिप्रेसन हुन्छ’ मनोपरामर्शदाता पाठक बताउँछिन् । 

जाडो मौसममा सूर्यको प्रकाश कम पाइन्छ भने बादल लाग्ने, कुहिरो लाग्ने आदि हुन्छ । यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा पर्छ । मौसमका कारण नै मुड खराव हुने, अल्छी लाग्ने, उदासीले सताउने आदि हुन्छ । भूमध्यरेखाबाट टाढा भएका देशमा विन्टर डिप्रेसन व्यापक हुन्छ । ६ महिना दिन तथा ६ महिना रात हुने मुलुकमा विन्टर डिप्रेसन बढी पाइएको छ । त्यस्ता मुलुकमा विन्टर डिप्रेसनका रोगीहरू फेला पर्नु आमसमस्या नै भएको छ । जस्तै नर्वे, रसियाको नर्थपोल, डेनमार्क, फिनल्यान्ड, ग्रिनल्यान्ड तथा स्वीडेनको त्यो भाग जहाँ वर्षको ६ महिना रात तथा ६ महिना दिन हुन्छ, त्यहाँ विन्टर डिप्रेसनका समस्याबाट पीडितहरू बढी फेला पर्छन् । यही कारणले हुन सक्छ, त्यहाँ आत्महत्याको दर पनि बढी छ ।

कस्ता लक्षण देखापर्छन् ?

पहिलेदेखि नै डिप्रेसन भएका महिलालाई जाडोले थप सताउँछ । जाडोमा हुने डिप्रेसनका लक्षण केही फरक खालका हुन्छन् । अल्छी लाग्नु, भोक धेरै लाग्नु, कार्बोहाइड्ेरट बढी रुचाउनु, दु:खी हुनु, खुसी बन्न नसक्नु, झर्को लाग्नु, रुन मन लाग्नु, उदास हुनु यसका आम लक्षण हुन् । 

लगातार थकान महसुस हुनु, दैनिक काममा मन नलाग्नु, रिस उठ्नु, शरीरमा फुर्ती नआउनु, काममा ध्यान कम लाग्नु, छटपटी हुनु, वाक्क लाग्नु, झ्याउ लाग्नु, अल्छी तथा नमज्जा लाग्नु, मनमा नकारात्मक विचार आइरहनु विन्टर डिप्रेसनका प्रमुख लक्षण हुन् । कुनै पनि कुरा अनियन्त्रित रूपमा हुनु नै विन्टर डिप्रेसन हो । जस्तो खाना, मुड, व्यवहार आदि अनियन्त्रित हुनु । जाडो मौसममा यी लक्षण लगातार दुई हप्ताभन्दा बढी देखिए विन्टर डिप्रेसन भएको हुनसक्छ । 

कसरी थाहा पाउने ?

उदासी र डिप्रेसनबीचको अन्तर पहिचान गर्नु जरुरी हुन्छ । कुनै पनि मानिस उदास हुनुका अनेकन कारण हुनसक्छन् । जस्तो जागिर नहुनु, नजिकको साथी टाढिनु, नराम्रो सम्बन्ध, दु:खद् घटना वा कुनै किसिमको तनाव । कहिलेकाहीँ उदास हुनु सामान्य हो । उदासी कुनै खास घटना वा परिस्थितिका कारण पैदा हुन्छ र समय परिवर्तनसँगै स्थिति पनि बदलिन्छ । डिप्रेसनले विचार, भावना र व्यवहारलाई प्रभावित गर्छ । डिप्रेसन भए कुनै एउटा कुरामा मात्र उदासी हुँदैन हरेक कुरामा उदासी महसुस हुन्छ । जति प्रयास गरे पनि उदासीले पिछा छोड्दैन । 

के उपचार सम्भव छ ?

जाडोमा हुने डिप्रेसन कात्तिक–मंसिरतिर सुरु भएर वैशाखसम्म रहन्छ । विन्टर डिप्रेसन हुने मुख्य कारण हाम्रो शरीरमा सूर्यको किरण पर्याप्त मात्रामा नपर्नु नै हो । त्यसैले यसको प्रमुख उपचार घाममा बस्नु हो । सिजनल डिप्रेसन गर्मी महिना लागेसँगै बिस्तारै ठीक हुँदै जान्छ । कसैकसैमा भने डिप्रेसनले गम्भीर रूप लिन्छ । पहिलेदेखि नै डिप्रेसनमा भएका महिलाहरू यसको उच्च जोखिममा हुन्छन् । सिजनल डिप्रेसनमा औषधिको आवश्यकता पर्दैन । छिटो निराश हुने तथा सहनशक्ति कम भएका महिला यसको उच्च जोखिममा हुन्छन् । सामान्य लक्षण देखिए आफूलाई सम्हाल्ने प्रयास गर्नुपर्छ । आफूलाई मेन्टेन गर्नुपर्छ र दैनिकी तथा जीवनशैली बदल्नुपर्छ । आवश्यक परे मनोचिकित्सकको परामर्श लिनुपर्छ । 

कसरी जुध्ने ?

‘विन्टर डिप्रेसनको पहिचान गर्नु नै समाधानको उपाय हो ।’ मनोविश्लेषक आचार्य भन्छन् । कतिपयले आफूलाई विन्टर डिप्रेसन भएको थाहै पाउँदैनन् । थाहा पाउनेले पनि मलाई पनि डिप्रेसन हुन्छ र ? भन्ने सोच्छन्, जसले गर्दा डिप्रेसनले गम्भीर रूप लिने उनी बताउँछन् । आचार्यका अनुसार ‘सबैभन्दा पहिले डिप्रेसन भएको स्वीकार गर्नुपर्छ । डिप्रेसन जोकसैलाई हुनसक्छ । डिप्रेसन कुनै ठूलो रोग होइन, समयमै उपचार गरिएन भने मात्र यसले दुर्घटना निम्त्याउँछ ।’ 

विदेशमा लाइट थेरापीबाट यसको उपचार गरिन्छ । यहाँ अहिलेसम्म त्यस्तो उपचार पद्धति भित्रिसकेको छैन । यसमा ‘सिबिटी’ थेरापीबाट उपचार गर्नुपर्छ । यो पद्धति विश्व स्वास्थ्य संगठनले संसारभरि नै फैलाइरहेको साइकोथेरापी हो । यो सोंच र व्यवहारबीच तालमेल मिलाउने थेरापी हो । यसलाई ‘संज्ञात्मक व्यवहारपरक चिकित्सा’ भनिन्छ । 

जाडोमा भिटामिन ‘डी’ जाँच गराउनुपर्छ । घाममा बसेर तेलले मसाज गराउँदा तथा ताता खानेकुरा खाँदा शरीरमा सेरोटोनिन उत्पादन हुन्छ । कोठामा बसेर हिटर ताप्दैमा वा ताता पहिरन लगाउँदैमा विन्टर डिप्रेसनबाट छुटकारा प्राप्त गर्न सकिँदैन । यतिबेला प्रशस्त मात्रामा पानी पिउनुपर्छ । पानीले शरीरमा अक्सिजनको मात्रा बढाउँछ । शरीरमा अक्सिजनको मात्रा कम भए चिन्ता बढ्छ । शारीरिक रूपमा कमजोरी महसुस हुन्छ । शक्तिमा ह्रास आउँछ । सुस्त महसुस हुन्छ । युरोपियन मुलुकका मानिसहरू विन्टर डिप्रेसनबाट जोगिन ओमेगा–३ क्याप्सुल प्रयोग गर्छन् ।

दिनचर्या निर्धारित गर्ने, प्रत्येक दिन सामान्य कसरत, योग अभ्यास, ध्यान एवं व्यायाम गर्ने, खाना थोरै तर दिनको ३–४ पटक खाने, हरियो सागपात, फलफूलको जुस, माछा बढी मात्रामा खाने । एक्लै नबस्ने, धेरै नसोच्ने, धेरै चिन्ता नगर्ने, मनमा कुरा नखेलाउने, आफ्नो शरीरको ख्याल राख्ने, आफूलाई व्यस्त तथा मस्त राख्ने, सकेसम्म साथी तथा परिवारसँग समय बिताउने, खाना आफ्नो कन्ट्रोलमा खाने, रिस उठ्ने मानिसहरूसँग नभेट्ने तथा बढीभन्दा बढी खुसी हुने प्रयास गरे यो रोगबाट जोगिन सकिन्छ । कसरी एडजस्ट हुन सकिन्छ भन्ने उपाय अपनाउनुपर्छ । रिस्क हुने काम एक्लै गर्नुहुँदैन । यतिबेला निर्णायक क्षमता कमजोर हुन्छ ।यसबाहेक गम्भीर अवस्था भए मनोचिकित्सकको सल्लाहमा औषधि पनि दिइन्छ । सिजनल डिप्रेसन परामर्शबाट नै ठीक हुन्छ । यस विषयमा जतिसक्दो जनचेतना फैलाउनुपर्छ । डिप्रेसन निको हुने रोग हो । सही समयमा उपचार गरे यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ । पीडितलाई परिवारले सपोर्ट गर्ने, एकले अर्कालाई साथ दिने, हौसला दिने, उत्प्रेरणा दिने आदि काम गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>