Successfully Copied

मिठाईले बिगार्ला स्वास्थ्य

मिठाईं बनाउन चाहिने कच्चापदार्थ दूध, पनिर, खुवा, चिनी, मैदा, पिठो, बेसन, घिउ–तेल आदिमा मिसावट हुन सक्छ भने मिठाईलाई आकर्षक बनाउन अनेक किसिमका रंग प्रयोग गरिन्छ जुन स्वास्थ्यका दृष्टिले हानिकारक हुनसक्छन् । 

चाडपर्वका साथै पूजाआजाका बेला मिठाई तथा सेल रोटीको माग एवं प्रयोग बढी हुन्छ । बजारमा प्रशस्तै मिठाईं पसल देख्न सकिन्छ जहाँ विभिन्न थरीका हेर्दै लोभ लाग्दा, रंगीबिरंगी तथा आकर्षक मिठाईंहरू बेच्न राखिएका हुन्छन् । माग बढी हुने भएकाले नाफाका लागि आवश्यकता पूर्ति गर्न कमसल खालका अर्थात् न्यून गुणस्तरका मिठाईं पनि बजारमा उपलब्ध गराइने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सन्ध्या कर्माचार्य बताउँछिन् । मिठाईं नभई काम पूर्ण नहुने भएकाले उपभोक्ताहरू बजारमा उपलब्ध मिठाई तथा रोटी किन्न बाध्य हुन्छन् । 

मौकाको फाइदा उठाउँदै मिठाईं पसलेले मिठाईं बनाउन आवश्यक कच्चापदार्थमा उस्तै देखिने अन्य सस्ता तथा न्यून गुणस्तरका खाद्य वस्तु मिसाउन सक्छन् । मिठाईं बनाउन चाहिने कच्चापदार्थ दूध, पनिर, खुवा, चिनी, मैदा, पिठो, बेसन, घिउ–तेल आदिमा मिसावट हुन सक्छ भने मिठाईलाई आकर्षक बनाउन अनेक किसिमका रंग प्रयोग गरिन्छ जुन स्वास्थ्यका दृष्टिले हानिकारक हुनसक्छन् । 

डाइटिसियन संगीता लामिछानेका अनुसार कुनै पनि खानेकुरामा बाहिरबाट हेर्दा आकर्षक बनाउन प्रयोग गरिने प्राकृतिक वा कृत्रिम रंग नै खाद्य रंग हो । जस्तो कि हामीले तरकारी बनाउँदा बेसार प्रयोग गर्छौं । यस्ता किसिमका प्राकृतिक रंग स्वास्थ्यका दृष्टिले हानिकारक हुँदैनन् । बेसारमा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले छालालाई राम्रो बनाउँछ । बेसारमा भिटामिन तथा खनिज प्रशस्त मात्रामा हुन्छ । यसैगरी केशर पनि स्वास्थ्यका दृष्टिलेलाभदायक मानिन्छ । 

कृत्रिम खाद्य रंग : विभिन्न रासायनिक पदार्थ मिसाएर तयार पारिएको रंगलाई कृत्रिम रंग भनिन्छ । अखाद्य रंगमा भएका रसायनहरूको सेवनले मानव स्वास्थ्यमा नकारात्मक असर पर्छ । गर्भवती महिलाले अखाद्य रंग मिसाइएको खानेकुरा धेरै खाए जन्मने बच्चा पुड्को तथा लठेब्रो हुनसक्छ । यसैगरी कसै–कसैलाई अखाद्य रंगले एलर्जी हुन्छ । यस्ता अखाद्य रंगले मिर्गाैलामा समस्या सिर्जना गर्नुका साथै क्यान्सरसम्म लाग्न सक्छ । नेपालमा कृत्रिम खाद्य रंग मिसाउँदा नेपाल सरकारले तोकेका रंग र रंगको मात्रा (परिमाण) मा रहेर मिसाउन पाइन्छ । 

कस्तो मिठाईं खाने ?

    मिठाईं भरसक घरमै बनाएर खानुपर्छ ।

    घरमा तयार पारिएका मिठाईं स्वास्थ्यका हिसाबले उपयुक्त मानिन्छन् । 

    घरमै सेल रोटी, लालमोहन, रसबरी, खजुरी, अर्सा, अनरसा, फिनी, निम्की, खजुरी आदि तयार गर्न सकिन्छ । 

    मिठाईं चिल्ला तथा गुलिया हुने भएकाले घरमै बनाइएका भए पनि ठिक्क मात्रामा खानुपर्छ । शरीरलाई आवश्यक क्यालोरीअनुसार मिठाईं खानु उपयुक्त हुन्छ । 

    मधुमेह तथा रक्तचापका बिरामीले भने चिकित्सकको सल्लाहबमोजिम मात्र मिठाईं खानुपर्छ । 

केमा के मिसावट ?

    खुवा तथा छेनामा स्टार्च (पिठो) मिसाइएको हुन्छ । 

    घिउमा वनस्पति घिउ, बोसो तथा डाल्डा । 

बेसन : बेसनमा खेसरीको पिठोको मिसावट तथा अखाद्य रंग मेटानिल एलो (पहेंलो) मिसाइन सक्छ ।

चाँदीको तपक : मिठाईंलाई आकर्षक देखाउन माथिबाट चाँदीको तपक लगाइन्छ । उक्त तपक शुद्ध चाँदीको हुनुपर्छ तर चाँदीको तपक महँगो हुनाले त्यसको सट्टा आल्मुनियमको तपक 

वा अखाद्य धातुको वर्क प्रयोग गरिएको हुनसक्छ । 

    मिठाईंलाई आकर्षक देखाउन राखिने चाँदीको लेपमा शुद्ध चाँदीको वर्कको ठाउँमा आल्मुनियम वा अखाद्य धातुको वर्कको प्रयोग । 

साकारिनको प्रयोग : साकारिन चिनीभन्दा धेरै गुलियो हुने भएकाले चिनीको खर्च जोगाउन साकारिन प्रयोग गरिएको हुनसक्छ । 

 मिठाईंमा म्याद नाघ्ने मिति स्पष्ट उल्लेख गरिएको हुनुपर्छ । बासी, पुरानो बचेखुचेको मिठाईं नयाँ मिठाईंमा मिसाएर प्रयोग गरिएको हुनसक्छ । पुरानो, बासी एवं बिग्रिएको मिठाईंले स्वास्थ्यमा हानि पुर्‍याउँछ । यसका साथै मिठाईं बनाउने ठाउँ, बिक्री गर्ने ठाउँ तथा मिठाईं बनाउने मानिसहरूले सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । मिसावटयुक्त मिठाईंले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले मिठाईं किन्दा सतर्कता अपनाउनुपर्छ । ब्रान्ड हेरेर गुणस्तर चिन्ह भएको मिठाईं मात्र किन्नुपर्छ । 

 

 Image