Successfully Copied

स्तन क्यान्सर

विश्वमा हरेक १५ मिनेटमा एक महिलाले स्तन क्यान्सरबाट जीवन गुमाइरहेका छन् । सन् २०२० मा मात्र झन्डै ६ लाख ८५ हजारले स्तन क्यान्सरबाट ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठन, २०२१अनुसार करिब ६० प्रतिशत महिला कुनै न कुनै स्तनसम्बन्धी समस्याबाट ग्रसित हुने गरेको



विश्वमा हरेक १५ मिनेटमा एक महिलाले स्तन क्यान्सरबाट जीवन गुमाइरहेका छन् । सन् २०२० मा मात्र झन्डै ६ लाख ८५ हजारले स्तन क्यान्सरबाट ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठन, २०२१अनुसार करिब ६० प्रतिशत महिला कुनै न कुनै स्तनसम्बन्धी समस्याबाट ग्रसित हुने गरेको पाइएको छ । आधुनिक र अप्राकृतिक जीवनशैली, विभिन्न रसायनयुक्त खाना, प्रदूषण तथा तनावका कारण विश्वमा वयस्क मात्र नभई युवा महिला तथा पुरुषलाई स्तन क्यान्सर हुन थालेको छ ।
स्तन क्यान्सर साधारणतया ४० वर्ष उमेर कटेपछि धेरै महिलामा देखिन्थ्यो भने हाल ४० भन्दा कम उमेरका महिला तथा पुरुषमा पनि देखा पर्न थालेको छ । पश्चिमी मुलुकमा प्रत्येक ८ मध्ये १ महिलार एसियाली मुलुकमा प्रत्येक २२ जनामध्ये एक जनामा यो रोग रहेको तथ्यांकमा देखिएको छ । नेपालको हकमा पूर्ण तथ्यांक नभएका कारण यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । तर पनि हालको तथ्यांकअनुसार नेपालमा क्यान्सरकै कारण मृत्युहुनेमा स्तन क्यान्सर रोग भने पहिलो स्थानमा पर्छ ।
मृत्युका मुख्य कारणहरू
–लापरबाही
–प्रारम्भिक अवस्थामा विशेषज्ञको परामर्श नलिएको,
–पर्याप्त मात्रामा जनचेतनाको कमी,
–स्तन क्यान्सरको स्क्रिनिङ सेवा उपलब्ध हुँदा पनि जाँच गर्न नगएको,
–आर्थिक समस्या,
–अन्धविश्वास, चिकित्सकमाथि विश्वास नगरी धामीझाँक्रीमा विश्वास गरी उपचारबाट पछि हट्नु ।
लक्षण
सुरुवाती अवस्थामा कुनै पनि लक्षण हुँदैन । त्यसैले सबै महिलाले नियमित रूपमा आफ्नो स्तनको जा“च गर्नुपर्छ र शंका लागेमा विशेषज्ञ चिकित्सककोमा उपचारका लागि जानुपर्छ । जब स्तन क्यान्सर बढ्दै जान्छ तब लक्षण देखापर्न थाल्छ । ती लक्षणहरू निम्न छन् ।
–स्तनमा गाँठो वा गिर्खा आउने,
–काखीमुनि गिर्खा आउने,
–स्तनको मुन्टोबाट रगत आउने वा तरल पदार्थ आउने,
–स्तनको मुन्टो भित्र छिर्न थाल्ने,
–तनकोे छालामा परिवर्तन आउने,
–घरिघरि स्तन पाक्ने,
–अकस्मात् तौल घट्ने आदि ।

लक्षण देखिए के गर्ने

–स्तन क्यान्सर विशेषज्ञकहाँ गएर परामर्श गर्ने ।
लक्षण नदेखिएका मानिसहरूले के गर्ने?
स्तन क्यान्सरको स्क्रिनिङ गर्ने । स्तन क्यान्सरको स्क्रिनिङले सुरुवाती अवस्थामा क्यान्सर पत्ता लगाउन सहयोग गर्छ । यो अवस्थामा उपचार गराएमा खर्च बचत हुनुका साथै स्तन पनि फाल्नुपर्दैन । त्यस्तै जीवनको आयुपनि घट्दैन भने बाँच्ने दर शत प्रतिशत नै रहन्छ ।
आफ्नो स्तनको परीक्षण आफैं गर्ने
–२० वर्षभन्दा माथिका महिलाले आफ्नो स्तनको परीक्षण महिनावारी भएको ५ देखि ७ दिनको दिनमा आफैंले गर्ने ।
–महिनावारी नहुने र रोकिएका महिलाले महिनाको कुनै एकदिन तोकेर त्यही दिन सधै स्तन परीक्षण गर्ने
विशेषज्ञबाट स्तन परीक्षण
–४० वर्षभन्दा माथिका महिलाले हरेक वर्ष एकपटक विशेषज्ञबाट परीक्षण गराउने ।
–४० वर्षभन्दा मुनिका महिलाले दुई वा तीन वर्षमा एकपटक विशेषज्ञबाट स्तन जाँच गराउने ।
–क्यान्सरको जोखिम भएका महिलाले विशेषज्ञको सल्लाहअनुसार समय–समयमा जाँच गरिरहनुपर्छ ।
रेडियोलोजिकल परीक्षण
–४० भन्दा कम उमेर भएकाले अल्ट्रासाउन्ड परीक्षण गराउनुपर्छ ।
–४० भन्दा बढी उमेरकाले वर्षमा म्यामोग्राम परीक्षण गराउनुपर्छ ।
म्यामोग्रामले धानको गेडाजस्तो गिर्खा जुन हातले छामेर पत्ता नलाग्ने क्यान्सरलाई पनि पत्ता लगाउन सक्छ । यो अवस्थामा क्यान्सर पत्ता लागेमा पूरै स्तन फाल्नु पर्दैन । किमोथेरापी पनि चाहिँदैन । महिलाहरू लामोसमय बाँच्न सक्छन् ।
अन्त्यमा क्यान्सरबाट मृत्यु हुने पहिलो नम्बरमा स्तन क्यान्सर पर्छ । त्यसैले सबैले आफ्नो स्तनको परीक्षण आफैंले गर्ने र समयमै विशेषज्ञ चिकित्सहरूबाट सल्लाह लिई उपचार गराए सुरुवाती अवस्थामै यो
रोग पत्ता लगाउन सकिन्छ र स्तन क्यान्सरबाट जीवन गुमाउनुपर्दैन ।

 Image