काठमाडौं – वीर अस्पतालले स्नायु रोगहरूको उपचारका लागि अत्याधुनिक प्रविधि भित्राएको छ । अस्पतालको न्यूरोसर्जरी विभाग तथा अमेरिकास्थित क्यारिलियन रोवएनोके अस्पतालको सहकार्यमा ‘डिप ब्रेन स्टीम्युलेसन’ र ‘स्पाइनल स्टीम्युलेसन’ सेवा सञ्चालनमा ल्याइएको हो ।
वीर अस्पतालका न्यूरो विभाग प्रमुख प्रा. डा. राजीव झाका अनुसार यी प्रविधिले पार्किन्सन, छारे रोग, डिप्रेसन, शारीरिक कम्पन, डिस्टोनिया र ओब्सेसिव कम्पल्सिभ डिसअर्डर भएका बिरामीहरूको उपचारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
‘डिप ब्रेन स्टीम्युलेसन प्रविधिले दिमागका विशिष्ट क्षेत्रहरूमा विद्युतीय तरंग प्रवाह गरी स्नायुगत समस्याहरूको लक्षण कम गर्न मद्दत गर्छ’ उनले भने ‘स्पाइनल स्टीम्युलेसन प्रविधि मेरुदण्ड पक्षघात तथा नशासम्बन्धी दीर्घ रोगीहरूका लागि प्रभावकारी मानिन्छ ।’
यस नयाँ उपचार विधिका लागि योग्य बिरामीहरूको छनोट प्रक्रिया वीर अस्पतालको न्यूरोसर्जरी विभाग अन्तर्गत चौथो तल्ला, कोठा नं. ४३९ मा सञ्चालन हुनेछ । बिरामीहरूले चैत्र १८ गतेसम्म हरेक दिन बिहान १२ बजेदेखि १ः३० सम्म सम्पर्क गर्न सक्नेछन् ।
कसलाई उपयुक्त छ ?
नयाँ प्रविधि विशेषगरी पार्किन्सन, छारे रोग, शारीरिक कम्पन, डिस्टोनिया, ओसीडी, दीर्घ दुखाइ र पक्षघात जस्ता समस्याबाट पीडित तथा परम्परागत उपचारबाट सुधार नआएका बिरामीहरूको लागि लक्षित गरिएको छ ।