२३ वर्षदेखि आर्ट अफ लिभिङसँग जोडिएकी भारती जोशी छ वर्षदेखि ह्याप्पिनेस कोर्सको प्रशिक्षण दिइरहेकी छन् । पछिल्लो समय खराब खानपान र व्यस्त जीवनशैलीका कारण धेरै रोगको सिकार भइरहेका छन् । रसायनयुक्त खानपान, प्रदूषणले गर्दा हामी रोगी भइरहेका छौं । रोगमुक्त शरीर र स्वस्थ जीवनशैली अपनाउन योग, ध्यान र प्राणायाम जरुरी हुन्छ । शरीरका विकारहरू, नकारात्मक विचारहरू श्वासको माध्ययमबाट फाल्ने प्रक्रिया हो, जसलाई प्राणायाम भनिन्छ । ८० देखि ९० प्रतिशत शरीरका विकार श्वासको माध्यमबाट फालिन्छ भने १० प्रतिशत मात्र दिसा, पिसाब, पसिना आदिबाट निस्कन्छ । यिनै विषयमा गरिएको कुराकानी ः
ह्याप्पिनेस कोर्सअन्तर्गत के–के सिकाइन्छ ?
यसमा खुसी कसरी हुने भन्ने कला सिकाइन्छ । योग, प्राणायाम र ध्यानबाट नै खुसी हुने कुरा सिकाइन्छ । कसैलाई पनि खुसी हुनुपर्छ भन्दा खुसी हुन सक्दैनन् । उनीहरूले योग, प्राणायाम र ध्यान नियमित गर्दा खुसी हुन थाल्छन् । भावना र श्वासको एक–अर्कासँग गहिरो सम्बन्ध हुन्छ । जब हामी शान्त हुन्छौं श्वास फेरेको थाहा हुँदैन तर हामीलाई रिस उठ्छ, डर लाग्छ त्यतिबेला श्वास छिटोछिटो बढ्छ । सुदर्शन क्रियाले स्वासलाई सही तरिकाले फेर्न सिकाइन्छ । प्राणायाम नगर्दा फोक्सोले ३० प्रतिशत मात्र अक्सिजन लिइरहेको हुन्छ भने सुदर्शन क्रिया गरेपछि फोक्सोले ८० देखि ९० प्रतिशत अक्सिजन लिन्छ ।
कति वर्ष उमेरकाले यो कोर्स गर्न सक्छन् ?
१८ वर्षदेखि माथिका जोकोहीले गर्नसक्छन् । १८ वर्षभन्दा मुनिका लागि छुट्टै अरु कोर्सहरू छन् । आठ वर्षसम्मका बालबालिकालाई कुनै पनि कोर्सको आवश्यकता पर्दैन । यो उमेरसम्म अस्तित्वले जस्तो दिएको हुन्छ त्यस्तै हुन्छ ।
कसलाई आवश्यक छ ?
यो कोर्स जाकोहीले लिन सक्छन् । शारीरिक, मानसिक रोग भएकाले लिन सक्छन् । शारीरिक रोग भएकाहरूले उफ्रिने योगबाहेक अरु सबै गर्न सक्छन् ।
आर्ट अफ लिभिङअन्तर्गत अन्य के–के कोर्सहरू सिकाइन्छ ?
यसअन्तर्गत थुप्रै कोर्स पर्छन् । आठदेखि १२ वर्षसम्मकालाई दिइने कोर्सलाई आर्ट एक्सल भनिन्छ । १३ देखि १७ वर्षसम्मकालाई एस कोर्स दिइन्छ । यतिबेला उनीहरूको शरीरिक, भावनात्मक रूपमा परिवर्तन हुने समय हो । उनीहरूका लागि यो निकै उपयोगी कोर्स हो । त्यसबाहेक अन्य कोर्सहरू पनि सिकाइन्छ ।
कसरी खुसी हुने ?
गुरुजी भन्नुहुन्छ अरुको गल्ती कोट्याउँदा आफु दुःखी भइन्छ । अरुको विचारको भकुन्डो नबन्नु नै राम्रो हो । यसले मन अस्थिर बनाउँछ । यसको अर्थ अरुका विचारको पछाडि दौडिँदा दुःखी भइन्छ किनभने सबैको विचार एकै किसिमको हुँदैन । व्यक्ति, वस्तु र परिस्थिति जस्तो छ त्यस्तै स्वीकार गर्नुपर्छ । यी तीन कुरालाई हामी परिवर्तन गर्न खोज्दा दुःखी हुन्छौं । जे काम गरे पनि शतप्रतिशत दिएर गर्नुपर्छ । चाहे रिजल्ट जस्तोसुकै आओस् यसले पश्चाताप हुँदैन । पश्चातापले तनाव गराउँछ । अर्को प्रयास भन्ने शब्दको प्रयोग नगर्नु हो । कि गर्छु कि गर्दिन भन्नुपर्छ । यसले दोधारमा पार्दिन्छ । खुसी हुनका लागि वर्तमान क्षणमा बाँच्नुपर्छ । भूत र भविष्यलाई सोच्दा दुःखी भइन्छ ।