Successfully Copied

बालमैत्री  दसैं 

कतिपय बालबालिकाले गुलियो मिठाईंका परिकार मन पराउन सक्छन्, कसैले फलफूल मन पराउन सक्छन्, कसैले आइसक्रिम वा केक आदि मन पराउन सक्छन् । आफ्ना सन्तानले जस्ता खानेकुरा मन पराउँछन् त्यस्तै परिकार बनाइदिनुपर्छ । तब मात्र उनीहरू खानपानमा रमाउन सक्छन् ।

दसैंको प्रसङ्ग सुरु गर्नासाथ धेरैले आफ्नो बाल्यकाल सम्झन्छन् । बाल्यकालमा जस्तो चाडपर्वको उल्लासमय अनुभूति ठूलो भएपछि हुँदैन । त्यसैले मानिसहरू भन्छन्–‘सानो छँदा दसैंमा यसरी चङ्गा उडाइन्थ्यो, यसरी देउसी–भैलो खेलिन्थ्यो ।’ सानो छँदा दक्षिणास्वरूप नयाँ नोट पाउँदा फुरुङ्ग भएको, नयाँ लुगा लगाउन पाउँदा दङ्ग भएको तथा पिङ खेल्न पाउँदाको रोमाञ्चक क्षण सम्झिएर मानिसहरू आफ्नो बाल्यकालमा फर्कन्छन् । 

हुन पनि चाडपर्वले बालबालिकामा नयाँ उमङ्ग ल्याउँछ । उनीहरू चाडपर्वमा खुसीपूर्वक रमाउँछन् । बालबालिका नै चाडपर्वप्रति बढी उत्सुक एवं उत्साहित हुन्छन् । यद्यपि चाडपर्वमा हामीले गर्ने बन्दोबस्त बालमैत्री हुँदैनन् । न हामी बालबालिकाको स्वादअनुसार परिकार तयार गर्छौं, न रमझममै उनीहरूलाई समावेश गराउँछौं । चाडपर्व परिवारका सबै सदस्यसँग मिलेर मनाउँदा थप रमाइलो हुन्छ । परिवारका सदस्यहरू एक ठाउँमा भेला भएर रमाइलो गरिरहेका बेला त्यसमा बालबालिकाहरूलाई पनि सहभागी गराउनुपर्छ । 

चाडपर्व सुरु हुनुपूर्व नै हामी के खाने ? कस्ता परिकार बनाउने भन्ने निर्णय लिन्छौं । त्यस क्रममा ठूलाहरूलाई मात्र लक्षित गरेर वा आ–आफ्नो स्वादका खानेकुरा मात्र तयार गर्छाैं । बालबालिकाहरू के खान्छन् वा उनीहरूलाई के स्वादिलो लाग्छ भनेर हामी छुट्टै परिकार तयार गर्दैनौं । 

खसीको पक्कु, भुटन, मासुका अनेक आइटम, स्न्याक्स आदि परिकारमध्ये धेरैजसो मसालेदार तथा चिल्ला–पिरा हुन्छन् । बालबालिकाहरू पिरो, अमिलो तथा धेरै मसालेदार परिकार त्यति रुचाउँदैनन् । उनीहरूले जुन खानेकुरा पचाउँदैनन् हामी त्यस्तै परिकार बनाउँछौं । उनीहरूले यस्ता परिकार त्यति रुचिपूर्वक खाँदैनन् । यसले उनीहरूको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ । 

कतिपय बालबालिकाले गुलियो मिठाईंका परिकार मन पराउन सक्छन्, कसैले फलफूल मन पराउन सक्छन्, कसैले आइसक्रिम वा केक आदि मन पराउन सक्छन् । आफ्ना सन्तानले जस्ता खानेकुरा मन पराउँछन् त्यस्तै परिकार बनाइदिनुपर्छ । तब मात्र उनीहरू खानपानमा रमाउन सक्छन् ।

बालमैत्री किनमेल 

दसैं–तिहार भनेको किनमेलको चाड पनि हो । दसैंमा नयाँ लुगाफाटो लगाउने चलन छ । हुन त अहिलेका बालबालिकाले नयाँ लुगा लगाउन दसैं नै कुर्नुपर्दैन । यद्यपि दसैंका लागि खरिद गरिने लुगाफाटोसँग बालबालिकाको भावनात्मक सम्बन्ध हुन्छ । उनीहरूमा नयाँ लुगाले खुसी पनि ल्याउँछ भने किनमेलले उनीहरूमा फुर्ती जगाउँछ । 

चाडपर्वका लागि किनमेल गर्दा कतिपयले बालबालिकाहरूको रुचिलाई बेवास्ता गरिरहेका हुन्छन् । चाडपर्वमा के–कस्ता सामग्री आवश्यक छन् भनेर सूची तयार गर्ने क्रममा हामीले आफूलाई केन्द्रमा राखिरहेका हुन्छौं । आफ्ना बालबालिका कस्तो लुगा लगाउन मन पराउँछन्, कस्तो खानेकुरा रुचाउँछन् ? ख्याल गर्दैनौं । चाडपर्वको किनमेलका क्रममा त्यसमा बालबालिकाको रुचि पनि सामेल गर्नुपर्छ । यसैगरी उनीहरूलाई किनमेलमा आफूसँगै लानुपर्छ । 

बालमैत्री रमझम 

आमाबुवा तास र गफमा मस्त हुँदा बालबालिकालाई पट्यार लाग्न सक्छ । ठूलाबडाहरू तास खेल्न थाल्छन्, मदिरापान गर्न थाल्छन् । खानेकुरा पनि उनीहरूकै लागि तयार हुन्छ, घरको माहौल पनि उनीहरूकै अनुकूल हुन्छ । यस्तो अवस्था बालबालिहरूका लागि भने केही असहज हुनसक्छ । हुन त उनीहरूले यी सबै कुरा व्यक्त गर्न सक्दैनन् । यद्यपि आफूहरूले उन्मुक्त खेल्न, रमाउन नपाएकोमा, आफ्ना आमाबुवा आफूसँग समाइलोमा सहभागी नभएकोमा उनीहरू खिन्न हुन सक्छन् । 

चाडपर्वमा घरको रमझम यस्तो हुनुपर्छ, जसले बालबालिकालाई पनि भरपूर मनोरञ्जन प्रदान गरोस् । बालबालिकाहरूको लामो बिदा हुने भएकाले पनि चाडपर्वले उनीहरूलाई खुसी दिन्छ । उनीहरू चङ्गा उडाउने, पिङ खेल्ने जस्ता कुरामा रमाउँछन् । नयाँ लुगा लगाउने, मीठो खानेकुरा खाने, आफन्तहरूकहाँ जाने, टीका–जमरा लगाउने कुराले उनीहरूलाई उत्साहित तुल्याउन सक्छ । त्यसैले उनीहरू जसरी चाहन्छन् त्यसरी नै रमाउन दिनुपर्छ । 

बाल स्वास्थ्यको ख्याल 

चाडपर्व सुरु हुनासाथ घरमा पाहुना आउने र आफूहरू पनि आफन्तकहाँ जानुपर्ने भएकाले बालबालिकाको राम्रो हेरचाह गर्न पाइँदैन । ठूलाहरू रमझममा व्यस्त हुने भएकाले बालबालिकाहरूको स्याहार–सुसारमा कमी आउँछ । उनीहरूमा खानेकुराको समय मिल्दैन, सुत्ने–उठ्ने समय मिल्दैन । यसले उनीहरूको स्वास्थ्यमा असर पर्नसक्छ । चाडपर्वमा मदिरा पिउने प्रचलन व्यापक छ ।

बालबालिकाहरूका अगाडि मदिरा पिउँदा, चुरोट सेवन गर्दा उनीहरूको स्वास्थ्यका साथै मानसिकतामा समेत असर पर्छ । बालबालिकाहरूको ख्याल गरेर मात्र मदिरापान गर्नुपर्छ । ठूलाले जे गर्छन् बालबालिकाले पनि त्यही सिक्ने भएकाले यस्ता काम ध्यान पुर्‍याउनु उपयुक्त हुन्छ ।

अभिभावकको निगरानी र नियन्त्रण 

चाडपर्वमा बालबालिकालाई कतिपयले बढी नै अनुशासित बनाउने चक्करमा अनावश्यक दबाब र नियन्त्रण गरिरहेका हुन्छन् । फलानोलाई नमस्ते गर, ढोग, चुपचाप बस, यस्तो खाऊ, यस्तो नखाऊ भनिन्छ । उनीहरूलाई शिष्टाचार पालना गर्न लगाउनुपर्छ, तर त्यसमा दबाब दिनुहुँदैन । 

घरका ठूला गफमा भुलिँदा उनीहरूलाई अल्छी लाग्ने भएकाले उनीहरू चकचक गर्न थाल्छन् । त्यतिबेला बालबालिकालाई चुप लागेर बस, ज्ञानी भएर बस भनेर दबाब दिइन्छ । यसरी आमाबुवाको निगरानी र नियन्त्रणमा बस्नुपर्दा उनीहरूलाई छटपटी हुनसक्छ । बालबालिकाको स्वभाव चञ्चल हुन्छ । उनीहरूलाई पनि केही समय दिएर रमाउन सकिन्छ । उनीहरू खुला रूपमा खेलिरहन मन पराउँछन् । त्यसैले उनीहरूको मनोभाव बुझेर खुला रूपमा छाडिदिनु राम्रो हुन्छ । 

बालबालिकाको सुरक्षा

चाडपर्वको रमझममा हामी बालबालिकाको उतिसारो ख्याल गरिरहेका हुँदैनौं । हामी आफ्नै काममा व्यस्त हुन्छौं, गफमा भुल्न थाल्छौं । यस्तो बेला बालबालिका कतै लड्न वा हराउन सक्छन् । उनीहरूलाई कहाँ जाने–कहाँ नजाने भन्ने ज्ञान हुँदैन । त्यसैले उनीहरू जहाँ पनि जान सक्छन् । जे पनि खान सक्छन् । त्यसैले उनीहरूको सुरक्षाको पनि ख्याल गर्नुपर्छ । 

सहभागी हुने कि ? 

चाडपर्वमा हामी आफ्नै भलाकुसारी गर्न थाल्छौं । आफन्त एवं इष्टमित्रहरूसँग गफिन थाल्छौं । पुरुषहरू मौका परे तासको खालमा जम्छन् । महिलाहरू आफै भलाकुसारीमा मग्न हुन्छन् । यतिबेला बालबालिकाहरू भने एक्लिन्छन् । उनीहरू ठूलाको कुरामा रमाउन सक्दैनन् । अहिलेका बालबालिकाहरू त्यति घुममिल हुने प्रकृतिका हुँदैनन् । यो बालबालिकाहरूसँग घुलमिल हुने सही मौका हुनसक्छ । 

आमाबुवाको इच्छा नलाद्ने कि ? 

कतिपय आमाबुवा आफ्नो इच्छा छोराछोरीमाथि लाद्छन् । छोराछोरीलाई राम्रो बनाउन अभिभावकहरू आफ्नै इच्छाअनुसारका लुगा किनिदिने, लगाइदिने आदि गर्छन् । चाडपर्वमा आफ्ना बालबालिकाहरूलाई आकर्षक बनाउने चक्करमा असजिलो लुगा लगाइदिनु हुँदैन । उनीहरूले मन पराउने तथा सहज लाग्ने पहिरन लगाइदिनुपर्छ । उनीहरूलाई उनीहरूकै चाहनाअनुसार रमाउन दिनुपर्छ । 

पर्वको मर्म बुझाउने 

चाडपर्व आफैमा ठूलो पाठ पनि हो, बालबालिका लागि । चाडपर्वमा उनीहरूसँगै सहभागी भएर नयाँ–नयाँ कुरा अनुभव गराउन सकिन्छ । चाडपर्व एउटा संस्कार हो । दसैंमा टीका ग्रहण गर्दा संस्कृतको श्लोक भनेर आशीर्वाद दिने चलन छ । अहिलेका बालबालिकाहरूले ती श्लोक, श्लोकको अर्थ र महत्व बुझेका छैनन् । महिला तथा पुरुषलाई पौराणिक चरित्रहरूसँग दाँजेर बेग्लाबेग्लै आशीर्वाद दिइन्छ । यो आफ्ना बालबालिकालाई ती पात्र र मन्त्रको महत्व बुझाउने सही मौका पनि हो । 

ठूलालाई आदर–सम्मान र सानालाई प्रेम प्रकट गरी चिनजान गराउने अवसर हो–दसैं । अहिलेका बालबालिकाले आफन्तहरू चिन्दैनन् । यही अवसरमा आफन्त, साइनो आदिका बारेमा अवगत गराउन सकिन्छ । नेपाली पहिरन, परिकार, संस्कार आदिका बारेमा पनि उनीहरूलाई बोध गराउन सकिन्छ । यद्यपि पाठ पढाएजस्तो वा उपदेश दिएजस्तो गरेर होइन । उनीहरूलाई प्रत्यक्ष सहभागी गराएर सिकाउँदा सजिलैसँग सिक्न सक्छन् । 

हरेक चाडको आ–आफ्नै महत्व हुन्छ । चाडपर्व हाम्रो जीवन पद्धति पनि हो । हरेक चाडपर्वले हाम्रो जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । नारीको बलमा सत्यको विजय भएको दिन भएकाले दसैं विजयको खुसीयाली पनि हो । यो मान्यजनप्रति श्रद्धा गर्ने पर्वसमेत हो । टाढा रहेका आफन्तसँग भेटघाट हुने अवसर हो । आफ्ना बालबालिकालाई यी कुराको ज्ञान एवं अनुभूति गराउनुपर्छ । 

यसका लागि दसैं उपयुक्त अवसर हो । चाडपर्वका लागि सामग्रीहरूको जोहो गर्दा बालबालिकाहरूको रुचिलाई पनि ध्यान दिनुपर्छ । उनीहरूलाई हरेक काममा सहभागी गराउनुपर्छ । बालबालिकालाई दसैंको महत्व र अर्थ बुझाउनुपर्छ । दसैंको तयारीमा बालबालिकालाई पनि महत्व दिनुपर्छ भने हामीले मनाउने हरेक चाडपर्वलाई बालमैत्री बनाउँदै लानुपर्छ ।

 Image