Successfully Copied

पहिलेको जस्तो रौनक कहाँ ?

नायिका भुवन चन्दलाई आफू सानो हुँदाको दसैं सम्झदा निकै रमाइलो महसुस हुन्छ । दसैंका लागि महिनौं दिनअघिदेखि औंला भाँच्न थाल्थिन् उनी । दसैंको आगमनसँगै मौसमको आनन्द पनि बेग्लै हुन्थ्यो । साथीसंगीहरूसँग मिलेर नयाँ कपडा लगाई विभिन्न मठमन्दिर जाने कुराको सम्झनाले पनि मन खुसी हुने चन्दले बताइन् ।

नायिका भुवन चन्दलाई आफू सानो हुँदाको दसैं सम्झदा निकै रमाइलो महसुस हुन्छ । दसैंका लागि महिनौं दिनअघिदेखि औंला भाँच्न थाल्थिन् उनी । दसैंको आगमनसँगै मौसमको आनन्द पनि बेग्लै हुन्थ्यो । साथीसंगीहरूसँग मिलेर नयाँ कपडा लगाई विभिन्न मठमन्दिर जाने कुराको सम्झनाले पनि मन खुसी हुने चन्दले बताइन् । पिङ खेल्दाखेल्दै खाना खानै बिर्सिएको कुरा पनि अझै उनको मानसपटमा ताजै छ ।

यद्यपि अहिलेको पुस्तामा दसैंप्रति त्यति उमङ्ग नभएको हो कि भन्ने लाग्छ, नायिका चन्दलाई । उनी अहिलेको पुस्ता आफ्नो परम्परागत चाडपर्वभन्दा बढी विदेशी पर्वमा रमाउन खोजेको अनुभव गर्छिन् । चन्दका अनुसार दसैं एउटा यस्तो पर्व हो, जसमा धार्मिक आस्था त छँदैछ त्यसका साथै यो परिवार एवं आफन्तको मेलमिलापको पर्व पनि हो तर अहिलेको पुस्ताले पारिवारिक महत्वलाई पनि छाडेको भान हुन्छ । यसका लागि उनी यो पुस्तालाई भन्दा बढी उनीहरूका अभिभावक तथा ग्याजेटलाई जिम्मेवार मान्छिन् ।

 नायिका संचिता लुईंटेलमा भने दसैं आउन लाग्यो कि बेग्लै उत्साह आउँछ । परिवारलाई महत्व दिने संचिता दसैंमा आफूले जसरी बाल्यकालमा रमाइलो गर्थिन् आफ्ना छोराछोरीले पनि त्यो अनुभव गर्न पाऊन् भनेर त्यस्तै वातावरण तयार पार्ने प्रयास गर्छिन् । अरु बेला जति नयाँ लुगा किनिए पनि दसैं नयाँ लुगा लगाउने पर्व हो भनेर उनी पूरै नयाँ लगाउँछिन् । घरमा अरू बेलाको तुलनामा बढी परिकार पकाई यो चाडलाई स्पेशल बनाउँछिन् । बच्चाहरूको बिदा हुने भएकाले त्यतिबेला सकभर उनी पनि कामबाट छुट्टी मिलाउँछिन् । परिवारसँग घुमघाम, सपिङ तथा मन्दिर गएर दसैंको आभाष दिलाउँछिन् । पहिलेजस्तो घरघरमा पिङ नभए पनि मन्दिर जाने बाटोमा भएको पिङ खेल्दै अनि छोराछोरीहरूलाई पनि खेलाउँदै दसंैका कथा सुनाउँछिन् । संचिता अहिलेको पुस्ता मोबाइल तथा इन्टरनेटको दुनियाँमा हराउँदै गएकाले आफ्ना सन्तानप्रति आफै सचेत हुँदै आफ्नो धर्म, संस्कृति एवं चाडपर्वको महत्व बुझाउनुपर्ने धारणा राख्छिन् । दसैंमा उनी पारिवारिक भेटघाट एवं पूजाआजामा पनि व्यस्त हुन्छिन् । 

नायिका सम्पदा बानियाँ आफू सानो हुँदा हरेक आफन्तको घरमा पुगेको कुरा सम्झन्छिन् । त्यतिबेला उनको एउटै दाउ धेरैभन्दा धेरै दक्षिणा बटुल्ने हुन्थ्यो । सबैभन्दा सानी भएकीले सम्पदालाई अरूको तुलनामा कम दक्षिणा दिइन्थ्यो । त्यो पैसा हेरेर रोएको सम्झना उनलाई अझै छ । अहिले दक्षिणा, नयाँ लुगा र खानपानको महत्व नभएको देख्दा उनलाई दसैंप्रति नयाँ पुस्तामा त्यति चासो नभएजस्तो लाग्छ । घरमा सबै दिदीबहिनी जम्मा भएर तास खेलेको, जित्नेले मीठा–मीठा परिकार किनेर ख्वाएको, चंगा उडाएको, पिङ खेल्न हारालुछ गरेको कुरा सम्झदा उनलाई निकै रमाइलो लाग्छ । केही वर्षदेखि आफैमा पनि पहिलेको जस्तो दसैंको रौनक नभएको स्वीकार गर्छिन् उनी । सम्पदा भन्छिन्–खोई पहिले जस्तो रमाइलो माहौल पनि छैन । अचेल उनीहरू दसैंको टीकापछि घुम्न जाने योजना बनाउँछन् । सम्पदा यसपटक वेस क्याम्प जाने योजनामा छिन् । अहिले आफन्तहरू भेटे पनि कुराकानी गर्नुभन्दा वाइफाइको पासवर्ड मागेर त्यसमै व्यस्त हुने हुँदा दसैंमा त्यति रमाइलो नहुने सम्पदा बताउँछिन् । 

नायिका मलिका महतलाई दसैंको भाइब्स नै रमाइलो लाग्छ । पनौती निवासी मलिका दसैंमा साथीहरू बटुली पिङ एवं लंगुरबुर्जा खेल्न तथा चंगा उडाउन मज्जा मान्छिन् । घरमा ठूलाबडाहरूले मीठा–मीठा परिकार खाँदै तास खेलेको, नाचगान गरेको पनि उनलाई निकै रमाइलो लाग्छ । पहिले उनी दक्षिणाको पैसा जम्मा गरेर आफूलाई मनपरेको चकलेट किनेर खान्थिन् अनि साथीहरूलाई पनि ख्वाउँथिन् । मलिकालाई परिवारका सदस्यहरू जम्मा हुनु र ठूलाबडाहरूको हातबाट आशीर्वाद लिनु दसैंको सबैभन्दा महत्वपूर्ण पक्ष लाग्छ जसले आफन्तप्रतिको सम्मान एवं सम्झनालाई कायम राख्छ । मलिका केही वर्षअघिसम्म पनि दसैंमा नयाँ लुगा लगाउनुपर्छ भनेर नयाँ लुगा किन्थिन् । यद्यपि अहिले उनलाई जे लगाए पनि हुन्छ भन्ने लाग्न थालेको छ । खोई दसैंको रौनक हराउँदै गएको हो कि ? मलिका भन्छिन्, ‘पहिले मासु–भात खान दसैं नै कुर्नुपथ्र्यो, नयाँ लुगा लगाउन दसैं नै आउनुपथ्र्याे, कतै घुम्न जान तथा टाढाका आफन्त भेट्न दसैं नै पर्खनुपथ्र्याे तर अहिले हरेक ठाउँमा इन्टरनेटको पहुँचले गर्दा अमेरिका, अस्ट्ेरलिया, जापान बसेका आफन्त हुन् वा नेपालकै विकट गाउँघरमा भएकाहरू हुन् छिनछिनमा कुरा गर्न सकिने अवस्था छ । भिडियो कलले त अझ सबैलाई नजिक बनाइदिएको छ भने रेस्टुराँ कल्चरले हरेक दिन भनेजस्तो परिकार खान पाइने अवस्था छ । त्यस्तै कतै जान पनि सजिलो छ । यी विभिन्न कारणले पनि दसैंको महत्व कम भएको अनुभव गर्छिन्, नायिका मलिका महत । 

गायिका निशा देसारलाई दसैं भन्नेबित्तिकै टीकाकै सम्झना आउँछ । परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुँदा निकै रमाइलो हुन्छ । सानोमा नयाँ लुगा लगाउन पाइने कुराले रमाइलो लाग्थ्यो भने अहिले आफ्नो भन्दा पनि बालबालिकाहरूको इच्छा पूरा गरिदिन पाउँदा खुसी लाग्छ । चापागाउँ बस्ने निशालाई दसैंमा गरिने पूजापाठ, साधना एवं संस्कार मनपर्छ । सकेसम्म आफ्ना सन्तानले पनि दसैंप्रति उत्तिकै आस्था राखून् भनेर निशा घटस्थापनादेखि टीकासम्मका हरेक कार्यलाई आमाहरूले गरिआएको संस्कारअनुरूप नै निरन्तरता दिन्छिन् । हामी आफैले आफ्नो जिम्मेवारी र संस्कार भुल्दै विदेशी संस्कार फलो गर्ने अनि अहिलेको पुस्ताले हाम्रो चाडपर्व र संस्कारलाई वास्ता गरेन भन्नु उपयुक्त नहुने देसारले बताइन् । निशा भन्छिन्–दसैं महान् पर्व हो, यसलाई जसरी चलिआएको छ त्यसरी नै निरन्तरता दिँदै नयाँपुस्तामा हस्तान्तरण गर्नुपर्छ ।

 Image