Successfully Copied

पर्वमा परिमार्जन

अहिलेको पुस्ता संस्कार, संस्कृतिलाई निरन्तरता दिने कुरामा होस् वा पर्व मनाउने अथवा अन्य परम्पराका विषयमा फरकपन खोजिरहेको अवस्था छ । शैक्षिक एवं चेतनास्तरमा वृद्धि तथा आयआर्जनमा देखा परेको क्रान्तिका कारण पर्वलाई उपलब्धिमूलक र बढी फलदायी बनाउनेतर्फ अहिले सबैको ध्यानाकर्षण बढेको छ ।

अहिलेको पुस्ता संस्कार, संस्कृतिलाई निरन्तरता दिने कुरामा होस् वा पर्व मनाउने अथवा अन्य परम्पराका विषयमा फरकपन खोजिरहेको अवस्था छ । शैक्षिक एवं चेतनास्तरमा वृद्धि तथा आयआर्जनमा देखा परेको क्रान्तिका कारण पर्वलाई उपलब्धिमूलक र बढी फलदायी बनाउनेतर्फ अहिले सबैको ध्यानाकर्षण बढेको छ । मानिसहरूको समग्र लाइफ स्टायलमा परिवर्तन आइरहेको समयमा पर्वमा पनि समय सापेक्ष परिवर्तनका लागि विशेषज्ञहरूको विचार :

संगीता अग्रवाल / सौन्दर्यकर्मी 

दसैंलाई टन्न खाने, मोजमस्ती र फजुल खर्च गर्ने पर्वभन्दा पनि आफू र आफ्नो शरीर, स्वस्थ एवं सुन्दरताका लागि समय छुट्याउने अवसरका रूपमा विकास गर्ने बेला आएको छ । अहिले हरेक मानिस कुनै न कुनै काममा अल्झिइरहेका हुन्छन् जसले गर्दा उनीहरूसँग आफ्ना लागि समय कम हुन्छ । दसैंका बेला कामबाट फुर्सद पाइने भएकाले आफ्नो रुचिका कुरामा सहभागी हुने, आफूलाई कसरी खुसी र राम्रो बनाउनेतर्फ ध्यान दिँदा वर्षभरिका लागि उत्साह मिल्छ । संस्कारका नाममा यही नै वा यसरी नै गर्नुपर्छ भन्ने कुरा हट्दै जानुपर्छ । यतिबेला घरका महिला सदस्यहरूले पनि रमाइलो गर्न पाउनुपर्छ । समय फेरिइसक्यो उहिले यस्तो थियो, यो नगरी हुँदैनथ्यो भन्ने कुरामा जिद्दी कसेर बस्नुभन्दा पनि कसरी यसलाई समयसापेक्ष, सहज एवं सम्मानजनक बनाउने भन्नेतर्फ ध्यान दिन सके नयाँ पुस्ताले पनि यसलाई खुसीसाथ निरन्तरता दिने थियो । 

जयप्रसाद पौडेल / समाजशास्त्री

चाडपर्व पारिवारिक सम्बन्ध एवं भातृत्व बढाउन तथा सामाजिकीकरणका लागि उहिलेदेखि मनाइँदै आएको इतिहास छ । केही दशकअघिसम्म ग्रामीण क्षेत्रमा अहिले पनि वर्षाको कामले थाकेको शरीरलाई आराम दिने, पोषिलो खाना खाने, नयाँ लुगा लगाउने, आफूलाई पुनर्जागरण गर्ने समयका रूपमा लिइन्छ चाडपर्वलाई । त्यो समयको दसैं जति बेला अहिले जस्तो प्रविधि थिएन, तिनै क्रियाकलापमा मानिसहरू रमाएर खुसी हुन्थे जुन मानव जीवनका लागि अत्यावश्यक छन् । जति समाज शिक्षित हुँदै गयो, प्रविधिको विकास बढ्दै गयो त्यति नै समाजले नयाँ दिशा र गति लिने हो । अहिलेका व्यस्त मानिसहरूलाई हेर्दा बल्ल–बल्ल कामबाट छुट्टी पाएका हुन्छन् त्यही समय पनि घरघरै टीका थाप्दै हिँडेर बिताउनुभन्दा एक ठाउँमा जम्मा भएर टीका थाप्नु अनुपयुक्त होइन । फलानो समाज, फलानो परिवारको टीका यो घरमा वा यो स्थानमा भनेर तोकिदिँदा सबैको समय व्यवस्थापन एवं सामाजिकीकरणमा थप मद्दत पुग्छ ।

गायत्री विष्ट / साहित्यकार तथा अनुवादक

चाडलाई वैज्ञानिक तरिकाले अघि बढाउनुपर्छ । बलिप्रथा घटाउनुपर्छ, फजुल खर्च रोक्नुपर्छ । त्यसका लागि दसैंमै खसी काट्ने र त्यही बेला महँगा पहिरन तथा गरगहना खरिद गर्ने ट्रेन्ड हटाउनुपर्छ । म त अझै निधारभरि एकमाना चामलको टीका थाप्ने र सकी नसकी दक्षिणा दिने प्रचलन पनि बन्द हुनुपर्छ भन्छु । निधारमा लगाएको चामल त्यत्तिकै खेर जान्छ, किनभने यही पृथ्वीमा करोडौं मानिस भोकमरीले मरिरहेका छन् । दसैंलाई मेलमिलापपूर्ण, उपलब्धिमूलक तथा प्रगतिशील बनाउनुपर्छ । यतिबेला ठूलाबडा आशीर्वाद लिने प्रचलन भने निकै राम्रो छ । पर्व आयो कि महिलामा घरेलु कामको भार दोब्बर हुन्छ । त्यसमा पुरुष पनि सहयोगी हुनुपर्छ जसका लागि जूवातास बन्देजमा सरकारले कडा कदम चाल्नुपर्छ । 

नैना गुरुङ / व्यवसायी

पर्वकै नाममा आफ्नो स्वास्थ्य, शरीर, समाज तथा समुदायलाई नै हानि हुने काममा कमी आउनैपर्छ । अहिले पनि टन्न मदिरा सेवन गर्ने, होहल्ला र झैझगडा गर्ने, जूवातासमा वादविवाद हुने अनि केही भन्यो भने चाडवाडको ट्याग झुन्ड्याइदिने चलन उत्तिकै छ । यस्ता कुरामा व्यक्ति स्वयंले सुधार ल्याउनुपर्छ । अर्को कुरा दसैंकै बेला घर, टोल, छिमेक नै गन्हाउने गरी मासु थुप्राउने चलन पनि घटाउनुपर्छ । ठिक्क, आफ्ना लागि जति आवश्यकता हो उति खाने र खर्च गर्ने हो भने स्वास्थ्य पनि ठीक रहन्छ अनि खर्च पनि कम हुन्छ । अर्को कुरा दक्षिणाको होड कम गर्न घरका अभिभावकले आफ्ना बालबालिकालाई ज्ञान दिनु उपयुक्त हुन्छ । दक्षिणाको महत्व र अर्थ राम्रोसँग बुझ्ने गरी उनीहरूलाई शिक्षा दिनुपर्छ । 

रोजी भण्डारी / प्रशासनिक प्रमुख, नेपाल लिक्वेयर्स 

दसैंमा खानपान गर्दा, हिँड्दा, डुल्दा स्वयं सचेत हुनुपर्छ । यतिबेला सबैको बिदा हुने भएकाले हरेक कुरामा कार्यविभाजन हुनुपर्छ । महिला मात्र काममा घोटिने चलन हटाउनुपर्छ । महिलाले पनि रमाइलो गर्न पाउनुपर्छ । बलि दिएर भगवान् खुसी हुँदैनन् । यसलाई न्यूनीकरण गर्दै जानु राम्रो हुन्छ । दसैं आउनेबित्तिकै नयाँ नोट साट्ने, यो किन्ने, ऊ किन्ने ठूलो आर्थिक भार हुन्छ । त्यो सब यही बेला किन गर्नुपर्‍यो ? आफ्नो हैसियत पुगेको र सकेको बेला गर्दा हुन्छ । यतिबेला धेरै चीज खेर जान्छन् जसमा हामीले सजगता अपनाउनुपर्छ ।

 Image