टेनिस कोर्टमा जुम्ल्याहा  दिदीबहिनीको  जादु

सुजाता मुखिया

भाद्र १७, २०७६  

टेनिसको ग्ल्यामर र क्रेज नबुझ्दै मायांका–माहिका बल र र्‍याकेटसँग खेल्न थालिसकेका थिए । टेनिस सिक्नकै लागि उनीहरू बिहानै न्यानो ओछ्यान छाड्थे । हतार–हतार सातदोबाटोस्थित टेनिस कोर्टमा पुग्थे । कडा प्रशिक्षण लिन्थे तर घरका गुरु भने बुवा नै थिए ।

उस्तै रूप–रंग, उस्तै उचाइ अनि उस्तै चालढाल । चहकिलो मिनी र्स्कट, फिटिङ टिसर्ट, क्याप र स्पोर्ट्स सुजमा ठाँटिएर जब उनीहरू बल र र्‍याकेट खेलाउन थाल्छन् । उनीहरूलाई विपक्षी कोर्टमा आफ्नो कब्जा जमाउन केही बेर लाग्दैन । टेनिस कोर्टमा मायांका र माहिका राणाको जोडीले जो–कोहीको ध्यान खिच्छ । 

उनीहरू जुम्ल्याहा दिदीबहिनी हुन् । उमेर १८ वर्ष । शिक्षा स्नातक अध्ययनरत । मायांका अमेरिकाको फ्लोरिडामा उद्यमशीलता र माहिका खेल व्यवस्थापन अध्ययन गरिरहेका छन् । 

यी जुम्ल्याहा दिदीबहिनीको खास चिनारी भने टेनिस खेलाडी हुनु हो । ९ वर्षको कलिलो उमेरमै टेनिस कोर्टमा प्रवेश गरेका मायांका र माहिका ११ वर्षको उमेरमा अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भैसकेका थिए । उनीहरू डबल्स, जुनियर तथा महिला वर्गका शीर्ष वरियता प्राप्त खेलाडी हुन् । घरेलु कोर्टमा दुवैले कीर्तिमानी उपलब्धि हासिल गरिसकेका छन् ।

मायांका नेपालमै सम्पन्न आईटीएफ (इन्टरनेसनल टेनिस फेडरेसन) अन्डर–१८ अन्तर्गत खेलबाट क्वाटरफाइनल पुग्ने पहिलो नेपाली टेनिस खेलाडी हुन् । सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली टेनिस प्रतियोगितामा उनीहरूले पहिलो चरणमा माल्दिभ्सलाई पराजित गरेका थिए । यी जुम्ल्याहा दिदीबहिनीले आईटीएफ अन्डर–१४ तथा अन्डर–१८ मा प्रतिस्पर्धा गरिसकेका छन् । उनीहरू एसियाली टेनिस प्रतियोगितामा पनि दुईपटक भिडिसकेका छन् । 

त्यसो त किशोरावस्थामा प्रवेश नगर्दै उनीहरू बल र र्‍याकेटमा अभ्यस्त भए । मायांका र माहिकाले सन् २००९ मा लिटल एन्जल्स स्कुलले आयोजना गरेको अन्तर विद्यालय लन टेनिस प्रतियोगिता अन्डर–९ समूहअन्तर्गत उपाधि जित्दै टेनिसको यात्रा सुरु गरेका हुन् । त्यसपछि उनीहरू निरन्तर टेनिस कोर्टमा देखिँदै आएका छन् । 

मायांका भर्सेस माहिका 

यी दुई जुम्ल्याहा दिदीबहिनी हेर्दा उस्तै देखिन्छन् । सँगै बस्छन्, सँगै खान्छन्, सँगै खेल्छन् । त्यसबाहेक उनीहरूको मिल्ने कुरा भनेको टेनिस हो । त्यसैगरी उनीहरूको स्वाद पनि मिल्छ । दुवै जना उस्तै परिकार रुचाउँछन् । यद्यपि उनीहरूका अरू केही कुरा भने भिन्न छन् । 

मायाका धेरै नबोल्ने स्वभावकी छिन् भने माहिका चञ्चले स्वभावकी छिन् । मायांका फेसन कन्सस छिन् उनी पहिरन फेरी–फेरी लगाउन रुचाउँछिन् । माहिकालाई पहिरनमा खासै रुचि छैन । मायांकालाई मेकअपमा पनि उत्तिकै रुचि छ । उनले मेकअप क्लास नै लिएर सिकेकी हुन् । मायांकाको रुचि नृत्यमा पनि छ । माहिकालाई फोटोग्राफीले लोभ्याउँछ । स्कुलमा हुँदादेखि नै उनी फोटोग्राफी गर्थिन् । त्यसैगरी उनलाई समाजसेवामा समेत रुचि छ । 

उनीहरू दुवैलाई नेपाली खाना तथा थकाली थाली एकदमै मनपर्छ । अमेरिकामा हुँदा उनीहरू नेपाली खाना नै मिस गर्छन् । त्यसका अतिरिक्त मायांकालाई जापनिज तथा चाइनिज परिकार पनि मनपर्छ ।

सानैदेखि दुवैजना ज्ञानी एवं शान्त स्वभावका भएको र कहिल्यै आफूहरूलाई दुःख नदिएको आमा ज्योति मल्ल बताउँछिन् । ‘जुम्ल्याहा सन्तान हुर्काउन गाह्रो हुन्छ भन्छन्’ ज्योति भन्छिन्–‘तर मायांका र माहिकालाई हुर्काउन, बढाउन गाह्रो भएन ।’

प्रायः सँगै खेल्ने यी दिदीबहिनीले कहिलेकाहीँ एक–अर्काको विपक्षी पनि भएर खेल्नुपरेको छ । माहिका भन्छिन्–‘कोर्टमा पुगेपछि नातागोता आदि कुरा बिर्सिएर आफ्ना तर्फबाट बेस्ट दिन्छौं जसले राम्रो खेल्छ उसैले जित्छौं ।’

परिवारको पछि–पछि 

मायांका र माहिका टेनिस खेलकै पृष्ठभूमिमा हुर्किएका जुम्ल्याहा दिदीबहिनी हुन् । उनीहरूका पिता मनोज एसजेबी राणा नेपालका सिनियर टेनिस खेलाडी हुन् । उनले ८ वर्षको उमेरदेखि नै टेनिस खेल्न थालेका थिए । राणाले २०४२ सालमा नेपालगञ्जमा आयोजित तेस्रो बृहत् खेलकुद प्रतियोगितामा डबल्समा स्वर्ण तथा सिंगल्समा कांस्य पदक जितेका थिए ।

मायांका–माहिकाकी आमा ज्योति मल्ल पनि टेनिस खेलाडी हुन् । बुवा र आमा पनि एउटै समूहबाट प्रतियोगितामा भिडेका छन् । सन् १९१७ मा मनोज र ज्योतिले राष्ट्रिय टेनिस प्रतियोगिताको मिक्स्ड डबल्सतर्फ स्वर्ण पदक जितेका थिए । उनीहरू खेलाडीमा मात्र सीमित नभई टेनिससँग संस्थागत रूपमै जोडिएका छन् । पिता मनोज २०४३ सालमा नेपाल टेनिस एसोसिएसनको कोषाध्यक्षमा चुनिएका थिए भने सन् २००५ देखि नेपाली टेनिसको जिम्मेवारी लगातार १० वर्षसम्म सम्हाले टेनिस संघको अध्यक्षका रूपमा । 

राणाकै कार्यकालमा नेपाल टेनिस एसोसिएसन अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) मा आबद्ध भयो । राणाले सन् २०१७ मा अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा भारतमा आयोजित दक्षिण एसियाली भेन्ट्रान्स प्रतियोगितामा ४५–५५ वर्षको उमेर समूहको स्वर्ण पदक जिते । यता आमा ज्योतिले सन् २०१५ पछि टेनिस एसोसिएसनको नेतृत्व सम्हालेकी छिन् । उनी नेपाल ओलम्पिक कमिटीकी महिला तथा खेल आयोगकी उपाध्यक्ष हुन् । 

जेठी दिदी मालिका राणा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला टेनिस खेलाडी हुन् । उनले सन् २०१० मा चीनमा भएको खेलमा मंगोलियासँग प्रतिस्पर्धा गरेकी थिइन् । 

बुवा–आमा नै टेनिसका भेट्रान खेलाडी भएकाले नै उनीहरूले त्यही पदचाप पछ्याएका हुन् कि ? कतिपय अवस्थामा बुवा–आमाले आफ्नो इच्छा छोराछोरीमाथी लाद्छन् । सन् २०१६ मा प्रदर्शित हिन्दी चलचित्र ‘दंगल’ मा दुई दिदीबहिनीको त्यस्तै कथा प्रस्तुत गरिएको थियो जसमा पिताले आफ्नो अधूरो इच्छा छोराछोरीमार्फत पूरा गराउन खोज्छन् । कुस्तीवाज पिता महावीर सिंह फोगाटले आफ्ना दुई छोरी गीता र बबितालाई कुस्तीवाज नै बनाउन कठोर प्रशिक्षण दिन्छन् । आखिर छोरीहरूमार्फत पिताले आफ्नो सपना पूरा गर्छन् । यो सत्य कथामा आधारित चलचित्र थियो र यस्तो प्रवृत्ति अरू आमा–बुवामा पनि पाइन्छ । 

यद्यपि मायांका र माहिकाले भने बुवा–आमाको दबाब र इच्छाअनुसार टेनिस रोजेका होइनन् । घरमा सबै टेनिस खेल्ने भएकाले बाल्यावस्थादेखि नै उनीहरूको घनिष्ठता बल र र्‍याकेटसँग बढ्यो । मायांका भन्छिन्–‘हामी सानो छँदै बुवा–आमा टेनिस खेल्नुहुन्थ्यो । उहाँहरूले खेलेको देखेर बल र र्‍याकेट खेलाउँदा–खेलाउँदै टेनिसमा रहर जाग्यो ।’ बुवा र आमालाई उनीहरू आफ्नो आदर्श मान्छन् । उनीहरू बुवा–आमाजस्तै टेनिसमा रमाउन र समर्पित हुन चाहन्छन् । 

बुवा टेनिसमा आफ्नो योगदान भएकाले पनि छोरीहरू टेनिसमै लागून्, टेनिसका लागि केही गरून् भन्ने चाहन्छन् तर कहिल्यै दबाब भने दिँदैनन् । सानैदेखि बुवाको टेनिसप्रतिको लगाव, समपर्ण एवं त्याग हेर्दै हुर्किएका यी दिदीबहिनी प्रतियोगिता जितेपछि सबैभन्दा पहिले आफ्ना बुवालाई नै सम्झन्छन् ।

परिवारको भर 

‘परिवारको सहयोगविना कुनै पनि क्षेत्रमा अघि बढ्न सकिँदैन’ मायांका–माहिकाकी आमा भन्छिन् । टेनिस खेलसँग लामो समयसम्म सम्बन्ध बन्नुमा उनको परिवारको विशेष भूमिका छ । विवाहपछि पनि श्रीमान् र आफ्नो परिवारको सहयोगले नै टेनिस खेललाई निरन्तरता दिन पाएको आमा ज्योति बताउँछिन् । विवाहपछि उनले आफ्नो रुचिसँग मिल्ने जोडी पाइन् । घरमा मात्र होइन, टेनिस कोर्टमा पनि श्रीमान् मनोजसँग उनको सहकार्य जम्यो । उनीहरूले थुप्रै पदक पनि जिते । 

आमा ज्योति भन्छिन्–‘विवाहपछि टेनिसमा मेरो थप प्रगति भयो ।’ परिवारको साथ र सहयोगले आफ्नो करियर हाँक्न सजिलो हुन्छ भन्ने कुरा राम्रोसँग बुझेकीले ज्योति मायांका र माहिकालाई पूरै सपोर्ट गर्छिन् । उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा छोरीहरूसँगै हुन्छिन् । टेनिस खेल्न जाँदा टिफिनमा खाजा राखिदिनेदेखि टेनिस खेल्दा लगाउने पहिरन आदिको व्यवस्था मिलाइदिने काम उनी आफै गर्छिन् ।

टेनिस कोर्टमा संघर्ष 

यी दिदीबहिनीले बुवा–आमा टेनिस खेलाडी भएको नाताले मात्र यो उपलब्धि हासिल गरेका होइनन् । त्यसका पछाडि उनीहरूको आफ्नै संर्घषको बेग्लै कथा छ ।

टेनिसको ग्ल्यामर र क्रेज नबुझ्दै मायांका–माहिका बल र र्‍याकेटसँग खेल्न थालिसकेका थिए । टेनिस सिक्नकै लागि उनीहरू बिहानै न्यानो ओछ्यान छाड्थे । हतार–हतार सातदोबाटोस्थित टेनिस कोर्टमा पुग्थे । कडा प्रशिक्षण लिन्थे तर घरका गुरु भने बुवा नै थिए ।

एकातिर विद्यालयको पढाइ अर्कातिर खेल । दुवैलाई समय दिनुपर्ने भएकाले उनीहरूको दैनिकी धपेडीमा बित्थ्यो । बिहान टेनिसको अभ्यास गरिसकेपछि विद्यालय जाने हतारो हुन्थ्यो । विद्यालयको पढाइ सकेपछि फेरि टेनिस कोर्टमै फर्कनुपर्ने । फुर्सदले खाजा खाने समयसम्म हुँदैनथ्यो । त्यसैले आमाले खाजा बनाएर टिफिन पठाइदिन्थिन् अनि त्यो खाजा बसमै खाइसक्नुपर्थ्यो । 

बिहान उठेर टेनिसको अभ्यास । त्यसपछि विद्यालय । विद्यालयबाट फर्किर्एर पुनः टेनिस कोर्टमा । साँझ घरमा होमवर्क अनि मात्र साँझको खाना । ‘हतार–हतार होमवर्क गर्‍यो, खानपिन गर्‍यो अनि दायाँ–बायाँ नलागी सुतिहाल्नुपर्थ्यो’ माहिका भन्छिन्–‘फेरि भोलि चाँडै उठ्नुपर्थ्यो ।’

कहिलेकाहीँ खेल्दा चोट लाग्थ्यो । थकाइ त लाग्ने नै भयो । हात दुख्थ्यो । तैपनि उनीहरूले आज खेल्न सकिँदैन कि भनेर टेनिसको अभ्यास गर्न छाडेनन् । यी दिदीबहिनी खेलमा कडा मेहनत गर्छन् भने अहिले पनि निरन्तर टेनिसको अभ्यास गरिरहेका छन् ।

ज्योति मल्ल, आमा

खेलमा हार र जित हुनु स्वाभाविक हो । जितमा हामी खुसी हुन्छौं, रमाउँछौं । हारमा हामी निराश हुन्छौं तर हारमा पनि रमाउन सक्नुपर्छ । हामीले हार्न पनि जान्नुपर्छ । खेलले यही कुरा सिकाउँछ । खेल सम्पन्न भैसकेपछि पनि हामी विपक्षी टिमसँग हात मिलाउँछौं । यसले विपक्षीको सम्मान गर्नुपर्छ भन्ने कुरा सिकाउँछ । खेलको मुख्य लक्ष्य भनेको अनुशासन र गतिशीलता हो । अनुशासन जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष हो । खेलले दैनिक तालिकाअनुसार चल्न सिकाउँछ । मानसिक एवं शारीरिक रूपमा तन्दुरुस्त राख्छ । मस्तिष्क फ्रेस राख्छ । 

मलाई हरेक बालबालिकालाई कुनै न कुनै खेलमा आबद्ध गराउनुपर्छ जस्तो लाग्छ । मैदान एउटा यस्तो ठाउँ हो, जहाँ जाति, धर्म, लिङ्ग एवं रंग छुट्टिँदैन । सबै समान हुन्छन् । सबैकाप्रति उत्तिकै सम्मान भाव राखिन्छ । अर्को कुरा खेलले संघर्ष गर्न सिकाउँछ । 

नेपालमा महिला खेलाडी निकै कम छन् । खेलकुदमा महिलाहरूको सहभागिता नै कम छ । लिडरसिप गर्ने पोजिसनमा महिलाहरूको पँहुच अझै पुगेको छैन । उतिबेला खर्चिलो हुने भएकाले सबैले टेनिस खेल्न पाउँदैनथे । अहिलेको अवस्था त्यस्तो छैन ।

२०१९ मा हुने साफ गेममा मायांका र माहिका दुवैले खेलेको हेर्ने मन छ ज्योतिमा । पढाइ र करियर दुवैलाई मिलाएर अघि बढ्न सकून् भन्ने चाहना छ । ५ वर्षको उमेरदेखि टेनिस खेले पनि पढाइलाई निरन्तरता दिइरहेका मायांका र माहिकाको अध्ययनमा कुनै कमी आएको छैन । पहिलो सेमेस्टर सकेर छुट्टीमा नेपाल आएका मायांका र माहिकाले ४ जिपिए ल्याएका छन् । ज्योति भन्छिन्–यसबाट हामी सन्तुष्ट छौं । हामी आफ्ना छोरीहरू सफल मात्र होइन योग्य नागरिक भएको हेर्न चाहन्छौं ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>