Successfully Copied

तीजको दरमा च्याउको अचार र फ्रुट सलाद

डल्ले च्याउलाई राम्रोसँग पानीमा धुने र १ सिठी लगाउने । सबै बाफ उडेपछि मात्र कुकरको बिर्को खोलेर सेलाउन दिने । सेलाएको च्याउलाई चप वोर्डमा चनाको दाना आकारमा टुक्रा बनाउने । अदुवा खुर्किएर स–साना टुक्रा बनाउने ।

 

च्याउको अचार 

सामग्री : एक किलो डल्ले च्याउ, अदुवा २ सय ग्राम, तिल २ सय ग्राम, तोरीको तेल १ सय ग्राम, एक चिम्टी हिङ, कागतीको रस स्वादअनुसार, तोरीको दाना आधा चम्चा, अदुवा १० ग्राम, खुर्सानी ३ वटा, टिम्मुर एक चिम्टी ।

विधि : डल्ले च्याउलाई राम्रोसँग पानीमा धुने र १ सिठी लगाउने । सबै बाफ उडेपछि मात्र कुकरको बिर्को खोलेर सेलाउन दिने । सेलाएको च्याउलाई चप वोर्डमा चनाको दाना आकारमा टुक्रा बनाउने । अदुवा खुर्किएर स–साना टुक्रा बनाउने । तिल भुटेर धूलो बनाइराख्ने । तोरीको तेल तताएर मेथी फुराउने, तोरीको दाना पड्काएर आगो घटाउने । अब त्यसमा एक चम्चा बेसार र एक चिम्टी हिङ हाली अदुवा–खुर्सानी फुराएर छोपिदिने । खुर्सानीको खार सकिएपछि मात्र ढक्कन निकालेर च्याउ हाली सानो आगोमा २० मिनेट पाक्न दिने । पाकेर सेलाएपछि नुन एवं तिलको छोप हाली चलाएर कागतीको रस निचोर्ने । ग्रेभी बनाउन उमालेर सेलाएको पानी थप्दै चलाउने । अन्त्यमा धनियाँको पात र टिम्मुर पनि हाल्ने । 

फ्रुट सलाद

सामग्री : भुइँकटहरको टुक्रा १ सय ग्राम, स्याऊको टुक्रा १ सय ग्राम, केराको टुत्रा १ सय ग्राम, काँक्रा १ सय ग्राम, गोलभेंडा १ सय ग्राम, भेंडेखुर्सानी ५० ग्राम, अनारको दाना ५० ग्राम, मायोनेज सस आधा कप, मरिचको धूलो तथा नुन स्वादअनुसार । 

विधि : माथि उल्लेख गरिएका सबै सामग्रीलाई एउटा भाँडामा राखेर फलफूल नलत्पतिने गरी हल्कासँग चलाउने । मायोनेज सस चारैतिर लागिसकेपछि नुन तथा मरिच छर्कने । यसरी तयार गरिएको सलादलाई एक घन्टा फ्रिजमा राख्ने । यो परिकार खानासँगै वा खाना खाइसकेपछि डिजर्टका रूपमा खान सकिन्छ ।

 Image