पारिवारिक तीज : खुसीको स्रोत

लक्ष्मी भण्डारी थापा

भाद्र ४, २०७६

 

तीजमा परिवारका सबै सदस्य सँगै हुँदा फरक अर्थ राख्ने कुरा बताउँदै व्यवसायी आँचल प्रधान शाक्य भन्छिन्–हिजोआज फरक जाति, संस्कृति र धर्मका बीच वैवाहिक सम्बन्ध जोडिने क्रम बढ्दो छ । तीजमा परिवार र आफन्त एकै स्थानमा जम्मा हुनुले अन्तर सांस्कृतिक सम्मान बढाएको छ ।’ केही वर्षयता शारीरिक उपस्थितिका दृष्टिकोणबाट पर्व भर्च्युअल हुन पुगेका छन् । उहिले जस्तो तीज, दसैं, तिहार आदिमा व्यक्ति स्वयं उपस्थित हुनैपर्छ भन्ने मान्यता घट्दै गएको छ । 

मञ्जु गौतम सिटौला 

सामाजिक अभियन्ता

वित्तीय क्षेत्रमा लामो समय बिताएकी मञ्जु गौतम सिटौला तीज भन्नेबित्तिकै सौभाग्य, रातो रंग र परिवारको सम्झना आइहाल्ने बताउँंछिन् । पहिले निराहार व्रत बसे पनि हिजोआज उनको परिवारका महिला सदस्यहरू पानी, जुस तथा फलफूल खाएर व्रत बस्छन् जसलाई उनी समयले ल्याएको परिवर्तनका रूपमा लिन्छिन् । मञ्जुकी भाउजू निर्माण व्यवसायी मनिमा शर्मा न्यौपाने भने अझैसम्म पनि निराहार व्रत बसी श्रीमान्को खुट्टाको जल पिउँछिन् । मनिमा भन्छिन्–पारिवारिक संस्कारबाट त्यही सिकें त्यसैले गरिरहेकी छु । एकदिन त्यति गरिदिँदैमा श्रीमान् र परिवारका सदस्यहरू खुसी हुन्छन् भने मलाई त्यति गर्न कुनै आपत्ति छैन ।’

मञ्जुकी अर्की भाउजू पार्वती गौतम भने खुट्टाको पानी मुखमा नहाल्दैमा पति–पत्नीबीचको मायामा कमी आउँदैन भन्ने सोच र बुझाइका कारण व्रत बसे पनि खुट्टाको जल नपिउने बताउँछिन् । मञ्जुकी गायिका तथा सञ्चारकर्मी बहिनी कोपिला गौतम कतिपय तीज बिनाव्रत नै बितेको बताउँछिन् । विदेश बसाइमा कामको चटारोका कारण व्रत, दर सबै बिर्सिने उनले बताइन् । कोपिला भन्छिन्–यो पर्व नै विशेष गरी माइती सम्झने, महिलाले धक फुकाएर आफूभित्रका पिर–व्यथा भुलेर खुसी व्यक्त गर्ने अवसर हो । यसमा परिवार र आफन्तभित्रका हरेक नारी जोडिएका हुन्छन् । यस्तो व्यवहारले आपसी द्वेष तथा ईर्ष्यालाई मेटेर माया–प्रेम स्थापित गर्छ ।’ मञ्जुका अनुसार परिवार नै खुसीको स्रोत हो । परिवारबिनाको चाडवाड खल्लो र निरस हुन्छ । परिवारका सम्पूर्ण दिदीबहिनीबीचको खुसी उजागर हुने दिन सबैजना सँगै हुँदा त्यो खुसी दोब्बर हुन्छ । मञ्जुको परिवारका आमा, दिदीबहिनी, भाउजू, बुहारी सबै एक ठाउँमा भेला भएर दर खान्छन्, व्रत बस्छन्, राता–हरिया पहिरनमा आफूलाई सजाउँछन् अनि नाचगान गरी रमाइलो गर्छन् । 

आँचल प्रधान शाक्य

संस्थापक, नानापसल

पाल्पाली छोरी आँचल प्रधान शाक्य ठूलो परिवारमा हुर्किएकी हुन् । उपत्यकाबाहिरका नेवारहरूमा ब्राह्मण–क्षेत्रीको संस्कारको प्रभावका कारण आँचलका आमा, हजुरआमाहरू तीजको व्रत बसी पञ्चमीको पूजा गर्थे । आँचलको हुर्काइ–बढाइ काठमाडौंमै भएका कारण उनलाई सुरुवातमा तीजको अर्थ त्यति थाहा थिएन । बिस्तारै उनमा बढ्दै गएको समाजिकीकरणले क्रमशः फराकिलो बनाउँदै लग्यो र तीजप्रति रुचि जाग्न थाल्यो ।

आँचलकी सासू मोतीशान्ति शाक्य दुई दर्जनभन्दा बढी सामाजिक संस्थामा आबद्ध छिन् । बुद्ध धर्म मान्ने मोतीशान्तिको सोच सामाजिक कार्यमा हिँड्न थालेदेखि नै बदलियो । उनी अहिले तीजमा सोर्‍ह शृंगारमा सजिएर रातो पहिरनमा छमछमी नाच्छिन् । मोतीशान्ति भन्छिन्–‘बिस्तारै यो चाडलाई महिलाको खुसी, सशक्तीकरण र स्वतन्त्रताका रूपमा बुझ्दै जान थालें ।

नेवारहरूमा फुली लगाउने चलन नभए पनि यो दिन म फुली र छड्के तिलहरी लगाउँछु । यो पर्वले परिवारका महिला सदस्यहरूबीचको सद्भाव बढाउन ठूलो भूमिका खेलेको छ भन्ने मैले बुझेकी छु ।’ आँचलकी आमा विधाता प्रधान पाल्पाली तीजको झझल्को आउने बताउँदै भन्छिन्–हामी हिन्दू नेवार भएकाले हाम्रा आमा, सासूहरू तीजमा व्रत बस्ने, पञ्चमी लाउने, ३ सय ६५ वटा दतिवन टोक्ने सबै विधि पूरा गर्नुहुन्थ्यो । यो संस्कार मैले आफ्नै परिवारका ज्येष्ठ सदस्यहरूबाट सिकेकी हुँ । चाडपर्वमा परिवारको महत्व पनि थाहा पाइन्छ ।’ आँचल आफू पनि अहिले नजिकका साथीभाइ, परिवार एवं इष्टमित्रसँग दर खाएर तीज मनाउँछिन् ।

उनलाई यस्ता अवसरले परिवारका सदस्यहरूबीच आपसी सद्भाव, स्नेह र प्रेम वृद्धि गर्छ भन्ने लाग्छ । यतिबेला जतिसुकै व्यस्त भए पनि एक ठाउँमा भेला हुनैपर्ने भएकाले यो संस्कारलाई निरन्तरता दिनैपर्ने मोतीशान्तिको धारणा छ । आँचल भन्छिन्–मैले बुझेको तीज पारिवारिक खुसी र महिलाको स्वतन्त्रतालाई उजागर गर्ने पर्व हो । त्यो दिन म मेरी छोरीलाई रातो पहिरन लगाइदिन्छु र आफू पनि रातो–हरियो पहिरनमै हुन्छु । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्