Successfully Copied

तीजमा कुन  मन्दिर जाने ?

नेपालमा तीजकै अवसरमा भीडभाड हुने दर्जनौं शिवालय छन् । धार्मिक गन्तव्यका रूपमा चर्चित ती शिवालय सबैको रोजाइमा पर्दै आएका छन् ।

नेपालमा तीजकै अवसरमा भीडभाड हुने दर्जनौं शिवालय छन् । धार्मिक गन्तव्यका रूपमा चर्चित ती शिवालय सबैको रोजाइमा पर्दै आएका छन् ।

हरितालिका तीजमा व्रत बसेर महादेवको पूजा–आराधना गर्ने प्रचलन छ । नेपालमा तीजकै अवसरमा भीडभाड हुने दर्जनौं शिवालय छन् । धार्मिक गन्तव्यका रूपमा चर्चित ती शिवालय सबैको रोजाइमा पर्दै आएका छन् । 

पशुपतिनाथ 

तीजका अवसरमा व्रत बसेर पशुपतिनाथको दर्शन गर्ने नारीहरूको संख्या सबैभन्दा बढी हुन्छ । पशुपतिनाथलाई धार्मिक हिसाबले महत्वपूर्ण र ठूलो शक्तिपीठ मानिन्छ । ऐतिहासिक तथा प्राचीनतम मन्दिर भएकाले सबै समुदायका मानिसले पशुपतिनाथलाई समान आस्था र श्रद्धाले हेर्छन् । यहाँ तीजकै लागि भनेर चारैतिरका ढोकाबाट दर्शनको प्रबन्ध मिलाइन्छ । 

हलेसी महादेव 

खोटाङ जिल्लास्थित हलेसी महादेवको मन्दिर पूर्वाञ्चलको चर्चित धार्मिक स्थल हो । यहाँ हरितालिका तीजमा हिन्दू महिलाहरूको भीड लाग्छ । सदरमुकाम दिक्तेलबाट ९ कोस पश्चिममा अवस्थित हलेसी ४ हजार ७ सय ३६ मिटर उचाइमा छ । यो मन्दिरमा अनौठो प्राकृतिक आकारको शिलाका साथै बसाहा र भैरवका गुफाहरू पनि छन् । बौद्ध, हिन्दू तथा किराँतहरूले हलेसी महादेवमा विशेष पूजा–आराधना गर्छन् । लामिडाँडा विमान स्थलमार्फत वा पूर्व–पश्चिम राजमार्गको मिर्चैया–कटारी हुँदै हलेसी पुग्न सकिन्छ । यसैगरी बीपी राजमार्ग हुँदै मध्यपहाडी राजमार्गमा प्रवेश गरेर पनि हलेसी पुग्न सकिन्छ ।

कुशेश्वर

सिन्धुली सदरमुकामबाट उत्तर–पश्चिममा रहेको कुशेश्वर महादेवमा पनि तीजमा विशेष भीडभाड हुन्छ । सुनकोसी र रोसीको खोला दोभानमा अवस्थित यो मन्दिर काठमाडौंबाट ८३ किलोमिटर टाढा छ । विश्वभर छरिएर रहेका ६४ शिव लिङ्गमध्ये यहाँ आदिलिङ्ग कुशेश्वर रहेको विश्वास गरिन्छ । यो मन्दिरलाई हिन्दू नारीहरूले विशेष धार्मिक गन्तव्य स्थलका रूपमा लिन्छन् र तीजका अवसरमा विशेष पूजा–आराधना गर्छन् । 

गोकर्णेश्वर

काठमाडौंभित्रै पर्ने गोकर्णस्थित गोकर्णेश्वर मन्दिरमा पनि तीजका बेला महिलाहरूको विशेष भीड लाग्छ । काठमाडौंबाट करिब २० किलोमिटर टाढा रहेको गोकर्णेश्वर मन्दिर बाग्मती नदीको किनारमा छ । त्यहाँ पुग्न साँखु जाने सडक अर्थात् सुन्दरीजल जाने बाटो समात्नुपर्छ । शिवजीका ६४ शिवलिङ्गमध्ये यहाँ एक लिङ्ग रहेको विश्वास गरिन्छ । यहाँ तीजका बेला हिन्दू मात्र नभै बौद्ध धर्मावलम्बीहरूको उत्तिकै भीड लाग्छ । 

जलेश्वर 

नेपालको तराई क्षेत्रमा प्रसिद्ध जलेश्वरमा तीजका अवसरमा विशेष भीड हुन्छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जलेश्वरको मन्दिर तराईको प्रसिद्ध शिवालय हो । बार्‍हैमास पानी उम्रिरहने मन्दिर भित्रको शिवलिङ्गको दर्शन गर्न यो मन्दिरमा सधै भीड लाग्छ । तीजका बेला यो मन्दिरमा तराई क्षेत्रका एक दर्जन जिल्लाका भक्तजन पुग्छन् । 

कुम्भेश्वर

ललितपुरको प्रख्यात कुम्भेश्वर मन्दिर पनि तीजको सुप्रसिद्ध गन्तव्य हो । हरितालिका तीजका अवसरमा व्रत बसेका महिलाहरू कुम्भेश्वरमा गएर पूजा–आराधना गर्छन् । नेपालका दुईवटा पाँचतले मन्दिरमध्ये कुम्भेश्वर पनि एक हो । यहाँको पोखरीको पानी गोसाइँकुण्डको पानी हो भन्ने विश्वास गरिन्छ । 

कैलाशनाथ महादेव

भक्तपुर तथा काभ्रेपलान्चोकको सीमामा अवस्थित कैलाशनाथ महादेवको मन्दिर पनि तीजको प्रमुख गन्तव्य हो । १ सय ४३ फिटको शिवको मूर्ति रहेको उक्त स्थानमा तीजका बेला विशेष भीड लाग्छ । अरनिको राजमार्गमा पर्ने कैलाशनाथ काभ्रेको साँगामा छ । यही मन्दिरबाट ६ किलोमिटर हिँडेर पुगिने आशापुरी महादेवको मन्दिर पनि तीजको चर्चित गन्तव्य मानिन्छ । 

ऋषेश्वर मन्दिर

हिन्दू नारीहरूले ऋषिपञ्चमीको दिनलाई तीज पर्वको अन्तिम दिन मान्छन् । तीजको अघिल्लो दिन अन्य मन्दिरमा गएर पूजा गर्ने नारीहरू ऋषिपञ्चमीका दिन ऋषेश्वर मन्दिर पुग्छन् । काठमाडौंको टेकुस्थित ऐतिहासिक ऋषेश्वर मन्दिरमा पुगेर पूजा–आराधना गर्दा रजश्वला हुँदा जानी–नजानी गरिएका पाप पखालिने परम्परागत विश्वास छ । यो मन्दिरमा विवाहिताहरूले चुरा, धागो, सिन्दूर, पोते आदि चढाउँछन् । 

बागेश्वरी

बाँकेको नेपालगन्जस्थित बागेश्वरी मन्दिर तीजको अब्बल गन्तव्य हो । ठूलो तलाउको किनारमा अवस्थित यो मन्दिरमा सर्वप्रथम किन्नरगणले पूजा–आराधना गरेको विश्वास गरिन्छ । हरितालिका तीजका अवसरमा यहाँ व्रतालुहरूको भीड लाग्छ । दुर्गानवमी, रामनवमी, फागुपूर्णिमा तथा शिवरात्रिका बेला पनि यहाँ विशेष भीड हुन्छ । यो मन्दिरको अगाडि कुण्डको बीचमा जुँगाधारी महादेवको मूर्ति छ । 

पिण्डेश्वर

साउनमा बोलबमका लागि प्रख्यात धरानको पिण्डेश्वरमा तीजमा पनि उत्तिकै भीड लाग्छ । धरान बजारबाट नजिकै रहेको पिण्डेश्वरको बेग्लै पौराणिक महत्व छ । पौराणिक कथाअनुसार मन्दिरमा शिवजीको पिण्ड रहेका कारण यो मन्दिरको नाम पिण्डेश्वर रहेको हो । शिवजीका आँसुबाट पिण्डेश्वर मन्दिरमा रुद्राक्ष उत्पन्न भएको कुरा पौराणिक कथाहरूमा उल्लेख भएकाले जल चढाउन आउने भक्तालुहरूले यहाँबाट रुद्राक्ष किनेर लाने गरेका छन् ।         

 

 Image