Successfully Copied

आई स्टिल  लभ यू !

फोन फर्काउँछु । उही ब्याकटोन बज्छ । ‘माया एउटासँग विवाह अर्कैसँग’ । बूढाबूढीकै नम्बरमा एउटै ब्याकटोन । लेक्चररकोमा पनि उही र मास्टर्नीकोमा पनि उही । राख्ने काम त उसैको होला । सायद उसको बूढोलाई आफ्नो मोबाइलमा यो ब्याकटोन बज्छ भन्ने पनि थाहा नहोला । 

साँझको समय । असारे खेतको सिरान । करिब–करिब सात बजाउन लागेको छ घडीले । अँध्यारोको बर्को ओढेर बसिरहेको म । विभिन्न कीरा जोडले चिच्याएर बजाइरहेछन् संगीत ।

 एकान्त र अँध्यारो पनि तर एक्लो हुन सकिँदो रहेनछ । निरन्तर हुँदो रहेछ, आफूसँगै संवाद । यो पीपलबोट जसको मुनि म बसेको छु, यो एक्लो छ । कतै–कतै मात्र भेटिन्छन् कि वर मात्र त कि पीपल मात्र । प्रायः जोडी नै भेटिन्छन् । अझ कतै त बर र पीपलले माझमा सैनीलाई पनि राखेर बसेका हुन्छन् । 

हामी सानामा भन्थ्यौं–

वरलाई दुलहा 

पीपललाई दुलही 

र, सैनीलाई लोकन्ती ।

हाम्रो यो विश्लेषण अझै पनि सत्य नै लाग्छ । वर र पीपलको माझमा सैनी देखेको भनेको माथि ठूलो वरको रूखमा मात्र हो । 

 पानी कति सानो यो कुलोमा ? दुई दिन लाग्ने भो यो खेत पुग्न पनि ∕ निकै छटपटाहटको जन्म हुन्छ र फेरि टुस्स बस्छु यही पीपलको बोटमुनि । अँध्यारोमा हराएको छ यो पनि । सबै उज्यालोमा देखिने न हुन् । भनौं न देखिने त उज्यालो पो रै’छ ∕

 के गर्नु ? दस बजेसम्म यहीँ बस्नु छ । नत्र कुलो मर्न सक्छ । वास्तवमा मर्नेको भन्दा पनि मार्दिनेहरूको हो डर । 

बरु गेम खेल्नुपर्‍यो । सुरु गर्छु क्यान्डी क्रसमा जेलीहरू फुटाउन । 

साला मोबाइल बज्छ यही समयमा, त्यो पनि मिसकल मात्र । कुन भिखारी होला ? 

फेरि बज्छ, मिसकल मात्र । यो त महाभिखारी नै होला । 

नम्बर ९८४४....२० । नयाँ मात्र होइन । बिल्कुल नयाँ छ नम्बर ।

आफैं फोन गर्छु उसलाई ।

 टों....टों.....घन्टी बज्नुको सट्टा ‘माया एउटासँग विवाह अर्कैसँग’ भन्ने गीत पो बज्छ ब्याकटोनमा । मेरो आक्रोश शून्य हुन्छ । ब्याकटोन बज्दाबज्दै केटी नै हो कि भन्ने शंका लाग्छ । यस्ता काम अनि यस्ता गीत राख्ने काम केटीहरू नै बढी गर्छन् । 

 – ‘हेलो ।’ 

 – ‘हजुर, हजुर ।’ 

 – ‘के को हजुर, हजुर नि फेरि ?’ थर्काउन थाल्छे, आफ्नै स्वास्नी जसरी । स्वास्नीले पनि थर्काउन्न यसरी त ∕ 

– ‘भन्नुस् न चिनिनँ क्या ?’

– ‘कहाँ चिन्थ्यौ ? हाम्लाई चिन्नुको पनि के अर्थ र ?’

हँ........ । अचम्मित हुन्छु । यस्तो दार्शनिक बाक्य कसले बोल्थ्यो र ऊबाहेक ? अनि सुरुमै कसले राख्न सकोस् अधीनमा यसरी ? ऊ नै रै’छे । 

– ‘नयाँ नम्बर पो छ त । अनि मेरो यहाँको नम्बर कसरी थाहा पायौ नि ?’

– ‘बूढोको नम्बर हो, बूढोको । थाहा पाउन चाहेपछि कसको नम्बर थाहा पाइन्न यहाँ ? नेपाल टेलिकमबाट मागेर लिएकी हुँ ।’

– ‘हाहाहा...... । प्रेम सुरु हुनुपूर्व मैले सुरुमा फोन गर्दा मैले दिएको जवाफ नै फर्काई मलाई । बिर्सिएकी रहिनछ्यौ त ?’

– ‘कसरी बिर्सनूँ ? हरेक संवादको रेकर्ड छ मसँग । दस दिन भैसक्यो तिमी यहाँ आइपुगेको फोन पनि गर्दैनौ ? बूढीको अँगालोमा बाँधिन पाएपछि के सम्झन्थ्यौ मलाई ?’

– ‘तिमी कुरो किन बुझ्दिनौ लाटी ? तिमी अर्काकी स्वास्नी भैसक्यौ । म अर्कीको बूढो भैसकें । अझै पनि त्यो केटाकेटी पारा देखाएर काम चल्छ । अब त व्यावहारिक बन्न पनि सिक क्या तिमी ?’

– ‘उसको त बूढी मात्र हुँ । माया त तिम्रै पो लाग्छ त ∕’

 

ढक्ढक् ढोका बज्छ उसको, फोन काटिन्छ । सायद उसको बूढाको प्रवेश भएको होला कोठामा । 

 प्रेम भन्ने चीज पनि कस्तो अचम्मको ? ९–१० कक्षामा पढ्दा प्रेममा बाँधिएका हामीहरू । म पहिलो पटक विदेश गएका बेला विवाह भएको थियो उसको । त्यसपछि दुईपल्ट विदेश जाने र आउने गरिसकें । हाम्रो त्यो सम्बन्ध अझै कायमै छ । म त जति नै माया लागे पनि बिर्सिएको, बिर्सन खोजेजस्तो नाटक गर्छु तर मान्दै मान्दिन ऊ । विवाह त उसको लेक्चररसँग भएको छ । हाम्रै गाउँको क्याम्पसमा पढाउँछ । मेरो भन्दा खुसी र सुखी नै देख्छु उसको परिवार पनि । 

 मैले पनि विवाह गरें पहिलो पटक विदेशबाट फर्किएपछि । त्यो पनि उसकै करले । उसैले छानेकी हो केटी पनि । ऊसँगै क्याम्पस पढ्ने केटी । मेरी बूढीलाई हामी एकदमै मिल्ने साथी हौं भनेकी रै‘छे । ‘त्यति भएपछि सानोतिनो भेटघाट, कुराकानी भएको देखे पनि शंका हुँदैन’ ऊ आफैं भन्थी । 

 उसको त बूढाबूढी छुट्टिनु नपर्ने । बूढो लेक्चरर आफू बोर्डिङ्मा पढाउँछे । दुइटा बच्चा–बच्ची छन्, । हुर्काइसकेकी छे । आफ्नो त के गर्नु विदेशको बसाइ । बच्चाबच्ची जन्माउने फुर्सद पनि पाइएको छैन । हुन पनि उसको विवाह भएकै नौ वर्ष भयो । मेरो विवाह भएको छ वर्ष ।

म विदेश गएको महिना दिन पछि नै विवाह भएको हो उसको । बारम्बार फोन गर्थी र रुन्थी । म पनि फर्कन सम्भव थिएन । माग्न आइहालेछ लेक्चरर, उसको परिवारले नदिने कुरै भएन, दिए । सम्झाएँ । बेस्सरी सम्झाएँ र मैले नबिर्सने, माया नमार्ने सर्तमा विवाह गरी उसले । म फर्कन सम्भव थिएन र सम्भव थिएन उसले हाम्रो सम्बन्धका बारेमा घरमा भन्न पनि । फेरि म एसएलसी पास गर्न नसकेर विदेश हान्निएको मान्छे । कसरी मान्दा हुन् उसको परिवारले ? असम्भव नै थियो । 

 ओहो ∕ सोंच्दा–सोंच्दै कहाँ पुगेछु म पनि । खेततिर लाइट बाल्छु । के मेलो सर्थ्यो र ? बल्ल पानी ब्याड भएको गरासम्म पुगेछ । घडी हेर्छु, आठ बजेछ बल्ल । 

 एक फन्का मार्छु खेततिर । साँझमै मसानघाट जस्तो लाग्थ्यो यो खेत–सुनसान । अहिले त अलिअलि भरिलो पनि छ । जिबेदाइले भट्टी खोलेका छन्, आफ्नो खेतको माझ गरामा । 

 फेरि मोबाइल बज्छ । 

 यो नम्बर चाहिँ परिचित नम्बर नै हो तर मिसकल मात्र अहिले पनि । बूढो लेक्चरर र आफू मास्टर्नीर् तैपनि मिसकल मात्र हान्छे । एनसेलको नम्बर चलाउँछे ऊ । विदेशबाट धेरै पटक ब्यालेन्स पनि पठाइदिएको छु, उसको नम्बरमा । मेरो त जति बेला पनि फुर्सद हुने उता हुँदा । उसलाई भने फुर्सद मिलाउनुपर्थ्यो फोन गर्नर् । जति बेला फुर्सद हुन्थ्यो उतिबेला फोन गर्थी ऊ । मेरो मोबाइलको ब्यालेन्सले काम दिँदैनथ्यो फोन गर्न । त्यसैले पनि उसकै नम्बरमा पठाइदिन्थें ब्यालेन्स । 

 फोन हानूँ कि नहानूँको द्विविधाले तड्पाउँछ बेस्सरी । हानूँ उसको बूढो नजिक भए के सोच्ला भन्ने डर छ । नहानूँ त कुरा गर्न मन छ ।

 फेरि बज्छ मोबाइल उसकै नम्बरबाट र फेरि पनि मिसकल मात्र । यति भएपछि फोन गर्नुपर्छ भन्ने बलियो आधार तयार हुन्छ । 

फोन फर्काउँछु । उही ब्याकटोन बज्छ । ‘माया एउटासँग विवाह अर्कैसँग’ । बूढाबूढीकै नम्बरमा एउटै ब्याकटोन । लेक्चररकोमा पनि उही र मास्टर्नीकोमा पनि उही । राख्ने काम त उसैको होला । सायद उसको बूढोलाई आफ्नो मोबाइलमा यो ब्याकटोन बज्छ भन्ने पनि थाहा नहोला । 

– ‘हेलो’ भन्छे । सानो स्वरमा । 

– ‘अँ भन ।’ 

– ‘यहाँ आएपछि किन फोन नगरेको ? बिर्सियौ ?’ 

 प्रश्नको बेवास्ता गर्छु म । यी प्रश्नले अब कुनै अर्थ राख्दैनन् जस्तो लाग्छ जीवनमा । 

– ‘अघि किन फोन काट्यौ त ? सायद लेक्चरर सा’ब आउनुभए होला । अहिले कहाँ छ्यौ ? अनि के छ नि लेक्चरर सा’बको खबर ?’

– ‘फोन किन काटिन्छ नि ∕ थाहा पाएछौ त । डियाँलाई घाँस राख्दिने निहुँमा गोठमा आएकी छु । गोठबाटै फोन गरेको तिमीलाई । लेक्चरर सा’बको खबर के हुन्छ नि ∕ रक्सी पिएर टिल्ल भएर आएका छन्, खुट्टै नलाग्ने गरी । खानै नखाई सुतिसके ।’

म ढुक्क हुन्छु । लेक्चरर सुतिसकेको र ऊ गोठमा आएर फोन गरेको खबरले । यो सम्बन्ध जोगाउनु पनि छ र बच्नु पनि छ समाजबाट । 

– ‘लेक्चररसँगै नपल्टेर, उनलाई साथ नदिएर किन फोन गरेको त लाटी ?’ जिस्क्याउन थाल्छु । सायद हामी नै जोडी भएको भए यो प्रेमिल केटाकेटीपनको अन्त्य हुन्थ्यो होला । छुट्टिएकाले पनि यो अझै यथावत् छ, उमेरले अलि टाढै धकेले पनि । ऊ अघिकै प्रश्न गर्छेर् फेरि । मेरो प्रश्नलाई बेवास्ता गरेर ।

– ‘यहाँ आएपछि किन फोन गर्दैनौ ? किन बिर्सियौ ?’ 

– ‘यहाँ आएपछि फोन किन गर्नुर्पर्‍यो र ? बेलाबेलामा भेटघाट एवं कुराकानी हुन्छ । यत्ति काफी छैन र सम्बन्धको आयु बढाउन ?’

– ‘खै मलाई त बिर्सन्छौ कि भन्ने डर लाग्छ ?’

– ‘बिर्सन सक्दिनँ, तर बिर्सनुपर्छ ।’

– ‘किन ?’

– ‘किन भन्ने प्रश्नै छैन ?’

– ‘किन ?’ 

– ‘जवाफ हाम्रो जीवनको यथार्थता हो ।’

– लिभ इट, अंग्रेजी बोल्छे । अप्ठ्यारो जस्तो स्थितिमा सधै अंग्रेजी बोल्छे ऊ । ठुटे अंग्रेजी म पनि बुझ्छु । ऊ बोल्न त राम्रै सक्दी हो तर मैले नबुझ्ने भएरै ठुटे बोल्छे । त्यति भनेपछि छोड्दिएँ मैले पनि ती कुरा । 

– ‘बच्चाबच्ची त हुर्किसकेछन् त ? ठूली त बोर्डिङ जाने भैसकिछे । छोरो पनि बालशिक्षा पढ्न जाँदो रहेछ ।’ 

– ‘अँ......ठूल्ठूला भैसकेका छन् । अब तिमीले पनि बच्चाबच्ची बनाउनुपर्छ ।’

– ‘सोच्दै जाउँला ।’ 

– ‘सोच्दै जाउँला होइन बनाउनुपर्‍यो ।’

– ‘हो र ?’ 

– ‘हो नि ∕’

– ‘एउटा कुरा सोधूँ लाटी ?’ 

– ‘सोध न, हजार कुरा सोध ।’ 

– ‘तिम्रो फुच्चेसँग त मेरो अनुहार पो मिल्छ त ? कि कतै..... ?’ 

– ‘धत्...... पागल ।’ 

– ‘के पागल ? नाक त मेरो जस्तै लामो छ त ।’

– ‘भए हो । उसको बाउको पनि त त्यस्तै छ नि ∕’

– ‘नाइँ..... । त्यो त मेरै नाक हो यार ∕’

– ‘होइन । यस्ता कुरा नगर है ।’ 

– ‘मसँग अर्को पनि त आधार छ नि प्रमाणित गर्ने ।’ 

– ‘के आधार छ ?’ 

– ‘म घर आएर फर्किएको ठीक नौ महिना पछि त जन्मिएको हो नि त्यो फुच्चे ।’ 

– ‘त्यो त संयोग मात्र हो ।’

– ‘के संयोग हुनु ? सत्य हो । सत्य स्वीकार गर ।’ 

– ‘भो यस्ता कुरा नगर । टेन्सन हुन्छ ।’ 

 यो वाक्यबाट ढुक्क हुन्छु म । विदेश फर्कर्नुभन्दा अघिल्लो दिन ऊसँगै बितेको थियो एउटा रात । नभन्दै रहेछ पनि र फुच्चे जन्मिएछ मेरै अनुहार लिएर । आफ्नी घरकीसँग जति मेहनत गरे पनि रहेन ऊसँगको एकै रातमा । दंग हुन्छु म । उसको बाउ लेक्चररले छाती उँचो बनाउँदो हो मेरो छोरो भनेर । के थाहा उसलाई ? जिस्काउने मौका मिल्छ । 

– ‘मलाई त छोरी जन्माए पुगिहाल्ने भो त ∕’

– ‘किन ?’

– ‘छोरो त हुर्किसक्यो नि मेरो ।’ 

– ‘यस्ता कुरा नगर । म आत्महत्या गर्छु फेरि ।’ कति सजिलै नियन्त्रणमा ल्याउँछे मलाई ।’ 

– ‘जे होस् । अप्ठ्यारोमा काम त लाग्ने भो नि ∕’ गोरु बाँ.....गरेको आवाज आउँछ । उसको गोसानीको हर्कत बुझे होला सायद गोरुले पनि । गोठमा आएर फोन मसँग । अब सासू–ससुराले पनि सुन्छन् अनि बल्ल थाहा पाउँछे । 

– ‘यस्ता कुरा नगर । सत्य । कसम खाऊ । नाइँ भने भोलि बिहानै शंख बजेको आवाज सुन्नेछौ ।’ मलाई गलाइहाली । 

– ‘हुन्छ–हुन्छ र अबदेखि कहिल्यै फोन नगर ल । बिर्सन सजिलो हुन्छ ।’ 

– ‘फोन त गर्छु नि ∕’

– ‘किन ?’

– आई स्टिल लभ यू, अंग्रेजी बोल्छे फेरि । नेपालीमा भन्न सकिन होली । 

– ‘ल–ल फोन राख । जाऊ बूढासँग पल्टिऊ । मेरो माया सबै उसको शिरमा खन्याऊ ।’ 

– ‘हुन्छ, बाई ।’ 

– ‘बाई ।’ 

 भन्न त मन लागेको थियो–सेम टु यू, तर भनिनँ । 

 साला, यो जिन्दगी । अतीतले फेरि कोपर्न थाल्छ छाती । यस्तो जिन्दगी त कसैको नहोस् । पीडाका कीराहरू नाच्न थाल्छन् छातीभित्र । यी कीराहरूलाई मास्नुपर्‍यो । नाइँ भने, यस्तो अनुहारको यथार्थता आफ्नै बूढीले पनि थाहा पाउँछे । थाहा पाए पाओस्, रक्सी खाएकै थाहा पाओस् ।

अनि म लाग्छु जिबेदाइको भट्टीतिर । 

 

 Image