पार्टी मेकअप
चिल्लो छाला भएकाले पार्टी मेकअप गर्दा राम्रोसँग क्लिन्जिङ गरेर वाटरप्रुफ म्याट मेकअप गर्नुपर्छ
टिनएजदेखि नै मेकअप गरेर हिँड्ने अहिलेको समयमा जो–कोही आफ्नो सुन्दरतासँगै मेकअप प्रोडक्टप्रति पनि उत्तिकै चासो राख्छन् । अरू समयको तुलनामा वर्षामा मेकअप टिकाउन धेरै कठिन हुन्छ । यस्तो मौसममा सोहीअनुरूपको मेकअप गर्न सकिन्छ । मौसम परिवर्तनसँगै मेकअपलाई पनि त्यहीअनुरूप ढालेर आफ्नो सौन्दर्य कायम राख्नुपर्छ ।
वर्षामा छाला उक्किनेदेखि छालामा आउने चिल्लोपनले सबैभन्दा बढी दुःख दिन्छ । बिहानको समय वा मेकअपअघि अनिवार्य रूपमा म्याचुरिटी मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यस्तो मौसममा हावामा पनि चिल्लोको मात्रा हुन्छ । त्यसैले आफ्नो मेकअपलाई हल्का र प्राकृतिक लुक्स दिन आवश्यक हुन्छ । यस्तो मौसममा मोइस्चराइजर र फाउन्डेसनको प्रयोगबाट जोगिनुपर्छ । त्यसको विकल्पमा म्याट फिनिसका साथै कम्प्लेक्स नहोस् भनेर इएसपिएफ क्रिमजस्ता टिन्टेड मोइस्चराइजर प्रयोग गर्न सकिन्छ । यसले छालाको चिल्लोबाट जोगिन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैगरी स्याडो र ब्लस पनि क्रिमयुक्त नै छनोट गर्नु उपयुक्त हुन्छ ।
मस्कारा नटिक्ने समस्या छ भने वाटरप्रुफ मस्कारा प्रयोग गर्न सकिन्छ । मेकअपलाई फिनिसिङ दिन मिस्ट स्प्रे प्रयोग गर्न उपयुक्त हुन्छ जसले स्किनलाई स्वस्थ राख्न मद्दत गर्छ । बाहिर निस्किरहने काम छ भने म्याट लिपिस्टिक, पाउडर तथा मेकअप किटलाई आफूसँगै राख्नुपर्छ किनभने आवश्यकता पर्नासाथ टच अप गर्न सकिन्छ ।
यस्तो मौसममा वर्षाकै कारण केश झर्ने समस्या पनि हुन्छ । केश झर्नबाट जोगिन ड्राई आयल प्रयोग गर्नुपर्छ । ड्राई आयलले केशलाई पोषण प्रदान गर्नुका साथै केश झर्ने तथा भाँचिने समस्याबाट मुक्ति प्रदान गर्छ ।
वर्षाका लागि घरेलु प्याक
सुन्दरताका लागि हामी विभिन्न ब्रान्डका क्रिमहरू किन्छौं । त्यस्ता कतिपय प्रसाधनका कारण एलर्जीका साथै स्किनमा समस्या पनि आइरहेको छ । यद्यपि हाम्रो भान्सा कोठामै भएका सामग्रीहरूको उचित प्रयोगबाट पनि विनाकेमिकल सुन्दर देखिन सकिन्छ ।
ओटमिल तथा हनी प्याक : ३ चिया चम्चा ओटमिल, एउटा अण्डाको सेतो भाग, एक चिया चम्चा मह तथा एक चिया चम्चा दही मिसाएर केही समय फ्रिजमा राख्ने । अनुहारलाई सफा गरेर यो प्याक प्रयोग गरी सुकेपछि अनुहार पखाल्ने ।
मिन्ट ब्युटी : पुदिनाको पातलाई पिसेर पेस्ट बनाउने अनि त्यसमा आधा केरा म्यास गरी मिसाउने । अनुहारमा प्रयोग गरेको १० मिनेटपछि मनतातो पानीले अनुहार पखाल्ने ।
फेसियल स्क्रब : चामलको आटा वा बदाम पिसेर पेस्ट बनाउने । त्यसमा दही मिसाउने । १५ मिनेटसम्म अनुहारमा राख्ने । यसबाट अनुहारको राम्रो क्लिज हुन्छ । यसलाई हल्का हातले स्क्रब गरी अनुहार धुनुपर्छ ।
एग फेस प्याक : तैलीय छालामा यो प्याक अत्यन्त प्रभावकारी हुन्छ । एउटा अण्डाको सेतो भागमा एक चिया चम्चा मह मिसाइएको प्याक अनुहारमा लगाएर सुकेपछि पखाल्ने ।
लेमन ब्लिच : आधा मुलालाई म्यास गर्ने । त्यसमा कागतीको रस मिसाएर १० मिनेटजति अनुहारमा राखी सर्कुलर मोसनमा मसाज गर्ने । अन्त्यमा मनतातो पानीले अनुहार पखाल्ने ।
फेसियल टोनर : गुलाबजल र काँक्राको रस मिसाएर फ्रिजमा राख्ने । त्यसमा कटन डुबाउँदै अनुहार पुछ्ने । यो राम्रो होममेड टोनर हो ।
छालाको स्याहार
क्लिन्जिङ, टोनिङ तथा मोइस्चराइजरलाई आफ्नो स्किन केयर रुटिनमा समावेश गर्नुपर्छ ।
स्किनलाई ड्राइनेसबाट जोगाउन अल्कोहल फ्रि टोनर प्रयोग गर्नुपर्छ ।
मनसुनमा पनि छालालाई सनस्क्रिन प्रोटेक्सन आवश्यक हुन्छ, त्यसैले दिनहुँ सनस्किन प्रयोग गर्नुपर्छ ।
बाहिरबाट घर आएपछि चिसो पानीको साटो मनतातो पानीले अनुहार धुनुपर्छ । सातामा दुई पटक स्क्रव गर्नुपर्छ । स्क्रवका माध्यमले मृत छालाबाट छुटकारा प्राप्त हुन्छ । आफ्नो पर्समा टिस्यु पेपर राख्नुपर्छ । बाहिर जाँदा वर्षाले अनुहार भिजे टिस्यु पेपरले अनुहार पुछ्नुपर्छ । यसले इन्फेक्सनको खतरा कम गर्छ । मनसुनमा हेभी मेकअपबाट जोगिनुपर्छ भने वाटरप्रुफ मेकअप नै प्रयोग गर्नुपर्छ ।
अहिले कस्तो मेकअप शैलीको माग छ ?
वर्षाको समय भएकाले पानीले छिटो नबगाउने वाटरप्रुफ मेकअपको माग बढी छ । चाडपर्व नजिक भएकाले पनि वाटरप्रुफ तथा कलरफुल मेकअप नै चल्छ । लाइट किसिमको मेकअपतर्फ भने युवा पुस्ता आकर्षित छ ।
वर्षामा कस्तो स्टाइलको मेकअप र हेयर उपयुक्त हुन्छ ?
वर्षामा सबैले सजिलोसँग गरिने र सामान्य मेकअप नै मन पराउँछन् ।
चालीस प्लस महिलाहरूका लागि कुन हेयर स्टाइल आकर्षक देखिन्छ ?
४० प्लस महिलाका लागि सट हेयर कट उपयुक्त हुन्छ । यो स्टाइलले उनीहरूलाई आफ्नो उमेरभन्दा कम उमेरको देखाउन सहयोग गर्छ । आकर्षक र क्युट देखाउने भएकाले यो हेयर स्टाइल लोकप्रियसमेत छ । छोटो नगर्ने भए ग्राजुएसन हेयर स्टाइल वा वेभी, स्यागी आदि पनि आकर्षक देखिन्छ ।
वर्षामा कलरफुल मेकअप कत्तिको उपयुक्त हुन्छ ?
साउनमा महिलाहरू प्रायः व्रत बस्छन् । यतिबेला पहिरनसँग म्याच हुने सिम्पल मेकअप नै राम्रो देखिन्छ । अहिले सामान्य मेकअप नै चल्तीमा छ र उपयोगी पनि । हेर्दा भड्किलो पनि नदेखिने र आफूलाई क्यारी गर्न पनि सहज हुने यो स्टाइलमा सामान्य हिसाबले हरियो, रातो, पहेंलो पिंक र सेतो रंगमा खुलेर मेकअप गर्नु उपयुक्त हुन्छ । यो मेकअपमा मोइस्चराइजर, सन प्रोटेक्सन क्रिम तथा सिम्पल र गुणस्तरीय कस्मेटिक प्रयोग गर्नु स्वास्थ्यका हिसाबले फलदायी हुन्छ ।
हेयर स्टाइल र मेकअपले मानिसको सौन्दर्यमा कत्तिको प्रभाव पार्छ ?
लुकअनुसार गरिएको हेयर स्टाइलले व्यक्तिको पर्सनालिटी झल्काउँछ । यदि लुकसँग म्याच हुने हेयर स्टाइल र मेकअप भएन भने मानिसको सौन्दर्यमा केही कुरा नपुगेको हो कि जस्तो महसुस हुन्छ । कि त स्टाइलको आधुनिक शैलीको ज्ञान नभएको हो कि । आफ्नो व्यक्तित्वका बारेमा सामान्य भए पनि जानकारी राख्नु आवश्यक छ ।
अहिलेको पुस्तालाई मेकअप र हेयर स्टाइलमा कत्तिको सचेत पाउनुहुन्छ ?
अहिले हेयर स्टाइल तथा मेकअपमा निकै परिवर्तन आइरहेको छ । अहिले हेयर स्टाइल तथा मेकअप गर्नु भनेको नक्कल पार्नु होइन बरु व्यक्तित्व र स्वास्थ्यका हिसाबले पनि अत्यावश्यक कुरा हो भन्ने मानिसहरूको संख्या तुलनात्मक रूपमा बढ्दो छ ।
रुश्का बैद्य श्रेष्ठ
सौन्दर्यकर्मी, आइटीसी ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर