डेंगुको संक्रमण बढ्दो

डा. अनुप बाँस्तोला

श्रावण १७, २०७६

अहिले नेपालका मध्य तराई एवं पूर्वी तराईमा डेंगुको संक्रमण बढ्दो छ । बढ्दो तापक्रम, जमेको पानी, फोहोर, खाल्डाखुल्डी आदिका कारण लामखुट्टेमा वृद्धि झै त्यसको टोकाइबाट डेंगु ज्वरोको संक्रमण हुने शुत्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोला बताउँछन् । 

डेंगु एक किसिमको भाइरल संक्रमण हो, जुन स्त्री जातिको एडिज नामक लामखुट्टेको टोकाइबाट सर्छ । पानी जमेको ठाउँमा उक्त प्रजातिको लामखुट्टेको अण्डा फुट्छ । यसका लागि जमेको पानी चाहिन्छ । वर्षामा यो लामखुट्टेको बिगबिगी बढी देखिन्छ । लामखुट्टे लार्भा, प्युपा हुँदै वयस्क बन्छ । 

डेंगु एउटा भाइरसका कारणले हुने रोग हो । वर्षामा डेंगु ज्वरोको प्रकोप वृद्धि हुन्छ । डेंगु रोग फैलाउने लामखुट्टेले खासगरी दिउँसो उज्यालोमा टोकेको पाइन्छ । यो लामखुट्टे एकजनाबाट मात्र अघाउँदैन । एकजनापछि अर्कोलाई टोक्छ । डेंगु सार्ने लामखुट्टे जमेको पानीको वरपर हुन्छ । यो हेर्दा सेतो, कालो तथा छिर्केमिर्के खालको हुन्छ । डेंगु भाइरस संक्रमित व्यक्तिको रगतमा ४–५ दिनभित्रमा घुल्छ । यसले अण्डा पार्ने बेलामा टोक्छ । यो लामखुट्टेको आयु सरदर १ महिना हुन्छ । उक्त अवधिमा यसले ३ पटक अण्डा पार्छ । 

डेंगु भाइरस खासगरी ४ प्रकारका हुन्छन्, डेनवी–१, डेनवी–२, डेनवी–३ तथा डेनवी–४ । यो रोगको लक्षण लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि मात्र देखापर्छ । लामखुट्टेको टोकाइले डेंगु ज्वरो र गम्भीर डेंगु (डेंगु रक्तस्राव ज्वरो) निम्त्याउन सक्छ । पहिलो संक्रमणका लक्षण सामान्य हुन्छन् । एक पटक ठीक भैसकेपछि त्यस प्रकारको भाइरसप्रति आजीवन प्रतिरक्षा विकास हुन्छ । यो रोगका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन सकेको खण्डमा रोग नियन्त्रण गर्न सकिन्छ ।

लक्षण 

ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडीको भित्रपट्टि दुख्नु, ढाड–जोर्नी आदि दुख्नु, मांसपेशी कटकट खानु, छालामा रातो दाना आउनु आदि यसका लक्षण हुन् । केही मानिसमा गिजाबाट रगत पनि बग्छ । कडा–सारो डेंगुमा भने फोक्सोमा पानी जम्ने, रक्तस्राव हुने, खुट्टा सुन्निने, कलेजो तथा मिर्गौला खराब हुने जस्ता लक्षण पनि देखिन्छन् । 

डेंगुको संक्रमणले ठूला–साना सबै उमेरका महिला–पुरुषलाई सिकार बनाउँछ । बालबालिकालाई डेंगुको संक्रमणले छिटो र सजिलै असर गर्न सक्छ । त्यसैले प्रत्येक अभिभावकले डेंगुको संक्रमणका बारेमा जानकारी लिनुपर्छ । 

रोकथाम 

लामखुट्टेलाई आफू वरपरबाट हटाउन सक्नु नै यो रोगबाट जोगिने उत्तम उपाय हो । त्यसैले वातावरणीय सरसफाइमा ध्यान पुर्‍याउनुपर्छ । लामखुट्टेले खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा वा भाँडामा जम्मा भएको पानी तथा खाल्डाखुल्डीमा जम्मा भएको पानीमा फुल पार्ने हुँदा यस्ता ठाउँमा पानी जम्न दिनुहुँदैन भने जमेको पानी पुर्नुपर्छ । 

डेंगुबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको टोकाइबाट जोगिनु हो । आफ्नो घरवरिपरि सफा राख्नुपर्छ । गमला, पुराना टायर घर वरिपरि राख्नु हुँदैन । लामखुट्टेको टोकाइबाट जोगिन झुल, धूप वा क्रिम प्रयोग गर्न सकिन्छ । डेंगु लागेको शंका भए पर्याप्त तरल पदार्थ सेवन गर्नुपर्छ भने तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । 

तथ्य 

    डेंगु रोग इन्डियन सबकन्टिनेन्ट, साउथ एसिया, साउथर्न चीन, ताइवान, पेसिफिन आइल्यान्ड, मेक्सिको, अफ्रिका, सेन्ट्रल तथा साउथ अमेरिका आदि राष्ट्रमा बढी पाइन्छ । 

    सन् २०१५ सेप्टेम्बरमा भारतको नयाँ दिल्लीमा १ हजार ८ सय ७२ जना डेंगुबाट संक्रमित भएको पाइएको थियो । 

    नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी पत्ता लागेको थियो । सन् २००६ मा चितवनमा डेंगु रोगी फेला परेका थिए । सन् २०१० मा नेपालका विभिन्न ठाउँमा सयभन्दा धेरै बिरामी भेटिएका थिए । 

    सन् २०१६ मा वर्ल्ड हेल्थ अर्गनाइजेसनले डेंगुका लागि भ्याक्सिन सिफारिस गरेको थियो । उक्त भ्याक्सिन ९ देखि ४५ वर्ष उमेर समूहका बिरामीलाई दिइन्छ । यद्यपि यो भ्याक्सिन त्यति प्रभावकारी नभएको हुँदा लामुखुट्टेको टोकाइबाट जोगिनु नै सबैभन्दा प्रभावकारी हुन्छ । 

    डेंगु एडिज जातको लामखुट्टेमार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्