बोन्साई कला

- लक्ष्मी खड्का, आर्किटेक्ट

असार २९, २०७६

बोन्साई, शब्द सुन्नेबित्तिकै चिटिक्क परेको सानो रुख अथवा बोट–बिरुवाको प्रतिबिम्ब हाम्रो मनमा आउँछ । समय परिवर्तनसँगै घरभित्रको आन्तरिक सजावटमा मात्र नभएर घरको बाह्य सजावटमा पनि त्यत्तिकै रुचि बढेको पाइन्छ । घरको बाह्य सजावटमा परिवर्तन गर्नु भनेकै घरको बनावटमा परिमार्जन गर्नुका अतिरिक्त घरको बाहिरी भागमा रहेको बगैंचाको रूप परिवर्तन गर्नु पनि हो । ऋतुअनुसार ढकमक्क फुलेको फूलसँगै बोन्साई गरिएको बिरुवा सँगै राख्दा पनि बगैंचाको सुन्दरतामा सुनमा सुगन्ध थपिन्छ । बोन्साई शब्द जापानी भए पनि यो कला भने चीनबाट प्रारम्भ भएको मानिन्छ । लगभग ५ हजार वर्षअघि रुखलाई एक किसिमको कम गहिरो भाँडा अथवा कन्टेनरमा बोट–बिरुवालाई धेरै बढ्न नदिई पुड्को बनाई हुर्काउने चलन थियो, जसलाई त्यतिबेला पुन्साई भनेर चिनिन्थ्यो । गहिराइ कम भएको भाँडामा हुर्काइने भएकाले यसलाई ट्रे ल्यान्डस्केप भनेर जापानमा यसको सुरुवात १२ सय वर्षअघि गरिएको मानिन्छ । बोन्साईलाई बान्जाई पनि भनिन्थ्यो । 

जसको अर्थ हुन्थ्यो–गहिराइ कम भएको भाँडामा हुर्काइएको बिरूवा । बोन्साई कला विश्वभर फैलिएको पनि लगभग १ हजार वर्ष भैसकेको छ । बोन्साईको मुख्य अर्थ सानो अथवा होचो रूपमा प्रकृतिको प्रतिनिधित्व हो । बोन्साई होचा वंशानुगत अथवा आनुवंशिक रूपले पुड्का अथवा होचा रुखहरू भने होइनन् । वास्तवमा कुनै पनि रुखका प्रजाति बोन्साईका रूपमा प्रयोग गर्न सकिन्छ । तैपनि स–साना पातहरू भएका रुख भएको खण्डमा अझ सुन्दर ढंगबाट बोन्साईको संरचना तयार पार्न सकिन्छ । मुख्यतः बोन्साई ४ फिट अथवा १ मिटरभन्दा होचो भएको नै राम्रो देखिन्छ । बोन्साई तयार पार्दा सर्वप्रथम स्वस्थ रूपमा हुर्किएको बोट–बिरुवाको सरसफाइ गरिन्छ । 

सरसफाइपछि बोन्साई गरिने बोट–बिरुवालाई कस्तो रूप र आकारमा ढाल्ने हो, त्यसको स्केच बनाइन्छ र त्यही तयार पारिएको स्केचअनुरूप बोट–बिरुवाका अनावश्यक हाँगाहरू काटिन्छ अनि बाँकी रहेका हाँगाहरूलाई तारका माध्यमबाट ४५ डिग्री कोणमा टेढो पारेर मर्काइन्छ । यो प्रक्रियालाई उचगलष्लन तजभ दचबलअजभक अथवा हाँगालाई टेढो पार्ने प्रक्रिया भनिन्छ । यसरी आफ्नो इच्छाअनुसार तथा रुखको बनोटअनुरूप आवश्यक पर्ने सबै टेढो पारिएका हाँगालाई तारको माध्यमबाट बंग्याएर बाँधिन्छ । जसलाई धष्चष्लन तजभ दचबलअजभक भनिन्छ । यसरी बाँधिएका हाँगालाई पुनः एकपटक राम्रो आकारमा मिलाइन्छ, जसलाई कजबउष्लन तजभ दचबलअजभक भनिन्छ । यसो गर्दा तारले रुखका हाँगालाई बिगारेको अथवा च्यापेको छ कि छैन राम्रोसँग चेक गर्नुपर्छ । हाँगाको काम सकिएपछि रुखका जराहरू सफा गर्नुपर्छ । 

त्यसपछि जराको एक तिहाई भागलाई राम्रोसँग मिलाएर काटिन्छ । यसरी जरा काटिनाले बोन्साई गरिएको रुख अनावश्यक रूप र आकारमा बढ्न सक्दैन र सधै होचो रवा पुड्को रुखका रूपमा हुर्कदै जान्छ । यति गरिसकेपछि बोन्साई गरिएको रुख तयार हुन्छ । त्यसपछि यो बोन्साई गरिएको रुख रोप्न अलि उत्तानो परेको भाँडामा माटो हाल्नुपर्छ । रुख रोप्दा भने भाँडाको बीचमा नरोपी अथवा बीचको केन्द्र बिन्दुबाट अलि पर दायाँ अथवा बायाँतिर रोप्दा बोन्साई अझ सुन्दर देखिन्छ । यति गरेपछि भाँडाभरि माटो हालेर पुरिन्छ । जुनसुकै समयमा बोन्साई गर्न मिले पनि चैतदेखि असोज महिनासम्मलाई बोन्साई गर्ने अनुकूल र उत्तम मौसम मानिन्छ । जति नै ठूलो जातको रुख भए पनि बोन्साई गरिएका रुखहरू साना, पुड्का र हलुका हुने भएकाले सजिलैसँग यता–उता सार्न सकिन्छ । बोन्साई गरिएका रुखहरू निकै लोभलाग्दा र मनमोहक देखिन्छन् । स–साना रुखमा झपक्कै फुलेका फूल र लटरम्मै फलेका फलले कसको मन नलोभ्याउलान् र ? सानो भएर पनि सबैलाई खुसी पार्न सक्नु नै यसको विशेषता हो ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>