भविष्यमा लाइफ कोच बन्ने सपना छ
असार १८, २०७६
अरुसँग तुलना गर्ने बानी आजैदेखि त्याग्नुपर्ने रहेछ । तुलना गर्ने हामी हरेकको बानी हुन्छ । म अहिले कुनै पनि कुराको टेन्सन लिन्नँ । जे भैरहेको छ, त्यसलाई भैरहन दिन्छु ।
मिस नेपाल इन्टरनेसनल–२०१९ मीरा कक्षपति २३ वर्षअघि भक्तपुरमा जन्मिएकी हुन् । कक्षपतिले अक्टोबर २५ मा जापानमा हुने मिस इन्टरनेसनल–२०१९ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
बाल्यावस्थामा नेगेटिभ थिएँ
ममा बाल्यावस्थामा निकै नेगेटिभ सोच आउँथ्यो । मलाई कसैले मतलब गर्दैनन्, मेरो केही भ्यालु छैन, म केही गर्न सक्दिन भन्ने भावना थियो । म हरेक कुरासँग भाग्थें ।
मेडिटेसनले परिवर्तन भएँ
म विगत ४ वर्षदेखि मेडिटेसन गरिरहेकी छु । यसबाट मैले लभ योर सेल्फ अर्थात् आफूले आफूलाई माया गर्न थालेपछि मेरो जिन्दगीमा धेरै परिवर्तन आयो । मेडिटेसन नै मेरो जीवनको अभिन्न अंग भयो । हामी हरेक व्यक्तिको दिमागमा विभिन्न विचार आउँछन् । विचारले भावना जन्माउँछ अनि भावनाले प्रतिक्रिया जनाउँछ । हामीले जनाउने प्रतिक्रियाले हाम्रो चरित्रलाई प्रस्टाउँछ । चरिक्रले हामी कस्ता व्यत्ति हौं भन्ने जनाउँछ । मानिसले गर्ने अति नै राम्रो अथवा नराम्रो काम उसको चरित्रले निर्धारण गर्छ, त्यो उसको सोचमा भर पर्छ । सोचलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मेडिटेसनले निर्धारण गर्छ । यदि हामी सबैले बाल्यकालदेखि नै मेडिटेसन गर्न थाल्ने हो भने ठूलो भैसकेपछि कुनै पनि नराम्रो काम गर्न सक्दैनौं ।
लभ योर सेल्फ नै गुरु मन्त्र
लभ योर सेल्फ भनेको जीवनको महत्वपूर्ण पाटो हो । पहिलो पटक सुनेपछि म उक्त वाक्यप्रति यति आकर्षित भएँ कि मेडिटेसनलाई आफ्नो जीवनकै अभिन्न अंग बनाएँ । पहिले ममा प्रशस्त नकारात्मक सोच आउँथे, धेरै बोल्न सक्दिनथें । कसैले मेरो मतलब नगरेजस्तो लाग्थ्यो । आफूमा भएका कमी–कमजोरीलाई पनि स्वीकार गर्न सक्नुपर्ने रहेछ । अरुसँग तुलना गर्ने बानी आजैदेखि त्याग्नुपर्ने रहेछ । तुलना गर्ने हामी हरेकको बानी हुन्छ । म अहिले कुनै पनि कुराको टेन्सन लिन्नँ । जे भैरहेको छ, त्यसलाई भैरहन दिन्छु ।
बोली नै मेरो ट्यालेन्ट
विडम्बना म थोरै ट्यालेन्ट भएकी युवा हुँ । बोली नै मेरो ट्यालेन्ट हो । अहिले म विभिन्न स्कुल–कलेजमा गएर मेडिटेसनका बारेमा घन्टौं बोल्न र बुझाउन सक्छु । बाल्यावस्थामा ज्योतिषीले यी बालिकाले बोलेरै खान्छिन् भनेका थिए रे ।
भविष्यको लक्ष्य
हरेक व्यक्तिका लागि मेडिटेसन जरुरी छ । त्यसमा पनि बालबालिकाहरूलाई अझ बढी आवश्यक छ । म इमोसनल अवेरनेसनका लागि स्कुल–कलेजहरूमा पुगिरहेकी हुन्छु । धेरैलाई थाहा छैन, आफूले आफूलाई माया गर्न जानेपछि जीवन धेरै सुन्दर हुन्छ । रुनुपर्छ तर रुवाउनु हुँदैन भन्ने सोचका साथ म हरेक व्यक्तिलाई जीवन जिउने कला सिकाउन चाहन्छु । त्यसबाहेक मेरो अरू कुनै योजना छैन । ध्यान र जनचेतनाका क्षेत्रमा पनि काम गर्ने इच्छा छ ।
मेडिटेसनको अभियन्ता
म आफै भोगी हुँ । त्यसैले यसमा काम गर्ने सोच पुरानै हो । मिस नेपालमा पाएको सफलतासँगै मेडिटेसन क्षेत्रमा अझ खुलेर काम गर्न सक्छु । यो उपाधिले मलाई एउटा प्लेट फर्म दिएको छ ।
मिस नेपालपछिको परिवर्तन
मिस नेपालअघि म एमसी मीरा कक्षपतिका नामले मात्र चिनिन्थें, अहिले मेरो नामको अगाडि मिस नेपाल इन्टननेसनल थपिएको छ । ममा आएको पहिलो परिवर्तन यही नै हो । यो उपाधिले आफू थप जिम्मेवार भएको अनुभव गर्न थालेकी छु ।
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्