‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
सांसद नवीना लामा रेस्टुराँ व्यवसायमा लागेकी छिन् । सांसद लामासहित अनेरास्ववियुकी सचिव आरती लामा, विद्यार्थी नेतृ कल्पना वाइबा, आश्मा क्षेत्री तथा अवानी पौडेलको संयुक्त लगानीमा मीनभवनमा हिमालयन रिमठिम क्याफे सञ्चालनमा छ ।
उक्त क्याफेको उद्घाटन एसिड प्रहारमा परेकी संगीता मगरले रिबन काटेर गरेकी हुन् । स्थानीय परिकार पस्कने गरी सञ्चालनमा आएको यो क्याफेमा फलफूलदेखि कपडा, ह्यान्डिक्राफ्ट, बेडसिट आदि पनि बिक्रीमा राखिएको छ ।
क्याफेमा रामेछापदेखि जुम्लामा उत्पादन हुने स्थानीय उत्पादनका परिकार पस्कने सांसद लामाले जानकारी दिइन् । यहाँ फापरको रोटीदेखि ढिँडो तथा कालिजको मासुसम्म पाइन्छ । लामा भन्छिन्–‘हिमालयन रिमठिमको मुख्य विशेषता भनेकै स्थानीय उत्पादनलाई प्राथमिकता दिनु हो ।’