५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
मिस टिन २००७ की विजेता आयुषा कार्की मौलिक गहनालाई आधुनिकीकरण गर्ने उद्यममा लागेकी छिन् । मिस टिन हुँदा उनी आफ्नो सौन्दर्य, आत्मविश्वास तथा सक्रियताका कारण धेरैको नजरमा परेकी थिइन् । हुन पनि त्यतिबेला यस्ता सौन्दर्य प्रतियोगिता कमै हुन्थे । अहिले जस्तो दर्जनौं प्रतिस्पर्धा हुँदैनथे जसका कारण त्यतिबेलाका मिस टिनहरूलाई सबैले चिन्थे । आयुषाकैझैं प्रियंका कार्की, जेनिशा मोक्तानहरू पनि यस्तै प्रतियोगिताबाट आएका हुन् । आयुषाले नेपाली मोडलिङ लामै समय राज गर्ने अनुमान गरिएको थियो ।
उनको सानैदेखिको सोख मोडलिङ थियो साथमा बुवाजस्तै उद्यमी हुने पनि चाहना थियो । आयुषा ज्वेलरी डिजाइनरका रूपमा परिचित हुने क्रममा छिन् । ४ वर्ष लन्डन बसेर पब्लिक रिलेसन म्यानेजमेन्ट अध्ययन गरेकी आयुषा त्यसपछि स्वदेश फर्किन् । नेपाल आएपछि उनले अनलाइन व्यापार गर्न थालिन् । कार्कीले तीन वर्षजति इन्स्टाग्राममार्फत ‘मेकअप फुडी’ को व्यापार गरिन् । त्यही उनको व्यवसायी बन्ने आधार बन्यो । कार्की त्यतिबेला कोरियाली सौन्दर्य प्रसाधन बिक्री गर्थिन् । त्यसपछि उनी आफैं गहना उत्पादनतर्फ लागिन् ।
सानैदेखि ड्रेस डिजाइनमा रुचि भएको र चित्र कोर्ने बानी परेकाले गहना डिजाइन उनलाई सहज लाग्यो । लन्डनमा पढेको पब्लिक रिलेसनको पढाइले हरेक काममा मानिसहरूसँग सम्पर्क गर्न सहयोग गर्यो, व्यापारमा जसको ठूलो महत्व हुन्छ । आयुषाले नेपाली हस्तकलालाई प्राथमिकता दिएकी छिन् । उनी परम्परागत रूपमा चल्दै आएका गहनालाई आधुनिकीकरण गरेर नयाँ गहना तयार गर्छिन् । कार्की नेकलेस, ब्रासलेट, इयररिङ, औंठी आदि गरगहना हातले नै बनाउँछिन् । उनी गहना डिजाइन र निर्माणको काम आफैं गर्छिन् । उनको ब्रान्ड ‘मेराकी’ मा उनका व्यावसायिक साझेदार सर्भो शाक्य हुन् ।
कार्कीले नयाँ डिजाइनमा पनि नेपाली कला–संस्कृतिलाई बढावा दिएकी छिन् । उनी आधुनिकता, विकास र कला–संस्कृतिलाई एकसाथ लानुपर्छ भन्ने सोचका साथ व्यवसायमा लागिपरेकी हुन् । नेपालीहरूको जातीय, सांस्कृतिक तथा धार्मिक विविधता एवं सहिष्णुतालाई विश्व बजारसम्म पुर्याउने माध्यमका रूपमा हस्त निर्मित गरगहनाको व्यवसाय रोजेको उनले बताइन् । आयुषाले अहिले पनि गहना बिक्रीको माध्यम अनलाइनलाई बनाएकी छिन् । मिस टिन २००७ ले आत्मविश्वासी बनाएको उनको करिअर गहना उत्पादनमा स्थापित हुँदै गएको छ । यसमा करिब दुई वर्षदेखि सक्रिय आयुषाको कम्पनी मियोकीले २ हजारदेखि ५ हजार रुपैयाँसम्मका गहना तयार गर्छ ।
तस्बिर : महेश प्रधान
पहिरन : अंकितकुमार अग्रवाल, बेहुली बुटिक, न्यूरोड
मेकअप तथा हेयर : पूनम श्रेष्ठ, पूनम ब्युटी क्लब, सानेपा
ज्वेलरी : मियोकी
लोकेसन : क्लासिक भेन्यु, सानेपा