Successfully Copied

 ५० वर्षमा ‘प्लस टू’

सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू 

सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू । मैले आफ्नो जीवनमा यी भनाइहरूलाई सम्भव भएसम्म सधैं अवलम्बन गर्ने प्रयास गर्दै आएकी छु । मलाई आफूमाथि गर्व लाग्छ, अर्काको भित्तो टाल्ने छोरीको जात, सानै उमेरमा पढ्ने रहर हुँदाहुँदै पनि बाध्यतावश सहर आएँ, संघर्षकै बलमा स्थापित पनि भएँ । तर, मेरा संघर्षभित्र थुप्रै कथा र गुम्सिएका रहरहरू लुकेका छन् । सानो छँदा एक त मैले पढ्ने अवसर पाइन, त्यसमा पनि कलिलै उमेरमा विवाह भयो । अर्काको घरमा वस्तुभाउ, घाँस–दाउरा गर्दागर्दै मेरा ऊर्जाशील दिनहरू बित्दै गएको पत्तै पाइन । सन्तान जन्मिएपछि तिनीहरूको पालनपोषणमै समय बित्न थाल्यो । तिनी हुर्केर विद्यालय जान थालेपछि फेरि मेरो मनमा उही पुराना रहरहरू जीवित हुन थाले । सन्तानहरूले पढेको देख्दा मन चसक्क दुख्न थाल्यो । मैले पनि राम्रोसँग पढ्न पाएको भए केही गर्थें जस्तो लाग्न थाल्यो । तर, घरपरिवारको व्यावहारिक जालोमा अल्झिएपछि त्यसमा निस्कने सामर्थ्य गुमिसकेजस्तो महसुस हुन थाल्यो । बस्ने बास पनि राम्रो थिएन । फेरि गतिलो बास बनाउने जिम्मेवारी पनि थपिएकै थियो। ठूलो दुःखले बास पनि बनाएँ ।

म सानैदेखि परिश्रमी थिएँ । त्यसैले घरपरिवारको व्यावहारिक धन्दा सकेपछि स्थानीय वडा, नगरपालिकाका विभिन्न संघसंस्थामा सक्रिय हुन्थें । त्यसक्रममा काम र प्रशिक्षणको अवसर मैले पाइरहें । तर, पढाइकै कारण केही अवसरबाट वञ्चित हुनुपर्दा निराश हुन्थें । त्यसपछि मन तड्पिन्थ्यो । यो शिलशिला लामो समयसम्म चल्दा म उकुसमुकुसमा पर्थें, पढ्न नपाएको कुण्ठाले ग्रसित हुन्थें । सोचें, अब कसरी जीवन जिउने ? धेरै गन्धन–मन्थनपछि मैले पढ्ने निर्णय गरी महिला उत्प्रेरणा विद्यालयमा भर्ना भएँ । चुनौतीको चाङ त छँदै थियो । वृद्ध आमाबुवा एवं स–साना केटाकेटीहरूको हेरचाह गर्नुपर्ने पारिवारिक जिम्मेवारी पनि थियो । यी सबका बाबजुद म बिहानको कक्षामा सहभागी हुन थालें । विद्यालय शिक्षा पनि उत्तीर्ण गरें 

काठमाडौंको महँगो बसाइ त छँदै थियो । आम्दानी बढाउन वस्तुभाउ, कुखुरापालन पनि गरें । राम्रै आम्दानी हुन थाल्यो । त्यसैबीच, ब्युटिपार्लर संचालन गर्ने इच्छाले धेरै पैसा तिरेर प्रशिक्षण लिन थालें । घरपरिवारको सहयोगबिनै म यी सबै काममा अग्रसर भएकी हुँ । मैले पढाइसँगै पार्लर तालिमका लागि दिनरात नभनी अघि बढें । संघर्ष गर्दै जाँदा डाह गर्ने र खुट्टा तान्नेहरू पनि भेटिए । मैले कसैको कुरा नसुनी अगाडि बढिरहें । आफ्नो उद्देश्य पूरा गर्नका लागिदिनरात संघर्ष गरिरहें । म आफ्नै गति, ताल र लयमा लक्ष्यमा पुग्न दौडिरहें । त्यसैले म आफ्नो उद्देश्यमा आज सफल भएकी छु । मैले ५० वर्षमा उच्च माविको परीक्षा उत्तीर्ण गरें । ब्युटिसियन तालिमलाई पनि उपलब्धिपूर्ण बनाउँदै लगें । तालिमको लेभल–एक र लेभल–दुई गर्दै ‘टट’, ‘एसेसर’ को प्रशिक्षण लिएँ । आज त्यसैका आधारमा नेपाल सरकारको राष्ट्रिय सीप परीक्षण समितिबाट ‘ब्युटिसियन’ विज्ञ भई काम गरिरहेकी छु । मेरो संघर्षले म आज आफ्नो क्षेत्रमा सफल महिलाका रूपमा परिचित छु । काम गर्न पाउँदा अत्यन्त खुसी छु।मैले घर, माइती, साथीभाइ अनि छोराछोरी सबैलाई गर्वले शिर ठाडो बनाएरहिँड्ने अवसर दिएकी छ । अहिले ललितपुरको बागडोलमा ‘खुसी ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर’ संचालन गरिरहेकी छु । यहाँ ब्युटिपार्लरसम्बन्धी सबै सेवा र यसमा रुचि राख्नेहरूलाई प्रशिक्षणसमेत दिने गरेकी छु । यति मात्रै होइन, मेरो सामीप्यतामा आउनेहरूलाई आँट, जाँगर एवं जोस भरेर जीवनपथमा लम्कन उत्प्रेरित गर्दै आएकी छु । (खुशी ब्युटिपार्लर एण्ड ट्र्निङ सेन्टरकी संचालिका लक्ष्मी थापासँगको कुराकानीमा आधारित।)

 Image