Successfully Copied

क्यान्सरले उमेरको बार लाउँदैन

क्यान्सर सामान्यतया उमेरले डाँडा काट्न थालेपछि मात्र लाग्छ भन्ने कुरा कञ्चन रेग्मीका हकमा गलत साबित भएको छ । क्यान्सरले कञ्चनलाई जीवनको अर्थ सिकाएको छ । सानै उमेरमा परिपक्व बनाएको छ । ‘अब जीवनभर क्यान्सर रोगीको सेवामा लाग्ने इच्छा छ, क्यान्सरका बारेमा जुन भ्रम छ, त्यसलाई हटाउन

क्यान्सर बुढेसकालमा लाग्ने रोग हो । यो सामान्यतया उमेरले डाँडा काट्न थालेपछि मात्र लाग्छ भन्ने कुरा कञ्चन रेग्मीका हकमा गलत साबित भएको छ । गोरखा घ्याल्चोककी २३ वर्षीया कञ्चनलाई डेढ वर्षअघि क्यान्सर भएको देखियो तर अहिले उनी क्यान्सरमुक्त भैसकेकी छिन् । डेढ वर्षअघि कञ्चनलाई खाना खाएपछि अचानक पेट दुख्ने, खानामा अरुचि हुने, महिनाबारीमा गडबडी हुनेजस्ता समस्या देखा परे । सामान्य होला भनेर केही दिन कसैलाई भनिनन् । अति नै दुख्न थालेपछि आमालाई भनिन् र तत्काल उपचारका लागि अल्का अस्पताल पुगिन् । 

‘म आफै अल्का अस्पतालको नर्सिङ कलेजमा नर्सिङ तेस्रो वर्षमा अध्ययनरत थिएँ, कञ्चनले भनिन्–‘आवश्यक जाँचपडतालपछि डाक्टरले गर्भाशयमा ट्युमर छ भने ।’ मेरो शल्यक्रिया गर्नुपर्ने भयो । शल्यक्रियासँगै उनको बायोप्सी पनि गरियो । त्यसमा क्यान्सर देखियो । कञ्चनलाई डर लाग्यो । त्यो भन्दा बढी परिवारलाई कसरी सम्झाउने भन्ने चिन्ता थियो, रेग्मीले भनिन्, ‘आमाबुवा अस्पतालमै बेहोस हुनुभयो ।’ आफूलाई भन्दा पनि आमाबुवालाई केही होला कि भन्ने चिन्ता भयो । उनले आफ्ना आमाबुवालाई सम्झाइन्–‘उपचार गरेपछि निको हुन्छ ।’

आमाबुवा, हजुरआमाको चिन्ता अस्वाभाविक थिएन । भर्खर २२ वर्ष लागेकी छोरीलाई क्यान्सर भयो भन्दा चिन्तित नहुने को होलान् र ? तर कञ्चनलाई रोगको चिन्ता भन्दा पनि परिवारको चिन्ता बढी थियो । आफै मेडिकलकी विद्यार्थी भएका कारण क्यान्सर लाग्दैमा मरिँदैन भन्ने कुरा उनले बुझेकी थिइन् । त्यसैले उनी उपचारमा लागिन् । अल्का अस्पतालमा उनको आधा मात्र ट्युमर निकालिएको थियो । नेपाल क्यान्सर अस्पतालमा दोस्रो पटक शल्यक्रिया गरेर उनलाई केमो दिइयो । 

केमो दिँदा कञ्चनको केश पूरै झर्‍यो, उनको झरेको केश अनि कमजोर शरीरलाई हेरेर बुवा र हजुरआमा बढी चिन्तित हुन्थे । कञ्चन बिरामी हुँदा उनकी आमा भने आफूलाई सम्झाउन सफल भइन् । सायद छोरीलाई पीडा नहोस् भनेर । कञ्चनलाई केश झर्नु केमोको साइड इफेक्ट भन्ने थाहा थियो, तर बुवा थामिनु भएन । हजुरआमाको आँखाबाट हप्तौं दिन आँसु झरिरहे । केमोले कञ्चनलाई बेस्सरी गलायो तर उनको हिम्मत भने गलेन । ‘दुई पटकको शल्यक्रिया र तीन पटकको केमोपछि उनी अहिले पूर्णरूपमा स्वस्थ भएकी छिन् । 

केमो दिएर अस्पताल बस्दा उनको हातमा जहिले पनि किताब हुन्थ्यो अनि भोलिपल्ट नर्सिङको तेस्रो वर्षको परीक्षा यसरी आफ्नो रोगको उपचारसँगै उनी नर्सिङ्ग परीक्षा पनि दिइरहेकी थिइन् । कञ्चन अन्तत: राम्रो नम्बर ल्याएर उत्तीर्ण भइन् । अहिले उनी आफूले उपचार गराएको नेपाल क्यान्सर अस्पतालमै कार्यरत छिन् । उनी क्यान्सर लागेका बिरामीको सेवामा खटिरहेकी हुन्छिन् । कञ्चनलाई आफूजस्तै बिरामीको सेवा गर्न पाउँदा निकै सन्तोष लाग्छ र उनी आफ्नै उदाहरण दिएर बिरामीलाई हौसला प्रदान गरिरहन्छिन् । क्यान्सरमा धेरैजनाको मनोबल कमजोर हुने र त्यसले गर्दा रोगले बढी च्याप्ने उनको बुुझाइ छ । त्यसैले अहिले उनी बिरामीको उपचारसँगै काउन्सिलिङमा समेत सहभागी हुन्छिन् ।

क्यान्सरले कञ्चनलाई जीवनको अर्थ सिकाएको छ । सानै उमेरमा परिपक्व बनाएको छ । ‘अब जीवनभर क्यान्सर रोगीको सेवामा लाग्ने इच्छा छ, क्यान्सरका बारेमा जुन भ्रम छ, त्यसलाई हटाउन जरुरी छ । क्यान्सर अवश्यम्भावी मृत्यु होइन । क्यान्सरलाई जित्न सकिन्छ भन्ने उदाहरण म आफै हुँ  ।’

 Image