Successfully Copied

पुनर्निर्माण  भवनदेखि सहरसम्म

समय–समयमा घट्ने सानातिना घटनाबाट नै मानिसहरूले पाठ सिक्दै जान्छन् र सकेसम्म त्यस्ता घटनाबाट आफू, आफ्नो परिवार तथा समाजलाई जोगाउन सक्ने उपायको खोजी गर्छन् । सोहीअनुरूप काम गर्दै जान सक्नु नै परिवर्तनशील युगका परिवर्तित मानिसहरूको मुख्य दायित्व हो ।

समय–समयमा घट्ने सानातिना घटनाबाट नै मानिसहरूले पाठ सिक्दै जान्छन् र सकेसम्म त्यस्ता घटनाबाट आफू, आफ्नो परिवार तथा समाजलाई जोगाउन सक्ने उपायको खोजी गर्छन् । सोहीअनुरूप काम गर्दै जान सक्नु नै परिवर्तनशील युगका परिवर्तित मानिसहरूको मुख्य दायित्व हो । दैवी संकट, प्राकृतिक प्रकोप आदि पूर्वसूचना दिएर आउँदैनन् तसर्थ समयमै सचेत हुनु बुद्धिमानी हुन्छ ।

यी विभिन्न पक्षलाई समेटेर हेर्दा अब गरिने पुनर्निर्माणमा हामीले एउटा सग्लो भवनको मात्र नगरी सकेसम्म टोल वा बस्तीमै ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । कुनै पनि बस्ती बसाल्न भवनहरूका अतिरिक्त फराकिलो बाटो, खानेपानी तथा ढल आदिको उचित व्यवस्था हुनुपर्छ । बाटो फराकिलो बनाउँदा गाडी गुड्न, पैदल हिँड्न मात्र सहज हुने होइन, आगलागीजस्ता अप्रिय घटना घटे पनि दमकल, एम्बुलेन्सलाई सजिलै घरसम्म पुर्‍याउन सकिन्छ, जसबाट धनजनको क्षति कम गर्न सकिन्छ ।

साथै त्यो ठाउँको हावाको वहाब अध्ययन गरी हावाको circulation मिलाई भवन निर्माण गरी ठाउँ–ठाउँमा खुल्ला पार्क, चौर आदिको पनि व्यवस्था गर्न सके गर्मीमा शीतल हावाका साथै जाडोमा न्यानो घामबाट वञ्चित हुनु पर्दैन ।

खुल्ला चौरको आवश्यकता हामीले ७२ सालमा गएको भूकम्पमा धेरै महसुस गर्‍यौं । तसर्थ हरेक टोलमा त्यहाँका बस्तीलाई मध्यनजर गरी स–साना पार्क अथवा खुल्ला चौर निर्माण गर्नैपर्ने भएको छ । 

बिहान मर्निङ वाक, व्यायामदेखि लिएर बालबालिकाहरू खेल्ने, बूढाबूढीहरू जाडोमा घाम ताप्दै, गर्मीमा शीतल हावाको आनन्द लिँदै भलाकुसारी गर्ने यस्ता खुल्ला ठाउँ निर्माण गर्ने विषयमा पनि अब पुनर्निर्माण गरिने टोल–सहरहरूका बासिन्दाले सोच्नैपर्छ ।

फराकिलो बाटोसँगै उचित खानेपानी तथा ढलको व्यवस्था पनि हुनुपर्छ भने समयअनुरूपका सञ्चारका माध्यम पुग्न सक्ने व्यवस्था गर्न सकेको खण्डमा सुनमा सुगन्ध थपिन्छ । यसरी निर्माण गरिएका बस्ती एवं टोलहरूलाई सुन्दर, सफा एवं स्वस्थ मात्र नभई नमुनाका रूपमा विकास गर्न सकिन्छ । आफू बस्ने घरमात्र होइन आफू बस्ने बस्ती, टोल एवं समाजलाई नै सुन्दर, सभ्य र स्वस्थ बनाउनुपर्छ । अब भवन निर्माण गर्नुअघि अपनाउनुपर्ने पक्ष अर्थात् site planning का बारेमा पनि विश्लेषण गरौं । 

हामीले घर भन्नेबित्तिकै घरको सग्लो संरचना मात्र सोच्नुहुँदैन । घर निर्माण गर्नुअघि विभिन्न पक्षमा ध्यान पुर्‍याउनुपर्छ । यसमध्ये भवन निर्माण गरिने स्थल अर्थात् जग्गाको परीक्षण प्रमुख हुन्छ । जग्गाको क्षेत्रफल, वरिपरिका संरचनाहरू, माटोको वर्गीकरणका साथै बाटोको व्यवस्था, नजिकै रहेका प्राकृतिक वस्तु एवं सम्पदा, बोटबिरुवा आदि सबैको ख्याल गर्नुपर्छ । यी सबै पक्षलाई समेटेर घरको डिजाइनका लागि प्राविधिकसँग छलफल गरी निष्कर्ष निकाल्नु अनिवार्य हुन्छ । यसलाई Site Investigation अर्थात् स्थल परीक्षण भनिन्छ । त्यसपछि मात्र भवनको प्लानिङ गरिन्छ ।

आवश्यक वस्तुहरूको प्राथमिकताअनुसार वर्गीकरण गर्दै छानबिन गरिन्छ । जस्तै घर वरिपरि कतै रुखहरू छन् भने ती रुखलाई नकाटी कतै भवनकै परिसरभित्र समेट्न सकिन्छ कि ? परामर्श लिइन्छ । माटोको परीक्षणसँगै जग्गाको क्षेत्रफलका आधारमा जग्गाको प्रकृति, भवनको क्षेत्रफल, डिजाइन एवंं उचाइ निर्धारण गरिन्छ । सकेसम्म प्राकृतिक माध्यम र सजिलै पाइन सक्ने स्थानीय सामग्री तथा प्रविधिबाट भवन निर्माण गर्न सकिए भवन राम्रो र बलियो मात्र नभई त्यो ठाउँअनुरूप सुहाउँदो पनि हुन्छ । त्यस्ता सामग्रीको प्रयोगले हाम्रो व्यवसाय राम्रोसँग फस्टाउँछ र यहाँका बासिन्दाहरूलाई रोजगारीका अवसर पनि खुल्दै जान्छ । समय र ठाउँअनुसार भवन निर्माण गर्दा भवन सुन्दर र बलिया मात्र नभई हामीले आफ्नै समाजको विकास पनि गरिरहेका हुन्छौं ।

यसैगरी भवनको डिजाइन गर्नुअघि घरधनी अर्थात् ग्राहकले आफ्नो भवनको आवश्यकता एवं चाहना प्राविधिकका अगाडि खुलेर राख्नुपर्छ । यसो गर्दा प्राविधिकले पनि घर मालिकका हरेक आवश्यकता र चाहनालाई मध्यनजर गरी सोहीअनुरूप डिजाइन गर्न सक्छन् ।

प्राविधिक एवं घरधनीको आपसी परामर्श, सल्लाह र सुझावअनुरूप नै फाइनल डिजाइन निकालिन्छ । आवासीय होस् वा व्यापारिक, भवन निर्माण गर्दा भवन सहज र सरल रूपमा उपभोग गर्न मिल्ने खालको हुनुपर्छ । जस्तै पर्याप्त मात्रामा प्रकाश छिर्नका लागि कोठाअनुसार ventilation र झ्यालको डिजाइन, खुल्ला circulation का लागि passage, loby हरूको निर्माणका साथै आवश्यकताअनुरूप space अथवा साइजका कोठा आदि ।

भवनको प्रकार अथवा प्रयोजनअनुरूप भवनभित्र–बाहिर गर्ने ढोका दुई–तीनवटा भन्दा बढी राख्दा भूकम्प, आगलागी आदिबाट हुने क्षतिलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ । व्यापारिक प्रयोजनका भवनमा ढोकाका अतिरिक्त भर्‍याङ फराकिलो र सबैले देख्ने ठाउँमा हुनुपर्छ भने त्यसका साथै केही परिहालेको खण्डमा भवन बाहिरबाट पनि निस्कन मिल्ने गरी छुट्टै Fire Escape Staircase को समेत व्यवस्था गर्नुपर्छ ।

 Image