अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा 

नारी संवाददाता

पुस २९, २०७५

तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठको आत्मकथा सार्वजनिक भएको छ । श्रेष्ठको जन्मदिनको अवसर पारेर घोष्ट राइटिङ नेपालले भूमिका (तेस्रोलिंगीको आत्मकथा) सार्वजनिक गरेको हो । उक्त पुस्तक गत शुक्रबार काठमाडौंमा कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्व मिस नेपाल माल्भिका सुब्बा, नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले संयुक्त विमोचन गरे ।

विमोचन कार्यक्रममा बोल्दै रेखा थापाले भूमिकालाई जन्म दिने आमा नै वास्तविक हिरो भएको बताइन् । उनले भनिन्, ‘म भूमिका जस्तो बन्न सक्दिन, न भूमिका म जस्तो बन्न सक्छिन् ।’ थापाले सबैलाई आफ्नो युनिक पनमा बाच्ने अधिकार हुन्छ भन्दै भूमिकाको आत्मकथा हरेक गाउँ, बस्ती, टोल टोलमा पुग्नु पर्ने बताइन् ।

नायक एवं चलचित्र निर्माता रमेश उप्रेतीले भूमिकाको आँट देखेर सलाम गर्न मन लागेको बताए । उनले लिंगले समाजमा कुनै फरक नपार्ने भन्दै यो समुदायका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताए । पूर्व मिस नेपाल माल्भिका सुब्बाले भूमिका श्रेष्ठको नाममा नागरिकता लिएको हेर्ने मन भएको बताइन् । भूमिकाले अहिले पनि कैलास श्रेष्ठकै नाममा नागरिकता लिएको भन्दै अब भूमिका श्रेष्ठकै नाममा नागरिकता लिएको हेर्न मन भएको बताइन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगीको जीवनलाई किताबमा उतारिएको यो पहिलो पटक भएको बताइन् । ‘भूमिकाको यो किताब सबै तेस्रोलिंगीको जीवनसँग मिल्न जान्छ भन्दै उनले भनिन्, ‘मैले टिपेको कोपिला आज सुन्दर फूलमा परिणत भएको छ, मलाई गर्व लागेको छ ।’

लेखक श्रेष्ठले भावुक हुँदै आफ्नो समूदायको पीडा बेदना समेटिएको पुस्तक तेस्रोलिंगीको आत्मकथा पढिदिन आग्रह गरिन् । आत्मकथामा ३५ बिषय समावेश छन् । २ सय ४० पृष्ठको पुस्तकको मुल्य ३ सय ५० रुपैयाँ राखिएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>